चैत ११ लकडाउन भएयता मानिसहरूले धेरै थोक गुमाएका छन्। धेरैले गुमाएको मध्ये हो, गरिआएको काम हो। बन्द भएका धेरै कुरा साउन ७ गतेदेखि खुलेका छन् तर लामो दूरीका बस अझै चलेका छैनन्। बस नचलेपछि कुनै बेला स्टेरिङ घुमाउँदै, हर्न बजाउँदै महिनाको ३०-३५ हजार कमाउने ड्राइभर घरमै बसिरहेका छन्।
तिनैमध्ये एक हुन् सुर्खेत वीरेन्द्रनगरका अनिल बिक। उनले बैंकबाट ऋण लिएर घर बनाएका छन्। आफ्नो कमाइकै भरमा ऋण लिएर घर बनाएका बिकलाई बैंकबाट यो बेला पनि किस्ता तिर्न बारम्बार फोन आइरहन्छ।
केही दिनअघि छिमेकीबाट ऋण मागेरै उनले दुई महिनाको २८ हजार रुपैयाँ बैंकमा किस्ता तिरेका छन्। बाँकी पैसा भएपछि तिर्ने उनले बताए।
‘लकडाउन भएदेखि यता किस्ता तिरेको थिइनँ, अस्ति गएर दुई महिनाको तिरें। बाँकी पैसा भएपछि तिर्नुपर्ला भन्ने छ,’ उनले भने।
गाडी चलाउने बेला राम्रै आम्दानी हुने गरेको भए पनि यतिबेला आफू बेरोजगार बस्नुपर्दा आर्थिक रूपमा निकै चाप परेको उनी बताउँछन्।
‘लकडाउन हुनुअघि सुर्खेत-काडमाठौं रात्री बस चलाउँथे, आम्दानी राम्रै हुन्थ्यो,’ बिकले भने, ‘त्यसै कमाइका आधारमा बैंकबाट ऋण लिएर सानो घर बनाएको छु, अहिले किस्ता तिर्न बैंकले बारम्बार फोन गर्छ। यता बसाबस भएपछि कमाइ पटक्कै छैन।’
अनिलको छोराछोरी र आफू, श्रीमतिसहित ४ जनाको परिवार छ। छिमेकी र आफूलाई पत्याउन साहुसँग सापटी मागेर परिवारको खर्च चलाउँदै आएको उनले बताए।
‘आफ्नो परिवारको खर्च चलाउन साह्रै समस्या परेको छ, चिनेजानेका पैसा हुनेहरूसँग ऋणसापटी माग्ने अनि घरपरिवारको खर्च चलाउने गरेको छु,’ उनले भने, ‘बैंकको ऋण त छँदैछ, त्यहीमाथि छिमेकीको र साहुको ऋण थपिने भयो।’
२०६३ सालबाट गाडीमा काम गर्न थालेका बिकपछि ड्राइभर पनि बने। आफूले जानको सीप लकडाउनले प्रयोग गर्न नदिएको उनले दु:खेसो पोखे।
‘लगभग १५ वर्ष भइसक्यो गाडीमा हिँड्न थालेको, सीप पनि यही सिकियो,’ उनले भने, ‘अरू सीप छैन, यो कोरोनाले यही भएको सीपले कमाउने बाटो पनि बन्द गरिदियो।’
वीरेन्द्रनगर-७ कालिञ्चोकका यज्ञ तिवारी बैंकमा मासिक २० हजार रूपैयाँ किस्ता तिर्छन्। घर बनाउन बैंकबाट ऋण लिएका तिवारीलाई किस्ता तिर्ने समय हुनुअगावै बैंकबाट फोन आउँछ। फोन आउने बेला भयो भने उनको मुटु ढुकढुक भइरहन्छ, फोन आएपछि तनाव हुन्छ।
‘घर बनाउनका लागि बैंकबाट ऋण लिएको थिएँ, अहिले मासिक २० हजार रूपैयाँ किस्ता तिर्नुपर्छ,’ तिवारीले भने, ‘बैंकबाट किस्ता तिर्नेभन्दा तीन/चार दिनअगाडि नै फोन आइहाल्छ, फोन आयो की तनाव सुरू हुन्छ।’
तिवारी लकडाउनका कारण चैत ११ गतेदेखि बेरोजगारजस्तै छन्। साहुको गाडी चलाएर मासिक ३० हजारसम्म कमाउने उनको यतिबेला आम्दानी शून्य छ। चार जनाको परिवार पाल्ने खर्चदेखि बैंकको किस्तासम्म तिर्न उनकै कमाइ हो।
कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो समय लकडाउन खुले पनि सार्वजनिक सवारी साधन भने पूर्ण रूपमा चल्न दिइएको छैन। जिल्लाभित्र केही सवारी साधन चलेपनि एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलेका छैनन्।
तिवारी सुर्खेत-काठमाडौं रात्री बस चलाउँथे।
‘सुर्खेतदेखि काठमाडौंसम्म नाइट गाडी चलाउँथें, परिवारको खर्च गरेर पनि थोरै बच्थ्यो,’ उनले भने, ‘चैत १० गतेदेखि आएर घरमा बसेको हुँ, आजसम्म पनि घरभित्र पल्टिनुबाहेक अरू काम छैन, परिवारको खर्च टार्नै समस्या भइसक्यो।’
लकडाउन खुलेयता कोरोना संक्रमितको संख्या झन् थपिँदै जान थालेपछि भदौ १ गते खुल्ने भनिएको सार्वजनिक यातायात फेरि बन्द हुने हो कि भन्ने तिवारीलाई पीर छ।
‘केही पसलबाट उधारो लिने, केही छिमेकी र पत्याउने साहुबाट ऋण मागेर परिवारको खर्च चलाउनु परेको छ,’ उनले भने, ‘कहिलेसम्म ऋण गरिरहनु, लकडाउन खुलेपछि अब त गाडी खुल्ला र काम पाइएला भन्ने लागेको थियो। अझ बिरामी बढ्दै गएको भन्ने समाचार आउँछ फेरि यसैगरी घरमा बस्नुपर्ला भन्ने पनि छुट्टै डर छ।’
रोगले भन्दा भोकले समस्या पार्ने गरेको उनले दु:खेसो पोखे।
‘रोग त त्यस्तै हो, हामीलाई अहिले भोकले पो सताउने अवस्था आएको छ,’ तिवारीले भने, ‘हामीलाई न त राहत दिइयो, न त काम नै गर्न दिइयो। हामीजस्ता ड्राइभरको अवस्थाबारे कसैले हेरेन।’
पृथ्वी शाहीको समस्या पनि यज्ञ तिवारीकै जस्तो छ। उनी सुर्खेत–काठमाडौं रात्री बस चलाउँछन्। २०७६ चैत १० गते काठमाडौंबाट गाडी चलाएर सुर्खेत फर्किएका शाहीले त्यसपछिको लकडाउनका कारण गाडीको स्टेयरिङमा हात राखेका छैनन्।
उनी पनि परिवार पाल्न साथीभाइ, साहुसँग ऋण लिन बाध्य छन्। उनले ड्राइभिङ पेसा सुरू गरेको १७ वर्ष भयो। यसरी लामो समय खाली बस्नु परेको पहिलो पटक हो। लामो समय खाली बस्नुपर्दा आम्दानीको साटो उल्टो ऋण गर्नु परेको छ। आफूले नियमित काम गर्दा मासिक ३५ हजारसम्म कमाई हुने गरेको उनले बताए।
‘लकडाउनका कारण अहिले जिन्दगीमै पहिलो पटक यति लामो समयसम्म बस्नुपरेको हो, लकडाउन अघि त मासिक ३५ हजारसम्म त नर्मल पैसा कमाइन्थ्यो,’ शाहीले भने, ‘अहिले अरूबाट ऋणसापट गरेर परिवार खर्च चलाउनु परेको छ।’
शाहीको वीरेन्द्रनगरमा श्रीमती, छोरा, छोरीसहित चार जनाको परिवार छ। दुई छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन्।
‘अहिले स्कुलले शुल्क मागेको छैन, नत्र त झन् समस्या हुन्थ्यो,’ उनले भने, ‘पछि पनि लकडाउनका बेलाको स्कुलले शुल्क लगिहाले भने पनि लोड पर्नेवाला छ।’