निर्माता तथा नायक संजोग कोइरालाको व्यस्त जीवनमा अहिले 'ब्रेक' लागेको छ। फिल्म क्षेत्रसँगै केही व्यवसाय सम्हाल्दै आएका उनले बल्ल सास फेर्न पाए।
दुई महिना परिवारसँग समय बिताउन पाउँदा संजोग खुसी छन् नै, तर आफूलाई 'वर्कहोलिक' बताउने उनी काममा फर्किन नपाउँदा छट्पटाइ सके। यसमा पनि 'चिया अड्डा' गएर त्यहाँको मिठो 'मट्का कटिङ' चिया खान नपाएकामा खिन्न छन्।
'घरमा मबाहेक अरू कसैले चिया खानु हुन्न। आफूलाई भने बिहान उठ्नेबित्तिकै चिया चाहिन्छ,' संजोग भन्छन्, 'बिहानको चिया मिठो भयो भने दिन राम्रो भएजस्तो लाग्छ। दिउँसो पनि चिया खान हुरुक्कै हुन्छु। लकडाउन अघिसम्म मलाई मनपर्ने मट्का कटिङ चिया खान पाएको थिएँ, अब त आत्तिइसकेँ।'
संजोगले कलाकार वर्षा राउत, दीपाश्री निरौला र दीपकराज गिरीको सहकार्यमा 'चिया अड्डा' सञ्चालनमा ल्याएका हुन्। बानेश्वरस्थित चिया अड्डाको सबै कामकाज भने संजोगले नै हेर्छन्। इन्टेरियर र निर्माणका काम, ह्यासटयाग लाउन्ज, आइसक्रिम लाइभपछि उनले यो व्यवसाय थालेका हुन्।
भारतको चर्चित 'कटिङ' चियाबाट प्रभावित मट्का कटिङ चिया उनैले यहाँ भित्र्याए। यही कारण चियापारखी संजोगका लागि अरू व्यवसायभन्दा चिया अड्डा प्यारो छ।
बानेश्वर चोकबाट शंखमुल जाने बाटोमा अघि बढ्दा बायाँतिरको अग्लो भवनमा छ, चिया अड्डा। यहाँ विद्यार्थी र युवायुवतीको भिड बढी हुन्छ। चियाका विभिन्न स्वादसँगै यहाँको आकर्षक पिङ पनि युवा झुम्मिने अर्को कारण हो।
व्यस्त सडक र मान्छेको भिडभाड बाक्लो हुने यो ठाउँलाई संजोगले 'चिलिङ स्पट'मा परिवर्तन गरेका छन्। सबैको बजेटभित्र पर्ने चिया भएकाले विद्यार्थीदेखि ठूला पदका कर्मचारीसम्म समायोजन हुने उपयुक्त वातावरण रहेको संजोगको भनाइ छ।
कोरोना महामारी अघिसम्म चिया अड्डा कहिल्यै रित्तो भएन। सुरूमा नचल्ने डरमा सानो ठाउँमा खोलिएको चिया अड्डामा ग्राहक बढेपछि एक महिनामै ठाउँ बढाउनु परेको संजोग बताउँछन्।
अहिले लकडाउनका कारण व्यवसाय ठप्प छ। केही दिनदेखि पुनः सञ्चालनमा ल्याए पनि ग्राहक थोरै छन्।
'व्यापार ९५ प्रतिशत घाटामा छ। फेरि नाम नै चिया अड्डा भएपछि चिया डेलिभरी गर्ने कुरा पनि आउँदैन,' उनी भन्छन्।
अझ चियाप्रेमी उनी आफैंलाई चिया अड्डाको रौनक 'मिस' भएको छ।
भारतमा कलेज पढ्दादेखि नै संजोगको चियाप्रति मोह बढ्न थालेको थियो। साथीसँग चिया खानकै लागि राति एक-दुई घन्टा हिँडेको उनी सम्झिन्छन्। अड्डामा गएर चिया खाएको अनुभव उनको जीवनको यादगार क्षण हो। तर, आफ्नो अनुभवलाई व्यवसाय बनाउने सोच पहिले थिएन।
काठमाडौंमा उच्च शिक्षा सकाएर उनी 'सिए' पढ्न भारत गएका थिए। पढाइ सकिएलगत्तै नेपालमै केही गर्ने सोचले फर्किए। यहाँ सोचेजस्तो काम नपाएकाले परिवारको करमा फिल्म क्षेत्रमा भित्रिए। उनको पहिलो फिल्म 'उत्सव' घाटामा गयो।
'त्यो समय जीवनमा के गर्ने भनेर अलमल थिएँ। मेरा लागि सबै बाटो बन्द भएको महशुस भयो,' संजोगले भने, 'त्यही बेला एउटा साथीले इन्टेरियर डिजाइनको आइडिया दियो। विस्तारै अन्य व्यवसायमा हात बढाउन थालेँ। परिस्थितिले व्यवसायी बनायो।'
तीन वर्षअघि दुबई भ्रमण क्रममा त्यहाँको 'फिल्ली' नामक क्याफे देखेर उनी चकित भए। त्यहाँ आउने मान्छेमा चियाप्रतिको मोह देखेर उनले आफ्ना पुराना दिन सम्झे। यही सम्झना विशेष बनाउन उनले 'फिल्ली'को शाखा नेपाल ल्याउने सोचे। तर धेरै महँगो हुने भएकाले आफ्नै आइडियामा 'चिया अड्डा' बनाए।
आज पनि साथीहरूसँग बसेर चिया खाने संजोगको बानी हटेको छैन। उनलाई चिया मिठो बनाउन आउँदैन तर महँगो तिरेर भए पनि खाने बताउँछन्।
भन्छन्, 'लकडाउनमा जसोतसो घरमा एक्लै चिया खाने बानी बसालेँ। अहिले त थर्मसमा चिया बोकेर हिँड्छु। जहाँ जान्छु त्यहीँ बनाउँछु र आफूसँगै साथीहरूलाई पनि खुवाउँछु।'
आगामी दुई-तीन वर्षमा दसवटा चिया अड्डा खोल्ने उनको सोच थियो। अब यो योजना चकनाचुर हुने हो कि भन्ने उनलाई डर छ।
'एउटा व्यवसाय नचले अरू छँदैछ नि' जस्ता भनाइ उनले सुनिरहेका हुन्छन्। तर जति भए पनि आफ्नो भावनासँग जोडिएको व्यवसाय बन्द गर्नु परे साह्रै नराम्रो लाग्ने उनले बताए।
'अहिले नयाँ व्यवसायका लागि सरकार तहबाट सहयोग नपाएर सबैले मार खेपिरहेका छन्,' संजोग भन्छन्, 'दुई महिना एक सुक्का व्यापार भएन। तर पनि बानेश्वरको मध्य ठाउँमा महँगो भाडा तिर्नै पर्यो। कर्मचारी काममा फर्केका छन्, ग्राहक आए पनि नआए पनि तलब दिनै पर्यो।'
व्यापार घाटा भए पनि संजोग पछाडि हट्ने मध्येमा भने पर्दैनन्। यो समय उनले अवसर खोजिरहेका छन्। आज जस्तो समस्या भोगे पनि भविष्यका लागि सोच्ने उनको बानी पुरानै हो।
'कतिपय महँगा ठाँउमा अहिले भाडा कम भएको सुनेको थिएँ। चिया अड्डाका लागि राम्रो ठाउँ पाएँ भने अर्को शाखा खोल्न सक्छु,' उनी भन्छन्, 'यो बेला क्याफे वा रेस्टुरेन्टको व्यवसाय राम्रो नहोला। शारीरिक दुरी कायम गर्न निकै आवश्यक छ। तर हामी मानिस एकअर्काबाट धेरै समय टाढा रहन सक्दैनौं। सधैं घरभित्र थन्केर बस्न सक्ने राम्रो प्रकृतिमा छैन।'
उनले थपे, 'एकदिन स्थिति सामान्य कसो नहोला! अभावमा व्यवसाय टिकाएर राख्न सकियो भने पछि जस्तोसुकै अवस्था सामना गर्न सकिन्छ।'