नरैनापुर गाउँपालिकामा शुक्रवार १३ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परे।
त्यसमा १२ जना गाउँपालिकाको वडा नं. ३ का थिए भने वडा नं. २ का एकजना। उनीहरु सबै नेरा प्रावि शंकरनगर कोटिया क्वारेन्टिन र नेरा प्रावि परशरामपुरवाको क्वारेन्टिनमा बसेकाहरु हुन्।
उनीहरुलाई संक्रमण पुष्टि भएपछि शुक्रबार बेलुकी नै प्रहरी क्वारेन्टिनमा बसेकाहरूबाट छुट्याएर राख्यो। त्यसको केही बेरमा उनीहरुलाई नेपालगन्ज ल्याउन एम्बुलेन्स पुग्यो।
तर त्यही बीचमा उनीहरु सबै भागे। संक्रमित सबै भागेपछि प्रहरीलाई रातभर खोज्नै सकस भयो।
राति अबेर मात्रै १२ जनालाई नियन्त्रणमा लिइयो।
‘रातको साढे १० बजेतिर ९ जना संक्रमित एक ठाउँ खेतको कुनामा लुकेको अवस्थामा फेला परे,’ एसपी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी विरबहादुर वलीले भने ‘त्यसको केही पर थप तीन जना रातको १२ बजेतिर त्यसैगरी लुकेको अवस्थामा फेला परे।’
नियन्त्रणमा लिइएका १२ जना संक्रमितलाई प्रहरीले मध्यरातमा नेपालगन्जस्थित लाईन्स डेन्टल हस्पिटलको आइसोलेनसमा ल्याएर राख्यो।
तर, संक्रमित मध्ये एकजना फेला परेनन्।
शनिबार विहान तीन बजेतिर नेपाल– भारत सीमा क्षेत्र ती एकजनालाई पनि प्रहरीले नियन्त्रणमा लिन सफल भयो।
उनी भागेर भारततर्फ जान खोजिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन सफल भएको एसपी वलीले बताए। विहान नियन्त्रणमा लिइएका ती युवालाई अहिले विहान नेपालगन्ज ल्याउन लागेको एसपी वलीले जानकारी दिए ।
भागेका संक्रमितलाई पनि यो सरुवा रोग र घरमा जान हुन्न भनेर थाहा छ।
तर जान्दाजान्दै नरैनापुरबाट किन संक्रमितहरु पटक-पटक भाग्न खोजिरहन्छन्?
नरैनापुर नेपाल–भारत सीमाना क्षेत्रको विकट वस्ती हो। जहाँका नागरिक अशिक्षा र गरिवीको चपेटामा छन्। त्यही अज्ञानताका कारण संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीय प्रतिकारमा उत्रिन्छन्, नारावाजी गर्छन।
अस्पताल लैजाने बाहानामा गलत औषधी दिएर मार्छ वा गोली हानेर मार्छ भन्ने गलत धारणा स्थानीयमा व्याप्त छ।
केही दिन पहिले नरैनापुरमा संक्रमितलाई ल्याउन खोज्दा स्थानीयले त्यही कुरा गरेका थिए। शुक्रबारपनि त्यही क्रम दोहोरियो। संक्रमितलाई लिन एम्बुलेन्स र प्रहरी पुग्दा स्थानीय सर्वसाधारण ठूलो संख्यामा क्वारेन्टिन आइपुगे।
होहल्ला भयो, संक्रमित त्यति बेला नै फुत्किएर भागे।
गाउँमै आइसोलेन अस्पतालको माग
नरैनापुर वडा नं. ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यका शब्दमा उनीहरु भाग्नुको प्रमुख कारण स्थानीय स्तरमै आइसोलेसन अस्पताल निर्माण गर्नुपर्छ भन्ने हो।
‘गाउँकै प्राथमिक स्वास्थ्य चौकी लक्षिनपुरमै आइसोलेसन बेडहरु तयार पारियोस् र संक्रमितलाई त्यही राखियोस् भन्ने चाहाना स्थानीयमा छ,’ मौर्यले भने ‘उनीहरु बजारको भिडभाड युक्त अस्पताल भन्दा गाउँमै निर्मित आइसोलेसनमा बस्न चाहन्छन्।’
नरैनापुरमै आइसोलेसन निर्माण गर्ने कुरा सुरुवातमा स्थानीय प्रशासन र जनप्रतिनिधिले नै गरेका हुन्। त्यो कुरा नरैनापुरवासीले रेडियो मार्फत सुने।
आफ्नै गाउँ ठाउँमा आइसोलेसन बेड निर्माण हुने भयो भनेर खुसीपनि भए तर, निर्माण भएन।
त्यसकारण पनि स्थानीय भड्किएको वडा अध्यक्ष मौर्यले जानकारी दिए।
‘गम्भीर विरामी हुन थालेपछि हामी जहाँ लगेपनि जाने छौं र सामान्य अवस्था हुँदासम्म हामीलाई गाउँकै आइसोलेसनमा राख्नुपर्छ भन्ने माग स्थानीयको छ,’ मौर्यले भने ।
महामारीमा पनि राजनीति हाबी भयो – गाउँपालिकाका अध्यक्ष
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार स्थानीय केही नेता र अग्रजहरुले नै सर्वसाधारणमा कोरोना भाइरसवाट गलत कुरा फैलाएर आन्दोलनका लागि उक्साएको दाबी गर्छन्। जसलाई उनले घृणित राजनीति ठान्छन् ।
योभन्दा अघिल्लो पटक वडा नम्बर २ लक्ष्मणपुरस्थित आदर्श मावि क्वारेन्टाइनका संक्रमित १२ जनालाई ल्याउन खोज्दा भएको विरोध प्रदर्शनलाई उनले त्यसैका रुपमा अर्थ्याएका थिए।
उनले अफवाह फैलाउनेलाई कारबाहीको माग समेत गरेका छन्।
‘नेपालगञ्ज लैजान दिनु हुँदैन, यो सरकारको षड्यन्त्र हो, हाम्रा बालबच्चा मार्नलाई लगिँदैछ, हामी सबै प्रतिकारमा उत्रिनुपर्छ भन्दै गाउँका दुई जना गाउँका अगुवा नै माइकिङ गरेर हिँडेपछि के हुन्छ?’ अध्यक्ष शाहले भने ।
वडा नम्बर १ का स्थानीय पूर्व प्रधान इशाक जोलाहाको निर्देशनमा वडा नम्बर २ का पञ्चे भन्ने अकबाल शेष तथा वडा नम्बर १ का नफिज खाँ भन्ने नासिर अहमद खाँ, बड्कौ खाँ भन्ने नुर अहमद खाँ र जलिल तेली भन्ने चुन्नु तेली लगायतको समूहले स्थानीयलाई भड्काएको भन्दै अध्यक्ष शाहले नै दोषी उपर कानुनी कारवाहीको माग गरेका थिए।
अनर्गल प्रचार गरेर समाजलाई भड्काउन खोज्ने तथा महासंकटको बेला पनि घटनालाई राजनीतिकरण गर्नेलाई कारवाही हुनुपर्ने गाउँपालिकाका अध्यक्ष शाहले माग गर्दै आएका छन्।
जनप्रतिनिधिले सहयोग गरेनन् – एसपी वली
बाँके प्रहरी प्रमुख एसपी विरबहादुर वलीका अनुसार स्थानीय संक्रमितलाई लैजान दिदैनौं भन्दै प्रदर्शनमा उत्रिदां समेत जनप्रतिनिधि स्थानीयलाई सम्झाउन नआउने गरेको गुनासो गरे।
‘प्रहरीले मात्रै के गर्न सक्छ?,’ वलीले भने ‘आइसोलेनसमा पनि प्रहरी खटिएकै छ, क्वारेन्टिनमा पनि प्रहरी खटिएकै छ, संक्रमितलाई लिन जाँदा र स्कटिङमा पनि प्रहरी खटिएकै छ, लकडाउनमा पनि प्रहरी खटिएको छ।’
शुक्रबार बेलुका ८ बजेदेखि ३ बजेसम्म प्रहरी भागेका संक्रमितहरुको खोजीमा लाग्दा जनप्रतिनिधि कोही पनि नआएको एसपी वलीले गुनासो गरे।
जनप्रतिनिधि आएर स्थानीयलाई त्यस्तो गर्नुहुन्न भनेर संझाई दिएको भएपनि धेरै सजिलो हुने उनले तर्क गरे।
‘उहाँहरु आएर तिमिहरुले लैजान पाउँदैनौं यीनीहरुलाई केही भएको छैन, हामी घर लगेर आफैं औषधी गरेर ठिक पार्छम भन्ने जस्ता दाबी गर्नुहुन्छ,’ एसपी वलीले भने ‘त्यस्तो बेलामा जनप्रतिनिधि र गाउँ घरका जान्ने सुन्ने मानिसहरु आएर सम्झाउनु पर्ने हो।’
संक्रमित फेला परेपछि तिनलाई छुट्याउन र ल्याउन जाँदा महिला केटाकेटी समेत गरि एकैपटकमा ७-८ सय मानिसहरु निस्किएर होहल्ला सुरु गर्ने गरेको एसपी वलीले बताए।
एसपी वलीका अनुसार बाँके जिल्ला भर विभिन्न ६२ वटा क्वारेन्टिन छन्। ती मध्ये अधिकांशमा तारवार र पर्खाल छैन। त्यसैले प्रहरीलाई काम गर्न निकै गाह्रो भइरहेको छ।