पन्नाकाजी कपाली अचेल पसलमा ग्राहक आइपो हाल्छन् कि भन्ने आशले बसिरहेका हुन्छन्। असनस्थित आफ्नो सानो घरमा टेलर खोलेर बसेका उनी लकडाउनयता यसरी नै आफ्नो दिन बिताइरहेका छन्।
अघिल्लो वर्ष यही समय उनलाई कामको भ्याइनभ्याइ हुन्थ्यो। विवाह, व्रतबन्ध र अन्य चाडपर्वका महिनामा प्रायः खाली हुन्थेनन्।
तर अवस्था सधैं उस्तै कहाँ हुन्छ र! अहिले नयाँ कपडाको सिलाइ त परको कुरा, बिग्रेको लुगा बनाउन पनि कोही आउन छाडेको उनी दुखेसो पोख्छन्।
'पसल खोलेर बस्नु भन्ने मात्र छ। दिनभर हातले सिलाइ मेसिन सुम्सुम्यायो, आँखा बाटामा ओछ्यायो,' उनी भन्छन्, 'पर्खाइ सकिँदैन।'
पन्नाकाजी ६३ वर्षका भए। करिब चालिस वर्ष भइसक्यो उनी सिलाइमा लागेको। आफ्नो पुर्ख्यौली घरभित्र पसल खोलेर उनले काम सुरू गरेका थिए। आजसम्म त्यसैलाई निरन्तरता दिइरहेका छन्।
'मेरो बाजे र बुबाले पनि सिलाइबुनाइकै काम गर्नु हुन्थ्यो। तर हाम्रो पसल थिएन,' उनी भन्छन्, 'मैले नै पसल खोलेँ। यसअघि न्यूरोडमा सटर भाडामा लिएर खोलेको थिएँ, पछि आफ्नै घर अगाडिको भागमा पसल निकालेको हुँ।'
उनी दिक्दार हुँदै थप्छन्, 'पहिले काम ठिकै थियो, खान बस्न पुगिरहेकै थियो। अहिले खत्तम भएको छ।'
कक्षा नौ सम्मको पढाइलगत्तै उनी यो काममा लागेका हुन्। उनलाई सिलाइको काम गर्न कसैले कर गरेको थिएन, आफैं यसमा आकर्षित भएका थिए।
'बाबुबाजेले यही काम अघि बढाउनुभयो। हामी यसकै कमाइबाट हुर्कियौं,' उनी भन्छन्, 'म पनि नयाँ कपडा सिलाएर लाउन पाउने कुराले दंग पर्थेँ। उतिबेला अहिले जस्तो धेरैले सिलाइको काम गर्थेनन्। अनि कमाइ पनि राम्रै हुन्थ्यो।'
उनका अनुसार आफू सिलाइमा भर्खर आउँदा यसमा लाग्नेको संख्या हातमा गन्न सकिन्थ्यो। विस्तारै काठमाडौंमा बाहिरी मान्छे भित्रिन थाले। टेलर पसल तथा बुटिक अनगिन्ती पुगिसके।
यसको प्रभाव उनको व्यवसाय पर्यो। ग्राहक कम हुँदै गए। ठूला र साजसज्जा भरिभराउ पसलसँग उनको टेलर त्यहीँ कतै हरायो। अचेल त उनको पसलमा आउने भनेकै उनलाई पहिलेदेखि चिन्ने पुराना ग्राहक मात्र हुन्।
'पहिलेका दिन सम्झेर के गर्नु, अब त्यस्तो छैन। अलिअलि गरेर छोराछोरी पढाएर बिहेदान गर्न सकियो। अबको कमाइले खान-लाउन गाह्रो पर्छ,' उनले भने।
उनी बिहान आठ बजेदेखि पसल खोल्छन्। काम पर्यो भने राती दस बजेसम्म गर्छन्। लकडाउनअघि कहिले दिनको पाँच-सय हजारसम्म हुन्थ्यो, कहिले काम नै आउँथेन।
बजारमा प्रतिस्पर्धा बढेपछि उनलाई पनि ठूलो पसल खोलेर व्यवसाय बढाउने रहर थियो। तर लगानी नभएकै कारण उनले आँट गर्न सकेनन्।
'पैसा भएन भने यहाँ केही गर्न सकिँदैन रहेछ,' उनी भन्छन्, 'ऋण मागेर काम गर्न पनि कसले दिन्छ हामीलाई। राम्रो कमाइ हुने भए पो कसैले विश्वास गरेर दिन्थ्यो होला।'
उनी यो टेलर एक्लैले चलाइरहेका छन्। पहिलेजस्तो धेरै कपडा सिलाउन पनि सक्दैनन्। नयाँ मान्छे राख्न पैसा मात्र होइन, पसलमा ठाउँ पनि छैन। कुचुक्क परेको कोठामा एक जना मात्र बसेर काम गर्न सकिन्छ।
पन्नाकाजी अरू विकल्प पनि देख्दैनन्। यो उमेरमा उनलाई अरूकहाँ गएर जागिर खान पनि मन छैन। उनको समयमा जागिर खाने मान्छेलाई सबैले गिज्याउँथे रे। त्यसैले आफ्नै काम गर्ने निधो गरेका थिए।
लकडाउनमा सबै काम बन्द हुँदा भने उनलाई 'जागिर खाएको भए बरू अलिअलि पैसा जम्मा हुन्थ्यो की' भन्ने महशुस भएको थियो।
'आफ्नै घर नभएर बहाल बस्नु परेको भए हाम्रो पनि उठिबास लागिसक्थ्यो,' उनले भने, 'वडाले राहत बाँडेको थाहा पाएर लिन पनि गयौं। तर राहतका नाममा चार किलो चामल, आधा लिटर तेल र आधा किलो दाल थियो।'
उनी थप्छन्, 'चार महिना जसोतसो बाँचियो। अब जम्मा गरेर राखेको पैसा पनि सकिन लागिसक्यो। के गरी खाने थाहा छैन।'
असनका स्थानीय भएले उनलाई गाउँ गएर खेतीकिसानी गरौं भन्ने विकल्प पनि छैन। उनको सम्पत्तिका नाममा त्यही एउटा पुर्ख्यौली घर हो। उनको अबको चिन्ता भनेकै न घर बेचेर खान मिल्छ न पैसा कमाउने अरू स्रोत छ।
'कमाइ हुने आशमा पसल खोलेको भए पनि सुनसान छ। मनको शान्तिलाई मात्र खोलेको हुँ। रोग दिनदिनै फैलिएको छ, फेरि सबै काम बन्द गर्ने भन्ने सुन्छु। यस्तो तालले हामी जस्तो दैनिक कमाएर खाने मान्छे त हो नि भोको पर्ने,' उनी दुखेसो पोख्छन्।
(अनुषा अधिकारीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)