जमलको आकाशे पुलमा उभिएर रानीपोखरीतिर हेर्दा अचेल आँखा बिझाउँदैन।
भुइँचालोपछि यहाँ निकै समय खिङरिङ्ग मैदाने झाडी देख्दा मन कुँडिन्थ्यो। अब चाहिँ पोखरी बनाउने काम लगभग सकिएको छ। बीचको बालगोपालेश्वर मन्दिर पनि डेढ–दुई महिनामा पूरा हुनेछ। यो मन्दिर राणाकालीन गुम्बज शैलीको थियो। अहिले राजा प्रताप मल्ल पालाको शिखर (ग्रन्थकूट) शैलीमा बन्दैछ, जुन हामीले चित्रमा मात्र देखेका थियौं।
संरचना तयारीपछि अब हामी रानीपोखरी पुनर्निर्माणको दोस्रो चरणमा छौं। त्यो हो, ६० रोपनीभन्दा बढी क्षेत्रफलको पोखरीमा पानी भर्ने।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार यहाँ ५ फिट पानी भर्न ३ करोड लिटरभन्दा बढी चाहिन्छ। यो भनेको लबालब भरिएको अवस्था हो।
अब प्रश्न उठ्छ– रानीपोखरीमा लबालब पानी भर्ने कसरी?
प्राधिकरणसँग मुख्य तीनवटा उपाय छन् — आकाशे पानी, मेलम्चीको पानी र जमिनमुनिको पानी।
आकाशे पानीको मुख्य स्रोत मनसुन हो, जसको हामी आधाआधी आइसक्यौं। यही मनसुनमा पानी भरेर पोखरी उद्घाटन निम्ति भाइटीकाको साइत छोप्न सम्भव देखिन्न। काकाकूल काठमाडौंलाई वर्षौंदेखि गिज्याइरहेको मेलम्चीको पनि अझै टुंगो छैन।
रह्यो जमिन खनेर पानी तान्ने कुरा, यसलाई प्राधिकरणले आफ्नो ‘लास्ट रिजोर्ट’ भनेको छ। यानिकी, अन्तिम उपाय।
तर, यही ‘लास्ट रिजोर्ट’ का लागि प्राधिकरणले साढे दुई सय फिट गहिरो दुईवटा डिप बोरिङ खनेर पानी तानेपछि रानीपोखरीलाई माया गर्ने चेतनशील नागरिकहरू जुर्मुराए।
यो त्यही समूह हो, जसले रानीपोखरी पुनर्निर्माणमा भएका गलत कदमहरूप्रति सुरूदेखि प्रश्न उठाइरह्यो। यो समूह नजागेको भए काठमाडौं महानगरपालिकाले रानीपोखरी ढलान गरेर ‘स्विमिङ पुल’ बनाइसक्थ्यो। जसै महानगरले रानीपोखरीभित्र डोजर हुल्यो, सम्पदाप्रेमीहरूले मुख खोले। अनि पोखरी बनाउने जिम्मा महानगरबाट प्राधिकरणमा गयो, जसको नतिजा हामीसामु छ।
त्यही नागरिक समूहले ‘डिप बोरिङबाट रानीपोखरी नभरौं’ भन्दै पानी भर्ने उपायबारे सोमबार एक अन्तर्क्रिया आयोजना गर्यो।
कोरोना महामारीबीच भर्चुअल ‘जुम’ जमघटमा सम्पदाविद् तथा भूमिगत जलस्रोतविद्हरूले पुनर्निर्माण प्राधिकरणलाई रानीपोखरी ब्युँताउने केही रचनात्मक सुझाव दिए। प्राधिकरणले ती सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै कार्यान्वयनमा ल्याउने बाचा गर्यो। आफू र सरोकारवाला विज्ञका तर्फबाट छुट्टै समूह बनाएर ‘सहकार्य’ गर्न राजी पनि भयो।
‘जुम’ जमघटमा सम्पदाविद् तथा लिपिविज्ञ काशीनाथ तमोटले रानीपोखरीको पानी स्रोतबारे ऐतिहासिक फेहरिस्त पल्टाए। उनले पोखरीको चार कुनामा रहेका ढुंगे अभिलेख उद्धृत गरे। यही अभिलेखले रानीपोखरीमा पानी भर्ने चारवटा ऐतिहासिक स्रोत खुलाउँदो रहेछ।
पहिलो स्रोतमा रानीपोखरी उत्तरतिरको ‘तेतनढोका बाहिरको प्रणाली’ पर्छ। यहाँ प्रणाली भनेको धारा हो। यसले कमलाक्षीको ऐतिहासिक धारालाई बुझाउँछ। यसलाई ‘झंगथकू हिति’ भनिन्थ्यो, जुन आरसिटी भवन बनेपछि मासियो।
दोस्रो स्रोतमा पूर्वको ‘उपाध्याय प्रणाली’ पर्छ, जसले तीनधारा पाठशाला बुझाउँछ। त्यस्तै, दक्षिण दिशामा टुँडिखेलतर्फ पर्ने कुलोको चर्चा गरिएको छ भने पश्चिममा असन प्रणाली, अर्थात् भोटाहिटीको चर्चा छ।
‘रानीपोखरीमै रहेको ढुंगे अभिलेखले वरपरका चारवटा प्रणालीको कुरा गरेकाले त्यहाँ कुनै न कुनै रूपमा यी चारैवटा स्रोतबाट पानी जान्थ्यो भन्ने बुझिन्छ,’ तमोटले अभिलेखको अर्थ खुलाए।
उनले भक्तपुर कला संग्रहालयमा सुरक्षित प्रताप मल्लकालीन एक ‘थ्यासफू’ (दस्तावेज) पनि उद्धृत गरे।
नेपाल भाषामा लेखिएको उक्त दस्तावेजमा प्रताप मल्लको ‘महास्नान’ को चित्र छ। त्यसलाई धेरै समयसम्म प्रताप मल्लको तीर्थयात्राका रूपमा बुझिएको थियो। तर, खासमा उनी रानीपोखरीमा नुहाइरहेका हुन् भनिन्छ।
उक्त दस्तावेजमा रानीपोखरीका थप दुईवटा स्रोतबारे उल्लेख छ। एउटा त सुन्दरीजलबाट कुलो खनेर पानी ल्याइएको थियो भन्छ। अर्को, विष्णुनावको जल ल्याएर पोखरी भरिएको बताउँछ।
‘विष्णुनाव भनेको ठ्याक्कै कहाँ पर्छ खुलेको छैन। तर, त्यो बुढानिलकण्ठ क्षेत्रमा पर्थ्यो भन्ने हामीले बुझेका छौं,’ उनले भने, ‘बुढानिलकण्ठदेखि राजकुलो बनाएर धेरै पछिसम्म सिंहदरबारमा पानी ल्याइन्थ्यो भन्ने अभिलेख पाइएको छ।’
सम्पदाविद् सुदर्शनराज तिवारीले यसलाई थप व्याख्या गरे।
उनका अनुसार, भुइँचालोपछि रानीपोखरीको पिँध उत्खनन् क्रममा उत्तरपूर्वी दिशातर्फ दुईवटा र दक्षिणमा एउटा डुँड फेला परेका थिए। सुन्दरीजल र बुढानिलकण्ठबाट ल्याइएको पानी तिनै डुँड हुँदै भूमिगत रूपमा रानीपोखरीमा खसालिएको हुनसक्छ।
‘हामीले देख्दासम्म ३ बाई ४ इन्चका ती डुँडबाट तुरतुर पानी झर्दै थियो। त्यसलाई पुनर्स्थापना गर्ने भनेर इञ्जिनियरहरूले फोटो खिचेर लगेका थिए। सामाजिक सञ्जालमा पनि राखेका थिए। पछि त्यसको पुनर्स्थापना गरिएन। पानी आउने सम्भावना हुँदाहुँदै पुर्ने र टाल्ने काम भयो, जुन साह्रै गलत हो,’ उनले भने।
उनले अगाडि थपे, ‘त्यो डुँड कहाँसम्म फैलिएको छ भनेर खोजबिन गरी पुनर्स्थापना गरेको भए रानीपोखरीलाई चाहिने १५–२० प्रतिशत पानी त्यसैबाट आपूर्ति हुन सक्थ्यो।’
तिवारीले वरिपरिका क्षेत्रबाट बगेर आउने पानी प्रशोधन गरेर पोखरीमा खसाल्ने प्रविधिको पनि चर्चा गरे।
जसरी ढुंगेधाराहरूमा पानी ल्याउन धाराको माथिल्लो भागमा प्रशोधन विधि अपनाइएको हुन्छ, त्यसैगरी रानीपोखरीमा पनि वरिपरिबाट बगेर आउने पानी प्रशोधन गरेर खसाल्ने प्रणाली थियो।
‘प्रताप मल्लले पोखरी बनाउनुभन्दा अघि नै यो ठाउँमा जमलबाट बगेर आउने पानी जम्मा हुन्थ्यो। पोखरी बनाउँदा यो प्रणाली अझ व्यवस्थित गरियो। कालान्तरमा यो प्रणाली मासिँदै गयो, जसले जमल लगायत रानीपोखरीभन्दा उत्तरतर्फबाट बगेर आउने पानी पोखरीमा खस्न पाएन। यही कारणले अहिले पनि बर्खा बेला जमल जलमग्न हुने गरेको हामी देख्छौं,’ उनले भने।
‘यो प्रणाली हामी ब्युँताउन सक्छौं,’ उनले सुझाए, ‘जमल र दरबार स्कुल क्षेत्रमा जम्ने पानी व्यवस्थापन गरेर त्यही परम्परागत डुँड हुँदै पोखरीमा खसाल्न सकिन्छ।’
सतहको पानी पोखरीमा खसाल्दा प्रशोधन भने गर्नुपर्छ, उनले भने, ‘पोखरी छेउछाउ १२ देखि २० फिटसम्म गहिरो इनार खनेर बालुवा भर्ने र डुँडबाट आउने पानीलाई सुरूमा त्यो इनारमा खसालेर मात्र पोखरीमा लग्ने हो भने परम्परागत विधिबाटै पानी प्रशोधन हुन्छ।’
रानीपोखरी बनाउँदा कालिमाटी प्रयोग र तल्लो तहको पिँध निर्माणमा पुरातात्विक हिसाबले राम्रो काम भए पनि पानी आपूर्ति प्रणालीमा परम्परागत विधि नअपनाइएको उनको भनाइ छ।
‘दुई महिनाको मनसुनका भरमा बाह्रै महिना पानी आपूर्ति गर्न खोजिएको छ, त्यो कसरी सम्भव हुन्छ?’ उनले भने, ‘दीर्घकालीन रूपले पानीको स्रोत व्यवस्थित गर्ने हो भने हामीले थाहा पाएका परम्परागत प्रणालीहरू ब्युँताउन सकिन्छ। त्यसका लागि अझै पनि ढिला भइसकेको छैन।’
उपत्यकाको परम्परागत पानी व्यवस्थापन प्रणालीका अनुसन्धानकर्ता पद्मसुन्दर जोशी यसमा सहमत छन्।
उनी रानीपोखरीलाई प्राचीन काठमाडौंको ‘सिरान पोखरी’ का रूपमा व्याख्या गर्छन्। बस्तीको माथिल्लो भेगमा रहेको यो पोखरीले बर्खाको भेल जम्मा गर्ने काम गर्थ्यो। ताकि त्यो पानी छिरेर बस्ती जलमग्न नहोस्। सँगसँगै, पानी जम्मा गरेर बस्तीभित्रका इनार र ढुंगेधाराहरू ‘रिचार्ज’ हुन पाओस्।
‘हाम्रा पुर्खाले बर्खाको पानी बस्तीमा नपसोस् भनेर सिरान पोखरी निर्माण गरेका हुन्,’ उनले भने, ‘यसलाई चाहिने पानीको एउटा स्रोत वरिपरिकै क्षेत्र हो।’
उनले डिप बोरिङलाई कुनै हालतमा रानीपोखरी भर्ने विकल्प नबनाउन जोड दिए।
काठमाडौंको भूमिगत पानी विशेषगरी उत्तर र उत्तरपूर्वी क्षेत्रबाट बगेर आएको हो भन्ने उनको भनाइ छ। ‘सय–डेढ सय वर्षअघि शिवपुरीमा परेको पानी नै मध्य–काठमाडौंको अहिलेको भूमिगत जलस्रोत हो,’ उनले भने, ‘हामीले डिप बोरिङ गर्दा सय–डेढ सय वर्षअघि जमेको पानी तानिरहेका हुन्छौं।’
उनले अगाडि भने, ‘वर्षौं लगाएर जमेको पानी निरन्तर तानेपछि त्यो भाग खाली हुँदै जान्छ। त्यहाँ तत्काल पानी भरिन सम्भव छैन। यसले जमिन भासिन्छ। यो भनेको प्रकृति र मानव सभ्यतामाथि अन्याय हो।’
उनले यो पनि भने, ‘भूमिगत जलस्रोत सुक्दै गएको काठमाडौंमा पोखरी भर्न डिप बोरिङ गर्नु भनेको खानलाई भात छैन, जाँड बनाएजस्तै हो।’
सम्पदा तथा जलस्रोत विज्ञहरूका सुझाव सुनेपछि पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठले सम्भव भएसम्म कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
उनले सतहमा जम्ने आकाशे पानी व्यवस्थापन गरेर पोखरीमा खसाल्ने प्रक्रिया अघि बढेको जानकारी दिए। ‘दरबार हाई स्कुल, त्रिचन्द्र कलेज र टुँडिखेल क्षेत्रको पानी प्रशोधन गरेर रानीपोखरी रिचार्ज गर्ने प्रक्रियामा छौं,’ उनले भने।
दरबार हाई स्कुल र त्रिचन्द्र कलेजतर्फबाट पानी ल्याउन परम्परागत प्रणाली जस्ताको तस्तै पुनर्स्थापना गरेको पनि उनले बताए।
‘अहिले एकैचोटि ठूलो परिमाणको पानी चाहिएको छ। यसनिम्ति आकाशे पानी एउटा मुख्य विकल्प थियो। तर, यो मनसुनमा आकाशे पानीले मात्र पोखरी भरिन सम्भव छैन,’ उनले भने, ‘मेलम्चीको पानी खसाल्ने भनेर समझदारी गरिसकेका थियौं, त्यो पनि तत्काल आउने देखिँदैन। यो अवस्थामा डिप बोरिङलाई हामीले ‘लास्ट रिजोर्ट’ का रूपमा अपनाएका हौं।’
उनले सुन्दरीजल र बुढानिलकण्ठको परम्परागत स्रोतबाट पानी ल्याउन सकिने विज्ञहरूको सुझावमा पनि प्रतिक्रिया दिए।
‘रानीपोखरीको उत्तरपूर्वी दिशामा दुईवटा डुँड हामीले देखेका हौं। विज्ञहरूले भनेजस्तै ती डुँड पुनर्स्थापना गर्दा पोखरीमा पानी भर्न मद्दत पुग्छ भने हामी तयार छौं। यो व्यवहारिक उपाय हो भन्नेमा सहमति भए कार्यान्वयन गर्न हामीलाई कुनै असजिलो छैन,’ उनले भने।
उनले यसैमा थपे, ‘पानी भर्ने दीगो उपाय खोज्न सरोकारवाला विज्ञहरूसँग सानो समूह बनाएर सहकार्य गर्न हामी तयार छौं।’
अनलाइन अन्तर्क्रिया क्रममा परम्परागत विधिहरू बेवास्ता गर्दै पानी भर्नलाई नहतारिन संरक्षण अभियन्ताहरूले सचेत गराएका छन्।
‘अलि समय कुरेर परम्परागत विधि ब्युँताउन सकिन्छ र त्यसबाट दीर्घकालीन रूपले पानी भरिन्छ भने त्यो नै सही बाटो हो,’ संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले भने, ‘संरक्षणको सिद्धान्तले यही भन्छ।’
‘यतिका वर्षपछि रानीपोखरीले एउटा स्वरूप लिएको छ। अहिले आएर पानी भर्ने हतारमा डिप बोरिङ गर्नु सम्पदा संरक्षणको मर्मविपरीत हुन्छ। बरू केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधिहरू खोतलौं र त्यसलाई ब्युँताउने उपायतिर लागौं,’ उनले भने।