कनकाई नदीको बाढीले घर-खेत बगाएर घरबारविहीन भएकी झापा शिवसताक्षी-१० की तारा शेर्माको घर बनाउन सुरू गरिएको छ। शिवसताक्षी नगरपालिकाले घर निर्माणका लागि जग्गा उपलब्ध गराएपछि ‘मेची अभियान’ले शेर्माको घर निर्माण थालेको हो।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र मेची अभियानका संयोजक विजय डालमियाले शेर्माको घर शुक्रबार शिलान्यास गरे। डालमियाका अनुसार तिहारअघि नै शेर्माको तीन कोठाको बाथरुम र शौचालयसहितको आरसिसी घर तयार हुने छ। त्यसमा शेर्मा तीन छोराछोरीसाथ बस्नेछिन्।
उनको घर सात लाख रुपैयाँको लागतमा दाताले निर्माण गर्दैछन्।
असार १२ गते पूर्वी भू-भागमा आएको अविरल वर्षाका कारण कनकाई नदीको बाढीले शेर्माको घर-खेत बगाएको थियो। प्रहरी, रेडक्रसकर्मी र स्थानीयले शेर्माको परिवारलाई तत्काल उद्धार गरेर अस्थायी छाप्रोमा राखेका थिए।
यो घटनाबारे जानकारी पाएपछि मेची अभिायानले शेर्मालाई स्थानन्तरण र बसोबासको प्रवन्ध मिलाउन चासो देखाएको हो।
अभियानका संयोजक डालमियाले भने, ‘हामीले स्थानीय पालिकाले शेर्माको लागि जग्गा दिने भए त्यसमा मेची अभियानले घर निर्माण गर्ने भनेका थियौं। मेची अभियानको प्रस्तावलाई शिवसताक्षी नगरपालिकाको बोर्ड बैठकले सकारात्मक प्रस्ताव भनेपछि कार्यपालिका बैठकले नै जनता आवास क्षेत्रमा उहाँका लागि घर निर्माण गर्न दियो।’
श्रीमानको दुई वर्षअघि निमोनियाँका कारण मृत्यु भएपछि तीन छोराछोरीलाई पढाउने-हुर्काउने जिम्मा शेर्माको काँधमा आइलागेको थियो। श्रीमान् रहुन्जेल दैनिक ज्याला मजदुरी गरेर उनले आफ्ना परिवारको गुजारा चलाउँदै आएकी थिइन्।
जब, श्रीमानको मृत्यु भयो, अनि तारा बेसहारा भइन्। उनको घरको चुलोमा आगो बल्न छोड्यो। काखमा नानी भएकाले काम गर्न जान सकेकी थिइनन्। घरबाहिर काम नगरेपछि अन्नपात पनि घरसम्म आउन सकेन।
छोराछोरी र आफ्नो बिहान-बेलुकाको छाक टार्ने उनको एउटै विकल्प बन्यो। माईखोलामा पूजा गर्न आएकाले दिएको चामल र केही रुपैयाँले उनका छोराछोरीले पेट भरिने गरी खान पाए।
बिहान घरबाट एउटा बोरा लिएर आउँथिन्। त्यही बोराको एक कुनामा उनी बस्थिन्। काखमा सानो छोरा हुन्थ्यो। सबैले त्यही दुधेबालक र आमाको अवस्था हेरेर ल्याएको अन्न र केही रुपैयाँ दिन्थे। उनले भनिन्, ‘सातामा मंगलबार र शनिबार धेरै तीर्थालु आउँथे, उनीहरूले दिएको चामलले घरमा भात पाक्थ्यो। साग-सब्जीका लागि थापेकै केही चामल बेच्थें।’
शेर्माले जसोतसो मागेर भए पनि गुजारा चलाउँदै आएकी थिइन्। कोभिड-१९ का कारण मुलुक २०७६ चैत ११ देखि लकडाउन भयो। त्यसको मार सबैभन्दा धेरै शेर्माजस्ताको परिवारलाई पर्यो। कनकाई नदीमा पूजा गर्न सर्वसाधरण आउन छोडेपछि त्यसको असर उनको भान्सा कोठासम्म पर्यो।
सरकारले सात दिनका लागि दिएको राहत सञ्चित गर्दै दु:खले शेर्माले १० दिनसम्म पुर्याइन्। दोस्रो पटकको राहत भने पाइनन्। त्यो राहत बचाएर खाइन्।
खानलाई जसोतसो चल्दै थियो। फेरि कनकाईको बाढी उनका लागि अभिषाप बन्यो। घाम पानी छेक्ने घर थियो, त्यो पनि बाढीले बगायो।
त्यसपछि उनको बास खुला आकाशमुनिको त्रिपाल टाँघेको छाप्रामा पुग्यो।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले भने, ‘पत्रकारले उठाएको विषयले अति विपन्न वर्गकी एक निरीह महिला र उनका अबोध छोराछोरीले बस्नका लागि घर पाउने भए।’
नगरले अति विपन्न र क्षमताहीन नागरिकका लागि बस्नको व्यवस्था मिलाउन जनता आवास कार्यक्रम अन्तर्गत १२ वटा घर निर्माण गरिसकेको छ। यो सँगै शिवसताक्षी ११ को बच्चाबगरमा १३ वटा जनता आवास क्षेत्रमा घर निर्माण हुने भएका छन्।
साबिकको सतासीधाम-८ माईधारमा पति शेरबहादुरसँगै २०६६ सालमा तारा शेर्मा बसाइँ सरेर आएकी थिइन्। उनको नागरिकता मोरङको तत्कालीन राजघाटबाट बनेको थियो।
राजघाटमा उनीहरू पाँचथरको माङजाबुङबाट आएका थिए। सतासीधामको डुँडामारीमा कामदारको रुपमा एउटा घरमा दुई वर्ष बसेका थिए। शेर्माका अनुसार उनले जेठी छोरी त्यहँ जन्माएकी थिइन्।
डुँडामारीमा घरेलु कामदारका रुपमा बसेका बेला घर साहुसँगको विवादपछि शेर्माको परिवार कनकाई खोलोको बगरमा गयो। उनका श्रीमान् शेरबहादुरले स्थानीयसँग एक लाखमा कनकाई नदीको बगरमा १० कट्ठा जग्गा किनेका थिए। त्यही जग्गामा छाप्रो हालेर बस्ने गर्थे शेर्मा परिवार। उनका एउटी छोरी र काखको छोरा त्यहीँ जन्मिएका हुन्।
निमोनियाँले श्रीमानको मृत्यु भएपछि छोराछोरीको पनि राम्ररी पालन पोषण गर्न सकिनन् उनले। उनकी जेठी छोरीलाई स्थानीय एक समाजसेवीले पढाउने, हुर्काउने गरी लगेका छन्।
शेर्मा भन्छिन्, ‘कर्ममा पक्की घरमा बस्न जुरेको रहेछ। मिल्ने छिमेकी भइदिए भने पशुपंक्षी पालेर पनि परिवारको गुजारा चलाउँछु। अन्य सिप सिक्छु र कुसल उद्यमी हुन्छु। मेरा छोराछोरीलाई उच्च शिक्षा दिन्छु।’
शेर्माको घर निर्माणका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले श्रीमती कविताको जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेर अभियानको खाता खोलेका थिए। शर्मा पनि अभियानका सदस्य हुन्।
संयोजक डालमियाका अनुसार शेर्माको घर निर्माणका लागि रकम जुट्न थालेको छ। उनले भने , ‘जबरजस्ती माग्ने र हात थाप्ने काम मेची अभियानले गर्दैन। स्व:स्फूर्त संकलन भएको रकमले नै शेर्माको घर निर्माण हुने हो।’