केही दिनदेखि उनलाई कर्मचारीहरूको तारन्तार फोन आइरहेको थियो। कोही ‘मलाई घरबेटीले घरमा छिर्न दिएन’ भन्थे, कोही ‘गाउँलेले यस्तो उस्तो भने’ भनेर सुनाउँथे।
ती कर्मचारीको गुनासो सुनिदिने उनै थिए, तर उनीसँग ती समस्याको समाधान थिएन।
बकुलहर रत्ननगर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भएका कारण सम्पूर्ण कर्मचारीको जिम्मेवारी डाक्टर विश्वबन्धु बगालेकै काँधमा थियो।
मंगलबार उनकी श्रीमतीलाई कोरोना पोजेटिभ देखियो। उनी भरतपुर अस्पताल र भरतपुरकै मौलाकालिका अस्पतालकी प्याथालोजिस्ट हुन्।
श्रीमतीलाई कोरोना देखिएपछि नै डाक्टर बगाले सतर्क बनेका थिए। बुधबार राति उनको कोरोना रिपोर्ट पोजेटिभ आयो।
लगत्तै उनले आफ्नो रिपोर्ट पोजेटिभ आएकाले सुरक्षित रहन सबै कर्मचारीलाई जानकारी गराए। रत्ननगरका मेयरलाई पनि सबैको परीक्षण गर्न भने।अस्पतालले सबैको स्वाब संकलन गर्यो।
रिपोर्ट कुर्दै गरेका स्वास्थ्यकर्मीलाई समाजले बहिस्कार गर्न सुरू गरिसकेछ।
श्रीमतीको रिपोर्ट पोजेटिभ आएबाटै उनको परिवार होम आइसोलेसनमा छ।
शुक्रबार बिहान उनी कर्मचारीले आफूलाई सुनाएका कुरा सम्झँदै थिए। स्थानीय कृष्ण पौडेलको फोन आयो। बाहिर निस्कनुपर्यो भन्ने आवाज सुनेपछि उनी घरको कौसीमा गए। बाहिर एउटा समूह ब्यानर बोकेर उनको घरको अगाडि आइपुगेको रहेछ। ब्यानरमा लेखिएको थियो ‘कोरोना संक्रमितको घर’।
त्यो ब्यानर देखेर उनी चकित परे। अझ चकित त उनलाई अर्को विषयले बनायो ब्यानर बोकेर आउने समूहमा टोलका अध्यक्षदेखि अरू पनि थिए।
भीडबाट एक जनाले भने-तपाईंको घरको अघिल्तिर यो ब्यानर झुण्ड्याउनु पर्यो।
‘यहाँभन्दा चकित हुनुपर्ने कुरा अरू के नै होला र’, बिहानको घटना सम्झदै डाक्टर बगालेले सेतोपाटीसँग भने, ‘ठिक छ राख्नुस्, अध्यक्ष आफैं आउनुभएछ, एकतिर मात्रै किन चारैतिर राख्यो भने सबैले देख्लान्।’
त्यसअघि उनले सम्झाउने प्रयास गरेका थिए।
‘तर सुन्ने अवस्था नदेखिएपछि मैले तपाईंहरूको निर्णय नै सर्वोपरि हुने भए राख्नुस्। तपाईंहरूलाई पर्दा पनि म चाहिन्छ होला त्यो बेलामा सोचौंला भनें’, उनले सुनाए।
‘सडकमा मास्क नलगाई हिँड्नेलाई कडाइ गर्ने हो, सामाजिक दूरी पालना गर्न सिकाउने हो, तर उहाँहरू पोजेटिभ भएर कोठाभित्र बन्द भएका मान्छेलाई मनोबल गिराउने, हतोत्साहित बनाउने गरी आउनुभयो’, उनले भने, ‘मैले आफ्ना कुराहरू राखेपछि उहाँहरू लौ त नि भन्दै फर्किनुभयो।’
बगाले बस्ने भरतपुर महानगरपालिका-४ का अध्यक्ष हरिप्रसाद आचार्यले एक दिनअघि आफैं पुगेर भनेका थिए, ‘तपाईंको घरलाई आइसोलेसन क्षेत्र तोकरे ब्यानर झुण्ड्याउनुपर्यो।’
किन डाक्टरको घरमा त्यस्तो ब्यानर टाँस्न भनी जानुभएको भन्ने सेतोपाटीको प्रश्न टोल विकास समितिकी अध्यक्ष सुशीला सुवेदी ढकालले आफूहरू वडाध्यक्षको स्वीकृति लिएर उनको घरमा गएको बताइन्।
‘उहाँसँग सल्लाह गरेर गएको हो। उहाँ गएको होइन,’ उनले भनिन्
डाक्टर बगाले र उनको श्रीमतीको स्वास्थ अवस्था सामान्य छ। त्यसो त उनीहरूले असामान्य अवस्था भएका कारण परीक्षण गराएका पनि थिएनन्। श्रीमतीलाई सामान्य रूघा लागेको थियो। दुबै जना फ्रन्टलाइनमा कार्यरत चिकित्सक भएका कारण ढुक्क हुन उनीहरूले परीक्षण गरेका थिए।
आइतबार स्वाब दिएका श्रीमानको रिपोर्ट बुधबार आयो, सोमबार दिएकी श्रीमतीको मंगलबार नै आयो। उनीहरूले बिहीबार १२ वर्षीय छोराको पनि परीक्षण गराए। उनको रिपोर्ट नेगेटिभ आयो। अहिले छोरा छुट्टै कोठामा बस्छन्।
‘म यसै पनि घर बाहिर निस्कने मान्छे होइन। कामबाट फर्किएर प्रायः घर भित्रै बस्छु, टिभी हेर्ने, पुस्तक पढ्ने बानी छ’, उनले भने, ‘अरू बेलासमेत घर बाहिर ननिस्कने मान्छे यस्तो बेलामा निस्कने कुरै भएन।’
समाजका अगुवाहरूले अन्यलाई पनि सचेत गराउनु पर्नेमा हतोत्साहित बनाउने काम गरिरहेको गुनासो उनको छ।
‘चिकित्सकजस्तो मान्छेलाई त यसरी मनोबल गिराउने प्रयास गरिन्छ भने अन्यको अवस्था के होला?’, उनले भने, ‘मैले उनीहरूकै लागि आवाज उठाएको हुँ। म खुलिदिँदा अन्य सर्वसाधारणलाई राहत हुन्छ भने म मौन बस्नुहुँदैन भनेर आवाज उठाएको हुँ।’
डा.बगालेले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि समाजले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै स्टाटस पोष्ट गरेका थिए। त्यसमा धेरैले उनको समर्थन गरेका छन्।
दुःखमा साथ नदिने समाजको कुनै अर्थ नहुने डा.बगाले बताउँछन्।
‘दुःखमा साथ दिनुको सट्टा हतोत्साहित गर्ने समाज किन चाहियो ?’, उनको प्रश्न छ,‘समाज त एकले अर्कालाई सहयोग गर्ने हुनुपर्छ।’
चुनावको बेलामा आदर्शको कुरा गर्नेले अप्ठ्यारो पर्दा थप पीडा दिएको गुनासो उनी गर्छन्।
‘यस्तो समाजले कोरोना भाइरसविरूद्ध कसरी लड्ला’, उनले भने।।
२०६६ सालमा चितवनको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रबाट सरकारी सेवामा लागेका डा.बगाले बाल रोग विशेषज्ञ हुन्। २०६९ सालबाट भरतपुर अस्पतालमा सेवा सुरू गरेका उनी केही महिना त्यहाँको मेडिकल सुपरिटेन्डेन्ट भएर पनि काम गरे। २०३५ सालमा लमजुङ जिल्लाको साविकको सूर्यपाल गाविसमा जन्मिएका डा.बगाले २०५३ सालको एसएलसी परीक्षाको बोर्ड फस्र्ट हुन्।
यो घटनाबाट उनी कत्ति पनि बिचलित बनेका छैनन्। बरू उनको परिवार कोरोनाविरूद्ध लड्न थप मजबुत बनेको छ।
कोरोना संक्रमितलाई उनको सुझाव छ- सकारात्मक सोच राख्नुस्, चिन्ता नगर्नुस्।
चिन्ता र नकरात्मक सोचले मनोबल घटाउने उनी बताउँछन्। समाजमा मनोबल गिराउन चाहनेको सक्रियता देखिँदा पनि वास्ता नगरी घरमा बस्न र लक्षण देखिए स्वास्थ्यकर्मीको सम्पर्कमा जान उनी सुझाउँछन्। भन्छन्, ‘हामीले कुनै अपराध वा पाप गरेका त होइनौं नि, त्यसैले लुकेर बस्नुपर्ने आवश्यकता नै छैन।’
होम आइसोलेसनमा उनी अहिले बिपी कोइरालाको जेल जर्नेल पढ्दै छन्। योगा गर्ने, टीभी हेर्ने, खाना पकाउने गरेर उनको दिन बित्दैछ।