२१ वर्षीय उदित महतोको सानैदेखि एउटा सपना थियो, कम्प्युटर विज्ञान पढ्ने। उनको सपना यतिमै सीमित थिएन। नेपालका प्रायः युवाझैं उनले अमेरिकाको नामी कलेजमा पढ्ने इच्छा बुनेका थिए।
तर उदितका लागि त्यो सपना धेरै भारी थियो। मध्यम वर्गीय परिवारमा हुर्किएकाले अमेरिका जस्तो देशमा टन्न पैसा लगानी गरेर पढाउन सक्ने अवस्था उनका आमाबुबामा थिएन।
जनकपुर घर भएका उदित काठमाडौंमै हुर्किएका हुन्। तर उनको जीवन हाइहस्ती भएन। कक्षा पाँचसम्म उनी परिवारसँगै बसेर यहाँ पढिरहेका थिए। तर यहाँको महंगी उनका आमाबुबाले धान्न सकेनन्। उदितलाई एक आफन्तकहाँ जिम्मा दिएर उनीहरू जनकपुर फर्कन बाध्य भए। अहिले उदित कोठा लिएर एक्लै बसिरहेका छन्।
घरपरिवारको समस्या उदितले पनि बुझेका थिए, तर आफ्नो भविष्यका अगाडि कमजोर आर्थिक स्थिति बाधा बन्ने कुरा उनलाई मन्जुर थिएन।
'अमेरिका गई कम्प्युटर विज्ञान पढ्ने मेरो जीवनको एउटै लक्ष्य हो। र त्यो हासिल गर्न मैले आफ्नो पढाइमा कहिल्यै सम्झौता गरिनँ,' उनी भन्छन्, 'पूरै पैसा लगानी गरेर विदेशी कलेजमा पढ्न सक्ने कुरा थिएन। त्यसैले छात्रवृत्ति मेरा लागि अन्तिम विकल्प थियो।'
राम्रो छात्रवृत्ति पाउने आशामा १२ कक्षा सकाएर उनी दुई वर्ष खाली बसे। त्यस अन्तराल उनले आफ्नो पढाइको तयारी गरिरहे र सँगै कयौं राम्रा कलेज खोजे। उनका अनुसार अघिल्लो वर्षसम्म अमेरिकाका केही कलेजबाट अफर समेत पाएका थिए। तर उनले सोचे जस्तो नभएर भर्ना गरेनन्।
यता उनका आमाबुबा छोराले दुई वर्ष खेर फाल्यो भन्दै निकै चिन्तामा थिए। उदित भने ढिलो भए पनि छात्रवृत्ति पाउनेमा आशावादी थिए।
छ महिनाअघि उनले लामो सम देखि देखेको सपना पूरा भयो। अमेरिकाको कलेजमा कम्प्युटर विज्ञानमा स्नातकका लागि उनले राम्रो छात्रवृत्ति पाए।
छोराले विदेशी कलेजमा नाम निकालेको खबरले उदितको परिवारमा खुसीको माहोल नहुने कुरा थिएन। आफूले जसरी पनि गरेर देखाउँछु भनेको कुरा पूरा हुँदा उदितलाई पनि निकै गर्व महशुस भयो।
सोचेजस्तै कलेजमा राम्रो छात्रवृत्ति पाएकाले उनले जतिसक्दो चाँडो भर्ना गरिहाले।
'कलेजले मासिक शुल्क तिर्नु नपर्ने छात्रवृत्ति दिएको थियो। भर्ना र अतिरक्ति शुल्क भने तिर्नु पर्थ्यो,' उनले सुनाए, 'त्यतिले पनि हामीलाई धेरै सहज भएको थियो। कलेजको बाँकी शुल्क खाली समयमा काम गर्दै तिर्छु भन्ने सोच बनाएको थिएँ।'
अमेरिका गएर पढ्न पाउने कुराले उनी निकै उत्साहित थिए, तर कलेज भर्ना गरेको केही समयमै कोरोना फैलियो। जस कारण उनको अमेरिका जाने प्रक्रिया बीचमै रोकियो।
भौतिक रूपमा अमेरिका जान नपाए पनि उनी यतैबाट कलेजको अनलाइन कक्षामा सहभागी भइरहेका थिए। करिब एक हप्ता उनले यसरी नै पढिरहे। तर जब कलेजले बाँकी शुल्क तिर्न भनेर सूचना पठायो, उनको पढाइ रोकिने डर भयो।
उनलाई आफ्नो पढाइ रोक्ने इच्छा थिएन तर कलेजको शुल्क तिर्न खोज्दा, उनले सरकारको साथ पाएनन्।
विदेशी कलेजमा शुल्क तिर्न 'नो अब्जेक्सन लेटर' आवश्यकता हुन्छ। तर केही महिनायता काठमाडौंमा लकडाउनका कारण शिक्षा मन्त्रालयले यो लेटर वितरण गर्न सकिरहेको थिएन। परिणाम, उदितले कलेजको पैसा तिर्न सकेनन्।
'दूतावासले नो अब्जेक्सन लेटर नभई कलेजमा शुल्क पठाउन सक्दैनौं भन्यो। यता शिक्षा मन्त्रालयले आफ्नो अनलाइन सर्भर बिग्रेको कारण चिठी दिन नसक्ने बताइरह्यो। हामी विद्यार्थी पो बीचमा अलमल पर्यौं,' उनले भने।
यी यावत समस्याले उनी अनलाइन कक्षा पढ्न वञ्चित भए र उनको भर्ना बीचमै रद्द भयो।
'कलेज भर्ना र सबै प्रक्रियाका क्रममा दुई लाख खर्च भइसकेको थियो,' उनी भन्छन्, 'मैले दुई वर्ष समय लिएर मिहिनेत गरेर पढेको केही अर्थ भएन। अब त आफ्नो सपना पूरा गर्न नसकुँला भन्ने डर भइसक्यो।'
अब उदितको विदेशी कलेजमा छात्रवृत्ति पाएर पढ्ने आशा धमिलो हुँदै गएको छ। हालको स्थिति हेरेर नेपालमा पढ्न सक्ने अवस्था उनले देखेका छैनन्। अझै अर्को वर्ष पनि खेर फाल्नुको नतिजा कस्तो हुन्छ उनले अनुमान लगाउन सकेका छैनन्।
उनको भविष्यलाई लिएर परिवारमा तनाव बढिरहेको छ। जसोतसो गरेर अघिल्लो कलेजका लागि खर्च गरेको पैसा खेर जाँदा आमाबुवालाई पनि सकस भएको उदितको भनाइ छ।
उनका अनुसार अबको सात महिनापछि अमेरिकामा कलेजहरूले नयाँ भर्ना लिन सुरू गर्नेछन्। त्यसका लागि उनले फेरि सुरू देखिको प्रक्रिया पूरा गर्नु पर्नेछ। तर अहिले उनको उत्साह निकै कम भएको छ।
'हेरक वर्ष छात्रवृत्ति पाउन विद्यार्थीबिच प्रतिस्पर्धा बढ्दै जान्छ,' उनी भन्छन्, 'अब छात्रवृत्ति त परको कुरा, एकचोटि भर्ना रद्द भएको कारण मैले नयाँ भर्ना पाउँछु कि पाउँदिनँ, त्यो पनि थाहा छैन।'
उनले थपे, 'एउटा सामान्य नेपाली विद्यार्थीले वर्षको ४६ हजार अमेरिकी डलर तिरेर पढ्न सक्दैन। सरकारको सानो कमजोरीले हामीले हातमा आएको अवसर गुमाउनु परेको छ। हामीले आफ्नो भविष्य आफैं बनाउन खोज्दा पनि आफ्नै सरकार रोकावट भइदियो।'
(अनुषा अधिकारीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)