देशमा कोरोनाभाइरस संक्रमितमध्ये आधा पनि निको भइनसकेको अवस्थामा कर्णाली प्रदेशमा भने ८२ प्रतिशत निको भएका छन्।
सोमबारसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५१६ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
जसमध्य डिस्चार्ज हुनेको संख्या १ हजार २४७ पुगेको महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। अब सक्रीय बिरामीको संख्या जम्मा २६३ मात्र रहेको उनले जानकारी दिए।
यसैबीच, कर्णाली प्रदेशमा सोमबार १८ जना नयाँ संक्रमित थपिएका छन्। जसमा १६ दिने शिशु समेत छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणका क्रममा १८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
साोमबार पुष्टि हुनेमा जुम्लाका १ जना, सुर्खेतका १४ जना र जाजरकोटका ३ जना छन्।
जुम्लाको सिंजा गाउँपालिका–६ का १६ दिने एक शिशुमा संक्रमण देखिएको छ। यस्तै सुर्खेतको बराहताल गाउँपालिकाका ११ जना, भेरीगंगा नगगरपालिकाका ३ जना, जाजरकोटको भेरी नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ।