निर्मला बुढाथोकी चार महिनाको लकडाउनपछि बल्ल आफ्नो काममा फर्किन पाएकी छन्। काठमाडौं, बसन्तपुरमा थर्मसमा चिया बेचेर घरखर्च चलाउँदै आएकी ४३ वर्षीया निर्मला लामो समय कामविहीन भइन्।
लकडाउन खुकुलो भएसँगै उनको आम्दानीको बाटो खुल्यो। तर अहिले उनलाई कमाइभन्दा बढी समस्या हुन थालेको छ।
दिनभर घरधन्दा सकेर साँझ परेपछि बसन्तपुर पुगी चिया बेच्न थाल्छिन् उनी। तीन लिटरका दुइटा थर्मसमा कालो र दूध चिया बोकेर घुम्न आएका युवातिर लम्किएर चिया बेच्न खोज्छिन्। तर अवस्था पहिलेजस्तो छैन।
मान्छेको भिडले भरिभराउ हुने बसन्तपुर अचेल सुनसानसरह छ। दस-पन्ध्र जना आए पनि उनीहरूका आँखामा एक किसिमको डर झल्किरहन्छ। र यही डरको सिकार भएकी छन् निर्मला।
यो डर कम गर्न उनले चिया बेच्ने शैली फेरेकी छन्। मास्क र ह्यान्ड स्यानिटाइजर बोकेर हिँड्छिन्। चिया दिँदा थालमा राखेर दिन्छिन्, ताकी कोहीसँग सिधा सम्पर्कमा नआइयोस्।
उनले चिया बेच्न खोज्दा प्रायःले सोध्छन्, 'तपाईंलाई कोरोना लागेको पो छ की?'
सामान्य भइसकेको हरेकको यो प्रश्नमा उनी भन्छिन्, 'तपाईंलाई लागे मात्रै हो, नत्र मलाई लागेको छैन।'
उसो त लकडाउनअघि पनि उनलाई डुलेर चिया बेच्न सजिलो थिएन। महानगरपालिका कर्मचारीले देखे लखट्ने डरले सधैं लुकीलुकी बेच्नु पर्थ्यो। नभए थर्मस, गिलास जे-जे छन्, सबै उठाएर लैजाने उनले बताइन्।
'अहिले झन् कोरोनाका कारण मान्छेलाई वरिपरि बस्न दिँदैनन्। त्यसैले चिया बेच्न ल्याउनुको अर्थै भएको छैन,' निर्मला दुखेसो पोख्छिन्, 'चिया बोकेर यत्तिकै हिँडेको देख्यो भने पनि घेरा लगाएर समात्छन्। ६ बजेपछि भने महानगर कर्मचारीको ड्यूटी सकिन्छ। अनि चिया खाने मान्छे त्यति बेला आएर खान्छन्।'
कुरा गरिरहँदा पनि उनका आँखा महानगर कर्मचारीले देख्लान् कि भनेर वरिपरि डुलिरहेका थिए।
'बसन्तपुर चोकमा जाऊँ भने बस्न दिँदैनन्। यता संग्रहालय वरिपरि आर्मीले भगाउँछन्,' आँखा डुलाउँदै उनले भनिन्, 'काम गरी खान गाह्रो छ। फेरि गर्मी छ। पहिले जसरी कोही चिया खान आउँदैनन्। कतिसँग त खानलाई पैसा पनि हुँदैन अहिले।'
उनका धेरैजसो ग्राहक ज्याला-मजदुरी गर्नेहरू छन्।
निर्मलाले चिया बेच्न थालेको सात वर्ष भइसक्यो। बसन्तपुरमा चिया खान आउनेमध्ये उनलाई नचिन्ने थोरै होलान्। उनलाई वरिपरि नदेखे सधैं चिया खाने मान्छेले फोन गरेर भए पनि बोलाउँछन् रे। त्यसैले उनी आफ्ना ग्राहकका लागि लुकीलुकी चिया बेच्न आउने बताउँछिन्।
कतिपय नियमित ग्राहकलाई उनले चिया उधारो पनि दिन्छिन्। लकडाउनका कारण उठाउनु पर्ने पैसा बाँकी नै छ। तर ती मान्छे आउँछन्-आउँदैनन्, उनलाई थाहा छैन।
दूध चियाको बीस रुपैयाँ र कालोको पन्ध्र रुपैयाँ लिएर पनि कमाइ राम्रै हुन्थ्यो। उनका अनुसार पोहोर जाडोसम्म दिनको एक-दुई हजारसम्म कमाउँथिन्। अहिले दुई सय कमाउन मुश्किल छ।
'यति कमाइले काठमाडौंजस्तो महँगो ठाउँमा कसरी बाँच्नू,' उनी भन्छिन्।
काठमाडौं आएर दुःख गर्ने रहर निर्मलालाई थिएन। नौ वर्ष अघिसम्म उनी आफ्नो गाउँघर दोलखामा गाईवस्तु पालेर, खेतीपाती गरेर बस्थिन्। श्रीमान काठमाडौंमा मिस्त्री काम गर्थे। उनी उतै परिवार सम्हालेर बसेकी थिइन्। एकपटक खेतमा काम गर्दागर्दै लडेर उनको ढाड कोदालोमाथि बजारियो। त्यस दिनदेखि भारी काम गर्न शरीरले साथ दिएन।
विस्तारै हाडजोर्नी समस्याले खुट्टा चलाउन पनि गाह्रो पर्न थालेको थियो। आफ्नो त्यो हालतले गाउँमा काम गर्न नसक्ने भएपछि उनी छोराछोरी लिएर श्रीमानसँगै बस्न काठमाडौं आइन्।
सुरूमा उनले छोराछोरी हेर्न भनेर काम गरिनन्। श्रीमानको कमाइबाट जसोतसो खर्च धानिएको थियो। दिनदिनै छोराछोरीको खर्च बढ्दै गयो। निर्मला कमजोर हुँदै गइन्। अस्पतालमा डाक्टरले हल्का हिँडडुल गर्नू भनेका थिए। बेकाम हिँड्ने फुर्सद उनलाई थिएन।
त्यसैले बसन्तपुरमा आफ्नै छिमेकीहरू चिया बेच्न हिँडेको देखेपछि उनी पनि अलिअलि कमाइ हुने आशले हिँड्न थालिन्।
'श्रीमानले काम नगर, जसरी भए पनि म पाल्छु भन्नु हुन्छ। तर आफ्नो मन मान्दैन,' उनी भन्छिन्, 'छोराछोरीलाई केही चाहियो भने मसँगै माग्छन्। गाउँबाट आमाबुबा आउनु हुन्छ, पाहुना आउँछन्। अनि त्यतिका लागि श्रीमानसँग पैसा मागिरहन मन लाग्दैन। आफ्नो कमाइ भएपछि घर चलाउन पनि सजिलो हुन्छ।'
उनी सुगर रोगी हुन्। माइग्रेनको औषधि पनि खाइरहेको बताउँछिन्। महिनामा औषधिका लागि मात्र पाँच हजार खर्च हुन्छ।
अहिले पनि निर्मला लामो समय हिँड्न र काम गर्न सक्दिनन्। पूरै निको हुन शल्यक्रिया गर्नुपर्छ भनेको छ अस्पतालले। तर शल्यक्रिया सफल भएन भने यति काम पनि गर्न नसकूँला भन्ने डर उनलाई लागिरहन्छ।
डरैडरमा काम गर्नुभन्दा आफ्नै पसल खोल्ने सोच नआएको होइन, 'तर सानो पसल यहाँ चल्दैन। ठूलो लगानी गर्न सक्दिनँ।'
समस्या लगानीको मात्र होइन, हिसाबकिताब राख्नुको पनि छ। निर्मला खुद्रा पैसा मात्र हिसाब गर्न सक्छिन्।
'सानोमा स्कुल गइएन। अक्षर मात्र चिन्न पाएको भए आफ्नै काम सुरू गर्ने आँट आउँथ्यो होला,' उनी भन्छिन्, 'यस्तै आपतका बेला पसल भाडा तिर्न सकिएन भने उठीबास लागिहाल्छ। म सधैं काममा आउन पनि सक्दिनँ। कहिले अस्पताल जानु पर्छ त कहिले बिरामी भएर बसेको हुन्छु। मनले मात्र काम गर्न नसकिने है?'
उता श्रीमानले पनि डेढ वर्षदेखि राम्ररी काम पाएका छैनन्। लकडाउनमा ठप्पै भयो। अहिले काम पाए पनि हुने-नहुने टुंगो छैन।
निर्मला भन्छिन्, 'अलिअलि जम्मा भएको पैसा फारू गर्दै चलाएर लकडाउनमा बाँचियो। घरभाडा तिर्न गाह्रो भएकाले घरबेटीलाई भनेर बल्लबल्ल एक महिनाको छुट पायौं।'
उनलाई लकडाउनमा गाउँ फर्किने सोच पनि आएन। उता केही काम हुँदैन, बरू यतै एक-दुई रुपैयाँ भए पनि कमाइ हुन्छ भनेर बसिन्।
'लकडाउनकै बेला गाउँमा आमा बिरामी भएर काठमाडौं ल्याउनु पर्यो। एम्बुलेन्समा जाँदा-आउँदा बाह्र हजार खर्च भयो। अस्पतालको खर्च छुट्टै,' उनले सुनाइन्, 'लकडाउनमा वडाले राहत बाँडेको थाहा पाएर नाम टिपाउन गयौं। त्यसका लागि घरबेटीको सिफारिस चाहिने रहेछ। तर घरबेटीले उल्टै 'तीन-चार लाखको बाइक चडेर हिँड्छ, हामीभन्दा धनी छ' भनिदिएछन्। त्यसैले राहत पनि पाएनौं।'
वरिपरि कहिलेकाहीँ संस्थाका मान्छेहरू आएर खाना बाँड्छन्। तर उनलाई त्यसको आश छैन।
'अहिलेसम्म अरूसँग मागेर खाएको छैन। बरू अझै दुःख गरेर आफैं कमाइ गरेर खान सकिने विश्वास छ,' निर्मला दृढ सुनिन्छिन्।