लकडाउनले तीन महिनादेखि घर बसिरहेकी मरियम रइसलाई अहिले पाठ्यक्रमभन्दा बाहिरका किताब पढ्न समय जुरेको छ। मानविकीमा स्नातक गरिरहेकी उनी साहित्यका किताब पढ्न रूचाउँछिन्।
उनले यसबीच लकडाउनअघि नै किनेर राखेका कतिपय किताब पढिसकिन्। थप नयाँ पढ्न रूचि हुँदाहुँदै किन्न नपाइने र विद्युतीय संस्करण (इ-बुक) पनि सजिलै उपलब्ध नभएकाले अप्ठ्यारो परेको उनी बताउँछिन्।
‘इन्टरनेटमा केही किताब किन्न सकिने रहेछ, तर मैले खोजेका सबै पाएकी छैन,’ मरियम भन्छिन्, ‘घरैमा किताब डेलिभरी गर्ने केही अनलाइनले धेरै सहयोग गर्यो। तर, त्यहाँ पनि नयाँ प्रकाशित किताब पढ्न पाएकी छैन।'
मरियमको यो भनाइ पुस्तकप्रेमीहरूको साझा समस्या हो।
लकडाउनले अरू धेरै व्यवसायजस्तै किताब प्रकाशन र बिक्री पनि प्रभावित छ। नेपालमा उसै त लकडाउन अघिदेखि भन्सार शुल्कले नयाँ किताबहरू नपाइने अवस्था थियो। त्यसमाथि अहिले त धेरै किताब पसलहरू नै बन्द छन्।
‘लकडाउनले पढ्ने फुर्सद पाएको छु, तर किताब पाएको छैन। अनलाइन सेवामा पनि चाहिएको किताब नपाइने समस्या छ,’ फेसबुक समूह ‘बुकहोलिक्स’ का एडमिन गणेश कार्की भन्छन्, ‘त्यस्ता अनलाइन साइटबाट केही किताब किनिसकेँ, तर इ–बुक पढ्न समस्या छ।'
'मलाई इ-बुकभन्दा किताब हातमा लिएर पढ्न मन लाग्छ, तर यो समय डिजिटल किताब पढ्ने बानी बसाल्दैछु,' उनी भन्छन्।
यसरी भौतिक किताब सँगसँगै इ-बुकको माग बढ्न थालेका बेला स्थानीय प्रकाशन गृहहरूले पाठकको माग पूरा गर्न सकेका छैनन्। प्रकाशन र बिक्री-वितरणको काम ठप्प भएकाले स्थानीय प्रकाशन गृहहरूले नयाँ किताब प्रकाशित गरेका छैनन्।
यसबीच 'थुप्रै' नामक अनलाइन पोर्टलले घरमै किताब डेलिभरी गर्नेदेखि इ-बुकसम्मको सेवा दिइरहेको छ। 'किताब यात्रा' लगायत अनलाइनले पनि विभिन्न नेपाली किताब डेलिभरी गर्दै आएको छ। तर, यी सबै किताबको मागका तुलनामा कम हो।
फाइनप्रिन्ट प्रकाशनका संस्थापक अजित बराल लकडाउनले किताब प्रकाशन प्रभावित भएको बताउँछन्। चैत-वैशाखमा चारवटा किताब विमोचन गर्ने तयारी भइरहेका बेला सबै काम रोकिएको उनको भनाइ छ।
‘हामी अहिले घरबाट गर्न मिल्ने सम्पादनको काम मात्र गरिरहेका छौं। लकडाउनअघि केही किताब प्रकाशित भए, केही बाँकी थिए,' उनले भने, ‘यो तीन महिना काम गर्न नपाउँदा पाइपलाइनका प्रकाशनहरू अड्किएका छन्। लकडाउन खुकुलो भयो भने बजार केही समय सुस्त गतिमा त चल्छ, तर अहिलेको घाटा तुरून्तै पूर्ति गर्न गाह्रो हुन्छ।’
फाइनप्रिन्टले अनलाइन सेवाबाट किताब बिक्री सुरू गरिसकेको छैन। यसबारे सोच बनाइरहे पनि आफूहरू लकडाउन खुकुलो हुने दिन पर्खिरहेको र त्यसपछि भौतिक रूपमै किताब बिक्री गर्ने बराल बताउँछन्।
‘पाठकहरू नयाँ किताब पढ्न आतुर देखिन्छन्। त्यसैले, लकडाउनपछि बजारको अवस्था सुस्त भए पनि भौतिक किताबको बिक्री रोकिन्छ जस्तो लाग्दैन,’ उनले भने, ‘किताबहरू पहिलेजस्तो धेरै प्रकाशनमा नआउलान्, तर पाठकहरू किताब किनेर पढ्न छाड्नेवाला छैनन्।’
बुक हिल प्रकाशन भने अनलाइन किताब सुरू गर्ने तरखरमा छ। संस्थापक अध्यक्ष भुपेन्द्र खड्काले किताब लेख्ने, सम्पादन र डिजाइनको कामसँगै अनलाइन डेलिभरी र अडियो किताबको सेवा ल्याएको जानकारी दिए।
बुक हिलले इ–बुकमार्फत् किताब प्रकाशन गर्ने सोच बनाए पनि यसको व्यवस्थापनमा समस्या आउन सक्ने भुपेन्द्र बताउँछन्।
‘इ–बुक नेपालमा भित्रिएको लामो समय भएको छैन। विश्व बजारको सम्भावना बोकेको यो सेवा नेपाली बजारमा चलाउन गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘सबैसँग इन्टरनेट र प्रविधिको सुविधा नहुँदा सीमित पाठकले मात्र यो सेवाबाट फाइदा पाउँछन्।’
यसअघि किताबमाथि कर लागेका कारण आयात गर्न नसकिरहेको उनले बताए। 'नेपालमा विस्तारै पढ्ने संस्कृति बढ्दै जाँदा करको समस्याले पढ्ने वातावरण झनै साँघुरो बनायो, त्यसमाथि लकडाउनले त ठप्पै भयो। यसले प्रकाशन गृहको व्यापार ध्वस्त भइरहेको छ,’ उनले भने।
नयाँ प्रविधिले भौतिक रूपमा किताब पढ्ने चलन हटाउन नसक्ने उनको भनाइ छ। समयसँगै नयाँ प्रविधि आत्मसात् गर्नुपर्ने भए पनि भौतिक किताबको बजारलाई विद्युतीयले तुरून्तै प्रतिस्थापन गर्न नसक्ने उनी बताउँछन्।
नेपालय भने इ-बुक र भौतिक किताब दुवै प्रकाशनलाई सँगसँगै अघि बढाउने तयारीमा लागेको छ। उसले सुजीव शाक्यको 'अर्थात् परिवर्तन' भन्ने किताबको सिधै विद्युतीय संस्करण सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
'लकडाउन बेला किताबको माग धेरै आएको थियो। छपाइ बन्द भएकाले नयाँ प्रकाशन गर्न सम्भव भएन,' नेपालय प्रकाशनकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘कामको गति सुस्त भएकाले लकडाउनपछि पनि तुरून्तै धेरै किताब प्रकाशन गर्न गाह्रो हुन सक्छ। यस्तो बेला इ-बुकलाई सँगसँगै अगाडि बढाउनुपर्छ भन्ने सोचमा हामी अघि बढेका छौं।'
लकडाउनकै बीचमा स्वास्थ्य सुरक्षा अपनाएर किताब डेलिभरी गरिरहेको ‘किताब यात्रा’ ले भने पाठकको माग पूरा गर्न हम्मे परेको जनाएको छ।
यसका सञ्चालक ऋषि अधिकारीका अनुसार लकडाउनलगत्तै पहिलो साता काम सुस्त भएको थियो। अहिले किताब यात्राले उपत्यकाभित्रका सीमित ठाउँमा सेवा दिइरहेको उनले बताए। सीमित किताब र नयाँ प्रकाशन ल्याउन नपाउँदा पाठकको माग पूरा गर्न नसकेको उनको भनाइ छ।
‘हामीलाई अनलाइन सेवा वृद्धि गर्ने राम्रो अवसर थियो। तर, प्रकाशनको काम रोकिएकाले नयाँ किताब बजारमा ल्याउन सकेका छैनौं,’ अधिकारीले भने, ‘युवामाझ पढ्ने संस्कृति बढ्दै गर्दा लकडाउनमा पढ्न चाहँदा चाहँदै पनि पाठकले पढ्न पाएनन्।’
‘थुप्रै’ अनलाइन पोर्टलले यही अवधिमा नयाँ र पुराना गरी धेरै किताबको विद्युतीय संस्करण उपलब्ध गराउन थालेको छ। अब पाठकको मागअनुसार नयाँ किताबहरू इ–बुकबाट सार्वजनिक गर्ने सोच बनाइरहेको थुप्रैका सह–सञ्चालक राजु गोतामे बताउँछन्।