रूसले बनाएको कोरोना भाइरस खोप ‘एकदमै प्रभावकारी’ रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरे पनि यसको तेस्रो चरणको क्लिनिक परीक्षण सकिएको छैन।
राष्ट्रपति पुटिनले मंगलबार कोरोना भाइरसविरुद्धको खोप अनुमोदन गर्ने रूस पहिलो मुलुक भएको घोषणा गरेका थिए।
क्लिनिक परीक्षण पूरा नहुँदै औपचारिक घोषणा गरिएको यो खोपलाई लिएर अन्तर्राष्ट्रिय वृत्तमा चासो बढेको छ। रूसले राजनीतिक प्रचारबाजी निम्ति परीक्षणकै क्रममा रहेको खोपलाई औपचारिक रूप दिएको सम्बन्धित विज्ञहरूले बताएका छन्।
विश्व स्वास्थ्य संगठनले पनि खोपको सुरक्षा र प्रभावकारिताका लागि परीक्षणको नियमित विधिबाट बाहिर नजान गत साता रूसलाई सचेत गराएको थियो। त्यसका बाबजुद राष्ट्रपति पुटिनले मंगलबार खोप घोषणा गरेका हुन्।
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यो रोगसँग लड्न सक्ने खोप बनाउन संसारभरि होड छ। अमेरिका, बेलायत, चीन लगायत मुलुकहरू खोपको परीक्षण प्रक्रियामा निकै अघि बढिसकेका छन्। ती सबैलाई पछि पार्दै आफूले सबभन्दा अगाडि खोप ल्याएको दाबी गर्न मात्र राष्ट्रपति पुटिनले उक्त घोषणा गरेको विज्ञहरूको भनाइ छ।
रूसले औपचारिक घोषणा गरेको कोरोना खोपको गुणस्तर र प्रभावकारिता पुष्टि गर्ने कुनै पनि रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन। यसमा सार्वजनिक भएको रूसी राष्ट्रपतिको उद्घोष मात्र हो।
उनले मंगलबार बिहानको मन्त्रिपरिषद बैठकमा भने, ‘यो खोपले एकदमै राम्रोसँग काम गरेको छ। यसले रोगसँग लड्न प्रतिरोधात्मक क्षमता विकास गर्छ। म दोहोर्याएर भन्छु, यो खोपले सबै आवश्यक परीक्षणहरू पूरा गरेको छ।’
उनले खोप बनाउनमा संलग्न सबै वैज्ञानिकलाई धन्यवाद दिँदै अगाडि भने, ‘यो हाम्रो देशका लागि मात्र होइन, सिंगो संसारकै लागि पहिलो र अत्यन्तै महत्वपूर्ण कदम हो।’
राष्ट्रपति पुटिनले आफ्नै छोरीले पनि उक्त खोप लगाएको बताएका छन्।
यो खोप निर्माण रूसको गामालेया इन्स्टिच्यूटले गरेको हो। सबभन्दा पहिला बाँदरमा परीक्षण गरिएको यो खोप त्यसपछि मानिसमा पनि परीक्षण गर्न सुरू गरिएको थियो। प्रारम्भिक नतिजा राम्रो देखिए पनि तेस्रो चरणको क्लिनिक परीक्षण बाँकी छ। यो चरणमा दसौं हजार व्यक्तिलाई निगरानीमा राखेर खोप लगाइन्छ र त्यसको नतिजा हेरिन्छ। अहिलेसम्म खोपको सुरक्षा र प्रभावकारिता निर्क्यौल गर्न यसलाई एक मात्र उत्तम विधि मानिएको छ।
संसारभरि १६५ थरीका कोरोना खोप निर्माण क्रममा छन्। तीमध्ये ३० भन्दा बढी खोप विभिन्न चरणको मानवीय परीक्षणमा छ।
कुनै पनि खोप सार्वजनिक प्रयोगमा ल्याउनुअघि तीन चरणको मानवीय परीक्षणबाट अनुमोदन हुनुपर्छ। पहिलो दुई चरणको परीक्षण थोरै व्यक्तिहरूको समूहमा गरिन्छ। ती व्यक्तिलाई खोप लगाएपछि कुनै असर गर्यो कि गरेन र त्यसले खोप लगाउने मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा कस्तो असर पार्यो भनेर हेरिन्छ।
तेस्रो वा अन्तिम चरणमा यसलाई दसौं हजार मान्छेमा परीक्षण गर्नुपर्छ। खोप सुरक्षित छ कि छैन र यसले भाइरससँग लड्न मद्दत गर्छ कि गर्दैन भनेर प्रमाणित गर्ने एक मात्र उपाय तेस्रो चरणको परीक्षण नै हो। ठूलो समूहमा गरिने हुँदा खोपले ल्याउने नकारात्मक असरहरू पनि थाहा हुन्छ, जुन अघिल्ला परीक्षणबाट देखिँदैन।
यसरी खोप अनुसन्धान गरिरहेको संस्थाले आफ्नो परीक्षण प्रतिवेदन वैज्ञानिक जर्नलमा प्रकाशित गर्ने चलन छ। जर्नलमा प्रकाशित गर्नुअघि परीक्षणको नतिजा सम्बन्धित विज्ञहरूबाट मिहिन जाँच–पड्ताल गरिन्छ। परीक्षण नतिजालाई विभिन्न कोणबाट केलाएपछि मात्र खोपको प्रभावकारिता निर्क्यौल हुन्छ। रूसी खोपका हकमा तेस्रो चरणको परीक्षण प्रक्रिया पूरा भएको छैन।
रूसी सरकारको घोषणाबारे अमेरिकाका स्वास्थ्य मन्त्री एलेक्स एजारले भनेका छन्, ‘अहिलेको प्रतिस्पर्धा कसले सबभन्दा पहिला खोप ल्याउँछ भन्ने होइन, सुरक्षित र प्रभावकारी खोप ल्याउनु ठूलो कुरा हो।'
‘खोप प्रमाणित भएको घोषणा गर्न र त्यसलाई सार्वजनिक प्रयोगमा ल्याउन हामीलाई पारदर्शी तथ्यांकको खाँचो पर्छ,’ उनले भने, ‘यो भनेको तेस्रो चरणको परीक्षण नतिजा नै हो।’
रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले भने यसै महिनाबाट शिक्षक र स्वास्थ्यकर्मीहरूलाई खोप लगाइने बताएका छन्। उनले छिट्टै यसको सार्वजनिक प्रयोग गरिने घोषणा पनि गरेका छन्।
कोरोना भाइरसविरुद्ध खोप परीक्षण गरिरहेका अन्य अनुसन्धान संस्थाहरूले यो वर्षको अन्त्य वा अर्को वर्षको प्रारम्भभन्दा अगाडि खोप सार्वजनिक प्रयोगमा आउने आशा नगर्न भनेका छन्।
रूसले गरेको घोषणा वैज्ञानिकहरूले भन्दै आएको समयसीमाभन्दा धेरै अगाडि हो, जसलाई राष्ट्रिय गौरव बढाउने प्रचारबाजीका रूपमा हेरिएको छ।