बन्दाबन्दीको मौका पारेर झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले पुर्व पश्चिम राजमार्ग अन्तर्गतका ४ वटा हरिया रुख काटेका छन्।
नगर प्रमुख पोख्रेलको आदेशमा रुख कटान भएको स्थानीय बासिन्दाले बताए।
कनकाइ नगरपालिका वडा नम्बर ७ मा पर्ने पुर्व पश्चिम राजमार्ग छेउमा नगर प्रमुख पोख्रेलको घर छ।
हावाहरीले घर नजिकैका ठूला रुख ढलेर मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै पोख्रेलले रुख कटान गरिएको बताए। उनले जिल्ला वन कार्यलय झापाको समन्वयमा रुख काटिएको बताएका छन्।
नगर प्रमुख पोख्रेलले आफ्नो घर छेउका ७ वटा रुख काट्न मजदुरलाई अह्राएका थिए। तर सडक डिभिजन कार्यालय दमक र जिल्ला वन कार्यालय झापाले रुख कटान भएको थाहा पाएपछि घटनास्थलमा आएर रोकेका थिए।
वन र सडकको टोली घटनास्थल ४ वटा मसला जातका रुख ढलिसेका थिए। हरिया रुख कटानका लागि सरकारको अख्तियारी लिनुपर्ने कानुनी प्रावधान छ।
सव डिभिजन कार्यलय सुरुङ्गाका प्रमुख भोला चौधरीले मेयरलाई वनले रुख काट्न अख्तियारी नदिएको बताए। ‘उहाँले घर नजिकका रुख काट्नका लागि कुरा राख्नु भएको हो, तर कागजी रुपमा उहाँले अधिकार पाउनु अगावै रुख काटेको थाहा भयो,’ प्रमुख चौधरीले भने।
सडकका रुख काट्न सडक विभाग र वन कार्यलय दुवैबाट अधिकार लिनु पर्छ।
नगरको कार्यपालिका वोर्डले संभावित क्षति पुग्न सक्ने भएकाले रुख कटानको निर्णय गरेको उनले बताए।
तर कनकाई नगरपालिकाको नगर कार्यपालिका वोर्डमा रुखका हाँगा हटाउने विषयमा कुरा उठेको, लिपीबद्ध निर्णय नभएको एक कार्यपालिका सदस्यले बताएका छन्।