त्यो खबर सुनेर पूरै नेपाल केही बेर अत्तालियो र दु:खी बन्यो। घटनास्थलको तस्बिर हेर्ने मानिस स्तब्ध भए, विचलित बने।
कोभिड-१९ को विश्वव्याधिबाट ज्यान जोगाउन ३० जनाभन्दा बढी नेपाली युवा उत्तर भारतका विभिन्न सहरबाट चर्को गर्मी, भोकप्यास र अनेकन हन्डर खाएर नेपाल भित्रिएका थिए। उनीहरू गएको आइतबार राति बा५ख ५९९५ नम्बरको गाडीमा नेपालगन्जबाट सल्यान जाँदै थिए।
त्यसै रात बाँके, राप्तीसोनारीको ठुरिया जंगलमा ट्रकसँग जुधेर उनीहरूको गाडी दुर्घटना भयो। बाह्र जनाले ज्यान गुमाए, २१ जना घाइते भए।
नेपाल भित्रिएलगत्तै 'ठगिएका' र त्यसपछि हृदयविदारक दुर्घटनामा 'मारिएका' वा गम्भीर घाइते बनाइएका ती ३० होनहार नेपाली युवाको दारुण कथालाई यतिबेलासम्म सम्भवत: पीडित पक्षबाहेक पूरै नेपालले बिर्सिइसकेको छ।
नेपालमा यो वा यस्तो खाले खबर नौलो होइन। न यो पहिलो हो, न अन्तिम हुनेवाला छ। बाँकेको यही घटनापछि पनि नेपालमा थप सडक दुर्घटना भइरहेकै छन्।
नेपालमा सडक सुरक्षित बनाउन र दुर्घटना रोक्न पर्याप्त काम हुन सकेको छैन। अढाई महिनादेखि जारी लकडाउन कोभिड-१९ फैलिन नदिन लगाइएको हो। यस्तो बेला सडक सुरक्षा व्यवस्था झनै कमजोर छ। दैनिकजसो सडकमा मानिसको अकाल मृत्यु भइरहेको छ। टार्न वा रोक्न सकिने दुर्घटनामा परेर मानिसहरू घाइते वा अंगभंग हुने अवस्थामा पुगेका छन्।
कोभिड-१९ कारण नेपालमा अहिलेसम्म १३ जनाको ज्यान गएको छ। तर, लकडाउन सुरू भएयताका सडक दुर्घटनामा मात्र दैनिक सरदर दुई जनाको ज्यान गइरहेको र कैयन घाइते भइरहेको ट्राफिक प्रहरीको भनाइ छ।
केही दिनअघि जेठ ११ गते टोखाको चिल्लो नयाँ सडकमा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुवै चालकको मृत्यु हुन पुग्यो। मोटरसाइकल पछाडि सवार एक जना गम्भीर घाइते भए।
जेठ १३ गते भक्तपुरमा चौडा सडकबीच उभिएका एक प्रहरी अधिकारी नै तीव्र गतिमा कुदाइएका सवारीको ठक्करले गम्भीर घाइते हुन पुगे। उपचार क्रममा उनको मृत्यु भए।
यही स्टोरी लेख्दालेख्दै मकवानपुरमा ठूलो गाडीको ठक्करबाट एक स्कुटरचालक युवाको ज्यान गएको खबर प्राप्त भयो।
बाँके दुर्घटनाका पाँच कारक
सञ्चार माध्यममा आएका विवरण र स्थानीय अधिकारीहरूको भनाइ पत्याउने हो भने बाँके दुर्घटनाका पछाडि पाँच कारण छन्:
पहिलो, मध्यरात हुनै लाग्दा लकडाउनको घनघोर अवज्ञा हुनु र भर्खरै नेपाल भित्रिएका युवा सोझै गाउँ फर्किने वातावरण बन्नु,
दोस्रो, चार गुणाभन्दा बढी भाडा लिएर क्षमताभन्दा दोब्बर बढी यात्रु बोक्नु,
तेस्रो, चालकद्वारा मादक पदार्थ सेवन गर्नु,
चौथो, अत्यन्त तीव्र गतिमा पूर्व-पश्चिम राजमार्गको कोहलपुर-दाङ खण्डमा सवारी चलाउनु,
र पाँचौं, यति धेरै नियम कानुनको ठाडो उल्लंघन हुँदा पनि प्रहरी, प्रशासन, स्थानीय तह र बाँके राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीसमेत पूरै बेखबर हुनु, कसैले पनि लकडाउन तथा सडक नियम उल्लंघन भएको चालै नपाउनु।
त्यो भयानक दुर्घटनामा परेर भाग्यले बाँचेका घाइतेहरूका अनुसार, मदिराले लठ्ठ चालकले बाँके निकुञ्ज क्षेत्रको राजमार्गमा यति तीव्र गतिमा गाडी कुदाएका थिए, सडकमा रोकिइराखेको मालवाहक ट्रकभित्र सिधै जोतिन पुग्यो। ट्रक करिब ४५ मिटर परसम्म धकेलिएको थियो।
(दुर्घटना भएको ठाउँको नक्साका लागि यहाँ क्लिक गर्नुहोस्)
यति धेरै नियम अवज्ञाबीच हुने यातायात दुर्घटनालाई विकसित देशमा भइदिएको भए 'म्यानस्लटर' मुद्दा लगाउँदै गम्भीर हत्या अपराध ठानिन्छ। चालक र सरोकारवाला सबै पक्षलाई कानुनअनुसार दण्ड दिइन्छ।
दुर्भाग्य, बाँके दुर्घटनामा परेका ती चालकले पनि दुर्घटनामा ज्यान गुमाए। त्यो दुर्घटनामा सानो विमान वा हेलिकप्टर जोडिएको भए पनि विज्ञ सामेल जाँचबुझ र छानबिन आयोग गठन भइसक्थ्यो। बाँकेमा भने प्रशासनले 'कमजोरी भएको' स्वीकार गर्नुबाहेक अरू केही गरेको छैन।
भातभुंग सपनाहरू
कोभिड-१९ बाट बच्न भारतको सिम्ला, चण्डिगढजस्ता सहरबाट नेपाल घर फर्किएका युवाहरू आफूले कमाएको सबै रकम सवारी भाडामा 'लुटाएर' अकाल मृत्युको मुखमा पुगेका छन्।
'बिरामी बुबा हेरचाह गर्ने' र 'टिनको घर भत्काएर नयाँ बनाउने' जस्ता कैयन सपना निमेषभरमै भताभुंग भएका छन्।
उनीहरूलाई पर्खिएर बसेका परिवारजन तथा साथीभाइ सबै शोकमा डुब्न बाध्य भएका छन्।
ट्राफिक प्रहरीका अनुसार, नेपालमा लगभग ७० दिनअघि लकडाउन सुरू गरिएपछि पनि सवारी दुर्घटनामा कुनै कमी आएको छैन। देशैभर लगभग सबै सडक खाली हुँदा ट्रक, टिपर, एम्बुलेन्स, माइक्रोबस, कार, मोटरसाइकल सबैले गतिसीमा उल्लंघन गर्ने क्रम बढेको छ।
फलस्वरूप, लकडाउनको सन्नाटामा प्राय: सुनसान रहने सडकमा हुने दुर्घटनामा दैनिक सरदर दुई जनाको ज्यान गइरहेको नेपाल प्रहरीको भनाइ छ।
ब्रिटेनको युनिभर्सिटी अफ वेस्ट इङ्ल्यान्डमा चोटपटकसम्बन्धी अनुसन्धान गरिरहेका नेपाली शोधकर्ता पुष्पराज पन्तको अनुमानमा नेपालमा लकडाउन अवधिमा जेठ मसान्तसम्म सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २०० पुग्ने संकेत देखिएका छन्।
बाँके दुर्घटनापछि उनले फेसबुकमा लेखेका छन्, 'अहिलेको यस कोरोना भाइरस, व्यक्तिगत दुरी, संक्रमण रोकथाम, लकडाउनको समय एउटा भ्यानमा ३५ जना चढाउन कुन प्रशासनले किन अनुमति दियो? अविलम्ब छानबिन गरी अनुमति दिने जोसुकैलाई राजा महेन्द्रको पालाको संक्रामक रोग ऐन २०२० अनुसार गणतन्त्रमा कारबाही होस्। मानिसको ज्यान जोखिममा कसैले पार्न पाइँदैन।'
लकडाउनअघि झनै धेरै क्षति
लकडाउन नभएको सामान्य अवस्थामा नेपालमा सडक दुर्घटनामा दैनिक सात जनाको ज्यान जाने गरेको थियो। यहाँ सडक दुर्घटना र त्यसबाट हुने क्षति यति सामान्य छ, त्यसलाई केही सरकारी निकाय र केही सचेत नागरिकबाहेक कसैले गम्भीरतापूर्वक लिएकै देखिँदैन।
कमजोर सडक सुरक्षा, अज्ञानता र भएका नियम-कानुनको कार्यान्वयन फितलो हुने क्रम जारी रहेकाले दुर्घटनामा ज्यान गुमाउनेको संख्या वर्षैपिच्छे बढिरहेको छ।
गत वर्ष नेपालमा सडक दुर्घटनामा करिब २,८०० जनाको ज्यान गयो। हजारौं घाइते भए भने सयौं अंगभंगको अवस्थामा पुगे। त्योभन्दा अघिल्लो वर्ष सडकमा मृत्युवरण गर्ने नेपालीको संख्या केही सयले कम थियो।
नाजुक सडक सुरक्षा
देशमा गतिला र सुरक्षित सडकहरू निकै कम छन्। पाँचतारे सडक छँदै छैनन्, भएका मुस्किलले एकतारे अर्थात् जेनतेन गुड्न मिल्ने बाटा मात्र छन्। तर देशमा बढ्दो मोटरगाडीको संख्यासँगै सडक दुर्घटना लगातार बढिरहेका छन्।
सडक र सवारी मानव विकासका लागि द्योतक हुनुपर्नेमा अहिले त्यसको ठीक विपरीत भइरहेको छ। नेपालमा मात्र नभई पूरै विश्वमा र खासगरी न्यून आय भएका देशमा तुलनात्मक रूपले धेरै मानिसले सडकमा ज्यान गुमाउने गरेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हुने सडक दुर्घटनामा दैनिक ३,५०० मानिसको ज्यान जाने गरेको छ। त्यो संख्या कुनै विश्वव्याधिले गर्ने क्षतिभन्दा निकै बढी हो।
कलिला केटाकेटी र परिवारलाई रोजीरोटी कमाउने युवायुवती सडक दुर्घटनाको उच्चतम जोखिममा रहने गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार ५ देखि २९ वर्ष उमेर समूहमा मानिसको मृत्युको पहिलो कारण सडक दुर्घटना हो।
सडक दुर्घटना सबै उमेरका मानिसको मृत्युको आठौं मुख्य कारण पनि हो।
सडक दुर्घटनाले पीडित परिवारमा त क्षति पुग्ने नै भयो, त्यसले आफन्त र समाजमा समेत आर्थिक भार थोपर्ने गर्छ। फलस्वरूप सडक दुर्घटनाले देशको कुल गार्हस्थ्य उत्पादनमा नै असर पुर्याउने गरेको छ।
नेपालमा के गर्न सकिएला?
लकडाउन सुरू भएपछि राजधानी र अन्य सहरमा सडक मर्मतसम्भार र निर्माणका कामले तीव्रता पाइरहेका छन्। कैयन् स्थानमा सडक थप चिल्ला बनाइएका छन् र तिनमा सुरक्षाका लागि आवश्यक रेखांकनका कामसमेत भइरहेका देखिएका छन्।
ठाउँ ठाउँमा जेब्रा क्रसिङ पनि कोरिएका छन्। तर ती पर्याप्त नहुन सक्छन्।
चिल्ला सडकमा गति सीमा उल्लंघन नहुने र नियमको अनिवार्य पालना सुनिश्चित गरिनुपर्छ। आउने दिनमा नियम पालना गराएर सडक यातायात थप सुरक्षित बनाउने हो भने नेपालले अहिलेको कोभिड-१९ को भन्दा ठूलो क्षति (गत वर्ष २,८०० को अकाल मृत्यु र हजारौं घाइते भएको अवस्था) बेहोरिइरहने नियतिको अन्त्य सम्भव हुनेछ।
केही नगरी बस्ने हो भने बाँकेको जस्तो दु:खान्त दोहोरिइरहने निश्चित छ। उदाहरणका लागि, नेपालमा सडकमा हुने अकाल मृत्यु घटाउने क्रमको थालनी गर्ने हो भने हामीले आजैदेखि यी काम थालिहाल्न सक्छौं:
• विद्यालय र आवास क्षेत्रमा २० किमी प्रतिघन्टाको गति सीमा पालना
• सबै विद्यालय क्षेत्रमा जेब्राक्रसिङ र सडक बत्ती
• पैदलयात्रु अनिवार्य रूपमा सडकपेटी वा जेब्राक्रसिङमा मात्र
• साइकल तथा मोटरसाइकल चालक एवं यात्रुलाई अनिवार्य हेल्मेट
• क्षमताभन्दा बढी यात्रु पूर्ण प्रतिबन्ध, अनिवार्य सिटबेल्ट
• पहाडी घुमाउरा सडकमा अनिवार्य गार्डरेल जडान र सुरक्षा संकेत
• मादक पदार्थ सेवन तथा लागूपदार्थ सेवन निषेध
• रातको समय मोटर/साइकल चालक तथा यात्रु सबैलाई टल्किने र देखिने पहिरन, आदि।
यस्ता काम गर्न हामीले सरकारको मुख ताक्नै पर्दैन। हामी यति पनि गर्न सक्दैनौं भने गएको आइतबार मध्यराति बाँके निकुञ्ज नजिकैको 'राजमार्ग' मा वा हालै टोखामा भएकोजस्तो खबर सुनिइरहन बाध्य भइरहने छौं।
त्यस्तो नयाँ खबर फेरि पनि अन्तिम हुने छैन।
(लामो समय बीबीसी संवाददाता एवं प्रस्तोता रहेका लेखक हाल एक स्वतन्त्र पत्रकार हुन्।)
सबै तस्बिर: सुरेन्द्र फुयाल