झापा गाउँपालिकामा बुधबार साँझ गोली चलेको छ। स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका-३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो।
स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ। गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो।
उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जयनारायण साहले सेतोपाटीलाई बताए।
सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरी टोलीले आठ राउन्ड गोली चलाएको थियो। गोली लागेर एक जना घाइते भएका छन्। स्थानीय रसिकुल आलम घाइते भएका हुन्।
उनको पेटमा गोली लागेको छ। उनलाई विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
गोरु काट्ने व्यक्तिलाई पक्राउ गरी लैजान खोज्ने प्रहरीलाई अवरोध गर्न खोज्दा झापा गाउँपालिकामा केहीबेर झडप भएको प्रहरीले जनाएको छ।
कामाटोली बजारमा गोरु काट्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेहरुमा झापा गाउँपालिका-३ का अब्दुल सलाम र ताजमल हक रहेका छन्।
दिउँसो ताजमल हकको घरमा गोरु काट्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित ती दुवैलाई पक्राउ गरेको थियो।
पक्राउ परेकाहरुलाई लैजान नदिन स्थानीयको ठूलो भीडले प्रहरीलाई अवरोध गरेको थियो। त्यसक्रममा झडप भएको झापा प्रहरीले जनाएको छ।
गोरु काट्नेहरुलाई लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। उनले त्यसक्रममा केही राउण्ड हवाई फायर भएको जनाए।
घटनास्थलतर्फ आफू जाँदै गरेको र विस्तृत विवरण आउन बाँकी रहेको थापाले बताए। त्यस्तै, जनपद प्रहरीका प्रहरी निरीक्षक सन्जीव बोगटी र सशस्त्र प्रहरीका राजन खड्का घाइते भएको जनाइएको छ।
आक्रोशित भीडले अहिले पनि कामाटोली बजारमा टायर बालेर विरोध प्रदर्शन गरिरहेको छ।