लकडाउनका कारण लामो समय घरभित्र बसिरहनु पर्दा कसैलाई उकुसमुकुस भएको हुनसक्छ। आफ्नो कोठाबाट निस्केर डाँडाकाँडा, खोलानदी, पुराना मठमन्दिर र गाउँघर घुम्न पाउनु सपनै लाग्दो हो।
पैदल पुग्न नसकिए पनि यो सपना देख्नसम्म 'स्टोरी साइकल'ले मद्दत गरेको छ। स्टोरी साइकलका सहसञ्चालक सौरभ ढकाल र उनको टोलीले 'भर्चुअल सम्पदा यात्रा' सुरू गरेका छन्। यो यात्रामार्फत् आफ्नो मोबाइल वा ल्यापटपबाटै नेपालका विभिन्न क्षेत्र घुम्न र सम्पदाका कथा सुन्न सकिन्छ।
'लकडाउनमा एकोहोरो घरभित्र बसिरहँदा मानसिक स्वास्थ्य विकास हुन पाउँदैन। यो समयलाई केही उर्वर काम गरेर वा नयाँ ज्ञान पाउने काममा सदुपयोग गर्नुपर्छ,' ढकालले भने, 'यही मध्यनजर गर्दै घर बसेर विभिन्न क्षेत्रको कथा भन्ने र जानकारी दिने एउटा नयाँ आइडिया सुरू गरेका हौं।'
स्टोरी साइकल एउटा 'प्लेटफर्म' हो जहाँ सबैले आ–आफ्नो क्षेत्र र समुदायको ऐतिहासिक जानकारी भन्न सक्छन्। ती कथा किताब र भनाइमा मात्र सीमित नगराएर यहाँ मल्टिमिडिया मार्फत कथा बनाएर वेबसाइटमा हालिन्छ। यसले हराएका कथाहरू ठूलो दर्शकमाझ सजिलै पुगी ऐतिहासिक अस्तित्व कायम रहने ढकालको भनाइ छ।
यो डिजिटल भ्रमणको प्रक्रिया 'जुम' एपबाट हुन्छ। जहाँ भ्रमणका लागि छानिएका क्षेत्रको विभिन्न फोटो र भिडिओ प्रयोग हुन्छ। साथै त्यस ठाउँबारे जानकारी भएका एक स्थानीय व्यक्तिको सहयोग पनि। प्रस्तुति शैलीमा हुने यो भर्चुअल भ्रमण उक्त ठाउँबारे भएका जानकारी-सूचना र स्थानीय सम्पर्कबाट भइरहेको ढकाल बताउँछन्।
सौरभ र उनको टोलीले पहिल्यैदेखि बागमती करिडोरलगायत ठाउँमा युवाहरूको समूह बनाइ 'सम्पदा यात्रा' गरिरहेका थिए। सन् २०१० मा स्थापित स्टोरी साइकलको मुख्य उद्देश्य नै हराउँदै गएका विशेष क्षेत्रका अस्तित्व प्रविधिमार्फत् युवामाझ पुर्याउनु रहेको ढकालको भनाइ छ।
'अहिलेको पुस्तालाई सम्पदा क्षेत्रबारेमा त्यति चासो हुँदैन। हाम्रो हजुरबुबा-आमालाई थाहा भएका स्थानीय कुरा र कथाबारे नयाँ पुस्तालाई जानकारी नै छैन भन्दा हुन्छ,' उनी भन्छन्, 'बदलिँदो समयअनुसार हामीसँग भएका प्राविधिक उपकरणमार्फत् अब यी जानकारी आउँदो पुस्तालाई हुने गरी संकलन गर्नुपर्छ। स्टोरी साइकलले पुरानो र नयाँ पुस्ताबीचको दुरी जोड्ने प्रयास गरेको छ।'
यस अन्तर्गत उनीहरूले अहिलेसम्म नेपालका ३५ ठाउँमा 'स्टोरी क्याम्प' गरिसकेका छन्। यो एक प्रशिक्षण कार्यक्रम हो जसमा स्टोरी साइकलका सदस्यहरू विभिन्न ठाउँ गई त्यहाँका कथा संकलन गर्छन्।
ढकालका अनुसार उनीहरूले सन् २०१४ मा गुगलसँगको सहकार्यमा सगरमाथा क्षेत्र, लुक्ला र अन्य पाँच ठाउँमा स्टोरी क्याम्प गरेका थिए। नक्साका आधारमा ३६० डिग्री फोटोमार्फत पनि कथा भन्ने गरेका छन्।
अहिले तिनै कार्यक्रमबाट संकलित सामग्री प्रयोग गरेर 'भर्चुअल सम्पदा यात्रा' भइरहेको हो।
'विश्व सम्पदा दिवसमा बागमती क्षेत्र भ्रमण गर्ने योजना थियो। लकडाउनले पूरा भएन। सम्पदा यात्रा लकडाउनभर रद्द गर्ने भनेका थियौं। तर हामीसँग भएका सामग्रीबाट डिजिटल यात्रा गर्न मिल्ने भएकाले यो आइडिया आएको हो,' उनले भने।
गत शुक्रबार बागमतीबाट सुरू भएको भर्चुअल भ्रमणमा ८३ जना दर्शक सहभागी भएको उनले बताए। यसमा सांकेतिक भाषा पनि समावेश छ।
जुमको अनलाइन ग्रुपमा सयभन्दा बढीले सहभागी गर्न नमिल्ने भएकाले उनीहरूले छानेर मात्र दर्शक लिने गरेका छन्। यसका लागि इच्छा हुनेले स्टोरी साइकलको आधिकारिक साइटमा रहेको अनलाइन फारम भर्नुपर्छ।
उनीहरूले शुक्रबार गोरखाको बारपाक यात्रा गरे। त्यहाँका स्थानीय वीरबहादुर घले गाइड बनेका थिए।
'२०७२ साल वैशाख १२ गतेको भुइँचालोअघि त्यहाँको अवस्था र मान्छेको रहनसहन कस्तो थियो भनेर बुझाउन बारपाक छानेका हौं,' ढकाल भन्छन्, 'त्यहाँ पनि भुइँचालो जानुअगाडि नै 'स्टोरी क्याम्प' गरेका थियौं। त्यसैले भर्चुअल यात्रा गराउन सजिलो भयो।'
यस्तो यात्रा क्रममा कसैलाई त्यो क्षेत्रबारे थप जानकारी भए सबैसँग साट्न मिल्ने उनी बताउँछन्। योसँगै स्टोरी साइकलको अर्को भर्चुअल यात्रा लुम्बिनी र खुम्बुमा हुनेछ।
'नेपालमा इन्टरनेट फुटेज प्रयोग निकै कम छ। हाम्रो उद्देश्य यस्तै कार्यक्रम गरेर सम्पदा क्षेत्रका डिजिटल फुटेज बढाउनु हो,' उनी भन्छन्, 'हाम्रो इतिहासका कयौं कुरा राम्ररी संकलन नगरेकै कारण हराएका छन्। अब प्रविधि प्रयोगले नयाँ पुस्तालाई प्राचीन सम्पदाबारे बुझाउन सकिन्छ।'