कोरोना पुष्टि भएका दैलेखका एक संक्रमितलाई सदरमुकाम ल्याइएको छ। दैलखेको आठविस नगरपालिका–१ का ३५ वर्षीय संक्रमितलाई आइसोलेशनमा राख्न सदरमुकाम ल्याइएको हो।
मंगलबार दिउँसो स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली आठविस गएर उनलाई ल्याएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निराजन पन्तले जानकारी दिए।
उनका अनुसार दैलेख सदरमुकाममा ३४ बेडको आइसोलेशन बनाइएको छ। सोमबार नै कोरोना पुष्टि भइसके पनि उनलाई मंगलबार बेलुका मात्रै क्वारेन्टाईनबाट बाहिर ल्याइएको पन्तले बताए।
सोमबार बिहान सुर्खेतमा रहेको जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो। उक्त नमुना पुनः परीक्षणका लागि सोमबार नै नेपालगञ्ज पठाइएको थियो। सो परीक्षणमा पनि कोरोना देखिएको हो।
संक्रमित ती व्यक्तिलाई साततलास्थित लक्ष्मी माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो। उनीसहित ४९ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। ति सबै भारतबाट एकै बसमा जेठ १ गते दैलेख आएको आठविस नगरपालिकाका मेयर खड्कराज उपाध्यायले जानकारी दिए।
उनीसँगै क्वारेन्टिनमा बसेका बाँकी ३८ जनाको एक सातापछि पुनः स्वाब संकलन गरी प्रयोगशालामा पठाइने मेयर उपाध्यायले बताए।