बाइकको ट्रायलमा फेल भएपछि हिमेश पन्त भन्थे- अब सिधै कारको लाइसेन्स निकालिन्छ, अनि सर्रर हुइँकिने हो कारमा।
उनले ठट्टामा भनेको कुरा ठट्टै होलाजस्तो भयो!
कारको लाइसेन्स निकाल्ने कहिले! लाइसेन्स निकाले पनि सर्रर हुइँकिने त कहिले हो कहिले!
नेपालका पहिलो स्ट्यान्ड-अप कमेडी च्याम्पियन हुन् हिमेश। उनले हँसाएरै मान्छेको मन र मान जिते। कार हाँक्ने र विश्व भ्रमण गर्ने सपना पनि देखे।
ती सपना सम्झँदा अचेल उनको कानमा यही गीत बज्छ होला- उडायो सपना सबै कोरोनाले!
कार हाँक्ने सपना त तै लकडाउन खुलेपछि पूरा होला। पच्चीस लाख नगद र कार जितेकै छन्। विश्व भ्रमण पो कसरी जानु! कहाँ जानु! जहाँ गयो त्यहीँ कोरोना छ!
मान्छेलाई जस्तै कोरोनालाई पनि हँसाई हँसाई भुतुक्क पार्न पाए पो!
कार्यक्रमका शीर्ष प्रतिस्पर्धी तीन जना थिए- हिमेश, सुमन कोइराला र खड्गबहादुर पुन मगर। तीनै जनालाई फाइनलपछि आयोजकले 'विश्व भ्रमण' गराउने तय थियो। तर, जसरी उनीहरू मान्छेलाई मच्चाउँदै-मच्चाउँदै थच्चाउँथे, कोरोनाले पनि उनीहरूलाई थच्चायो। सपनामा पानी खन्याइदियो।
अब उनीहरूको निम्ति आँगन नै अमेरिका, बैठक कोठा बेलायत, भान्सा भेनिस र कौसी कुवेत-कतार। पशुपति शर्माको 'मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ' भन्ने गीतजस्तै।
धन्न पासपोर्ट बनाइसकेका रहेछन्। कम्तिमा सपनामा अमेरिका पुग्दा 'पासपोर्ट खोइ' भन्यो भने 'ई' भनेर देखाउन पाउँछन्! बरू सुत्ने बेला खल्तीमा घुसार्न चाहिँ नबिर्सिनू ल!
यही कुरा हिमेशलाई सोध्दा उनले हाँसी हाँसी भने, 'जीवनमा पहिलोपल्ट विदेश जाने कुरा उठेको थियो, कोरोनाले लग्यो।'
'अब कहिले लकडाउन खुल्ला, कहिले जहाज उड्ला, अनि कहिले त्यो जहाजले हामीलाई उडाउला,' युट्युब च्यानल चलाएर बसेका हिमेशले थपे, 'विदेश जाउँला भनेको थिएँ, धादिङधरि जान पाइएन।'
जे हाल हिमेशको छ, सुमनको त्यही छ। इटाली उड्न त के, जन्मथलो इटहरी पनि जान पाएनन्।
'घरबाहिर टेक्न पाएको छैन, विश्व भ्रमण त कहाँ हो कहाँ!' सुमन भन्छन्, 'सानैदेखि अमेरिका घुम्ने रहर थियो, बल्लबल्ल मौका पाएको थिएँ, कोरोनाले खिन्न बनायो। मुखमै आएको गाँस खोसिएजस्तो भएको छ।'
कमेडी च्याम्पियनका यी 'दले दाइ' अचेल घरमै आइफोन चलाउन सिकिरहेका होलान्! आइफोन चलाउनु भनेको हरियो रङले उठाउने र रातोले काट्ने मात्र होइन है दले दाइ!
उनको सानैदेखि अमेरिका जाने सपना थियो। गाउँतिर मान्छेले 'अम्रिका' भनेको सुनेदेखि एकदिन पक्कै जान्छु भन्ने अठोट लिएका थिए। समुद्रनजिक फोटो खिच्ने उनको धोको छ। उस्तै परे आफ्नै भ्लग बनाउने विचार पनि गरेका थिए।
'विश्व भ्रमण गर्न खुट्टा उचालेका बेला ठ्याक्कै लकडाउन भयो,' विदेश भ्रमणका नाममा भारतको बिहारसम्म टेकेका सुमनले भने, 'जो पनि फोन गरेर यही सोध्छन्। आफूलाई घाउमा चरक्क नुन छर्केजस्तो हुन्छ।'
उनले अगाडि भने, 'विदेशमा रहनुभएका शुभचिन्तक पनि हामी आउने भनेर खुसी हुनुहुन्थ्यो। उहाँहरूकै माया र समर्थनले हामी यो ठाउँसम्म आइपुगेका हौं। उहाँहरूलाई भेटेरै धन्यवाद दिन आतुर थियौं। अब त उता उहाँहरू लकडाउन, यता हामी लकडाउन।'
अर्का प्रतिस्पर्धी खड्गबहादुर भने भ्रमण रोकिएला भनेर पहिल्यै शंका लागेको बताउँछन्।
'कमेडी च्याम्पियनको फाइनलतिर केही देशमा कोरोना भाइरस फैलिसकेको थियो। यात्रा स्थगित होला भनेर डराइरहेको थिएँ, नभन्दै त्यसै भयो,' उनले भने।
उनलाई अस्ट्रेलिया घुम्ने मन छ। वैदेशिक रोजगारका लागि जाने सोचेका थिए। पासपोर्ट पनि बनाए। यसैबीच कमेडी च्याम्पियन जीवनकै 'टर्निङ प्वाइन्ट' बनेर आयो।
'अब विदेश घुम्नेभन्दा घरभित्रै बस्ने कर्तव्यलाई प्राथमिकता दिने समय छ,' उनले भने, 'घुम्न जहिले गए पनि भयो।'
यी तीन प्रतिस्पर्धी मात्र होइन, कमेडी च्याम्पियनका आयोजक पनि खिन्न छन्।
कार्यक्रम निर्माता केकी अधिकारीका अनुसार भ्रमण योजना रोकिएलगत्तै कार्यक्रमको आर्थिक स्थितिमा घाटा परेको छ। प्रायोजकहरूसँग भएको सम्झौताअनुसार यो बेला विश्व भ्रमण सकेर कमेडी च्याम्पियनको अर्को सिजनको तयारी सुरू गरिसक्नुपर्ने थियो।
केकीले आफ्ना सहकर्मी विशाल भण्डारी र रिमा विश्वकर्मासँग मिलेर एक वर्षअघि कमेडी च्याम्पियनको आइडिया ल्याएकी थिइन्। नेपाली युवामा बढ्दो स्टयान्ड-अप कमेडीको क्रेजलाई उनीहरू टेलिभिजनमा देखाउन चाहन्थे।
सुरूका दिनमा प्रायोजकहरूले विश्वास गरेनन्। चार भागसम्म कार्यक्रम सुस्त रह्यो। पाँचौं भागपछि भने गति लिन थालेको केकी बताउँछिन्।
'युवाहरूलाई लक्ष्य गरेर बनाएको कार्यक्रम बालबच्चादेखि बूढापाका, सबैले मन पराइदिनुभयो,' उनी भन्छिन्, 'तीन शीर्ष विजेता घोषणा गरेपछि कार्यक्रम भव्य समापन गर्ने योजना थियो। त्यही बेला कोरोना फैलियो। धेरै भीड गर्न नमिलेपछि पुरानै सेटमा विजेता घोषणा गर्नुपर्यो।'
विश्व भ्रमण स्थगित भए पनि प्रतिस्पर्धीहरूले स्थिति बुझिदिएकामा केकी आभारी छिन्। उनका अनुसार सामान्य समय आएपछि कार्यक्रम फेरि सुरू हुनेछ।
हिमेश, सुमन र खड्गबहादुरलाई मनमा बेचैनी त छँदैछ, तर आफ्नो जिम्मेवारी र कर्तव्य नभुलेको उनीहरू बताउँछन्।
'यो लकडाउनको पिर हामीलाई मात्र होइन,' उनीहरू भन्छन्, 'पूरै संसार यो विपतसँग जुधिरहेको छ। पछि सबै ठिक भए आनन्दले घुमौंला। दर्शकलाई हसाऊँला।'