अहिलेसम्म सुर्खेतकी सपना (नाम परिवर्तन) चौधरीका दुई विहे भए।
समाजका अघि भएका यी दुवै बिहेमा उनले आफ्नै निर्णय गर्न पाइनन्। उनलाई के लागेको छ, कसैले सोधेन। आफैं उभिएर बोल्न सक्ने आँट पनि थिएन।
त्यसैले उनी चुपचाप 'राजी' भइन्।
पहिलोपटक बिहे गर्न 'राजी' हुनुको कारण थियो- आमाबाले पाल्न सक्दैनन्। दोस्रोपटक समाजमा परिवारको इज्जत धान्न 'राजी' भएकी थिइन्।
ठ्याक्कै १० वर्षअघि एसएलसी दिए लगत्तै सपनाको विहेको कुरा चल्यो।
त्यतिबेला उनलाई ड्रेस लगाएर क्याम्पस पढ्न जाने मन थियो तर उनका बाबुआमाको हैसियत उनलाई पढाउन सक्ने थिएन।
त्यसैले आफ्नो पढ्ने रहरलाई मनको एउटा कुनामा थन्क्याएर उनी विहा गर्न राजी भइन्।
उनकी दिदी र दाजु दुवैको बिहे भैसकेको थियो। २१ वर्षको उमेरमा उनी बिहे गरेर पराइ घर गइन्। बिहे भएको ८ महिनापछि पति धन कमाउन मलेसिया गए। यता उनी गर्भवती भैसकेकी थिइन्। पति गएको महिनादिनपछि छोरी जन्मिइन्।
पतिसँग छुटेका वर्षमा उनीहरूको धेरै कुराकानी फोनमै भयो। फोनबाटै उनीहरूले एकअर्कालाई ज्यादा माया गर्न सिके, एक अर्कालाई विश्वास गर्ने आधारपनि त्यही थियो। २०७१ सालमा पति विदेशबाट आएर केही महिनापछि फर्किए। त्यो बसाइले उनीहरूमा एकअर्काप्रतिको माया झन् गाढा बनाएको थियो।
०७३ सालको महिनामा एक्कासी उनको पेट दुख्यो। परिवारले हतारहतार उनलाई सुर्खेत अस्पतालमा पुर्यायो।
डक्टरले उनलाई जाँचेर पेटमा बच्चा भएको सुनाए तर डक्टरको कुराले परिवार भने तीनछक पर्यो। उनले भने लामो सास फेरिन्। नौ महिनासम्म पेटमा गुपचुप बच्चामात्र हुर्किरहेको थिएन। अतिसय पिडा, अन्याय र डर पनि पालिरहेकी थिइन्।
यी सबै कुरा उनले कसैलाई भन्नै पाइनन्। बच्चा छ भन्ने थाहा पाएपछि परिवार उनलाई चटक्कै छोडेर घर फर्किए।
छोरी जन्मिइन्।
तबमात्र उनले डक्टरलाई सबै कुरा भनिन्।
त्यसको ठिक ९ महिना अघिको कुरा हो। एकरात उनी आफ्नै कोठामा मस्त निदाइरहेकी थिइन्। घरको माथिल्लो तलामा उनको कोठा थियो। त्यहाँ उक्लिनलाई भर्याङ बाहिरै थियो।
'राति एक्कासी मेरो ज्यानमा कसैले हात हाल्यो। बिउँझिएँ। मैले को हो भन्ने वित्तिकै उसले मेरो मुख थुनिदियो। मलाई जथाभावी गर्यो,' उनले भनिन्, 'अध्यारो थियो मलाई त्यो मानिस को हो भन्ने थाहै भएन। उ उठेर गयो। म पछि पछि गएँ। उसलाई भर्याङमा देखेँपछि बल्ल चिनेँ।'
ती मानिस उनकै गाउँको कृष्ण चौधरी थिए। उनी सेनाका जवान हुन्। त्यतिबेला उनी विदामा आएका थिए। सपनालाई निकै डर लाग्यो। रातभरी निद्रा लागेन। त्यसपछिका हरेक रात उनी डराइन्।
पतिले मलेसियाबाट फोन गर्दा सबै हालखबर भन्ने गरेकी थिइन्। तर उनले आफ्नो ज्यान र मनको हाल भने भन्नै सकिनन्। महिनावारी नभएपछि उनको डर झन् बढ्यो।
त्यो घटनाको झण्डै १ महिनापछि कृष्णले फोन गर्यो। 'के छ खबर?', भनेर सोध्यो।
उनले उसलाई खबर सुनाइनिन्- मेरो पेटमा बच्चा बसेको छ।
त्यो कुरा सुनेर कृष्णले उनलाई धम्क्यायो- मेरो नाम लिने होइन, लियौ भने मारिदिन्छु। बरू के के गर्नपर्छ म गरूँला।
आफूमाथिको बलात्कारपछिको यो धम्कीले उनी झन् आहत भइन्। उनलाई कहिले कतिखेर कसले थाहा पाउँछ भन्नेमात्र डर भयो।
'मलाई निकै डर लाग्यो। कसरी मैले यस्तो भयो भनेर भन्न सक्थे?' उनले भनिन्, 'पिरैपिरमा मेरा दिन बिते।'
४ महिनापछि त पेट बढ्न थाल्यो। ६ महिनापछि उनी आमालाई लिएर उपचार गराउन भन्दै नेपालगञ्ज गइन्। उनले आफ्नी आमालाई पनि सबै कुरा भनेकी थिइनन्। गर्भपतन गराउन आएको कुरा त उनले डक्टरलाईमात्र सुनाइन्।
डक्टरले भने,'अब गर्भपतन गराउँदा आमाको समेत ज्यान जान सक्छ।'
त्यतिबेला पेटको बच्चाको माया मार्न त उनले सक्थिन् होला, आफ्नो ज्यानको माया मार्न उनले सकिनन्, किनभने घरमा अर्की छोरी थिइन्।
घरको बच्चाको बहुत माया लागेर आयो। आफू नभए त छोरी टुहुरी होली भन्ने पिरले उनी कहालिइन्।
'घरमा छोरी थिइ नि, म कसैगरि मरेँ भने उसलाई कसले माया गर्ला भन्ने पनि भयो,' उनले भनिन्, 'मरेमरूँला भन्ने आँटै आएन।'
त्यसो त उनले मर्न नखोजेकी होइनन्। पेटमा बच्चा आएपछि उनले दुई पटक मर्न कोसिस गरिन्। र तिनैपटक छोरीको मायाले उनलाई हुरूक्कै बनायो।
उनको पेट धेरै ठूलो भएको थिएन, ठूला ठूला लुगा लगाउँथिन्।
त्यसैले कसैले उनीमाथि शंका गरेन।
आखिरमा त्यो दिन आयो जुन दिनको कल्पना गर्दा उनको आङ् सिरिङ्ग हुन्थ्यो।
पेट दुख्यो। परिवारले अस्पताल पुर्याए। त्यहाँ पुगेपछि मात्र गनीहरूले सपनालाई सुत्केरी व्यथा लागेको थाहा पाए।
अस्पतालमा एक्लै परेकी सपनालाई भने यो दिन आउँछ भन्ने थाहा थियो।
बच्चा जन्मियो।
आफ्नो कोखमा हुर्किएपछि त आमालाई बच्चाको माया भइहाल्छ।
त्यो कलिलो बच्चाको दोष के थियो र! जो दोषी हो उ त खुलेआम समाजमा इज्जत साथ घुमिरहेको थियो। अर्काकी श्रीमतिलाई जबरजस्ती गरेको केही महिना नवित्दै उसले बिहे गरेको थियो। सरकारी जागिर खाइरहेको थियो।
सपनाको दोष यत्ति थियो कि मुलुकको सुरक्षाका लागि बन्दुक बोकेको मानिसको जबरजस्ती र धम्कीसँग उनी डराएकी थिइन्।
भोलीपल्ट जेठी दिदी अस्पताल आएर उनलाई माइती लगिदिइन्।
सपनाका बाआमा र आफन्तका आँखामा यो कसको बच्चा हो भन्ने धारिला प्रश्न थिए। ती आँखाहरूले उनलाई रेटिरहेझैँ लाग्थ्यो र मन दुख्थ्यो। अर्कैले गरेको अपराधको लज्जा र अपमानको भारीले उनको टाउको झुकिरहन्थ्यो।
उनले आफ्नी दिदी र आमाबालाई त्यो बच्चा कसरी उनको पेटमा आयो भनेर बताइन्। सबै कुरा बेलीविस्तार लगाएपछि गाउँभरी हल्ला फैलियो।
सबैले चियोचर्चो-खासखुस गरे। उनी फेरि डराइन्।
त्यसरी डराइरहेका बेला उनलाई मलेसियामा भएका पतिको याद आउँथ्यो। त्यो यादले घरि उनलाई भरोसा दिन्थ्यो घरि झन् अत्याउँथ्यो।
नभन्दै एकदिन उनको मोबाइलमा पतिको फोन आयो।
'उहाँले फोन गर्दा मैले डराउँदै फोन उठाएँ। उहाँलाई सबैकुरा थाहा भैसकेछ। नआत्तिनु भन्नुभयो। जे हुनु भयो म आएर सम्हाल्छु भन्नुभएको थियो,' उनले भनिन्, 'म अल्लि शान्त भएँ।'
पति नआउँदै यता गाउँमा दैनिकजसो छलफल हुन थाल्यो। पछि केही महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्था महिला अधिकारकर्मीले पनि उनको घटनामा चासो दिए। उनले भनेको कुरा ती सेनाका जवानले स्वीकार गरेका थिए। समाजले पनि उनको जिम्मा लिन भन्यो।तर मानेनन्।
एकदिन अधिकारकर्मीहरू सहितको समाजको भेलामा उनका बुवाले भने- मेरो छोराको बदमासी रहेछ, उसकी श्रीमती बनाएर हाम्रो घर भित्र्याउन म तयार छु।
आफूमाथि बलात्कार गर्ने मानिसकी पत्नी भएर त्यो घर जान मन थिएन। जान्न भन्ने अवस्थामा उनी आफै कहाँ थिइन् र? स्वतन्त्र इच्छा स्वतन्त्र सहमति भन्ने कुरा उनीहरूको गाउँमा कसैले सुनेकै थिएनन् सायद। उनलाई त यस्ता शब्दको अर्थ के हो भन्ने पनि थाहा थिएन।
उसले पछि मेरो छोरी होइन भन्दियो भने छोरीको जन्मदर्ता नागरिकता बनाउन गाह्रो हुन्छ, तिमी उसकै घर बस भनेर गाउँलेले सम्झाए।
त्यसपछि आफुमाथि बलात्कार गर्ने ती सैनिक जवानसँग समाजको अघि उनको बिहे भयो।
'ल तिमी जाउ', समाजको बैठकले भन्यो। उनका पाइला चल्दै चलेनन्। दिउँसै थियो तर उनको आँखाअघि अँध्यारो घुमिरह्यो। उनी बेहोस भइन्।
उनका आमा, दिदी, भाउजु र बुवापनि बेहोस भए। उनीहरूलाई त गाउँकै स्वास्थ्यकर्मीले हेरे। तर उनको होस खुल्दै खुलेन। नजिकैको स्वास्थ्य चौकी लगेपछि बल्ल उनको होस फर्कियो। अस्पतालबाटै कृष्णको घरमा पुर्याइयो।
उनी कान्छी छोरीसहित चुपचाप त्यो घर भित्रिइन्। उनले जिन्दगीमा यस्तो दिन आउला भन्ने कल्पना गरेकी थिइनन्।
त्यो नयाँ घर उनको लागि घर थिएन। त्यहाँ पुगेपछि कृष्णकी पत्नीले गरेको दुर्व्यवहार उनलाई उनलाई सबैभन्दा बढी पोल्थ्यो। मानसिक मात्र होइन शारिरिक हिंसा पनि उनले भोग्नुपर्यो।
‘भर्खर सुत्केरी गएकी ममाथि कृष्णको श्रीमतीले दिनदिनै कुटपिट गर्थी, उसले भने केही बोल्दैनथ्यो,’ उनले भनिन्, ‘उसका बुवाआमालाई भन्दा हामी केही गर्न सक्दैनौं, सक्छौ भने तिमी पनि पिट भन्नुहुन्थ्यो।’
उनको मनमा के बितेको छ भन्ने कुरा कसैले बुझ्न खोजेको थिएन। तर दिनदिनै प्रताडित जिन्दगी बाँच्न, उनको मनले मानेको पनि थिएन। ६ महिनापनि त्यो घरमा उनी बस्न सकिनन्।
माइती गइन्। माइतीमा पनि उनलाई बस्न गाह्रो थियो। पहिलो पतिको घर नजिकै थियो। कृष्णको पनि एउटै गाउँ।
उनलाई त्यहाँ बस्न असहज भएको नवज्योति भन्ने एउटा गैरसरकारी संस्थाका कर्मचारीले देखिरहन्थे। त्यहाँका कर्मचारीले आफ्नो कार्यालय प्रमुखलाई उनको बारे बताए। उनले नै एकजना वकिललाई सम्पर्क गर्यो। ती वकिललाई पनि आफ्नो फर्ममा काम गर्ने मान्छे चाहिएको थियो।
ती वकिल (सपनाको पहिचान नखुलोस भनेर वकिलको नाम खुलाइएको छैन) बजारमा बोलाएपछि सपना छोरी बोकेर निस्किइन्।
विरेन्द्र नगर आउँदा उनी निकै गुमसुम रहने गरेको ती कानुन व्यवसायीले बताइन्।
'गाउँमै पनि उनको हालत ठिक थिएन। यहाँ आएपछि पनि धेरै समय उनी गुमसुम बस्थिन्। मैले धेरै नै काउन्सिलिङ् गरेँ,' उनले भने, 'विस्तारै ठिक भयो।'
ती कानुन व्यवसायीले सपनालाई कम्प्युटरमा नेपाली टाइप गर्न सिकाइन्। टाइप गर्न जानेपछि सपनाको अनुहार उज्यालो भयो।
उनले आफ्नी वकिलसँग भनेकी थिइन्, मैले अंश मुद्दा हाल्छु। र आफ्नो मुद्दा आफै टाइप गर्छू।
आजभन्दा २ वर्षअघि सपनाले आफ्नो मुद्दा आफै टाइप गरिन्। जिल्ला अदालतमा मुद्दा दर्ता गरिन्।
कृष्णको परिवार उनलाई अंश दिन तयार नै भयो। उनले सहजै मुद्दा जितिन्। उनको भागमा १ कट्ठा र छोरीको भागमा १ कट्ठा जमिन अदालतले दिलाइदियो।
वकिलको ल फर्ममा काम गर्दै उनले छोरी हुर्काइरहेकी छन्। अब भने उनले आफ्नो अध्याँरो अतित विस्तारै भूल्दै छिन्। अब त उनले सपनापनि देख्न थालेकी छन्।
उनका अहिले २ वटा सपना छन्।
पहिलो, काम गरेर सानो घर बनाउने र गाउँमै छुटेकी ठूली छोरीलाई पनि आफूसँगै ल्याउने। दोस्रो, कानुन पढ्ने।
उनले एसएलसी पास गरिसकेकी छन्। कोरोना लकडाउनपछि कलेजहरू खुल्छन् अनि उनी कक्षा ११ मा कानुन पढ्न भर्ना हुनेछिन्।
यो भने उनको आफ्नै राजीखुसी हुनेछ।