चौडा कालोपत्रे सडकमा दुवै छेउ ढकमक्क निलो फुलेका ज्याकरन्डाका रूख। सुकिला क्याफे। नर्थ फेस र ब्ल्याक याकजस्ता कपडा र जुत्ता पसलका लस्कर।
दक्षिणपट्टि तीन देवीका मन्दिर, जसको नामबाट राखिएको त्रिदेवीमार्गदेखि दरबारमार्गसम्म दुवैतर्फ सडक पेटीमा नेपाली युवायुवतीका ताँती।
बिहान सुनसान, तर घाम रानीपोखरी-असनमाथि पुगेपछि थामी नसक्नु भीड।
मध्यरातसम्मै मनोरञ्जनका लागि भौंतारिनेहरूको हुजूम। त्यो हुजूममा थरिथरिका नेपाली, थरिथरिका भारतीय, कश्मिरी, तिब्बती, चिनियाँसहित एसियाली र केही अफ्रिकीहरू।
जेठ महिनाको पोल्ने घाममा टिसर्ट, हाफप्यान्ट र घामचश्मा लगाएर निष्फिक्री सल्बलाइरहेका साहसिक पर्यटन एवं खेलप्रेमीजस्ता लाग्ने युरोपेली, अमेरिकी तथा अस्ट्रेलियालीहरू।
त्यही त्रिदेवीमार्गबाट पश्चिमतिर ज्याठा, क्षत्रपाटी र सोह्रखुट्टे पुग्ने साँघुरा गल्ली, जहाँ ‘हर्न निषेध’ र ‘२० किलोमिटर प्रतिघन्टा गति सीमा’ को पर्वाह नगरी ‘पृथ्वीमा-अब-अर्को-दिन-फेरि आउँदैन’ भनेजसरी, अत्यन्त हतारमा, चर्को कर्कस ध्वनीसहित बतासिने मोटरसाइकल, ट्याक्सी, पानी ट्रक आदि इत्यादि।
त्यही अशान्त भीडमा शान्त रिक्सा र साइकलहरू।
सडक किनारमा पश्मिना, थांका, खुकुरीजस्ता नेपाली चिनो बेच्ने पसलेहरूको प्रतिस्पर्धा।
ठमेलको मध्यभाग प्रवेश गर्ने सवारी निषेध सडक। र, त्यही सडकमा सारंगीको मीठो धुन।
नेपालको पर्यटन तथा मनोरञ्जन केन्द्र मानिने ठमेलमा यहाँलाई स्वागत छ!
भर्खरै बयान गरिएको यो दृश्य अघिल्लो जेठको हो। त्यति बेला नेपालको हिमालय क्षेत्रदेखि पहाड र तराईसम्मै पर्यटकहरूको बाक्लो घुइँचो लागेको थियो। सगरमाथा शिखर पुग्ने ‘हिलारी स्टेप’ नजिकै आरोहीहरूको संख्या धेरै भएर केहीको ज्यान गएको खबर विश्वभरि फैलिइरहेको थियो।
सुदूरपश्चिमको आपी-नाम्पादेखि कञ्चनजंघासम्मै आरोहीहरू शिखर चढ्न वा झर्न व्यस्त थिए। सबै हिमाली पदयात्रा मार्गहरू यात्रीले खचाखच थिए। नेपालकै बाटो तिब्बतको कैलाश मानसरोवर यात्रा पनि जारी थियो।
ती सबै यात्री वा तिनका पथपदर्शक कतै न कतै ठमेलसँग जोडिएका हुन्छन्। नेपालको पर्यटन क्षेत्रमा संलग्न अनुमानित १० लाख मानिसको ठमेलसँग सीधा सम्पर्क र अन्योन्याश्रित सम्बन्ध हुन्छ।
यही ठमेलको स्वरूप अहिले बिल्कुलै फरक छ। सोमबार बिहान साइकलको एउटा पुर्जा लिन ठमेलको सातघुम्ती पुग्दा म स्तब्ध भएँ। ठमेलको सन्नाटा देखेर कता कता आत्तिएँ। थोरै तर्सिएँ पनि।
मैले थाहा पाएदेखि अहिलेसम्म लगभग ३५-४० वर्ष अवधिमा यस्तो सुनसान ठमेल मैले कहिल्यै देखेको थिइनँ। यस्तो सुनसान काठमाडौं सहर मैले कहिल्यै देखेको थिइनँ।
ठमेलको यस्तो सन्नाटा त न नारायणहिटी दरबार हत्याकाण्ड बेला थियो, न माओवादी सशस्त्र द्वन्द्वको उत्कर्षमा संकटकाल बेला। वा, २०७२ को विनाशकारी भूकम्पपछि नै।
सबै ठिकठाक भइदिएको भए यही ठमेलमा जेठ महिना विदेशी पर्यटकको थामिनसक्नु भीड लाग्थ्यो। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी योजना थियो। त्यसमा निजी क्षेत्रले पनि हातेमालो गरिसकेको थियो।
सन् २०१८ मा नेपालमा करिब १२ लाख पर्यटक भित्रिएका थिए। यस आधारमा कोरोना कहर नभएको भए ठमेल, पोखरा लेकसाइड, चितवन, अन्नपूर्ण क्षेत्र, खुम्बु लगायत स्थानका होटल, लज तथा रेस्टुरेन्ट व्यवसायी, कर्मचारी, पथप्रदर्शक, भरिया एवं चालकहरूलाई पर्यटकको सेवा गर्न भ्याइनभ्याइ हुन्थ्यो।
आकाशमा जहाजहरूको ट्राफिक जाम हुन्थ्यो।
कोशीटप्पु, पर्सा, चितवन, बर्दिया, शुक्ला, खप्तड, रारादेखि अन्नपूर्ण, मानस्लु, लाङटाङ, हेलम्बु, गौरीशंकर, सगरमाथा, मकालु, तेह्रथुम, इलाम र ताप्लेजुङसम्मै पर्यटन पूर्वाधार र अतिथिसत्कार संस्कारको बीजारोपण र संस्थागत हुने क्रम चलिरहेको हुन्थ्यो।
सगरमाथा लगायत हिमाली क्षेत्रमा यो वर्ष आरोहण र पदयात्रासँगै शेर्पा र सेना मिलेर सफाइ अभियान अघि बढिरहेको हुन्थ्यो।
तर, त्यसो हुन सकेन।
कोभिड-१९ को विश्वव्यापी महामारी फैलिने क्रमसँगै विश्वव्यापी पर्यटन उद्योगसहित नागरिक उड्डयन तथा सडक यातायात क्षेत्र नराम्ररी थचारिएका छन्। कोरोना भाइरस फैलिन नदिन मानिसहरूलाई घरभित्रै राख्नुपर्ने बाध्यताबीच यात्रा र पर्यटन उद्योगको भविष्यमै अहिले प्रश्न खडा भइरहेको छ। तीसँग जोडिएका अन्य उद्योग पनि ‘त्राहिमाम’ को अवस्थामा छन्।
नारायणहिटी संग्रहालय वरिपरि र पश्चिम ठमेलतिर त्यस्तै देखियो।
दुई महिनाअघि सुरू लकडाउन लम्बिँदै जाँदा ठमेलमा पर्यटक तथा तिनका सेवकको संख्या ह्वात्तै घटिसकेको छ। अमेरिका, युरोप, चीन लगायत देशका पर्यटकको उद्धार गरिएपछि यो ठाउँ लगभग रित्तै देखिन्छ।
दैनिक हजारौंको भीड हुने सडकमा एकाध मान्छे मात्र हिँड्छन्। त्रिदेवीमार्ग अगाडिको चोकमा उभिएका केही ट्राफिक प्रहरी रित्ता सडक कुरिरहेका हुन्छन्। फाट्टफुट्ट मोटरसाइकल गुड्छन्। बेलाबेला पानी र फोहोरका ट्रक आउँछन्।
यसैबीच पश्चिमपट्टि नरसिंह चोकमा चिनियाँजस्ता देखिने एक जोडी अघि बढ्यो। पूर्वपट्टि सानो बौद्ध विहारमा हातमा धुँवाइरहेको धुपको मुठ्ठा बोकेका एक पुरुषले ईश्वरको आराधनामा आँखा चिम्लिए।
बन्द पसल र सटरहरू पार गर्दै म ठमेलको अझै भित्र छिरेँ।
चाक्सीबारी जाने चोकको एउटा घरपेटीमा थकित र चिन्तित देखिने सडक बालबालिका तथा किशोरकिशोरी लामबद्ध बसेका थिए। केहीले नाक मुख छोप्न मास्क लगाएका थिए।
अलि बेरमा केही सहयोगीसहित एक विदेशी हातमा ठूला झोला र पोकासहित झुल्किए। उनले व्यक्तिगत दुरी कायम गर्दै पालैपालो सबैलाई खानेकुराका पोका थमाए।
घरपेटीमा थचक्क बसेका बालबालिका तथा किशोरकिशोरी मुस्कुराए।
मलाई अझै भित्र सातघुम्तीको साइकल पसल तथा वर्कसप पुग्नु थियो। अघि बढ्दै गर्दा ठमेलको सफा सडक र चिल्ला तर बन्द क्याफे र बारहरू पर्यटक तथा पाहुनाको व्यग्र प्रतीक्षामा रहेझैं लाग्यो।
प्रतीक्षा नहोस् पनि किन – आखिर ठमेलको आम्दानीको प्रमुख स्रोत नै देशीविदेशी पाहुना नै हुन्।
सन् २०१८ मा नेपाल आएका करिब १२ लाख पर्यटकसँगै २४० अर्ब रुपैयाँ भित्रिएको सरकारी तथ्यांकले देखाउँछ। प्रस्ट छ, त्यो रकमका कारण नेपाल सरकारदेखि व्यवसायी, पर्यटन क्षेत्रका कामदार र तिनका परिवार तथा आफन्तजनलाई फाइदा भयो।
सातघुम्ती पुगेपछि साइकल वर्कसपका सञ्चालक सन्तोष राईले संखुवासभाली मुस्कानसहित स्वागत गरे।
भित्र पुगेर स्यानिटाइजर छर्कँदै भने, 'अब हात नमिलाउने। नमस्कार मात्रै है।'
म पाँच मिटर परै उभिएको थिएँ।
वास्तवमा कोरोना भाइरसको युरोप यात्रा भर्खरै सुरू हुन लाग्दा करिब तीन महिनाअघिदेखि मैले मित्रहरूसँग हात मिलाउन बन्द गरिसकेको थिएँ।
सन्तोष राई ३८ वर्ष पुगे पनि १८ का देखिन्छन्। फुर्तिला र बलिया छन्। हाम्रो पहिलो भेट केही वर्षअघि बुद्ध पूर्णिमाको बेला काठमाडौंदेखि लुम्बिनीसम्मको साइकल यात्रामा भएको थियो।
वर्कसपमा उनका सहयोगी भाइ आशिष श्रेष्ठ पनि थिए। उनी यतैका रैथाने। उनले नयाँ ट्युब किन्न मलाई सहयोग गरे।
कुराकानी चल्दै गर्दा उनीहरूले मलाई जिज्ञासु आँखाले हेरे। तर, हामी नजाने के को हतारमा थियौं, उनीहरूले मलाई केही सोधेनन्। ठमेलको सन्नाटाले हामीलाई पनि छोएको थियो।
मलाई लाग्यो उनीहरू मनमनै सोध्दै छन्- अब नेपालमा पर्यटकीय गतिविधि फेरि कहिले सुरू होला? उनी र उनका सहयोगी र देशका अरू १० लाख पर्यटन कर्मचारीलाई अब फेरि कहिले भ्याइनभ्याइ होला?
आउने जुनमा या जुलाईमा?
या त शरद ऋतुको पर्यटन याम सेप्टेम्बरमा? वा, अक्टोबरमा? या, अझै पर अर्को वर्ष सन् २०२१ को वसन्त ऋतुमा?
मलाई जवाफ थाहा छैन। हामी कसैलाई थाहा छैन।
सन्तोष राईको साइकल वर्कसप पछाडि खाली ठाउँ छ, जहाँ गाडीहरू पार्क गरिन्थ्यो। दुई मिटरको व्यक्तिगत दुरी राखेर कुरा गर्दै गर्दा उनले मलाई बाहिर त्रिपालले छोपिएको अस्थायी भान्सा देखाए, जहाँ ग्यास सिलिन्डर, चुह्लो र तरकारी थियो। भित्रपट्टिको साइकल वर्कसप पनि खाद्यान्न र तरकारी भण्डारमा बदलिएछ।
मलाई लाग्यो उनीहरूले लकडाउनमा आफू बाँच्न खाद्य सञ्चय गरेर राखेका होलान्! तर, होइन रहेछ।
सन्तोषले भनिहाले, 'हामीले ४२ दिनदेखि ठमेल क्षेत्रका करिब २०० असहाय तथा दीनदु:खीलाई साँझको खाना खुवाइरहेका छौं। त्यसकै लागि यो भान्सा बनाएका हौं। हामी यसमै व्यस्त रहन्छौं।'
राईलाई उनकी श्रीमती अनिता, बहिनी सरस्वती, विश्व साइकल यात्री पुष्कर शाह लगायत साथीहरूले सहयोग गरेका छन्। लकडाउन सुरू भएपछि उनीहरू मिलेर ‘तातो खाना सेवा’ नामक एउटा समूह नै बनाएका छन्।
समूहका सदस्यहरूले भाइरसबाट बच्न विशेष पोसाक, मास्क, चस्मा र भाइजरसमेत लगाएर ठमेल क्षेत्रका कुना-कुनामा पुगेर भोकाहरूलाई सन्तुलित खाना खुवाउने गरेका छन्। उनीहरूले एउटा फेसबुक पेज पनि बनाएका छन्। त्यहाँ राखिएको भिडिओमा निकै मार्मिक दृश्य देख्न सकिन्छ।
एउटा भिडिओमा यस्तो देखिन्छ- हातमा खानेकुराको बट्टा पाएपछि भोक, प्यास र थकानले रन्थनिएजस्ता देखिने एक किशोरले भनेका छन्, 'दाइ बल्ल सास आयो मेरो!'
‘तातो खाना सेवा’ मा साइकल चढ्ने युवायुवती जोडिएका रहेछन्। त्यो समूहमा साइकल चढेर विश्वका १५५ देश भ्रमण गरिसकेका पुष्कर शाह सक्रिय रहेको राईमार्फत् थाहा पाएँ। उमेर ५० पुगे पनि शाह अझै साइकलमै घुम्दैछन्। कहिले स्वदेश त कहिले अझै पुग्न बाँकी विदेश।
उनी आफूलाई साइकले भन्न रुचाउँछन्।
‘तातो खाना सेवा’ कुनै संस्था नभएको उनी बताउँछन्। 'नेपाली समाजमा अहिले हामी थरिथरिका भोक देखिरहेका छौं,' उनले भने, 'यहाँ राजनीतिको भोक छ, धर्मको भोक छ, सीमानाको भोक छ र साथै ‘भरपेट भात खान पाइयोस्’ भन्ने वास्तविक भोक पनि छ। हामीले त्यसलाई शान्त पार्ने जमर्को गरिरहेका छौं।'
प्रश्न उठ्न सक्छ- तरकारी, दाल, चामल, मासु आदि किन्ने रुपैयाँको जोहो कसरी भइरहेको होला?
पुष्कर भन्छन्, 'हाम्रा प्राय: साइकले र अन्य साथीभाइ तथा बहिनीहरूले जुटाइरहनुभएको छ। सहयोगीहरू साइकलको चेन (जन्जिर) जस्तै हुन्, एकअर्कासँग जोडिएका। सहयोग पुगिरहेकै छ, तातो खानासँगै माया बाँडिरहेकै छौं।'
राजधानीको मुटुमा यो र यस्तै यस्तै क्रम कहिलेसम्म चलिरहला? त्यो अझै कसैलाई थाहा छैन।
सोमबार प्रधानमन्त्रीले कृषि क्षेत्र विस्तारै खोल्ने संकेत दिएका छन्। पर्यटन र समाजका अन्य कैयन क्षेत्र भने पूरै आराम वा छटपटीमा छन्।
सन्तोषसँगको कुराकानीकै क्रममा मैले कोभिड-१९ बाट अतिप्रभावितमध्ये युरोपेली देश स्पेनको खबर सुनाएँ- त्यहाँ जुलाईदेखि पर्यटन क्षेत्र खुल्न थाल्ने भनिएको छ।
नेपालमा कहिले त्यस्तो होला?
जवाफ सहज छैन।
म फर्किने बेला क्षत्रपाटीको पिपलबोटमुनि रिक्साचालक मनोज श्रेष्ठ भेटिए। मुखमा लगाएको मास्क तल चिउँडोमा झारेर परतिर हेरिरहेका।
उनीसँग तीन मिटर परैबाट कुरा गरेँ।
उनले आफ्नो कमाइ दैनिक १२ सय रुपैयाँबाट ३०० रुपैयाँमा झरेको बताए।
भैंसेपाटी, ललितपुर घर भएको बताउने ती २० वर्षीय युवक आफ्नो भविष्यबारे निकै चिन्तित रहेछन। भने, 'बिहान केही तरकारी ओसार्ने काम पाइएको छ। यसरी त कहिलेसम्म चल्ला र? अब विस्तारै काम गर्ने वातावरण बनेन भने त हामी मर्छौं।'
अहिलेको नेपालमा वा भनौं विश्वमै त्यस्तो चिन्ताले ग्रस्त उनी एक्ला होइनन्।
(बिबिसी न्यूज नेपालीका पूर्व संवाददाता तथा प्रस्तोता सुरेन्द्र फुयाल हाल काठमाडौंस्थित एक स्वतन्त्र पत्रकार हुन्।)