भूमध्यसागरको किनारमा केही महिलाहरू अर्धनग्न (टपलेस) घाम तापिरहेको घटनामा फ्रान्सका आन्तरिक मन्त्री जेरल्ड डार्मानिनले आफ्नो प्रतिक्रिया जनाएका छन्।
गत साता सेन्ट-मारि-ला-मेरको समुद्र किनारमा तीन युवती शरीरको माथिल्लो भागमा लुगा नलगाई घाम तापिरहेका थिए। त्यत्तिकैमा दुई जना प्रहरी, ती युवतीहरूलाई भित्री लुगा लगाउन भन्दै हस्तक्षेप गर्न पुगे।
फ्रान्समा यसरी समुद्री किनारमा टपलेस बसेर 'सन-बाथ' लिनु गैरकानुनी होइन। यद्यपि स्थानीय अधिकारीहरूले यसमा निर्देशनसहित रोक लगाउन सक्छन्।
सेन्ट-मारि-ला-मेर समुद्र किनारमा भएको यो घटनाबारे पेरेनस-ओरिएन्टल प्रहरीले प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो। समुद्र किनारमा आएका अन्य परिवारले ती महिलाहरूविरुद्ध गुनासो राखेपछि उनीहरूलाई आफ्नो आङ ढाक्ने आग्रह लिएर उनीहरू समक्ष पुगेको प्रहरीले जनाएको छ।
यस घटनाले त्यहाँका प्रहरीको खुबै आलोचना भइरहेको छ।
फ्रान्सका आन्तरिक मन्त्री जेरल्डले पनि प्रहरी प्रशासनको गल्ती औंल्याउँदै ट्विटरमा यसबारे अभिव्यक्ति दिएका छन्।
उनले ट्विटरमा लेखेका छन्, 'स्वतन्त्रता मूल्यवान छ।' मन्त्री जेरल्डले किनारमा घाप तापिरहेका महिलाहरूलाई लुगा लगाउन भन्नु गलत भएको पनि बताएका छन्।
यो घटनामा विभिन्न खाले टिप्पणी भइरहेका छन्। केहीले फ्रान्समा देखिएको व्यापक 'विवेक' माथि प्रश्न उठाइरहेका छन् भने अर्का समूहले टपलेस सन-बाथ प्रतिबन्ध लगाइएको हो कि भन्ने प्रश्न गरेका छन्।
महिला प्रहरी प्रवक्ता लेफ्टिनेन्ट कर्नेल म्याडी श्युअर्रले उक्त घटनाका लागि ती दुई अधिकारीको 'लापरबाही' लाई दोष दिएकी छन्।
उनले लेखेकी छिन्, 'सेन्ट-मारि-ला-मेरको समुद्री किनारमा टपलेस बस्न अनुमति छ।'
प्रहरीको अभिव्यक्तिपछि मन्त्री जेरल्डले महिलाहरूलाई यसरी किनारमा लुगा लगाउन भन्नु गलत भए पनि प्रहरीले आफ्नो गल्ती महसुस गर्नुलाई राम्रो मानेका छन्।
भाइहेल्थी वेबसाइटले सन् २०१९ मा गरेको सर्वेक्षण अनुसार टपलेस घाम ताप्नु फ्रान्समा विगतभन्दा अहिले कम समान्य हुँदैछ। साथै यो अन्य युरोपियन देशमा भन्दा कम देखिन थालको छ। सर्वेक्षण अनुसार २२ प्रतिशत फ्रान्सेली महिलाले यो अभ्यास गरेका छन्। स्पेनमा ४८ प्रतिशत महिलाहरू र जर्मनका ३४ प्रतिशत महिला टपलेस घाम ताप्छन्।
(बिबिसीबाट)