कोरोना लकडाउन नभइदिएको भए हिजो र आज म के गरिरहेको हुन्थेँ थाहा छैन, तर मेरा छिमेकी विष्णुलाल श्रेष्ठका बारेमा भन्न सक्छु।
जैसीदेवल चोकको पूर्वोत्तर कुनामा पुरानो दुईतले घर छ, जसलाई स्थानीयहरू कुमारको ‘द्योछेँ’ अर्थात् देउताको घर भन्छन्।
यो विष्णुलालको पुर्ख्यौली घर हो। लकडाउन नभइदिएको भए उनी हिजो बिहीबार ‘सिथि नखः’ अर्थात् षष्ठीको दिन कुमार जात्रा मनाउन पुर्ख्यौली घर गएका हुन्थे। उनी त्यहाँ साँघुरो भएर केही वर्षअघि मात्र बाफल सरेका हुन्।
सिथि नखःको दिन बिहानै उनलाई कौसीमा देखेपछि मैले अचम्म मान्दै सोधेको थिएँ, ‘आज पनि यतै, उता घर जानुपर्दैन?’
‘कसरी जानु यो लकडाउनमा!’ उनले भने।
‘अनि जात्रा?’
‘यसपालि जात्रा गरिएन, कुमारको नित्यपूजा मात्र हुन्छ,’ उनले भने, ‘पूजा गर्ने पालो चाहिँ भाइहरूको परेको छ। उनीहरू त्यही घरमा बस्छन्, त्यसैले हामी जानु परेन।’
हिन्दु धर्ममा कुमारलाई भगवान शिव र पार्वतीका ‘वीर पुत्र’ मानिन्छ। ईशापूर्व तेस्रो शताब्दीमा लेखिएको हिन्दु ग्रन्थमा कुमार वा कार्त्तिक्यलाई ‘युद्धको देउता’ का रूपमा वर्णन गरिएको इतिहास तथा संस्कृति अध्येता गौतमवज्र बज्राचार्यले आफ्नो किताब ‘रेन्स एन्ड रिचुअल्स’ (वर्षा र परम्परा) मा लेखेका छन्।
कुमारको सहयोगविना देउताहरूलाई असुरसँगको लडाइँ जित्न असम्भव हुन्थ्यो, बज्राचार्य लेख्छन्, ‘त्यसैले भारतका धेरैजसो मूर्ति र चित्रहरूमा कुमारलाई फराकिलो छाती भएको र हतियार बोकेको युवा योद्धाका रूपमा चित्रण गरिन्छ।’
तर, कुमारको यस्तै मूर्ति वा चित्र तपाईं काठमाडौंमा भेट्नुहुन्न।
काठमाडौं उपत्यकामा उनलाई वीर योद्धा होइन, कलिलो बालकका रूपमा पूजा गरिन्छ। उनी पखेटा फिँजाइरहेको मुजुरको पिठ्यूँमा चढेका हुन्छन्। हातमा रातो झन्डा र हतियारको बिँड हुन्छ। जैसीदेवलको द्योछेँमा रहेको मूर्तिको स्वरूप पनि यस्तै छ।
गौतमवज्र लेख्छन्, ‘नेपालमा कुमारलाई सार्वजनिक मन्दिरमा प्रतिस्थापन गर्ने चलन छैन। उनलाई यहाँका हिन्दु र बौद्ध धर्मावलम्बीहरूले घरको पवित्र स्थानमा राखेर पूजा गर्छन्।’
यसरी घरमा पूजा गर्न बनाइने कुमारको मूर्ति अत्यन्तै सानो आकारको हुन्छ। कतिपयले घरको पर्खालमा प्वाल बनाएर मूर्ति राखेका हुन्छन्। त्यस्तो प्वाललाई ‘ग्वाखं प्वाः’ भनिन्छ।
काठमाडौंका नेवारहरू कुमारका नाममा हरेक साँझ सुत्नुअघि दियो बाल्थे। यसले केटाकेटी स्वस्थ रहन्छन् भन्ने मान्यता थियो।
यति मात्र होइन, मूलढोकाबाहिर कुमारको बास हुन्छ भन्ने जनविश्वास छ। त्यही भएर धेरै नेवार घरमा मूलढोकाबाहिर पूजा गरेको देखिन्छ। जसरी कुनै शुभकार्य गर्दा गणेशको पूजा नगरी हुन्न, त्यसैगरी कुमारको दर्शन नगरी गृहप्रवेश नहुने मान्यता छ। यी दुवै शिव–पार्वतीका छोरा हुन्।
अब प्रश्न उठ्छ, भारत र नेपालमा पूजा गरिने धेरैजसो हिन्दु देवीदेवता समान भए पनि कुमारमा यति ठूलो भिन्नता किन?
जुन कुमारलाई भारतमा 'वीर योद्धा' मानिन्छ, उनै कुमार यहाँ 'बालदेउता' किन?
यसको जवाफ गौतमवज्रले त्यही किताबमा वर्णन गरेका छन्।
‘यहाँका बौद्ध र हिन्दु धर्मावलम्बीहरूका निम्ति कुमार लडाइँका देउता होइनन्। उनी भर्खरै जन्मिएका बालक हुन्, जसलाई पानीको थोपा र बीउको प्रतिरूप मानिन्छ,’ उनी लेख्छन्, ‘काठमाडौंमा कुमार जन्मोत्सव ठ्याक्कै त्यति बेला मनाइन्छ, जब धान खेती गर्ने बेला हुन्छ र किसानहरू प्रि–मनसुनको प्रतीक्षामा हुन्छन्।’
यसको मतलब, काठमाडौं उपत्यकाका नेवारहरू कुमार जन्मोत्सव मनाएपछि धान रोपाइँको तयारीमा लाग्छन्। यो जन्मोत्सव ज्येष्ठ शुक्ल षष्ठीको दिन पर्छ, जसलाई हामी 'सिथि नखः' वा 'कुमार षष्ठी' भन्छौं।
नेवार समुदायमा बच्चा जन्मेको छैठौं दिन मात्र जन्मोत्सव मनाउने चलन छ। छ दिनपछि बच्चा र आमा दुवै खतरामुक्त मानिने हुँदा यस्तो चलन बसेको बज्राचार्य बताउँछन्। सिथि नखः पनि कुमार जन्मेको छैठौं दिन हो।
कुमारको जन्मलाई खेतीको याम सुरू भएको अवसर मानेर उत्सव मनाउने चलन नेवार समुदायमा मात्र छ। कुनै पनि प्राचीन संस्कृत ग्रन्थमा कुमारलाई यस किसिमले वर्णन नगरिएको बज्राचार्यले लेखेका छन्। ईशापूर्व १५००-६०० मा लेखिएका प्रारम्भिक वैदिक ग्रन्थमा भने उनलाई वर्षाको प्रतिनिधित्व गर्ने बालकका रूपमा नै वर्णन गरिएको उनको भनाइ छ।
यसबाट के बुझिन्छ भने, प्रारम्भिक वैदिक कालका यी 'वर्षा-बालक' ईशापूर्व तेस्रो शताब्दीसम्म आइपुग्दा भारतमा युद्धका देउताका रूपमा पुजिन थालेका थिए। जबकि, काठमाडौं सभ्यतामा भने उनलाई कहिल्यै त्यो रूपमा पुजिएन।
यहाँ आजसम्म कुमारलाई वर्षाकै प्रतिनिधि मानिँदै आएको छ। मनसुनअघि मनाइने सिथि नख: वा षष्ठी त्यसैको उत्सव हो।
यस्ता ‘बालदेउता’ कुमारको मूर्ति जैसीदेवल चोकको त्यो घरमा कसरी आइपुग्यो भन्नेबारे एउटा किम्बदन्ती छ।
धेरै धेरै वर्षअघिको कुरा हो। जैसीदेवल चौबाटोमा एउटा सानो बच्चो एक्लै रोइरहेको फेला परेछ। ऊ कहीँबाट बाटो भुलेर त्यहाँ आइपुगेको थियो। धेरै बेरसम्म आफन्त लिन नआएपछि एक स्थानीयले माया लागेर बच्चालाई आफ्नो घर लगे। दोस्रो तल्लाको कोठामा राखेर मिठो–मिठो खुवाए। त्यही बेला बच्चा ‘सिद्ध’ भएर कुमार देउताका रूपमा अवतरित भयो।
‘जसले रोइरहेको बच्चा टिपेर ल्यायो, त्यो हाम्रै कुनै पुर्खा थियो,’ विष्णुलालले विश्वासका साथ भने, त्यो बच्चाको घर बलम्बू रहेछ। लुभुको थसीस्थित सिद्धपुरका नेमकूलहरूले बलम्बूबाट बच्चा चोरेर लैजाँदै गर्दा बीच बाटोमै उम्केर भागेछ। हराएको बच्चा खोज्दै आएका बलम्बूबासी कुमार देउताको दर्शन पाएर हर्षित भएछन्।
त्यसउप्रान्त कुमार देउतालाई यही घरमा स्थापित गरेर हरेक वर्ष खटजात्रा मनाउने परम्पराको सुरूआत भयो।
जैसीदेवलको यो घर, जहाँ दोस्रो तल्लाको अँध्यारो कोठामा कुमारको काष्ठमूर्ति पूर्व फर्काएर राखिएको छ, त्यो ‘सिथि द्यो’ को देवलका रूपमा पनि प्रसिद्ध छ।
कुमारलाई ‘सिथि द्यो’ मान्ने चलनले यसको लिच्छविकालीन सम्बन्ध झल्काउँछ।
नेवारहरू जसलाई ‘सिथि द्यो’ भन्छन्, त्यो लिच्छविहरूले आफूसँगै भारतबाट ल्याएका षष्ठीदेवीको अपभ्रंश हो। कुमारलाई षष्ठीदेवीको मन्दिरमा राखेर पूजा गर्नुको ऐतिहासिक कारण गौतमवज्रले आफ्नो अर्को किताब ‘हनुमानढोका राजदरबार’ मा लेखेका छन्।
‘प्राचीन कालमा दरबारको एउटै मन्दिरभित्र षष्ठीदेवी र कुमारको मूर्ति सँगसँगै राख्ने चलन थियो। सातौं शताब्दीमा उत्तरभारतका प्रसिद्ध सम्राट हर्षवर्द्धनले छोरा जन्मेको खुसियालीमा षष्ठीदेवी र कुमारको मूर्ति दरबारको मन्दिरभित्र स्थापना गरेका थिए भन्ने वर्णन तत्कालीन राजकवि बाणको ‘कादम्बरी’ काव्यमा छ,’ गौतमवज्र लेख्छन्।
उक्त वर्णनअनुसार षष्ठीदेवीले हलेदोले रंगाएको पिताम्बर पहिरिएकी थिइन्। कुमार मुजुरको पिठ्यूँमा सवार थिए। उनको हातमा रातो झन्डा र हतियारको बिँड थियो।
‘हर्षवर्द्धनका समकालीन नेपाली राजा अंशुवर्माले राजदरबारमा रहेका देवीदेवताका लागि पूजाभाग छुट्टयाउँदा षष्ठी देवकूल (षष्ठी मन्दिर) लाई पनि छुट्टयाएको हाँडीगाउँको एउटा शिलालेखमा उल्लेख छ,’ गौतमवज्र जैसीदेवलको यो मन्दिरलाई तत्कालीन लिच्छवि दरबार ‘दक्षिण राजकूल’ भित्र स्थापना गरिएको षष्ठी देवकूल नै मान्छन्।
उनका अनुसार यहाँ प्राचीन परम्पराअनुसार षष्ठीदेवी र कुमारको मूर्ति सँगसँगै स्थापना गरिएको हुनुपर्छ। ‘कुनै कारणवश षष्ठीदेवीको मूर्ति लुप्त भयो र कुमारको मात्र बाँकी रह्यो, तर यो मन्दिरलाई षष्ठीदेवी अर्थात् सिथि द्योः छेँ मान्ने चलन भने कायम छ।’
राजा हर्षवर्द्धनका राजकवि बाणले ‘कादम्बरी’ काव्यमा उल्लेख गरेझैं जैसीदेवलका कुमार पनि पखेटा फिँजाइरहेको मुजुरको पिठ्यूँमा विराजमान छन्। उनको शिरमा धातुको मुकुट छ। घाँटीदेखि तलसम्म सबै भाग रातो वस्त्रले छोपिएको छ। शरीरमा पूरै रातो रङ पोतिएको छ भने शिरको केश मात्र कालो छ।
‘लिच्छविकालका मूर्तिमा पाइने सरलता र स्वाभाविकता यसमा प्रस्ट देखिन्छ,’ गौतमवज्र लेख्छन्, ‘कुमारलाई देउताको रूपमा भन्दा बालकको स्वाभाविक रूपमा चित्रण गरिएको छ। यो मूर्तिको शिरमा पहिले मुकुट पनि थिएन। अहिले देखिने धातुको मुकुट कुनै राणा प्रधानमन्त्रीकी रानीले चढाएकी हुन्।’
अब हामी कुमार खटजात्रा मनाउने विधिको कुरा गरौं।
ज्येष्ठ शुक्ल तृतीयाको दिन कुमारको महास्नान हुन्छ। लुभूको थसीस्थित सिद्धपुरबाट नेमकूल थरका नेवारहरू सबेरै यहाँ आउँछन् र टेकु दोभानबाट दुई कलश पानी ल्याएर महास्नान गराउँछन्।
चौथीको दिन कुमारको मूर्ति रंगरोगन गर्ने पनि उनै नेमकूल नेवारहरू हुन्। पञ्चमीमा मूर्ति यत्तिकै सुकाइन्छ। षष्ठी, अर्थात् सिथि नखःको दिन मूर्तिलाई गहना र वस्त्रले सुसज्जित पारेर मन्दिरसँगैको पाटीमा पश्चिम फर्काएर राखिन्छ। भोलिपल्ट सप्तमीको दिन कुमार खटजात्रा हुन्छ।
रितपूर्वक गर्ने हो भने मन्दिरसँगैको पाटीमा मध्याह्नसम्म कुमारको पूजाआजा गरेर खटजात्रा सुरू हुन्थ्यो। स्थानीय ज्यापूहरूले खट बोकेर सहर घुमाउँथे। एक जना पुजारी खटभित्रै बस्थे। यही चलन यो जात्राको विशेषता हो। बोकेर लगिने अरू कुनै पनि खटमा मान्छे बसेको हुँदैन।
खटलाई सबभन्दा पहिला अट्कोनारायण लगिन्थ्यो। त्यहाँ बलम्बू गाउँका स्थानीय बाजा बजाउँदै आउँथे। बलम्बूका थकालीले पूजा गरेपछि फेरि खटजात्रा सुरू हुन्थ्यो।
यो जात्रा जैसीदेवलबाट लगन, ब्रह्मटोल, ह्यूमत, कोहिति, भीमसेनस्थान, मरू, देशेमरूझ्याः, टेंगल, बांगेमुढा, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक हुँदै हनुमानढोका पुग्थ्यो। त्यहाँ केही बेर रोकेर तलेजुका पुजारीले कुमारको पूजा गर्ने चलन थियो। त्यसपछि खट बोकेर फेरि अट्कोनारायणकै बाटो जैसीदेवलको यही द्योछेँमा ल्याएपछि जात्रा सकिन्थ्यो।
यसरी रितपूर्वक खटजात्रा नभएको ३०–४० वर्ष भइसकेको छ। विष्णुलालका अनुसार पहिलेजस्तो खट बोक्ने मान्छे फेला पर्न छाडेपछि जात्रा लोप भयो। अचेल सप्तमीको दिन कुमारको खटलाई द्योछेँको आँगनमै राखिन्छ। भक्तजनको घुइँचोले दिनभरि आँगन गुल्जार रहन्छ।
लकडाउन नभइदिएको भए जैसीदेवलमा कुमार द्योछेँको आँगन गुल्जार हुने दिन आजै हो। यसपालि भने सुनसान छ। त्यही द्योछेँमा पुर्ख्यौली घर भएका मेरा छिमेकी विष्णुलाल त जाँदा पनि गएनन्।
म लकडाउनमा कुमारको परम्परागत पूजा कसरी सम्पन्न भयो भनेर लेख्न चाहन्थेँ। उनले मलाई आफ्नो भाइ खलकका कृष्णसिद्धि लाल श्रेष्ठको फोन नम्बर टिपाए।
कृष्णसिद्धि ५८ वर्षका भए। उनी अहिले पनि जैसीदेवलको त्यही घरमा बस्छन्। लकडाउनले काठमाडौं उपत्यकाका अरू जात्रापर्वजस्तै कुमार जात्रा पनि नित्यपूजामै सीमित भएको उनले बताए।
उनका अनुसार, यही जेठ १२ गते तृतीयाको दिन बिहानै लुभूको थसीबाट दुई जना नेमकूल जैसीदेवल आए। त्यसपछि टेकु दोभानबाट दुई कलश पानी ल्याएर कुमारको महास्नान गरियो। मूर्ति रंगरोगन र सुकाउने काम पनि त्यसै दिन सम्पन्न भयो। यी सबै विधि कुमारको मूर्ति राखिने कोठाभित्रै गरिएको थियो।
षष्ठी वा सिथि नखःको दिन मूर्तिलाई गहना–वस्त्रले सजाएर पाटीमा राख्नुपर्नेमा यो विधि पनि कोठाभित्रै गरिएको कृष्णसिद्धिले जानकारी दिए।
‘नियमअनुसार आज सप्तमीको दिन मूर्तिलाई दिनभरि आँगनमा राख्नुपर्ने थियो,’ उनले भने, ‘हामीले कोठाभित्रै पूजा गरेर जात्रा सम्पन्न गर्यौं।’
पछिल्लो समय कुमार खटजात्राबारे थाहा कम हुँदै गएका बेला सबैले थाहा पाएको कुमारी रथयात्रासँग यसको रोचक सम्बन्ध गौतमवज्रले वर्णन गरेका छन्, जसले यसको लिच्छविकालीन सम्बन्ध पुष्टि गर्छ।
जति बेला कुमारको खट बोकेर सहर घुमाइन्थ्यो, यो जात्राको बाटो कुमारी रथयात्रासँग मिल्दोजुल्दो थियो। कुमारी रथयात्रामा दुई दिन लगाइने बाटो यहाँ एकैदिनमा पूरा गरिन्थ्यो। एउटै बाटोबाट चल्ने दुई जात्रामध्ये एउटा अहिलेसम्म लोकप्रिय, अर्को किन लोपोन्मुख?
प्राचीन कालमा पुरुषका रूपमा पुजिएका थुप्रै देउता पछि स्त्रीका रूपमा प्रसिद्ध भएका छन्। लिच्छविकालका मानेश्वरलाई मल्लकालमा मानेश्वरीका रूपमा पुजियो। कुमारको स्त्रीरूपलाई पनि कुमारी मानेर पुज्ने चलन चलेको हो, गौतमवज्र लेख्छन्, ‘ब्रह्माणीको मूर्ति बनाउँदा ब्रह्माको जस्तै, माहेश्वरीको मूर्ति बनाउँदा शिवको जस्तै र कुमारीको मूर्ति बनाउँदा कुमारको जस्तै बनाउनू भनी लेखिएको छ। यसले मानेश्वरको स्त्रीरूप मानेश्वरी भएजस्तै कुमारको स्त्रीरूप कुमारी हुन् भन्ने ज्ञान हुन्छ।’
‘बालिकालाई कुमारीका रूपमा पूजा गर्ने चलन मल्लकालबाट चलेको हो। जयप्रकाश मल्लले कुमारी जात्राको चलन चलाउँदा कुमार जात्राकै अनुकरण गरी बाटो निर्धारण गरेको देखिन्छ,’ उनको निष्कर्ष छ।
अर्को कारण पनि छ, जसले कुमार खटजात्राको इतिहासलाई लिच्छविकालसँग जोड्छ।
यो जात्रासँग थानकोटको बलम्बू र थसीको सिद्धपुर प्रत्यक्ष जोडिएका छन्। यो सम्बन्ध किम्बदन्तीमा मात्र होइन, जात्रा मनाउने रितमा पनि ज्यूँदै छ।
सिद्धपुरका नेमकूलहरूले कुमारको महास्नान र मूर्ति रङरोगन नगरेसम्म जात्रा आरम्भ हुँदैन। बलम्बूका गाउँलेहरू पूजा गर्न नआएसम्म जात्रा पूर्ण हुँदैन। यी दुवै लिच्छविकालमै प्रसिद्ध गाउँ हुन्। बलम्बूमा मात्र लिच्छविकालका छवटा अभिलेख प्राप्त भएका छन्।
मल्लकालमा यी दुवै गाउँ पाटन राज्यअन्तर्गत पर्थे। दाजुभाइमा भागबन्डा गरिएका उपत्यकाका तीन नगरराज्य काठमाडौं, पाटन र भक्तपुरबीच संयुक्त जात्रापर्व चल्नु र एउटा राज्यका गाउँबाट अर्को राज्यमा जात्रा मनाउन आवतजावत हुनु असम्भवजस्तै थियो। यसले मल्लकाल सुरू हुनुअघि नै यो जात्रा चलेको बुझिन्छ, गौतमवज्रको भनाइ छ, ‘कुमार खटजात्राको प्राचीनता साबित हुन्छ।’
षष्ठी वा सिथि नखः को अर्को महत्व पनि छ।
सिथि नखः भनेको काठमाडौंमा मनाइने वार्षिक जात्रापर्वको अन्तिम दिन हो। पानीको थोपा वा बीउको प्रतिरूप मानिने कुमारको पूजा र जात्रापछि काठमाडौंका किसान खेतीपातीमा व्यस्त हुन्छन्। उनीहरूको पूरा समय खेतमै बित्छ। अब अर्को वर्षको जात्रापर्व सुरू हुने धान रोपाइँ सकिएपछि हो। यो ठ्याक्कै सिथि नखःको सात सातापछि आउँछ, जसलाई ‘गठांमुग’ भनिन्छ।
काठमाडौंका धार्मिक तथा सांस्कृतिक जात्रापर्वको चक्र गठांमुगबाट सुरू भएर दस महिना जारी रहन्छ। तत्कालीन कृषिप्रधान समाजले मनसुन याम र खेतीपातीलाई ध्यानमा राखेर यो दस महिने सांस्कृतिक क्यालेन्डर बनाएको सम्पदा तथा संस्कृति संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन्।
सिथि नखःको दिन इनार, कुवा, धारा लगायत पानीका स्रोतहरू सफाइ गर्ने चलन पनि छ। मनसुनअघि मुहान सफा गरेर पानीको आपूर्ति प्रणाली व्यवस्थित गर्नु यसको उद्देश्य हो, तुलाधर भन्छन्, ‘वर्षा सुरू भइसकेपछि भूमिगत पानीको सतह बढ्ने हुँदा सरसफाइ गर्न गाह्रो हुन्छ। त्यसैले मनसुन सुरू हुनु ठ्याक्कै अगाडि मनाइने सिथि नखःलाई उपयुक्त दिन मानिन्छ।’
यसै दिन स्थानीय नेवारहरूले घरको कौसीमा रंगीचंगी कागजको फिरफिरे बनाएर राख्ने चलन छ। अचेल केटाकेटीका लागि मनोरञ्जनको साधन मात्र बने पनि विगतमा ती फिरफिरेलाई मनसुन पूर्वानुमान गर्ने माध्यम मानिन्थ्यो।
यसबारे वर्णन गर्दै गौतमवज्रले ‘रेन्स एन्ड रिचुअल्स’ मा लेखेका छन्, ‘कौसीमा राखिने फिरफिरेको घुमाइबाट हावाको बहाव थाहा हुन्छ। पहिले यही फिरफिरे कसरी हल्लिन्छ भन्ने हेरेर मनसुन कहिले सुरू हुन्छ भनी आकलन गरिन्थ्यो।’
आलोकले सिथि नखःसँग जोडिएको अर्को प्रसंग पनि सुनाए। यो दिन कुमार सँगसँगै धर्ती माताको पूजा गर्ने चलन पनि थियो, उनी भन्छन्, ‘धर्ती माताको पूजा भनेको प्रकृतिको पूजा हो।’
यी सबै धार्मिक तथा सांस्कृतिक विधिहरू बर्खा राम्रो होस् र उब्जनी सप्रियोस् भन्ने मनसायसँग जोडिएका छन्। हामी सिथि नखःको दिन मासको व: खान्छौं। त्यो पनि 'बालदेउता' कुमारलाई खुसी पार्न हो। मासको व: उनलाई खुब मन पर्छ रे।
तपाईंहरूले खानुभयो त?