सूजीको घरका सबै सदस्य जागिरे छन्। उसलाई समय दिने फुर्सद कसैलाई थिएन। यसकारण न्यास्रिएको सूजीलाई 'आमा'ले बोर्डिङ स्कुल राखिदिइन्।
तीन वर्षीय सूजी सुरूमा आत्तिएको थियो। अचेल बोर्डिङमै रमाउँछ। नयाँ खेलौना र साथीसँग खुला चौरमा खेल्न पाउँछ। दिनमा तीनपटक मिठो खानपिन। मौसमअनुसार चिसो-तातोमा सुत्न पाइने। अनि बोर्डिङका कर्मचारीको माया।
सूर्यविनायकस्थित 'पज–प्ले एन्ड स्टे' नामको डग बोर्डिङ स्कुलमा दंग परिरहेको सूजी, कुकुर हो।
'यहाँ यति चकचक र रमाइलो गरेर बसिरहेको छ, घर फर्कियो भने निराश हुन्छ होला,' पज–प्ले एन्ड स्टेका सञ्चालक प्रनव जोशीले हाँस्दै भने।
प्रनव पशुचिकित्सक हुन्। कुकुरका लागि स्कुल खोलेका उनलाई यहाँ आउने सबै कुकुरको आनीबानी, व्यवहार र तिनलाई मनपर्ने वा नपर्ने कुरा थाहा छ। मानौं यी उनकै बालबच्चा हुन्।
हुन पनि सूर्यविनायक गएर 'डग फादर' को हो भनेर सोध्दा स्थानीय धेरैले प्रनवकै नाम लिन्छन्।
उनले आफ्नो जीवनै जनावरमा समर्पित गरेका छन् भन्दा फरक पर्दैन। बिहान सूर्यविनायककै भेट क्लिनिकबाट सुरू हुने उनको दिन दिउँसो डग स्कुलमा र बेलुका चण्डोलस्थित अर्को क्लिनिकमा बित्छ। करिब दस वर्षदेखि हरेक दिन यसरी नै चलिरहेको छ।
बाटोमा अचेत भेटिएका जनावर ल्याएर उपचार गर्ने, स्कुलमा कुकुरको हेरचाह गर्ने र क्लिनिकमा जनावर जाँच्नेः समग्रमा यही हो प्रनवको जिन्दगी।
'अहिलेसम्म मेरो जीवन यिनैका लागि समर्पित छ। बिहान सूर्य उदाएदेखि अस्ताएसम्म यी प्राणी मेरो जिम्मेवारी हुन्,' उनी भन्छन्।
प्रनवले पशुचिकित्सक बन्ने सपना देखेकै थिएनन्। भविष्यमा के बन्ने भनेर स्कुलमा शिक्षकले सोध्दा उनीसँग कुनै पेसा-विशेष जवाफ हुन्थेन, 'सरलाई मैले 'यस्तो मान्छे बन्न चाहन्छु जो मर्दा सबै मान्छे रोऊन्' भनेको थिएँ।'
वीरगञ्जमा जन्मिएका प्रनवको बाल्यकाल उतै कट्यो। त्यहीँ हुर्के-बढे र प्राथमिक शिक्षा हासिल गरे। उनका आमाबुवा भने भक्तपुर बस्थे। बेलामौकामा भक्तपुर आउँदा घर आएको सम्झेर दंग हुन्थे। तर उनले यहाँ आफू अर्कै ग्रहकोजस्तो महशुस गर्नुपर्यो।
'तराईबाट आएकालाई यहाँ पहिले 'मर्स्या' भन्दा रहेछन्। म पनि त्यही नामको सिकार भएँ। त्यसैले मलाई आफू भक्तपुरको बासिन्दा हो भनेर चिनाउन केही गर्ने मन थियो,' उनले सुनाए।
यही क्रममा उनले भक्तपुरकै कलेजमा कला र नेवा संस्कृतिमा स्नातक गरे। आफ्नो फोटोग्राफी प्रति भएको सोखमा पनि भक्तपुरलाई नै झल्काएका छन्। क्लिनिकमा पनि उनले आफूले खिचेका ब्याल्क एन्ड ह्वाइट फोटा सजाएका छन्। चार वर्षअघि प्रनवका ती फोटा फ्रान्समा प्रदर्शनीमा समेत राखिएको उनले जानकारी दिए।
उनले कलामा तीन वर्षे स्नातक गरे पनि सम्बन्धित गतिलो काम पाएनन्। उनी यसै बसेका थिए। उनका भाइ इन्जिनियर पढिरहँदा ठूलो छोरा भने 'बिग्रिने' डरले परिवारले उनलाई फेरि अर्को विषय पढ्न सुझाए।
'काकाले कृषि र पशुचिकित्सकमा एउटा रोज्न लगाउनुभयो। मैले केही नसोची भेटेरिनरी रोजेँ,' प्रनवले १५ वर्ष अगाडिको कुरा सुनाए।
भेटेरिनरी सातौं सेमेस्टर पुगेपछि मात्र उनले आफू पशुचिकित्सक बन्नुको अर्थ बुझ्न थाले। उनको जनावरप्रतिको आत्मीयता एकाएक 'फ्ल्यास-ब्याक' जसरी आयो।
प्रनवलाई सानैदेखि कुकुर मनपर्थ्यो। बाल्यकालमा उनको शेरु नामको कुकुर पनि थियो रे। उनको आफ्नै जन्मदिन पनि कुकुर तिहारमा पर्छ। शेरुसँगको निकटताले प्रनवलाई धेरै कुरा बोध भएको थियो।
'शेरुलाई रेबिज सुइ हाल्न अस्पताल लैजाँदा त्यहाँको अवस्था र डाक्टरको तरिका यति दयनीय थियो कि शेरु निकै रुन्थ्यो, कराउँथ्यो,' बाल्यकालको घटना सम्झिँदै प्रनवले भने, 'मलाई एकदमै नराम्रो लागेको थियो र किन जनावरलाई यसरी निदर्यी तरिकाले उपचार गरिन्छ भन्ने सोच्थेँ।'
प्रनव मामाघर महाबौद्ध आउँदा पनि बाटाका कुकुरलाई पाउरोटी दिन्थे। त्यही बेला महानगरले सडक कुकुर मार्दै हिँडेको थियो। एकदिन आफैंले खुवाएका कुकुर बाटोमा मरिरहेका देखेर प्रनवको मन कुँडियो।
'त्यही बेला यी जनावरका लागि केही गर्छु भन्ने अठोट लिएँ,' उनले भने।
कुकुरको कथा त यो भयो। अरू जनावरसँगका कथा धेरै छन्। उनी पहिले माछामासु खान्थे तर आफ्नो घरमा पालेका कुखुरा मार्दा खान सक्थेनन् रे। घरमा बुवा चरा पाल्न सौखिन, उनी सबै चरा पिँजडाबाट निकालिदिन्थे।
'संयोग हो वा नियति, मलाई थाहा छैन। तर म जनावरकै सेवा गर्न जन्मिएको झैं लाग्छ,' उनी भन्छन्।
दोस्रो स्नातक भेटेरिनरीमा गरेपछि उनले सुरूमा कुखुरा फार्ममा विद्यार्थीका रूपमा काम सिके। त्यहाँ पोस्टमार्टम र खोप दिन जाने। तर डाक्टर भएर लासमा के भएछ भनेर हेर्ने कि मर्न लागेकालाई बचाउने भनेर आफैंलाई प्रश्न गरे।
त्यो सोचले उनलाई पशुचिकित्सक बलराम थापाकहाँ पुर्यायो। प्रनवले उनको अस्पतालमा इन्टर्नसिप गरे। दुई वर्षपछि सन् २००९ मा भक्तपुरमा आफ्नै 'भेट फर योर पेट' सञ्चालनमा ल्याएका हुन्।
त्यति बेला भक्तपुरमा न कुकुर पाल्नेहरू धेरै थिए, न कोही कुकुर जँचाउन आउँथे।
'सुरूमा क्लिनिक खोल्दा रुन मात्र बाँकी थियो,' प्रनव सम्झिन्छन्, 'एक वर्षमा पाँच वटा कुकुर जँचाउन ल्याए। त्यही पनि जुकाको औषधि किन्न। कमाइ नभए पनि क्लिनिकमा सामान छ भनेर देखाउन औषधिका खोल सजाउँथेँ।'
क्लिनिकको तेस्रो वर्षमा दिनमा एक-दुइटा कुकुर आए। पाँच सय रूपैयाँ कमाइ भए पनि दंग पर्थे उनी।
उनको संघर्ष दाममा मात्र थिएन, नाममा पनि थियो। पहिले उनलाई अरूले गिज्याउने शैलीमा 'कुकुरको डाक्टर' भन्थे। उनका अनुसार नेपालमा पशुशिक्षाको अवस्था दयनीय छ। मान्छेको डाक्टर बन्नजस्तै पढ्नुपर्ने भए पनि पशुचिकित्सकको सम्मान छैन।
'भेटको अस्तित्व संसारभरी नै छैन,' उनी भन्छन्, 'मान्छेको खुट्टा भाँचेर जँचाउनु परे पन्ध्र लाखसम्म खर्च हुन्छ, त्यही जनावरमा गर्दा पन्ध्र हजार तिर्न पनि हिच्किचाउँछन्। जाबो कुकुर हो भन्छन्। के उनीहरूको जीवनको मूल्य छैन?'
उनले यही अवस्थामा परिवर्तन ल्याउन खोजेका हुन्। अहिले उनका ग्राहक नेपालभरी छन्। कुकुर, बिरालो बोकेर नेपालगन्जदेखि धाउने पनि छन्।
प्रनवले जीवनमा कठिन र खुसी दुवै समय नजिकैबाट भोगेका छन्। यो यात्रामा उनी एक्ला भने कहिल्यै परेनन्। आफ्नी श्रीमती र भाइले सबै अवस्थामा साथ दिएको उनको भनाइ छ।
भेटरिनरी क्लिनिक र स्कुल सञ्चालनमा ल्याए पनि यी सबैको व्यवस्थापन उनका भाइ सन्दीप जोशीले हेर्छन्। सन्दीप पेसाले इञ्जिनियर हुन्। प्रनवले क्लिनिक सञ्चालन गर्दा उनले पढाइ सकाएर काम थालिसकेका थिए। तै पनि दाइको काममा सघाएर उनले अहिले सबै व्यवस्थापन सम्हालिरहेका छन्।
'घरमा दुवै छोराले एउटै काम गरे मनमुटाव भएर घर बिग्रिने अन्धविश्वास थियो। तर आफ्नै दाइसँग मिलेर काम गर्दा उल्टै राम्रो भइरहेको छ,' सन्दीप भन्छन्, 'म पनि जनावर प्रेमी हुँ। यता दाइले सबै काम हेर्न नभ्याउने र आफ्नो मन यतैतिर ढल्किएकाले संलग्न भएको हुँ।'
सन्दीपले जिम्मेवारी सम्हालेका कारण प्रनव अहिले ढुक्कले जनावर जाँच्न सकिरहेका छन्।
प्रनवले करिब दस वर्षे अनुभवमा काठमाडौंमा घरपालुवा जनावरप्रति भएको परिवर्तन देखेका छन्। उनका अनुसार अचेल मान्छेले जनावरको सम्मान गर्नुपर्छ भन्ने बुझेका छन्। तर अझै धेरै बुझ्न बाँकी छ।
'यदि कसैलाई कुकुर वा बिरालो पाल्न मन छ भने समय, ठाउँ र पैसा हुनैपर्छ। यी तीनमध्ये एउटा मात्र कमी भए पनि जनावर नपाल्न भन्छु,' उनले भने, 'कुकुरको पन्ध्र वर्षको जीवनकालमा त्यसलाई डोरीमा बाँधेर वा खोरमा थुनेर राखियो र आफ्नो समय दिएन भने त्यो पागल हुन्छ। तिनलाई खेल्न वा दगुर्न ठाउँ छैन भने शारीरिक र मानसिक असर पर्छ। र पैसा छैन भने राम्रो खाना दिन सकिँदैन।'
उनका अनुसार जनावरको खानामा धेरै ध्यान पुर्याउन आवश्यक छ। तिनलाई मानिसले खाने खाना दिनु हुँदैन र मासु नै दिनुपर्छ। अरू खाना जनावरको स्वास्थ्यलाई हानिकारक हुन्छ।
'नेपालमा कुकुरलाई नुन खुवाउनु हुँदैन, हड्डी खुवाउनु पर्छ भन्ने जस्ता धेरै विश्वास छ,' उनी भन्छन्, 'नुनको कमीले कुकुरमा कानमा एलर्जी देखिने, छाला चिलाउने, भुत्ला झर्ने समस्या देखिन्छ। अनि कुकुरले खानेकुरा राम्ररी नचपाई निल्छ, त्यसैले हड्डी मात्र दिनु पक्कै राम्रो भएन।'
उनले थपे, 'जनावरलाई के खुवाउने-नखुवाउने थाहा नपाई देखावटीका लागि पालिरहेका छन्। तिनको जीवन मानिसको रहरको रूपमा प्रयोग भइरहेको छ।'
जनावरको हरेक विषयमा निकै ध्यान दिने प्रनवले क्लिनिकमा उपचारका लागि आवश्यक सबै उपकरण राखेका छन्। कुनै विदेशबाट ल्याउनु पर्दा महँगो पर्ने र कुनै मानिसकै अस्पतालमा नपाइने सामान रहेको उनको भनाइ छ।
'यस्तो पशु अस्पताल पहिले नेपालमा थिएन र अगामी दिनमा मेरोभन्दा राम्रो अस्पताल बनोस् भन्ने आशा छ,' उनी भन्छन्, 'संसारभर यो क्षेत्रमा काम पाउन गाह्रो छ। तर हामी नै पछि हट्यौं भने आउँदो पुस्ता यसमा लाग्ने छैनन्।'
'पज प्ले एन्ड स्टे'मा कुकुरलाई तालिम व्यवस्था पनि छ। कोही व्यक्ति धेरै लामो समय बाहिर जानुपरे वा आफ्नो कुकुरलाई समय दिन नसके तिनको रेखदेख गर्ने उद्देश्यले स्कुल सञ्चालन गरेको प्रनवको भनाइ छ। हरेक कुकुरलाई दिनको तीनपटक खाना, नुहाइधुवाइ र बस्ने-सुत्ने व्यवस्था छ। अन्य केही व्यवस्था 'प्याकेज' अनुसार गरिन्छ।
यहाँ कुनै पनि कुकुरलाई सजिलै भर्ना भने गरिँदैन। पहिलो चरणमा कुकुरको स्वास्थ्य जाँच मात्र गरिन्छ। तिनको स्वास्थ्य अनुकूल बुझेर एसी जडित वा अन्य कोठामा राखिन्छ।
उनी भन्छन्, 'यदि कोही व्यक्ति उपत्यका बाहिरबाट कुकुर जँचाउन आउनुभएको छ र निको नहुन्जेल सँगै बस्न चाहनुहुन्छ भने, मानिस र कुकुर दुवै बस्न मिल्ने कोठा पनि छ।'
प्रायः दसैं-तिहार वा अन्य पर्वमा डग स्कुलको माग धेरै हुन्छ। तर अहिले लकडाउनले पनि संख्या बढेको व्यवस्थापक सन्दीप जोशीले बताए। कोरोना खबरले धेरै मानिस आकस्मिक रूपमा गृहजिल्ला गएका र कुकुर लान नसक्दा डग स्कुललाई जिम्मा दिएका छन्।
'अरू बेला जाँच गरेर सीमित भर्ना लिन्थ्यौं। यो समयमा एकाएक धेरै कुकुर राख्न सक्ने अवस्था थिएन,' सन्दीपले भने, 'हामीले अहिले छ वटा कुकुर राखेका छौं। कतिपयले लकडाउनमै बिरामी परेका कुकुर जँचाउन ल्याउनुभयो। सरकारले जनावरको स्वास्थ्यबारे बेवास्ता गरे पनि कुकुर जँचाउन ल्याउँदा प्रहरीले भने रोकेनन्।'
उनीहरूले आपतकालीन अवस्थामा घरै गएर पनि जाँच गरेको बताउँछन्। साथै यो बेला थुप्रै समूहसँगको सहकार्यमा बाटोमा अलपत्र कुकुरलाई खाना खुवाए।
प्रनवले केही वर्षअघि 'कफि विद द भेट' भन्ने कार्यक्रम पनि सुरू गरेका थिए जहाँ आफ्नो कुकुर सँगै लगेर खान-बस्न मिल्ने सुविधा थियो। यो कार्यक्रम चार वर्षसम्म चलाए।
यी सबै कामका पछाडि प्रनव सडक कुकुरको छुट्टै उपचार गर्छन्, आफ्नै घरमा ल्याएर। आफ्नै खर्चमा उपचार गरेपछि तिनलाई घरमै राखिरहेका छन्। कसैले पाल्न चाहे दिन्छन्।
उनको यही लगन देखेर सूर्यविनायक नगरपालिकाले अघिल्लो वर्षबाट सुरू गरेको जनावर व्यवस्थापन काम प्रनवलाई नै सुम्पिएको छ।
सानो छँदा शिक्षकलाई 'यस्तो मान्छे बन्न चाहन्छु, जो मर्दा सबै मान्छे रोऊन्' भनेका प्रनव अहिले भन्छन्, 'म जे बनेको छु, खुसी छु। म मर्दा सबै मान्छे नरोलान्, तर समाजमा एउटा छाप छोड्न सफल भएको छु।'