घरैमा बसेर कला संग्रहालय घुम्ने नयाँ सुविधा अर्थात् 'भर्चुअल आर्ट ग्यालरी'को सुरूआत नेपालमा पनि भएको छ। पछिल्लो समय 'म्युजियम अफ नेपाली आर्ट (मोना)' ले यस्तो सेवा सुरू गरेको छ। प्रविधिकै मार्फत् चित्र हेर्ने मात्र नभई ग्यालरी पुग्ने, त्यहाँको परिवेशको आनन्द लिँदै टहलिने, मन लागेको बाटो हुँदै गुज्रने अनि ठाउँ-ठाउँमा राखिएका चित्रहरूको मजा लिने!
मोनाको त्यही ग्यालरीमा यति बेला परम्परागत नेपाली चित्रकलाको प्रदर्शनी 'इन्सेप्सन' चलिरहेको छ। र, त्यसैमा राखिएको छ जानेमाने पौभा कलाकार लोक चित्रकारका कृति पनि।
केही समयअघि मात्रै नेपाली कलाकारको 'इ आर्ट'ले यसैगरी इन्टरनेटबाटै 'हिमालयन आर्ट फेस्टिभल' पनि आयोजना गरेको थियो। त्यसमा पनि लोक चित्रकारका पौभाहरू राखिएका थिए।
यसरी बाह्य समाजको अत्यधिक चासो ओगट्ने हाम्रै माटोमा उभिएका परम्परागत चित्रकलाबारे हामी भने थोरै मात्र चर्चा गर्छौं।
काठमाडौंका पुराना दरबार अनि मठमन्दिर भएर गुज्रँदा जुन आकृति र रङहरूले हामीलाई भिजाइरहेका हुन्छन्, हाम्रो पहिचानसँगै जोडिएको त्यही कलामार्फत् संसारलाई चिनाउँदै आइरहेका सर्जक हुन् लोक चित्रकार।
आर्ट ग्यालरीको 'भर्चुअल' पर्दाबाट निस्केर म उनलाई साक्षात भेट्न चाहन्थेँ। चित्रकारले मलाई पाटन ढोकामा बोलाए।
पाटन ढोकामा यति बेला दुवैतिर चार–चारवटा गरेर अष्टमातृकाका आठ थान चित्र कुँदिएका छन्। पहिलो छाप त लोक चित्रकारले नै तयार पारेका तिनै अष्टमातृकाले पारिदिए।
त्यहाँबाट थोरै अगाडि बढेपछि हुलाक छेवैको गल्लीमा उनको स्टुडियो 'सिम्रिक अट्लियर' छ।
'कोरोनाको डरकै कारण यत्रो दिनसम्म घरैमा थुनिएर बसेँ,' चित्रहरूमा बसेका धूलोको पत्र झार्दै उनले सुनाए, '७५ दिनपछि आज ढोका खोलेर भित्र पसेको छु।'
एक त त्यसै पनि काठमाडौंमा कलासम्बन्धी गतिविधि सुस्त छ। त्यसमाथि महामारीले ठप्पै पारिदिएको उनको अनुभव रह्यो।
'राज्यले तयार पारिदिएको एकेडेमी पनि ठ्याम्मै उपयोगी भएन,' उनले गुनासो पोख्दै थपे, 'यस्तोमा कम्तीमा नयाँ पुस्ताका जागरुक तन्नेरीले सक्दो प्रयास गरिरहेको देख्दा खुसी लाग्छ।'
ठमेलस्थित काठमाडौं गेस्टहाउसका राजन शाक्यले निजी तवरबाट 'भर्चुअल ग्यालरी' सुरू गरेको र उनैले संग्रहमा राखेका आफ्नो चित्रलाई त्यहाँ समावेश गरेको जानकारी चित्रकारले दिए।
यस्ता इन्टरनेट ग्यालरीहरूले कत्तिको प्रभावकारिता देखाइरहेका छन्?
उत्तर दिन चित्रकार अलि गहिरिए।
'भर्खर सुरू भएको यस्तो प्रयास धिपधिपे दियोजस्तै हो,' उनले थपे, 'यसले समय लगाएर संस्थागत रूप लिँदै गयो र अन्तर्राष्ट्रिय विश्वसनीयता पनि आर्जन गर्दै गयो भने धेरै राम्रो गर्न सक्छ।'
तन्नेरीहरूले गरेका यस्ता प्रयासलाई कला क्षेत्रमा लागेकादेखि लिएर सञ्चारकर्मी हुँदै सबैको सामूहिक प्रयास जोडियो भने फस्टाउन मद्दत मिल्ने उनले बताए।
'अहिल्यै खासै उल्लेखनीय उपलब्धि नहोला। तर, आगामी दिनका निम्ति यस्तो प्रयास सुरू हुनु नै सकारात्मक संकेत हो,' उनले थपे।
चित्रकारका अनुसार काठमाडौंको यो चार-पाँच किलोमिटर परिधिमा अलमलिएर नेपाली कलाको विस्तार सम्भव छैन। उनले यसो भनिरहँदा करिब चार महिनाअघि मात्र महाराजगञ्जको एउटा होटलमा आयोजित उनको प्रदर्शनी सम्झना भयो। त्यहाँ लोक चित्रकारका पेन्टिङका कपी (प्रतिलिपि) झुण्ड्याइएका थिए, जसको मूल्य पनि लाखौं रुपैयाँ तोकिएको थियो।
'यसका ओरिजिनल चित्र कहाँ छन्?'
यो प्रश्नको जवाफमा प्रदर्शनी व्यवस्थापन सम्हालेकी युवतीले भनेकी थिइन्, 'ओरिजिनल पेन्टिङ त जापानका संग्रहालयमा छन्।'
आफूहरूले अभ्यास गरिरहेको परम्परागत कलाका पनि तीनवटा हाँगा रहेको चित्रकार बताउँछन्।
एउटा हस्तकलाको रूपमा उत्पादन गरिन्छ। औद्योगिक स्तरबाट उत्पादन गरिने त्यस्ता चित्रको बिक्री पनि व्यापक छ। त्यस्ता हस्तकला उद्योगका मालिकहरू चित्रकारै हुन्छन् भन्ने पनि जरुरी हुँदैन।
'साहुले दिएको आदेशअनुसार थांका वा पौभा तयार पारिन्छ,' उनले भने, 'ती चित्र हस्तकलाका रुपमा संसारभर अझ विशेषगरी चीनतिर बढी गइरहेका छन्।'
अर्को प्राचीन थांका वा पौभा हुन् जो प्रायः मठमन्दिर वा संग्रहालयमा हुन्छ। यदाकदा चोरी भएर महँगोमा बेचविखन हुने पनि यिनै कला हुन्।
'तेश्रोमा हामीजस्ता छौं,' चित्रकारले भने, 'जसले यो परम्परागत कलालाई आफ्नो मौलिकता र सिर्जनशीलता प्रयोग गरेर अघि बढाइरहेका छौं।'
लामो समय खर्चेर तयार पारिने आफ्ना कतिपय चित्र पन्ध्रदेखि बीस वर्ष लगाएर बन्ने भएकाले आफूसँग चाङ लगाएर राख्ने हिसाबले संग्रह नरहेको उनी स्पष्ट पार्छन्। त्यसैले त महाराजगञ्ज प्रदर्शनीमा १०८ थान 'लोकेश्वर' को प्रिन्ट कपी झुण्ड्याइएको थियो जसको मूल्य आठ लाख रूपैयाँ तोकेका थिए।
'त्यो चित्र मेरो १२ वर्षको मिहेनतको प्रतिफल हो,' उनले भने, 'सन् २००२ देखि २०१४ सम्म लगातार काम गरेर तयार पारेको थिएँ।'
त्यसरी बनाएको कृतिको संग्रह नेपालमै भइदिएको भए उनलाई झनै बढी खुसी लाग्ने थियो। तर, आफ्नै बाध्यताले गर्दा त्यस्ता कलाकृति जापान पुगेको उनी सुनाउँछन्।
काठमाडौंको जनबहालमा जन्मे-हुर्केका लोक चित्रकारले सानैदेखि सेतो मच्छिन्द्रनाथ, वरपरका अनेक देवीदेवताका परम्परा अनि साँस्कृतिक गतिविधि देख्दै आए।
'त्यहाँ बेलाबेलामा चित्र प्रदर्शनी पनि चल्थ्यो,' उनले भने, 'त्यतिबेलै टुँडालका आकृति उतार्ने सिद्धिमुनी शाक्यका कलाकृतिले मलाई असाध्यै प्रभाव पार्यो।'
त्यसै क्रममा उनले १०८ लोकेश्वरका चित्र पनि देखे।
'मलाई त्यसको गहिरो प्रभाव परेको थियो,' उनले थपे, 'कुनै दिन म पनि लोकेश्वरका चित्र बनाउँछु भनेर मनमनै त्यही बेला अठोट गरेको थिएँ।'
यसरी हुर्केका चित्रकारले १२ वर्षदेखि नै पुर्ख्यौली चित्रकारी पेसा अपनाउन सुरू गरे।
'चित्र उतार्नुबाहेक जेजति सामग्री पाइन्छ, खोजेर हेर्न थालेँ। किताब भेटेँ भने पनि किनिहाल्थेँ। धार्मिक गतिविधि हुने स्थानमा अनेक आधार भेटिन्थे। त्यता गएर पनि नियाल्थेँ, बुझ्ने कोशिस गर्थेँ। यसरी अनजानमै मैले आफ्नो निम्ति बाटो समात्दै गएँ,' उनले भने।
आफूभित्रको कलाकार हुर्काउँदै लगेपछि उनी र उनका कामप्रति मुलुकभित्र र बाहिर जिज्ञासा बढ्दै जान थाल्यो। त्यसै क्रममा उनले सन् १९९० देखि १९९२ सम्म जापान गएर त्यहाँका बौद्धमार्गी चित्रकला पनि बुझ्ने मौका पाए।
'त्यति बेला गरेको अध्ययनकै हिसाबले ठूला चार वटा जापानी पौभा चित्र मैले बनाएको थिएँ,' उनले भने, 'यता र उता दुवैतिर बुद्ध धर्म एउटै भएकाले काम सजिलो भयो।'
चित्र तयार भएलगत्तै एकजना जापानी नेपाल आइपुगे। चित्रकारसँग भेटे। उनले ती चित्रबारे अनेक जिज्ञासा राखे। चित्रका आधिकारिकतालाई लिएर थुप्रै कोणबाट परीक्षण गरे।
'मैले कुन-कुन अध्ययनलाई आधार बनाएँ र कुन-कुन कुरा आफैंले खोजेँ भनेर जानेजति सबै सुनाइदिएँ,' चित्रकार भन्छन्, 'त्यसका दस्तावेज र पुस्तक पनि देखाइदिएँ।'
त्यतिन्जेल ती जापानी को हुन् भन्ने चित्रकारलाई थाहा थिएन। पछि पो उनले देखाएका दस्तावेज र पुस्तकमध्ये कतिपय त जापानस्थित उनकै मन्दिरले प्रकाशित गरेका रहेछन् भन्ने थाहा भयो।
'चित्र हेरेर त्यसका आधार सुनेपछि उनमा मेरो कामप्रति गहिरो प्रभाव परेछ,' चित्रकारले सुनाए, 'त्यसपछि ती जापानी मेरा चारवटै चित्र संकलन गर्ने निधोमा पुगे।'
यसरी उनका चित्र ती जापानीको संग्रहमा पुगेपछि उनीहरू दुवैको मित्रवत् सम्बन्ध अघि बढ्यो।
'त्यसै क्रममा मैले बाल्यकालमै देखेको लोकेश्वरका १०८ चित्र बनाउने सपना पनि उनले सुने,' चित्रकार भन्छन्, 'निकै वर्ष लगाएर तयार पार्नुपर्ने त्यस चित्र पनि उनै जापानीले आफैं किनिदिने प्रस्ताव अघि बढाए।'
सन् २००२ बाट सुरू ती चित्र बनाउन १२ वर्ष लाग्यो। १०८ वटै लोकेश्वरको चित्र 'ए थ्री' साइजमा छ। प्रदर्शनी निम्ति केही महिनाअघि जापानबाट पठाइएका प्रिन्ट भने त्यसको एक चौथाइ आकारका थिए।
ती जापानी नागरिकआबद्ध टोकियोको खान्जोइनस्थित बौद्ध मन्दिर एवं म्युजियमले सम्पूर्ण खर्च उठाएपछि चित्रकारका चित्र तयार भएको थियो। ती चित्र यति बेला त्यही म्युजियममा छ। त्यो मन्दिर बैलोचन बुद्धको भए पनि आफूले तयार पारेका १०८ वटा लोकेश्वर र बीचमा अमिताभ बुद्धको मूर्ति त्यहीँ झुन्ड्याइएको उनले जानकारी दिए।
त्यो चित्रको मूल्य अर्थात् चित्रकारले भनेजस्तै 'खर्च' भनेको कति हो?
जवाफ दिन उनले चाहेनन्, 'मैले चित्र बनाएर धेरै पैसा कमाउने चाहना राखेको छैन। एउटा कलाकारले १२ वर्ष परिश्रम गर्दा जति पारिश्रमिक पाउनु पर्ने हो, त्यति पाएको थिएँ।'
लोक चित्रकारका कृति यसअघि पनि जापानकै फुकुओका म्युजियममा संग्रहित थियो। अन्य नेपाली कलाकारका चित्र पनि संग्रहित त्यस म्युजियमले सन् २०११ मा प्रदर्शनी नै गरेको जानकारी उनले दिए।
यति बेला चाहिँ लोक चित्रकार केमा व्यस्त छन्?
'धेरै वर्षदेखि थालेको एउटा ठूलो गणेशलाई यति बेला घरैमा निरन्तरता दिइरहेको छु,' उनले थपे, 'त्यसबाहेक यहाँ पनि दुइटा चित्र बनाइरहेको छु।'
गणेशको उक्त चित्र बनाउन खोजिएको झन्डै १५ वर्ष भएको जानकारी उनले दिए।
'त्यो कति पुरानो हो भन्ने सम्झना पनि मैले राखेको थिइनँ,' उनले सुनाए, 'लामो अवधिपछि नेपाल आएका स्वीट्जरल्यान्डका मेरा एक विद्यार्थीले बताइदिए।'
यसरी काम गरिरहँदा उनी समय गएको पत्तै पाउँदैनन्। सारा क्षण एकोहोरो काममै बित्छ।
लकडाउन बेला त्यो गणेशको चित्रलाई अन्तिम रूप दिन भरमग्दुर प्रयत्न गरिरहे पनि अझै तीन-चार महिना लाग्नसक्ने उनी बताउँछन्।
एउटै चित्रमा लामो समय लगाउँदा त्यसमा प्रयोग गरिने रङको चमकमा परिवर्तन देखिँदैन?
'देखिँदैन,' उनले भने, 'किनभने म सधैं प्राकृतिक रङ मात्रै प्रयोग गर्छु।'
बजारमा पाइने रङभन्दा प्रकृतिबाट लिएका रङ जति समय लगायो, त्यति राम्ररी 'सेट' हुने गुणको हुन्छ, 'त्यस्ता रङको प्रभाव समयसँगै घट्ने भन्ने हुँदैन।'
आफूलाई चाहिने प्राकृतिक रङ चित्रकार आफैं तयार गर्छन्। कतिपय रङ खानीमा पाइने रंगीविरंगी ढुंगा फुटाएर तयार पारिन्छ। रातोमा सिम्रिक, उनले आफ्नो स्टुडियोको नामै दिएका छन्। त्यसैगरी 'इन्डिगो' जस्ता प्राचीनकालदेखि चल्दै आएका रङ प्रयोग गर्छन्। नीलोको आवश्यकता नीर घोलेर पूरा हुन्छ।
'केटाकेटी बेलामा आमाले लगाइदिने गाजल सम्झेर मैले त्यसै विधिबाट कालो रङ तयार पारेँ,' उनी भन्छन्, 'काठमाडौंकै पुराना किराना पसलमा पाइने पाँचथरि सामग्री जलाएर तयार पारिने त्यो कालो रङ, चित्रमा प्रयोग गर्न अत्यन्तै गुणस्तरीय छ।'
विदेशतिर भइदिएको भए त्यस्ता रङमै पनि आफूले 'पेटेन्ट' लिन मिल्ने सुनाउँदै गर्दा उनको अनुहारमा हल्का मुस्कान देखिन्थ्यो। 'पेटेन्ट'को कुरा आइसकेपछि लामो समयदेखि मेरो मनमा रहेको परम्परागत कलासम्बन्धी जिज्ञासा पनि चित्रकारसमक्ष राखेँ।
'पौभा र थांकामा उस्ताउस्तै आकृतिका चित्र जताततै किन देखिन्छन्? त्यसमा प्रतिलिपि अधिकार हुँदैन?'
यो कुरा उठाउनासाथ चित्रकारलाई दुखिरहेकै विन्दुमा सुम्सुम्याएजस्तो भएछ।
'एकदमै समस्या छ,' उनले भने, 'हामीकहाँ भद्रगोल अवस्थाले गर्दा जसले पनि अर्काको सिर्जना उतारेर बेचिदिने गरिरहेका छन्।'
यो प्रवृत्तिसँग जोडिएको एउटा रोचक घटना पनि उनले सुनाए। कुरो सन् २००१ तिरको रहेछ। उनी अमेरिकाकै एउटा कलेजमा चित्रकारिता पढाउन गएको बेला थियो।
'ए...अँ...,' उनले सम्झेजस्तो गरेर भने, 'दरबार हत्याकाण्ड भएका बेला म अमेरिकामै थिएँ।'
त्योताकै सानो छुट्टीमा चित्रकार फिनल्यान्डतिर घुम्न गएछन्। उनका विद्यार्थी भने काठमाडौं आएछन्।
'मेरा विद्यार्थी ठमेलतिर घुमिरहँदा त्यताको कुनै पसलमा दुरुस्त मैले बनाएकै र सिकाउने गरेकै पौभा देखेछन्,' उनले थपे, 'उनीहरूले 'यो त मेरो गुरूको कला हो, तिमीहरूले यसरी चोरेर बनाउनेको चित्र बिक्री गर्न मिल्छ?' भन्दै झगडै गरेछन्।'
ती विद्यार्थीले नेपालको त्यो अनुभव पछि आफूलाई सुनाउँदा हाँसो उठेको चित्रकारले सुनाए।
'हामीकहाँ यस्तो भद्रगोल छ,' उनले भने, 'अब हामी खुरुखुरु चित्र बनाएर बस्ने कि यो सब भद्रगोल हटाउन जीवनभर कानुनी लडाइँ लडेर बसिरहने?'
समस्या चोरेर चित्रका कपी तयार पार्नेमा मात्र सीमित छैन। कतिपय बुझेकै मानिसले पनि अनुमति नलिई किताबमा प्रकाशन गरेर पनि समस्या पारेको उनी दुःखेसो गर्छन्। अझ कतिपयले त 'क्रेडिट' समेत नदिएको देख्दा उदेक लाग्छ।
'यस्तो कुरामा हाम्रो चिन्तनकै अभाव छ,' उनी भन्छन्, 'बाहिरतिर यस्तो कसैले गर्दैनन्।'
चित्रकारको अनुभवमा विदेशतिर म्युजियममा रहेका उनका चित्रको तस्बिर कतै प्रकाशन गर्न मागियो भने, म्युजियमले उनलाई पत्र पठाएर औपचारिक रूपमै अनुमति लिने गरेको छ।
'म्युजियमले मसँग किन्ने भनेको उसको भित्तोमा झुन्ड्याउन मात्र हो,' उनी थप्छन्, 'त्यसको प्रतिलिपी बनाएर बेच्नु परे हामीले पैसा पाउनेगरी बेग्लै सम्झौता गर्नुपर्छ।'
कतिपयले परम्परागत कलाका मामलामा भगवान बुद्ध बनाएपछि त्यसमा कसैको अधिकार लाग्दैन भनेर कुरा उठाउँदा उनलाई अचम्म लाग्छ।
'बुद्ध भनेको त एउटा 'कन्सेप्ट' मात्रै हो,' उनी भन्छन्, 'वर्षौंको अध्ययन, मिहेनत, सिर्जनशीलताले हरेकले उभ्याउने बेग्लाबेग्लै बुद्धको आकृतिमा सर्जककै अधिकार हुन्छ।'
परम्परागत कला भन्नाले कामको शैली, 'मेथड' र त्यसको 'टेक्निक' मात्रै लिने गरेको उनको भनाइ छ।
'जस्तो 'क' भनेपछि क नै लेख्नुपर्छ,' उनी भन्छन्, 'तर, त्यसलाई कुन बान्कीमा ढालेर सजाउने भन्ने सर्जकका हिसाबले हुन्छ।'
शास्त्रीयताको मर्यादा र सिमाना पालन गर्नैपर्नेमा दुई मत छैन।
'हाम्रा चित्रकारितालाई 'फ्रिडम विथ डिसिप्लिन' भन्ने गरेका छौं,' उनी भन्छन्, 'आधारभूत फर्मूला शास्त्रबाटै लिएर बाँकी आफ्नो सिर्जनशीलता।'
उनले छेउकै चित्र औंल्याए।
'यो पद्मपाणि लोकेश्वरकै पनि अनेक स्वरूपमा चित्र र मूर्ति बनेका छन्। तर, यो चित्रमा जस्तो पद्मपाणि अन्त पाइँदैन,' उनले भने।
उनका अनुसार पद्मपाणि भन्नेबित्तिकै कमलको फूल समातेकै हुनुपर्छ। त्यो अनिवार्य हो। जबकि त्यसकै निम्ति पनि त्यहाँ भित्र अनेक परम्परा हुन्छन्, मिथ, कथा र जात्रामात्रा हुन्छन्। त्यसबाट प्रभावित भएरै कलाकारले आ-आफ्नो शैलीमा उभ्याउने हो।
ललितकलाकै अन्य विधा र परम्परागत विधामा ठूलो अन्तर रहेको उनी सुनाउँछन्।
'हामी सबै कलालाई एउटै डालोमा राखेर पश्चिमा दृष्टिकोणले त्यसलाई बुझ्ने कोशिस गर्छौं,' उनी भन्छन्, 'जबकी मेरा तमाम अभ्यास पूर्वी दृष्टिकोणमा आधारित हुन्।'
पूर्वीय दर्शनबाट प्रभावित कला हेर्न पूर्वीय दृष्टिकोण नै आवश्यक पर्ने उनको ठहर छ। त्यो नभइदिँदा धेरै समस्या परिरहेको उनको अनुभव रहेछ।
उनले उदाहरण प्रस्तुत गरेः
'मन्जुश्रीले उज्याएको तरबार कसैलाई काट्न होइन। त्यो तरबारको माथितिर एउटा आगो पनि बलिरहेको हुन्छ। भौतिक रूपले सोच्ने हो भने फेरि त्यहाँ आगो कसरी बल्यो भन्ने प्रश्न उठ्छ। तर, त्यो आगो त अज्ञानताविरुद्ध उज्यालोको प्रतीक हो। सम्वृद्धि सत्य र परमार्थ सत्य, दुई सत्य झल्काउन त्यो खड्गको धार पनि दुईतिर हुन्छन्।'
पौभा र थांकालाई हामीले हाम्रा परम्परागत कलाका रूपमा उल्लेख गर्दै आएका छौं। तर, कतिपयले यो तिब्बततिरबाट आएको पनि भन्छन्। त्यसलाई चित्रकार 'अर्धसत्य' बताउँछन्।
'पश्चिमा लेखकले कलाको कुरा गर्नुपर्यो कि हामीलाई भारत वा तिब्बतसँग लगेर जोडिदिन्छन्,' उनले आक्रोश पोखे, 'यो त्यसैको परिणाम हो।'
हाम्रो आधारशिला बन्न नपाएकाले पनि यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ।
'यी सब देख्दा दुःख लाग्छ,' उनी भन्छन्, 'तर, के गर्ने? उपाय पनि छैन।'
उनका अनुसार पौभा कलाको जननी कुन ठाउँ हो भनेर निर्क्यौल गर्न ऐतिहासिक आधार हेर्नुपर्ने हुन्छ। पाँचौ शताब्दीतिर काठमाडौं उपत्यकामा चिनियाँ यात्री फासियान (फाहियान पनि लेख्ने गरिएको) आए कि आएनन्, त्यो बेग्लै बहस हुन सक्छ। तर, उनले लेखेका पंक्ति अहिले पनि उति बेलाको काठमाडौं बुझाउने आधार भएको चित्रकार बताउँछन्।
त्यति बेला फासियानले 'काठमाडौंका मानिस कानमा प्वाल पारेर बाँसको गहना लगाउँछन्', 'विदेशीलाई त्यति राम्रो व्यवहार गर्दैनन्' (काठमाडौंवासीले पछिसम्म पनि विदेशीलाई म्लेच्छ भन्थे) भन्दै गएर एक ठाउँमा त 'काठमाडौंको घर घरमा चित्र छ' समेत भनेर लेखेका थिए।
'त्यो बेला चित्र थियो भनेपछि, पक्कै धार्मिकै थियो,' चित्रकार दाबी गर्छन्, 'पौभा कला हामीकहाँ नै सुरू भएको त्यो नै एउटा बलियो आधारका रूपमा लिन सकिन्छ।'
त्यसैगरी कैलाशकुट दरबारदेखि अनेक कृतिका कुरा उल्लेखितै छन्।
अर्कातिर दोश्रो शताब्दीमै बनेका जय वर्माको कलात्मक मूर्ति फेला परेर हाम्रा संग्रहालयमै राखिएको छ। भूकम्प गइरहने ठाउँ भएकाले हाम्रा तमाम आधार मासिए पनि जसोतसो फेला परेका कृतिले हाम्रो कलाको इतिहास धेरै परसम्म देखाउँछ।
'लिच्छविकालमा कति राम्रा मूर्ति थिए भन्ने उदाहरण त अहिले नै चाँगुनारायणका मूर्ति देख्छौं,' उनी भन्छन्, 'जब त्यति राम्रा मूर्ति हुनसक्थे भने चित्र नहुने कुरै छैन।'
यता तिब्बतसँगको हाम्रो सम्बन्ध सातौं शताब्दीमा स्रङ-चङ-गम्पोसँग भृकुटीको विवाह भएपछिका कुरा मात्र आइरहेको उनको कथन छ। त्यसपछिका सन्दर्भमा पनि उल्टो यताबाटै भृकुटीले नेपाली कला उता लिएर गएका पढ्दै आएका छौं। त्यसैगरी तेह्रौं शताब्दीमा अरनिको नै उता गए।
'मुस्ताङका गुफामा भेटिएका पेन्टिङ पनि तिब्बतभन्दा नेवार शैलीका देखिन्छन्,' उनको भनाइ छ, 'प्राचीनकालमा नेवार कलाकार कताकता कसरी गए भन्ने, यहाँ रेकर्डै छैन। अरनिको त धेरै पछि हामीले थाहा पाएका हौं।'
चित्रकारका अनुसार उता तिब्बतमा एकपटक पुगेपछि जे कुरा पनि उनीहरूले आफ्नो बनाउने परम्परै छ। त्यसको ज्वलन्त उदाहरण, अरनिको नै नेपाली नाम होइन। यसरी पहिचानै परिवर्तन गरिसकेपछि उनीहरूका सिर्जना त त्यतैका हिसाबले उल्लेखित हुने नै भयो।
'त्यो बेलाको बजार उता भयो,' चित्रकार भन्छन्, 'यताबाट गएका मानिसले पनि उतैको शैलीमा आफूलाई ढाल्दै लगे होलान्।'
हाम्रो लामो इतिहास र परम्परा गौण बनाउने काम सबैतिरबाट भइरहेको उनले आरोप लगाए।
'हामी नेपालीले पनि नेपाली कलाको इतिहासबारे लेखेका छैनौं। अहिले हामीसँग जे जति दस्तावेज छन्, पुरानो नेवार भाषा संस्कृतिमा छ। लिपि पनि पुरानो छ। त्यो सबै खोजेर हेर्ने र खोजी गर्नेतिर कसैले टाउको दुःखाउनु आवश्यक ठानेका छैनन्। यस्तोमा पश्चिमा लेखकले उनीहरूको अनुकूल हुनेगरी जेजस्तो लेखिदिएका छन्, त्यसैलाई पत्याइदिन्छौं।'
खोजी गर्नुभन्दा अरूले लेखिदिएका किताब हेर्न सजिलो भएकाले यस्तो अवस्था आएको उनी सुनाउँछन्।
'हामीकहाँ त लियोनार्दो दा भिन्ची जन्मनुअगाडिको पेन्टिङ रहेछ,' उनी भन्छन्, 'बकायदा कलाकारको नाम, मिति सबै भएको त्यस्तो पेन्टिङकै बारेधरि हामीलाई थाहै थिएन।'
यस्तो अवस्थामा हाम्रा परम्परागत चित्रकलालाई कसैले तिब्बत वा भारतको भनिदिएकै आधारमा मान्ने कि नमान्ने, दोधार रहेको उनले सुनाए।
एकोहोरो थांका र पौभा चित्र कोरिरहेका नेपाली चित्रकारहरूले पछिल्लो समय यो विषयलाई प्राज्ञिक विषयवस्तुका रूपमा अध्ययन-अनुसन्धानको माध्यम बनाउने मौका पनि पाएका छन्। त्यो हो, त्रिभुवन र काठमाडौं विश्वविद्यालयले यसबारे पढाउन थालेको।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सिर्जना कलेजले यो पढाउन थालेको छ भने काठमाडौं विश्वविद्यालयमा चित्रकार आफैं यसको पठनपाठन गराउँछन्। उनी यसको पाठ्यक्रम तयार पार्ने समूहमा पनि छन्।
'पाठ्यसामग्री, पढाउने मानिसका अभावदेखि लिएर तत्काल भोग्दै गरेका यसका धेरै समस्या छन्,' उनी भन्छन्, ' तैपनि काठमाडौं विश्वविद्यालयमा पहिले दुई क्रेडिट भएकामा अहिले तीन क्रेडिट राखेर पढाइन थालेको छ।'
तत्काल भने थोरै विद्यार्थी छन्।
'कुनै बेला हराइसकेको हाम्रो सम्पत्ति, क्युरियो सामान किन्ने विदेशीले महत्व बढाइदिएर यहाँसम्म ल्याइदिए,' उनी भन्छन्, 'त्यसरी निरन्तरता पाएको यो परम्परागत कला अब विश्वविद्यालयको कक्षाभित्र प्रवेश गरिसकेको छ।'
परम्परागत पेशा र व्यक्तिगत अभिरूचिकै कारण आफूले आधा शताब्दी व्यतित गरिसकेको यो क्षेत्रमा अब पढेलेखेका नयाँ पुस्ता आउन लागेको देख्दा उनमा खुसीको सीमा छैन।
'प्रविधिको पनि उपलब्धताले गर्दा यो पुस्ताको पहुँच धेरै परसम्म पुग्नसक्ने देख्छु,' उनी भन्छन्, 'म भविष्यलाई लिएर धेरै आशावादी छु।'