रुपन्देही प्रहरीले लाखौं मूल्यका जडिबुटी तथा केराउ बरामद गरेको छ। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ मैनीहवाबाट १७ लाख २५ हजार भन्दा बढीको दाँते ओखर, गुगल जडिबुटी, केराउ तथा मदिरा बरामद गरेको हो।
प्रहरीले मैनीहवाका पंगुला कहांर र उनकै छोरा कान्छा कहांरको घरमा गोदाम गरी राखिएको उक्त जडिबुटी र गेडागुडी बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले विशेष सुराकीका आधारमा खान तलासी गर्दा अवैध रूपमा गोदाम गरी राखिएको साढे ८ लाख मूल्य बराबरको ६० बोरा दाँते ओखर, ८ लाख २५ हजार मूल्य बराबरको ५० बेरा गुगल नामक जडिबुटी, १२ बोरा केराउ तथा १९ कार्टुन मदिरा समेत बरामद गरिएको जानकारी दिए।
खत्रीले बरामद गरिएको ओखर र गुगल नामको जडिबुटी डिभिजन वन कार्यालय भैरहवा पठाइएको र केराउ र मदिरा आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जानकारी दिए।