साउन २५ गते सम्झना खनाल(नाम परिवर्तन) उनले आफ्नी छोरीको पहिलो जन्मदिन मनाइन्। एक वर्ष पुगेकी चञ्चले छोरीलाई सम्हाल्दै केही दाताहरूले व्यवस्था गरिदिएको कोठामा उनले छोरीको जन्मदिन मनाएकी थिइन्।
वर्ष दिनकी छोरी र उनी अहिले सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा लिएर बसेका छन्। कोठा खोज्नेदेखि तत्काल आवश्यक पर्ने सामग्रीसम्म अरूले नै व्यवस्था गरिदिएका छन्। केही महिनाको भाडा पनि अरूले नै व्यवस्था गरिदिने भएका छन्।
आफूमाथि भएको हिंसाबाट फुत्केर उनी एक महिनाअघि सुर्खेत आएकी हुन्। सुर्खेत पुगेर उनले यसअघि पनि आफूलाई उद्धार गरेकी अधिवक्तालाई भेटिन्।
त्यसपछि उनैको पहलमा सम्झना भाडाको कोठामा बसेकी छन्।
घरेलु हिंसाबाट त अहिले उनलाई छुट्कारा मिलेको छ, तर आफ्नो र छोरीको भविष्यको चिन्ताले भने पिरोलिरहन्छ।
सधैँ अरूको सहयोग लिन आफूलाई निकै अप्ठेरो लाग्ने उनले बताइन्।
उनका दु:खका दिन त्यतिबेलादेखि सुरू भए, जतिबेलादेखि उनी प्रेम सम्बन्धमा परिन्।
केही वर्षअघि बाँकेको नेपालगञ्जकी सम्झना विदेश उड्ने सपना बोकेर काठमाडौं गएकी थिइन्। दलाललाई पैसा पनि बुझाइसकेकी थिइन्। आवश्यक कोर्स सकियो। २०७४ भित्र उनी विदेश गइसक्ने कुरा भएको थियो। तर जान पाइनन्।
२०७५ असारमा उनको एक जना युवकसँग भेट भयो। असल मित्रको रूपमा जोडिएको साइनो प्रेममा बदलियो।
युवक दलित थिए। उनी ब्राह्मण! सम्झनालाई जातको कुनै पर्वाह भएन। उनीहरू लिभ इन टुगेदर बसे। पछि फेरि उनीहरूले बिहे गरे।
‘सानैदेखि दु:ख पाएकी हुँदा जातको कुनै मतलब नगरी विवाह गर्ने योजनामा पुगेँ, विवाह अघि नै लिभिङ टुगेदरजस्तै रिलेसनमा रह्यौं,’ उनले भनिन्।
ती युवक लागुऔषध सेवनकर्ता रहेछन्। सम्झनालाई सुरूमा त्यो कुरा थाहा थिएन। सँगै बस्न थालेपछि थाहा भयो।
प्रेमीसँगै सम्झना पनि नशालु पदार्थ सेवन गर्ने भइन्।
‘उनले मलाई पनि भनेर कर गर्न थाले। दलालसँग पैसा फसेको र आफू बाहिर जान नपाएको तनाव भइरहन्थ्यो। मैले पनि खान थालेँ,’ उनले सम्झिइन्।
चिनजान भएको तीन महिनापछि ती युवकले काठमाडौंबाट आफ्नो घर सुर्खेत जाउँ भनेर हिँडाए।
सम्झनालाई घर लगेनन्, होटलमा राखिदिए। आफू घर गए। केही समयपछि दुबै जना काठमाडौं फर्किए। तीन महिनापछि फेरि उनीहरू सुर्खेत गए।
त्यसबेला उनीहरू घर नपुग्दै बाटोमै पक्राउ परे। त्यतिबेला सम्झना गर्भवती थिइन्।
‘विवाह गर्ने भनेर उसको घर हिँड्यौं, घर नपुग्दै प्रहरीले हामीलाई फेला पार्यो,’ उनले भनिन्, ‘उसँग त्यो खानेकुरा (लागुऔषध) रहेछ, केटीलाई चेक गर्दैन भनेर उसले मेरो पर्समा राखिदियो। पछि हामी दुबै जनालाई प्रहरीले लग्यो।’
केही समयपछि ती युवक छुटे। सम्झनालाई भने उनकै पर्समा लागुऔषध भेटिएकाले छोड्न मिलेन। विवाह गर्छु भनेर सम्झनालाई ल्याएका युवक र उनका परिवारले उल्टै उनीमाथि आरोप थपे।
उनी थुनामा हुँदा पेटमा बच्चा थियो। छ महिना पुग्दा उनको शरीर सुन्निन थाल्यो। यो कुरा थाहा पाएपछि जेलर, न्यायिक समन्वय समितिसँग समन्वय गरी एक जना महिला अधिवक्ताले उनको मुद्दा लडिन्।
ओसारपसार मुद्दामा लगाइएको थियो तर उनी सेवनकर्तामात्र भएको भन्दै ती अधिवक्ताले पेश गरेका प्रमाण अदालतले पनि मान्यो।
उनी मुक्त भइन्।
‘उनी जेलमा हुँदा बच्चा पेटमा थियो, पछि सुन्निएर जेलभित्र गाह्रो भएको थाहा पाएँ,’ सम्झनाको मुद्दा लडेकी अधिवक्ताले भनिन्, ‘उनलाई पहिले पनि मुद्दा पर्दा ओसारपसारको आरोप लगाइएको थियो तर उनले सेवनमात्र गर्ने हुन्। बिक्रीका लागि ओसारपसार गर्ने होइनन् भनेर प्रमाणित गरियो। बच्चा जन्मनुअघि नै बाहिर आउन पाइन्।’
जन्मिने बच्चाको लागि भए पनि आफूले उनको मुद्दा लडेको ती अधिवक्ताले बताइन्।
सम्झना जेलबाट छुट्ने भए पनि उनलाई बुझ्ने अभिभावक भने कोही आएनन्।
अन्तरजातीय विवाह गरेकोले सम्झनाका आफ्नाहरूले वास्ता गर्दैनथे। प्रेमीले पनि हेर्न छोडिसकेका थिए।
जेलबाट बाहिर आउन पनि गाह्रो भयो।
जेलभित्र चिनजान भएकी एक जना साथीकी आमाले उनलाई बुझेको हस्ताक्षर गरिन् र उनी बाहिर आइन्।
‘उनलाई बुझ्न कोही नआउँदा जेलबाट छुट्ने फाइनल भएको दिनपछि पनि कति दिन त भित्रै बस्नुपर्यो,’ ती अधिवक्ताले भनिन्, ‘माइतीतर्फबाट तल्लो जातको केटासँग गई भनेर वास्ता नगर्ने रहेछन्। यता विवाह गर्छु भनी ल्याएकाले त झन् उनलाई फसाएका रहेछन्, बुझ्ने कुरै भएन ।’
सम्झना जेलबाट छुटिसकेपछि पनि प्रेमी र उनको परिवारले घरमा लिन मानेनन्।
उनी जेलबाट छुट्दा जसले बुझिन्, उनकै घरमा गएर बसिन्। सधैँ अर्काको घरमा बस्न सम्भव नभएपछि नजिकै चर्चको मण्डलीमा गएर बस्ने गरेको उनले बताइन्।
‘सधैँ अर्काको घरमा बस्न मिल्ने कुरा पनि भएन, मण्डलीका दिदीहरूले मेरो अवस्था देखेर मलाई त्यहाँ लिनुभयो, छोरी पनि मण्डलीमै जन्मिइन्,’ सम्झनाले भनिन् ।
त्यसपछि पनि उनलाई घरमा लगिएन।
‘पहिले नै जेलमा हुँदा पनि अर्कैको बच्चा बोकेर आएकी भनेर हेपे, मलाई फसाए,’ सम्झनाले भनिन्, ‘बच्चा जन्मिसकेपछि पनि त्यसै भन्ने गरे, बच्चा एक महिनाको पुगेपछि भने घरमा लगे।’
घरमा लिइसकेपछि पनि उनको परिवारले सम्झनालाई सुखले बस्न भने दिएनन्। कहिले अर्कैको बच्चा लिएर आएकी भनेर त कहिले अरू नै बहाना बनाएर कुट्थे। एक दिन उनलाई कुट्दै गरेको छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरिदिए।
उनले घरमा १० महिनासम्म निकै यातना खेप्नुपर्यो। खान लगाउनसमेत राम्ररी दिन्नथे। अरूले दिएको लुगा लगाउन पनि नदिने।
‘घरमा दैनिक यातना दिन थाले, कहिले श्रीमानले त कहिले सासु–ससुराले कुटे,’ उनले भनिन्, ‘छोरी ११ महिनाको हुँदा असह्य भएपछि म त्यही छोरी जन्मिएको मण्डलीमा फर्किएँ।’
आफू घर छोडेर मण्डली गएपछि पनि बीच-बीचमा फकाएर घर लिने गरेको उनले बताइन्। फकाएर घर लिँदा पनि यातना दिन नछोडेपछि उनी नफर्कने भनेर निस्किइन्। घरबाट नफर्कने गरी निस्किएको करिब दुई महिना भइसक्यो।
पहिले मण्डलीमै बसेकी सम्झनालाई केही दिनअघि केही व्यक्तिले बस्ने कोठादेखि आवश्यक सामानसम्मको व्यवस्था गरिदिएका छन्।
सम्झनाले अहिले लागुऔषधदेखि टाढै बस्ने प्रण गरेकी छिन्। भन्छिन्, ‘यो कुरादेखि त पहिले नै भाग्नुपर्ने रहेछ। छोरी जन्मेपछि खान नपाउँदा छोरीलाई समाउन नसक्ने अवस्था हुन्थ्यो। हात काँप्थ्यो।'
त्यस्तो बेला पनि उनले प्रण गरिन्- अब यो कुरामा कहिल्यै हात लगाउने छैन।
'आफू पनि टाढा रहन्छु र अरूलाई पनि यसबारे सजग गराउँछु भन्ने प्रण गरेकी छु,’ उनले भनिन्।
सम्झना अब छोरीको भविष्यसँगै आफ्नो पनि ‘भविष्य’ बनाउन चाहन्छिन्।
उनले कहिल्यै आमाको माया महसुस गर्न पाइनन्। छोरीको जिन्दगीमा आफ्नो के अर्थ हुन्छ उनले बुझेकी छन्।
उनी तीन महिनाको छँदा उनकी आमाले छोडेर गएकी थिइन्। बुवाले अर्की बिहे गरेका थिए।
‘सानैदेखि म बुवासँग बसेकी थिएँ,’ उनले भनिन्, ‘पछि आउनुभएको मम्मीले मलाई कहिल्यै राम्रो व्यवहार गर्नुभएन।'
कलेज पढ्दा बिहान खाजा नखाएर कलेज जान्थिन्। दिउँसो कलेजबाट आउँदा १ बजिसकेको हुँन्थ्यो घरमा खाना समेत हुन्थेन।
आमाले सँधै त्यस्तो व्यवहार गर्न थालेपछि एक दिन सम्झनाले बुवासँग आफू यसरी बस्न नसक्ने कुरा बताइन्। उनको बुवाले पनि उनलाई केही पैसा दिएर आफ्नो भविष्य आफै खोज्न भने।
बिबिएस पाँचौं सेमेष्टर पढ्दै थिइन्। बीचैमा पढाइ नछोड्न पनि कसैले सुझाउनन्। तीन वर्षअघि उनले पढाइ छोडिन् र विदेश उड्ने सपना बुनेर काठमाडौं हानिइन्। पढाइमा अब्बल सम्झना सौतेनी आमाका कारण पढाइ छोड्नु परेको बताउँछिन्।
‘सधैँ मम्मीको नराम्रो व्यवहार सहन नसकेपछि एकदिन बाबालाई आफू यसरी नबस्ने भनें, बाबाले अंशजस्तै गरी केही पैंसा दिनुभयो। त्यसैले, म वैदेशिक रोजगारीका लागि कोर्स गर्न काठमाडौं गएकी थिएँ,’ उनले भनिन्।
सम्झनाले आफ्नो स्नातक अध्ययन पूरा गर्ने इच्छा हुँदाहुँदै पनि अहिले सकेकी छैनन्। अब उनले जसरी पनि आफ्नो अधुरो पढाइ पूरा गर्ने योजना बनाएकी छिन्।
‘ब्याचलर त जसरी नि भ्याउँछु, फाइनान्सियल सपोर्ट भयो भने मास्टर्स पनि गर्ने योजना छ,’ उनले भनिन् ।
सम्झनाको अर्को महत्वपूर्ण योजना भनेको आफू आत्मनिर्भर बन्ने र छोरीलाई पनि आत्मनिर्भर बन्ने बाटो देखाइदिने हो। घर-परिवारबाट छोरीका लागि खाना खर्च पाउनुपर्ने दाबीसहित मुद्दा दर्ता गराएकी छिन् ।
‘मैले छोरीको बाबुबाट खाना खर्च पाउनेगरी कानूनी प्रक्रिया पनि अगाडि बढाएकी छु, उताबाट त्यति भयो भने, अरू मैले सानोतिनो रोजगारी पाए व्यवस्थापन गर्न सकिहाल्छु,’ सम्झना भन्छिन्।