कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर बजार आजदेखि सुनसान भएको छ। पछिल्लो समय प्रदेशमै सबैभन्दा व्यस्त रहने वीरेन्द्रनगर बजार सोबारदेखि प्रशासनले निषेधाज्ञा जारी गरेपछि सुनसान बनेको हो।
सार्वजनिक तथा निजी सवारी साधनसँगै बजार र आसपासका व्यवसायहरु बन्द गरिएको छ। साउन २९ गते बसेको जिल्ला सुरक्षा समितिको वैठकले आजदेखि भदौ ५ गतेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।
वीरेन्द्रनगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसबाट पर्न सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसअनुसार निषेधाज्ञा जरी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।
साउन २८ गते एकै दिन वीरेन्द्रनगरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै साउन २९ गते पनि वीरेन्द्रनगरमा मात्र २१ जनामा कोरोना पुष्टि भएको थियो। २८ गते पुष्टि भएकामध्ये ५ जना समुदायस्तरका (कन्ट्याक्ट ट्रेसिङमा नपरेका) रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार भदौ १ गते (आज) बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गरिएको छ।
प्रदेशका अरु ठाउँमा पनि निषेधाज्ञा
सुर्खेतको वीरेन्द्रनगरसँगै कर्णाली प्रदेशका अरु स्थानीय तह तथा सदरमुकाममा पनि आजदेखि नै निषेधाज्ञा जारी गरिएको छ । मुगुको गमगढी र जुम्लाको चन्दननाथमा पनि आजदेखि नै निषेधाज्ञा लागू गरिएको छ।
जुम्लाको पातारासी गाउँपालिकामा पनि निशेधाज्ञा जारी छ। यस्तै रुकुम–पश्चिमको सदुरमुकाम रहेको मुसिकोट नगरपालिकामा पनि गत साताको बुधबारदेखि निषेधाज्ञा जारी छ।
सुर्खेतको भेरीगंगा नगरपालिकाले बजार क्षेत्र तथा व्यवसाय बन्द गराएको छ। भेरीगंगा वीरेन्द्रनगरपछिको दोस्रो व्यापारिक केन्द्रका रुपमा छ।
दैनिकजसो बजारमा हुने भीडभाडले कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बजार बन्द गर्ने निर्णय गरिएको भेरीगंगा नगरपािलकाका उपमेयर रेणु ढकालले जानकारी दिइन्।
नगरपालिकाभित्रका छिन्चु, जहरे, झिङ्नी र रामघाट बजार सोमबार साँझ ७ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म बजार क्षेत्र बन्द गर्ने निर्णय गरिएको उनले बताइन्।
निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध फेहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारी जस्ता अत्यावश्यक सेवा तथा व्यवसायहरु सञ्चालन गर्न पाइने छ। कार्यालयहरुमा स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक बैंक, वित्तीय संस्था, सहकारी लगायतका सेवा बन्द हुनेछन्।
निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइने छ भने धार्मिक, सामाजिकलगायतका जमघट गर्न पाइने छैन।
एम्बुलेन्स, शववाहन, दमकल, भिआईपीका झण्डासहितका सवारी साधन, सुरक्षा, स्वास्थ्य, कुटनीतिक नियोगका सवारी साधन तथा प्रेस तथा सञ्चारकर्मीका सवारी साधनहरु मात्र निषेधाज्ञा अवधिमा चलाउन पाइनेछ।