करिब दुई महिनाअघि अफ्रिकाको सडकमा बेग्लै चहलपहल देखियो। आसपासका मान्छे के भयो भनेर हेर्न थाले। उनीहरूले देखेको दृश्य निकै रोचक थियो। मोबाइलबाट भिडिओ खिचे जुन भाइरल भयो- सडकमा तीन वटा पेनगुइन टुकुटुकु हिँडिरहेका। केप टाउनमा हिँड्दै गरेका ती पेनगुइन बिना डरधक सडक पार गर्दै थिए।
त्योभन्दा अलि अगाडि अफ्रिकाकै क्रूगर राष्ट्रिय निकुञ्जको 'रेस्ट क्याम्प' बाहिरको सडकमा सिंहको बथान आरामले सुतेका तस्बिर सार्वजनिक भएको थियो।
लकडाउनले घरभित्र थुनिएका मान्छेलाई पशुपंक्षीका यी निस्फिक्री गतिविधिले लोभ्याएको छ।
काठमाडौं उपत्यकाकै कुरा गरौं। गाडी र मान्छेको घन्चमन्च भएको मध्य सहरमा चराचुरुंगीको चिरबिर सुनिन्थेन। कोलाहलले उनीहरूको आवाज दबिन्थ्यो होला। अहिले अवस्था फेरिएको छ। हिजोआज चराचुरुंगीको चिरबर चर्को गुञ्जिन थालेको छ।
घनाबस्तीभित्रै एकाबिहानै कोइलीको कुहुकहु सुनिन थालेको छ। कागको काँकाँ पनि चर्को भएको छ। परेवाको घुरघुरदेखि सानो फिस्टे चरासम्मको आवाज प्रस्ट छ। यसअघि कान थाप्दा पनि पटक्कै नसुनिने आवाज एकाएक कसरी खुला गुञ्जिन थाल्यो?
हामीमध्ये धेरैलाई यो आवाज नयाँ घुमन्ते चराहरूको हो कि भन्ने पनि लागेको छ। चराविद् डा. हेमसागर बराल यी चुलबुले र फिरन्ते चरा हाम्रै वरपरका रैथाने भएको मान्छन्।
.JPG)
विषेशगरी चराचुरुंगीलाई लकडाउनले धेरै फाइदा पुर्याएको उनको विचार छ। हल्ला र प्रदूषण नहुँदा उनीहरूको चहलपहल र आवाज सुनिन थालेको हो। साथै फुर्सद समयमा मान्छे प्रकृतिसँग नजिक भएकाले पनि रैथाने चराको आवाज नौलो लागेको उनी बताउँछन्।
'बासस्थान खोज्दै गाउँ पसेका चराहरू यति बेला सहरी वातावरण शान्त हुनासाथ घुम्न निस्किएका छन्,' लामो समय चराहरूको आनीबानी अध्ययन गरिहेका बराल खुसी प्रकट गर्छन्, 'मानवीय बाधा नहुँदा उनीहरूलाई सहज भएको छ।'
उनका अनुसार हामी अहिले प्रकृतिसँग नजिक हुन चाहेका छौं। आँखाले हेर्न चाहेपछि बगैंचामा पुतली देखिएका छन्, सुन्न चाहेपछि चराका आवाज सुनिएका छन्। उनी थप्छन्, 'यसअघि हेर्ने-सुन्ने समय नै थिएन। अहिले छ, पुरानै चिज देखिए पनि के आयो, के देखियो जस्तो लागेको हो।'
डा. बराल अहिले चराहरूको प्रकृति आफ्नो लयमा फर्किएको बताउँछन्। लकडाउनले चराको वृद्धि-विकास लयबद्ध बनाउन पनि सघाएको उनको धारणा छ।
धेरै चरा बाहिर आएका छन्। संख्या बढेको र फैलिएको पनि छ,' उनी कारण प्रष्ट्याउँदै भन्छन्, 'फेरि अहिले चराहरूको बच्चा कोरल्ने मौसम हो। धेरै चरा भएपछि धेरैथरी आवाज सुनिन्छन्।'
.JPG)
लकडाउनअघि चराहरूले निर्वाध बच्चा कोरल्न पाएका थिएनन्। कतिपयको बासस्थान मासिएको थियो। रैथाने चरा उपत्यका आसपासका जंगलतिर बास खोज्दै गएका थिए। प्रायः चराको बच्चा कोरल्ने मौसम चैत, वैशाख र जेठ हो। वसन्त ऋतुमा फुल पार्छन् र गृष्मयाममा कोरल्छन्।
'वसन्त र गृष्म ऋतु चराले फुल पार्ने र बच्चा जन्माउने समय हो,' उनी अध्ययनको निष्कर्ष सुनाउँछन्, '८० प्रतिशत चराले फागुनको अन्तिम सातादेखि मनसुन सुरू नभएसम्म फुल पार्ने र बच्चा हुर्काउने गर्छन्।'
यसपालि चराले फुल पार्ने समयमा मानिस लकडाउन बसे। अहिलेसम्म चलिरहेको लकडाउनले मानवीय गतिविधि रोकिरहेको छ र चराहरूले राम्ररी बच्चा कोरल्न पाएका छन्। कोरलिएका बच्चा पनि सग्ला भएर उड्न थालिसके। उनीहरूको पनि चिरबिर सुनिन थालेको छ।
'मान्छे, बिरालो र मलसाँप्रोले बाधा नपुर्याउने हो भने हाम्रा सानो बगैंचा, झ्यालमा, खोपामा पनि चराले बच्चा हुर्काउँछन्,' बराल भन्छन्, 'यसपालि त्यस्तै भयो, रैथाने चराको संख्या बढ्यो।'
जुरेली, पात सिउने फिस्टो, ढुकुर, मैना आदिले दानापानी मिलेको खण्डमा वर्षमा दुईपटक बच्चा कोरल्ने बराल बताउँछन्। यति बेला चराका गतिविधि बढ्नुको कारण बचेरा हुर्काउने प्रक्रिया सफल हुनु पनि हो।
'पहिलेपहिले कोरलेका बच्चा सकुशल हुन्छन् भन्ने थिएन। अहिले बाधा छैन। उडानमा समस्या छैन। त्यसैले हाम्रो घर, आँगन, छतमा देखिएका छन्,' उनी चराजगतको सृष्टि प्रक्रिया बुझाउँदै भन्छन्, 'फागुनमा कुनै चराले फुल पार्यो भने, चैतको अन्तमा बच्चा उडाइसक्छ। कति फेरि ओथारो बस्न सुरू गर्छन्। असारमा फेरि हुर्काइसक्छन्। यो चक्र यति बेला राम्ररी चल्न पाएको छ।'
.JPG)
.JPG)
रूखबिरुवा भए पनि काठमाडौंको भृकुटीमण्डप, रत्नपार्क, नारायणहिटी, केशरमहल वरपरका क्षेत्रमा चराले बासस्थान पाएका थिएनन्। सधैं मानिसको भीड लाग्थ्यो। भण्डारखाल, रानीबारी, स्वयम्भूका वन-उपवनमा पनि मानिसको चाप उस्तै। चराका गुँडमा ढुंगा हान्ने, फुल फुटाउने, धपाउन सक्ने सम्भावना पनि थियो। लकडाउनले त्यसमा कमी ल्याएको बराल बताउँछन्।
चराको संख्या बढाउन भौतिक संरचनाले पनि सहयोग पुर्याएको चराविद बरालको भनाइ छ। भन्छन्, 'परेवा, ढुकुर, भँगेरा जस्ता चरा मानिसका नजिक हुन्छन्। अधिकांश अफिस, स्कुल, कलेज बन्द भएको हुँदा त्यहाँका संरचनामा पनि चराले गुँड लगाएका छन्। मेरै अफिसमा पनि परेवाले गुँड बनाएर बच्चा पनि हुर्काइसकेको रहेछ।'
काठमाडौंमा अहिले केही मात्रामा आगन्तुक चरा पनि भएको उनको अनुमान छ।
'समर भिजिटर चराहरू यहाँ बच्चा कोरल्न आउँछन् पनि, यकिन भन्न चाहिँ सकिँदैन। तर हामीले देख्ने धेरैजसो भने रैथाने चरै हुन्। हामीले हेर्न चाहेका छौं, त्यसैले देखिएको हो,' उनी भन्छन्, 'तर यो मनमोहक अनुभव धेरै समय नरहला। मान्छेको गतिविधि पहिलेझैं हुने, सवारीसाधनको घाइँघुइँ चर्किने र बासस्थानमा खलल पुर्याउनेवित्तिकै चराहरूको सक्रियता कम हुन्छ।'
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी