केही महिनाअघि एकबिहानैको भेटमा मैले सत्यमोहन जोशीलाई सोधेको थिएँ, ‘तपाईंको इच्छा के छ?’
‘अलि समयपछि जन्मदिन आउँदैछ,’ उनले भनेका थिए, ‘सय वर्ष पूरा गरेर एक सय एक पुगुञ्जेल संसारमा भौतिक उपस्थिति जनाउन पाए हुन्थ्यो।’
गएको वर्ष नै शतवार्षिकीमा उनको भव्य नागरिक अभिनन्दन गरिएको थियो। उनले फेरि पनि सय वर्ष पूरा गर्ने इच्छा देखाएपछि म जिज्ञासु भएँ।
‘त्यो सय वर्ष पूरा गरेको होइन नि, टेकेको अवसरमा मनाइएको थियो,’ उनले भनेका थिए, ‘म सय पूरा गर्न चाहन्छु।’
यसबीच धेरै उथलपुथल भयो। सबभन्दा ठूलो तमासा त कोरोना महामारीले देखाइरहेको छ। यो संक्रमणको जञ्जालबीच म लामो समय जोशीको सामुन्ने पर्न चाहेको थिइनँ।
मंगलबार उनको घरअगाडि विभिन्न सञ्चार माध्यमका सवारी साधन देखिए। १०१ औं जन्मदिनको अवसर पारेर उनलाई भेट्न आउनेहरूको भीड लागेको रहेछ। यसले मेरो हौसला बढ्यो। म उनको घरभित्र पसेँ।
जोशी सधैंझैं सामान्य अवस्थामा देखिए। एकपछि अर्को सञ्चार माध्यमका क्यामरा र प्रश्न सामना गर्दै थिए।
‘सरले मास्क पनि लगाउनुभएको रहेनछ?’ मैले सोधेँ।
जोशीले सबैतिर छरिएका नजर मतिर समेटे, ‘अब मलाई मेरो शारीरिक अन्त्यको डर छैन।’
यो जवाफले मलाई केही महिनाअघिको संवादमा लगेर जोड्यो।
‘आजबाट सय वर्ष नाघ्ने इच्छा पनि पूरा भयो,’ मैले सोधेँ, ‘अब चाहिँ तपाईंको इच्छा के छ?’
‘मलाई अब कुनै नेपालीले साहित्यमा नोबेल पुरस्कार जितेको हेर्ने इच्छा छ,’ उनले भने।
‘यो त कसरी सम्भव होला र?’ मैले सोधेँ, ‘तपाईंले त्यस्तो सम्भावना देख्नुभएको छ र?’
‘असम्भव चाहिँ देखेको छैन,’ उनले भने, ‘छेउमै रवीन्द्रनाथ टैगोरले पाउन सक्छन् भने कुनै नेपालीले किन पाउन नसक्ला?’
जोशीले यस प्रसंगलाई थप जोड्न चाहे।
‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको 'अश्वत्थामा' लाई नोबेल पुरस्कार दिलाउन मदनमणि दीक्षितले भरमग्दुर प्रयत्न गरेकै हुन्,’ जोशीले भने, ‘हाम्रो धर्मशास्त्रका घटना र पात्रलाई पश्चिमाहरूले मनन् गर्नै सकेनन्।’
दुई फरक समाज र संस्कृतिको भेदले नै यस भेगका लेखकहरूको नोबेल पुरस्कारसम्म पहुँच पुग्न नसकेको उनी बताउँछन्। त्यो परिस्थिति फेरिनेबित्तिकै नेपालीले पनि नोबेल पुरस्कार जित्न सक्ने उनको भनाइ छ।
२०५४ सालतिर घिमिरेले महाभारतका एक चर्चित पात्र अश्वत्थामाको भोगाइ वर्णन गर्दै युद्धविरोधी कृतिका रूपमा गीतिनाटक तयार पारेका थिए। 'त्यो कृति नोेबेल पुरस्कारनिम्ति योग्य थियो,' तीनपटक मदन पुरस्कार जितेका एक मात्र सर्जक भएर पनि जोशीले आफूलाई भने नोबेल पुरस्कार जित्नसक्ने व्यक्तिका रूपमा नदेखेको प्रस्ट पारे।
कुराकानीकै क्रममा जोशीका एक सहयोगीले मंगलबारै युट्युबमा जोशीरचित गीतहरूको एल्बम सार्वजनिक भएको सुनाए। सातवटा गीत संकलित एल्बमको नाम 'क्रान्तिको लहर' हो। यसमा शिशिर योगी, कुन्ती मोक्तान र मेलिना राईको स्वर छ। यो एल्बम म्युजिक नेपालले तयार पारेको हो।
तीमध्ये ‘मुजुरको त्यो फुल’ बोलको गीत दशकौंअगाडि लेखेको जोशीले बताए, ‘यो असाध्यै दार्शनिक छ।’
त्यति बेला सत्यमोहन बागमती किनारमा पण्डित जयदेवको प्रवचन सुन्न नियमित जाने गरेका थिए। वेदान्तको प्रवचन सुन्दासुन्दै मनमा आएको भाव उतारेको उनले बताए, ‘सूर्य परिक्रमा गर्दा पृथ्वीले बनाउने घेरा र अण्डाको आकार मिल्दोजुल्दो छ। प्रकृतिको यही नौरंगी सिर्जना गीतमा वर्णन गरेको छु।’
जीवनमा जतिसुकै प्रयास गरे पनि मानिसले थाहा पाएका भन्दा थाहा नपाएकै विषय बढ्ता हुने गरेको उनको भनाइ छ।
‘एकबारको जीवनमा जति पढे पनि साध्य नहुने, जति जाने पनि साध्य नहुने,’ सय वर्ष नाघेका लेखकले भने, ‘प्रत्येक मानिसले ज्ञानभन्दा बढी अज्ञानतामै संसार छाडेर जानुपर्छ।’
यसबीच आफूलाई सबभन्दा बढी प्रभाव किट्सको कविता ‘ओड टु नाइटिङ्गेल’ ले पारेको उनी बताउँछन्। ‘जसरी त्यो कवितामा किट्सले जुरेली चरीलाई अमर भनेर उल्लेख गरेका छन्,’ उनले थपे, ‘यस सृष्टिमा जन्मेका हामी सबै प्राणी अमर छौं।’
उनले बगैंचाको छेवैमा स्थापित मायादेवीको मूर्तितिर औंला देखाए, ‘जसरी मायादेवीले बुद्धलाई मर्नका लागि जन्माएकी थिइनन्, मेरी आमाले पनि मलाई अमरत्वकै निम्ति जन्माएकी थिइन्। हामी सबैका आमाले त्यसै गरेका हुन्।’
हरेक प्राणीको भौतिक अन्त्य अवश्यम्भावी हुँदाहुँदै प्रत्येक आमाले अमर सन्तान जन्माउने चाहना राख्नु नै पृथ्वीको अद्भूत सत्य रहेको उनले बताए।
अनन्तको विश्रामस्थलमा गएर मिसिनुलाई मृत्यु ठान्न नहुने दर्शनले यो बुढेसकालमा अनेक जिज्ञासा उब्जाइरहेको जोशीको भनाइ छ। उनका अनुसार जन्मेका प्रत्येक प्राणीका आ-आफ्ना गन्तव्य हुन्छन्। त्यो गन्तव्य मात्र सत्य हो। मृत्यु सत्य होइन। आफू पनि लगातार गन्तव्यतर्फ हिँडिरहेको र अहिले पनि यात्रा जारी रहेको उनले सुनाए।
‘कवि किट्सले यस संसारमा अमरत्व प्राप्त गरेका धेरै पात्रको नाम लिनसक्थे,’ जोशी भन्छन्, ‘तर, एउटा चरालाई ‘तिमी अमर छौ’ भनेर उनले आफूमा रहेको ज्ञान देखाइदिए।’
यति बेला कोरोना भाइरसको आतंकलाई लिएर संसारभर हलचल मच्चिरहँदा आफूलाई भने त्यति भय नलागेको उनले बताए। ‘हामी सबैको भौतिक अन्त्य एकदिन हुनु नै छ,’ उनले थपे, ‘मर्छु भनेर डराउनुको खासै अर्थ देख्दिनँ।’
यस किसिमका महामारी आफूले सयवर्षे जीवनमा धेरैपटक देखेको र कहिल्यै विचलित नभएको उनको भनाइ छ।
‘मेरो बाल्यकालमा बिफरको खोप थिएन, पछि वैद्यले जीवनभर नाडीमा कालो दाग देखिने गरी सियोले घोचेको क्षण पनि देखियो,’ उनले भने, ‘जस्तोसुकै अवस्थामा संसार अघि बढेको छ। जस्तोसुकै महामारी आए पनि सृष्टिले आफ्नो गन्तव्य लिएरै छाड्छ।'
उनले अगाडि भने, 'आज बिहानै मलाई अमेरिकामा बस्ने नेपालीहरूसम्म सोझै लैजाने गरी मोबाइलबाट प्रत्यक्ष प्रसारण गरिएको क्षण पनि भोगेँ।’
‘बिफरको मात्र के कुरा?’ उनले थपे, ‘२००३ सालतिर प्लेगले पनि धुन्धान मानिस मरेको मैले देखेको थिएँ।’
जोशी त्यति बेला जागिरे थिए। पश्चिम चार नम्बर स्याङ्जामा खटिएका थिए। फिस्टुलाको बिरामी भएर आफू पाल्पाको अस्पतालमा रहँदा मुसाको उपियाँबाट सर्ने प्लेगको ठूलै हल्लीखल्ली थियो। उपियाँले टोकेको २४ घन्टाभित्रै मानिस मरिसक्ने स्थिति रहेको जोशी सम्झन्छन्।
‘सहरभरि एउटै मानिस देखिन्थेन,’ जोशीले सुनाए, ‘अहिलेजस्तै सबका सब घरभित्रै लुकेर बसेका थिए।’
प्लेगपछि हैजाको महामारी चलेको थियो। त्यो बेलासम्म नेपालमा डाक्टरहरू थिएनन्। दुई-चार जना ‘बंगाली बाबु’ थिए। तिनैले उपचार गर्थे। सर्वसाधारणले भने ‘देउता रिसायो’ भन्थे र झारफूक गर्थे। ‘भीमसेन जाग्यो’ भन्दै समेबजीको रास लगेर देउताका अगाडि थुपार्थे। बिफरलाई छेक्न शितला माईको पूजा हुन्थ्यो।
‘जबकि त्यो रोग खानेकुराको समस्याले भएको भनेर पछि थाहा पाइयो,’ उनले भने, ‘हामी खानपिनमा रमाउने नेवारको त एक जनालाई समात्यो भने परिवारै थला पर्थ्यो।’
यस्ता महामारीले मानिसको ज्यान लिनु दुःखद् भए पनि आफूलाई मातापिताको मृत्यु बेला परेको शोकजस्तै यसमा मानिसको व्यवहारिक पक्ष मात्र रहेको उनले स्पष्ट पारे।
जोशीलाई पछिल्लो समय आँखाको कमजोरीले लेखपढमा समस्या हुन थालेको छ। तै पनि राति ११ बजेसम्म केही लेखपढ गर्ने कोशिस गरिरहेकै हुन्छन्। उनले पछिल्लो दैनिकी सुनाए, ‘सधैंजस्तै आज पनि बिहान पाँच बजे नै समाचार सुन्न उठिसकेको थिएँ।’
त्यसको एक घन्टामै शुभकामना दिनेहरूको आवतजावत सुरू भयो। आठ बजेतिर ललितपुरका मेयर चिरिबाबु महर्जन आएका बेला अलिक बाक्लै भीड लागेको थियो। त्यसबाहेक सामूहिक तथा व्यक्तिगत तवरले शुभकामना दिन आउनेहरूको लश्कर दिनभर लाग्यो। त्यसरी आउनेलाई जोशीले रातो अक्षता लगाइदिनुका साथै टाउकामा फूल राखिदिएको देखिन्थ्यो।
पछिल्लो समय आफू लिखित ‘श्वेत चैत्य’ लाई दामोदर शर्माले अंग्रेजीमा अनुवाद गरेको र त्यसलाई प्रकाशननिम्ति महानगरपालिकाले प्रेसमा लगिसकेको जानकारी जोशीले दिए।
अहिले ललितपुरको बखुम्बहालस्थित जोशीको पुर्ख्यौली घर भत्काइएको छ। त्यहाँ ‘सत्यमोहन जोशी लोक साहित्य भवन’ बनाउने जानकारी निर्माण समितिकी कोषाध्यक्ष लक्ष्मीशोभा शाक्यले दिइन्।
उनका अनुसार भवनको पहिलो तल्लामा जोशीको परिवारलाई बस्ने सुविधासम्पन्न आवास हुनेछ भने दोस्रो तल्लामा पुस्तकालय, तेस्रोमा बैठक कक्ष र नाटक रिहर्सल कक्ष हुनेछन्।
डेढ करोड रुपैयाँ लागतमा बनाउन थालिएको त्यस भवनका लागि सांसद विकास कोषबाट ४९ लाख ३० हजार सहयोगको आश्वासन पाएका छन्। अन्य दाताहरू पनि धमाधम आउन थालेको कोषाध्यक्ष शाक्यले बताइन्।