भदौ २ गते जाजरकोटको भेरी नगरपालिकाका कर्मचारी, नगरभित्र क्वारेन्टिनमा बसेका मानिसहरुको स्वाब संकलन गरी पिसिआर गर्न प्रयोगशालामा पठाइयो। भदौ ७ गते १९ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आयो। जसमा नगरपालिकाका तीन जना कर्मचारी छन्।
कर्मचारीमा कोरोना देखिएपछि जाजरकोटमा समुदायस्तरमा फैलिने खतरा बढेको छ। नगरपालिकाले एक टिम तयार गरेर समुदायका मानिसलाई ट्रेसिङ गर्न सुरु गरेको छ। आजैदेखि ट्रेसिङ तथा नगरपालिकाका कर्मचारीको स्वाब संकलन गर्ने काम सुरु गरिएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताए।
उनका अनुसार नगरपालिकाका संक्रमित कर्मचारीमध्ये एक जना पुरुष हुन् भने दुई जना महिला छन्। उनीहरुबाट सेवा लिने सेवाग्राहीको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम सोमबारदेखि नै सुरु गरिएको मेयर घर्तीले बताए।
‘एउटा शाखाको प्रमुख कर्मचारीलाई समेत तीन जनालाई कोरोना पुष्टि भएको छ, उहाँहरुबाट कति धेरैले सेवा लिनुभएको होला,’ उनले भने, ‘यसबाट त समुदायमै कोरोना गएको हुन सक्छ, हामीले टिम नै बनाएर ट्रेसिङको काम गर्दैछौं।’
उनीहरुको रिपोर्ट आउन पाँच दिन लागेको थियो। त्यसबीचमा ती कर्मचारीहरू नियमित काममा रहेको मेयर घर्तीले बताए। ‘यो अवस्थाले यहाँको समुदायमा कोरोना गएको लगभग पक्का भइसक्यो, अब हामीले युद्धस्तरमा कन्ट्याक्ट ट्रेसिङको काम गर्छौं।’
नगरपालिकाका सेवा एक साताका लागि बन्द
कर्मचारीमा कोरोना देखिएपछि भेरी नगरपालिकाले आफ्ना सबै सेवाहरु बन्द गरेको छ। सोमवार देखि एक साताका लागि सबै सेवाहरु ठप्प पारिएको हो। आइतबार साँझ बसेको बैठकले सेवा बन्द गर्ने निर्ण गरेको मेयर घर्तीले बताए।
‘हाम्रा कर्मचारीका कोरोना देखिनेवित्तिकै इमर्जेन्सी बैठक बसेर हामीले सेवा बन्द गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘समुदायमा ट्रेसिङको काम युद्धस्तरमा गर्ने भनेर पनि हामीले नगरपालिकाका सेवा बन्द गरेका हौं।’
मेयर घर्तीले आवश्यक परेको खण्डमा नगरपालिकाभित्रका कार्यकक्षहरु समेत आइसोलेसनका रुपमा बनाउने निर्णय आफूहरुले गरेको बताएका छन्।
३ र ४ नम्बर वडामा निषेधाज्ञा
जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिकाका वडा नम्बर ३ र ४ मा निषेधाज्ञा जारी गरिएको हो। आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले भदौ १५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। सोमबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।
समुदायमा कोरोना फैलिएको लगभग पक्का भएसँगै समुदायका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न सहज होस भन्ने उद्देश्यले पनि निशेधाज्ञा जारी गरिएको भेरी नगरपालिकाका मेयर घर्तीले बताए।