दक्षिण कोरियाको सोलस्थित हामी बस्ने भवनमा केही साताअघि कोरोना भाइरसका एक जना बिरामी भेटिएको थियो। लगत्तै भवन पूरै ब्लक गरियो। आवतजावत ठप्प पारियो। सबैलाई राम्रो गुणस्तरको मास्क उपलब्ध गराइयो। पहिलो तलामा स्यानिटाइजर राखियो।
आफ्नै भवनमा बिरामी भेटिएपछि हामी एकदमै आत्तिएका थियौं। कोठामा स्यानिटाइजर छर्केको छर्कै गर्थ्यौं। कोठामै खाना उसिनेर खान्थ्यौं। कहिलेकाहीँ अनलाइनबाट मगाउँथ्यौं। हामीले कडा नियम पालना गर्दै १५ दिन क्वारेन्टाइनमा बितायौं।
यति हुँदाहुँदै हाम्रो दैनिक काम, पढाइ केही रोकिएन। यहाँ अनलाइनबाट पढाइ भइरहेको छ। हामी आफूलाई चाहिने सामान अनलाइनबाटै मगाइरहेका छौं। केही अत्यावश्यक सामान चाहियो भने नजिकको पसलमा जान्छौं।
फेब्रुअरी अन्त्य र मार्चको सुरूमा डेगु सहरको सिन्चान्जी ग्रुपको चर्चबाट कोरियामा कोरोना फैलिएको हो। त्यति बेला चीनपछि कोराना देखिने दोस्रो देश कोरिया थियो। डेगुबाट सोल हुँदै वरपरका सहरमा पनि रोग फैलियो।
सरकारले प्रभावित क्षेत्र डेगुमा एक महिनासम्म लकडाउन गर्यो। सोलमा एक महिनाजति क्वारेन्टाइनमा बस्ने व्यवस्था भयो। सरकारी अधिकारीहरू लगातार आफैं उपस्थित भएर काम गरे। नि:शुल्क मास्क र स्यानिटाइजर वितरण गरिएको थियो। पूरै सहर र रेल्वे स्टेसनहरूमा डिस-इन्फेक्टेन्ट स्प्रे छरिएको थियो।
कोरोना उपचार गर्ने डाक्टरहरूलाई प्रोत्साहन पनि गरियो। उनीहरूलाई सुविधासम्पन्न रूपमा राखेर खानेबस्ने व्यवस्था गरियो।
मानिसक रूपमा साथ दिन यहाँको राष्ट्रपति स्वयं प्रभावित क्षेत्रमा गएर सचेतना फैलाए। आफैं अस्पतालहरूमा उपस्थित भए। सबैले एकअर्कालाई सहयोग गरेको देखियो। यी सबै प्रयासले एक महिनाभित्र कोरियामा कोरोना नियन्त्रणमा आएको देखिन्छ।
यहाँका अस्पताल सुविधासम्पन्न छन्। सरकारले नि:शुल्क उपचार दिएको छ। जनताले पनि सचेत भएर सरकारले दिएको निर्देशन पालना गरिरहेका छन्। सरकारी अधिकारीले २४ घन्टा नै फोनबाट सेवा दिइरहेका छन्।
यहाँको म्यापिङ सिस्टम पनि गज्जबको छ। कोरोना लाइभ हेर्यो भने कुन ठाँउमा कति केस छ थाहा पाउन सकिन्छ। कसरी खानेदेखि स्वस्थ रहने लगायतका सूचना उपलब्ध छन्।
यहाँका नागरिकले सकारात्मक सोच, स्वस्थ बानी र सरकारले दिएका निर्देशन पालना गर्छन्। नियम कमै उल्लंघन गर्छन्। व्यापारीहरूले आफ्नो घरभाडा कम गरेका छन्। नाजुक स्थिति भएकाहरूलाई सहयोग गरिरहेका छन्।
कालोबजारी पटक्कै छैन। अलिअलि भाउ बढेको छुट्टै होला, तर बस, रेस्टुरेन्ट र बजारमा नि:शुल्क स्प्रे र स्यानिटाइजर उपलब्ध छ।
क्वारेन्टाइनमा बस्दा-बस्दा पट्यार भने लागेको छ। मान्छे भेट्न नपाउँदा दिक्क लाग्छ। छ घन्टासम्म अनलाइन पढ्नुपर्दा आँखा दुख्ने, टाउको दुख्ने समस्या देखिन थालिसकेको छ। तर पनि काम रोकिएको छैन।
विश्वविद्यालयमा बस्ने भएकाले यहाँ पढ्न आएका नेपाली साथीहरूसँग भेट हुन्छ। सचेत भइसकेपछि त्यतिसाह्रो डराउनुपर्ने अवस्था छैन। स्वस्थ बानी विकास गरेर आफूले आफूलाई तयार पारेपछि भेट्दा फरक पर्दैन। मास्क र ग्लोब्स भने अनिवार्य लगाउनुपर्छ।
मलाई थाहा भएसम्म अहिलेसम्म कोही नेपालीलाई कोरियामा संक्रमण भएको छैन। सरकारले सामाजिक सेवा दिने भएकाले नेपालीहरूलाई कुनै समस्या छैन।
नेपालले कोरियाबाट धेरै कुरा सिक्न सक्छ। सचेत हुनु नै सुरक्षित हुनु हो। हामीले मानवतालाई अगाडि राखेर काम गर्नुपर्छ। कालोबजारी नगरी एकअर्कालाई सहयोग गर्नुपर्छ। जसरी यहाँ घरभाडा कम गरिएको छ, नेपालमा पनि महँगो भाडा नलिँदा सहयोग मिल्छ। स्वस्थ खानेकुरा र सचेतनाजस्ता सामान्य कुरालाई व्यापार बनाउनु हुन्न। सरकारले दिएको सुझावलाई सकारात्मक ढंगले स्वीकार गरेर अमल गर्ने प्रयास गर्नुपर्छ।
(दक्षिण कोरियाको राजधानी सोलस्थित सोल नेसनल युनिभर्सिटीमा अध्ययनरत गिरीसँग सेतोपाटीका सीताराम कोइरालाले गरेको कुराकानीमा आधारित।)