कोरोना भाइरसबारे राज्यलाई सतर्क गराउने चिनियाँ डाक्टर ली वेनलियाङले आफूलाई भने संक्रमणबाट जोगाउन सकेनन्। बिरामी उपचार गर्दागर्दै भाइरस लागेर ३४ वर्ष उमेरमा उनको निधन भयो।
संक्रमणले अन्तिम अवस्थामा पुगेका बेला उनको अनुहार गाढा रातो देखिएको थियो। शरीरबाट चिटचिट पसिना छुटिरहेको थियो। उनलाई मास्कभित्र सास फेर्न मुश्किल भइरहेको थियो।
कोरोना संक्रमणले नै वुहानको जियाङबेई अस्पतालका २९ वर्षीया डाक्टर जिया सिसीको पनि असामयिक निधन भयो। वुहानकै २९ वर्षीया नर्स कोरोना संक्रमणले यति ग्रस्त भइन्, अन्तिम समयमा उनको होसहवास हरायो। उनले भनेकी थिइन्, ‘मलाई मृत्युको धारमा हिँडेजस्तो लाग्दैछ।’
कोरोना भाइरसको आक्रमणबाट ज्यान गुमाएका यी चिनियाँ स्वास्थ्यकर्मी बीस र तीस दशक उमेरका थिए। उनीहरूको मृत्युले सबैलाई चकित पार्यो। त्यति बेलासम्म बूढापाका र अरू रोग लागेका बिरामी मात्र मृत्युको जोखिममा छन् भन्ने मानिँदै आएको थियो। युवाहरूलाई भाइरस सरे पनि असर त्यति ठूलो नहुने विश्वास गरिन्थ्यो।
चिनियाँ स्वास्थ्यकर्मीहरूमा भने भाइरसको असर सामान्य रुघाखोकीमा सीमित रहेन। उनीहरूमा भाइरसले गम्भीर लक्षण देखायो र ज्यानै लियो।
यो घटनाले कोरोना भाइरसलाई हेर्ने दृष्टि मात्र फेरिएन, यसको असर विश्लेषण गर्न केही नयाँ प्रश्न पनि जन्मायो।
के धेरै समय बिरामीसँग बिताएका यी स्वास्थ्यकर्मी एकैचोटि धेरै भाइरसको सम्पर्कमा आएकाले यस्तरी आक्रान्त भएका हुन्?
त्यसो हो भने, खुला स्थलमा छोटो समय भाइरसको सम्पर्कमा आउने व्यक्तिलाई भन्दा बन्द कोठामा लामो समय धेरै भाइरससँग सम्पर्क गर्नुपर्नेलाई बढी गम्भीर असर देखिन्छ?
भाइरस भनेको पनि बिखजस्तै हो। बिखको असर त्यसको मात्रामा भर पर्छ। थोरै बिख खानेलाई सामान्य लक्षण मात्र देखिन्छ भने एकैचोटि धेरै खाइदिए ज्यानै जान्छ। भाइरसको असर पनि त्यसको मात्रासँग सम्बन्धित हुन्छ। थोरै भाइरसको दाँजोमा धेरै संख्याको भाइरस स्वाभाविक रूपले बढी खतरनाक हुन्छ।
यसलाई यसरी बुझौं– कोरोना भाइरसको सम्पर्कमा आएका सबै व्यक्ति समान रूपले बिरामी हुँदैनन्। जो मान्छे सुरूमा थोरै भाइरसको सम्पर्कमा आउँछ, उसलाई सामान्य लक्षण मात्र देखिन्छ। कतिमा लक्षण नै नदेखिन सक्छ। तर, जो मान्छे सुरूमै धेरै भाइरसको सम्पर्कमा आउँछ, उसलाई भाइरसले एकैचोटि थला पार्छ। ऊ गम्भीर बिरामी भएर ज्यानसमेत जान सक्छ।
उदाहरणका लागि, कुनै ठाउँमा भाइरस लागेको व्यक्तिले छोएको थियो। त्यसको केही समयपछि तपाईं पुग्नुभयो र त्यही ठाउँमा छुनुभयो। तपाईंलाई भाइरस सर्न त सक्छ, तर त्यसको असर त्यति गम्भीर नहुनसक्छ।
तर, तपाईं बसमा यात्रा गर्दै हुनुहुन्छ। तपाईंको छेउको सिटमा बसेको मान्छेमा भाइरस छ। तपाईंले ऊसँग प्रत्यक्ष सम्पर्कमा रहेर घन्टौं बिताउनुभयो। यस्तो अवस्थामा तपाईंलाई एकैचोटि धेरै भाइरस संक्रमण हुनसक्छ र गम्भीर असर देखाउन सक्छ।
त्यसैले कोरोना भाइरससँग लड्न ती सबै अवस्थाबाट आफूलाई टाढा राख्नुपर्छ, जहाँ एकैचोटि धेरै भाइरस संक्रमण हुने गुञ्जायस रहन्छ। भीडभाड हुने ठाउँमा जोखिम बढी हुन्छ। सार्वजनिक यातायात अर्को जोखिमपूर्ण ठाउँ हो। त्यस्तै, बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहँदा पनि धेरै भाइरस सर्ने सम्भावना बढी हुन्छ।
कोरोनाविरुद्ध लडाइँमा अग्रपंक्तिमा रहेर काम गरिरहेका डाक्टर, नर्स तथा अस्पतालका अन्य कर्मचारी बढी जोखिममा छन्। सरकारले बिरामीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने ती पेसाकर्मीको सुरक्षालाई मुख्य प्राथमिकतामा राख्नुपर्छ। लडाइँमा पठाउनुअघि सैनिकलाई हातहतियारले सुसज्जित पारेजस्तै स्वास्थ्यकर्मीका लागि पनि अत्याधुनिक मास्क, पञ्जासहित व्यक्तिगत सुरक्षा उपकरणको यथोचित् बन्दोबस्त मिलाउनुपर्छ।
अर्को पक्ष पनि छ। सुरूमा थोरै भाइरसको सम्पर्कले थोरै असर देखाउँछ भन्नुको मतलब उनीहरूलाई रोग बल्झिने कुनै डर छैन भन्ने होइन।
मान्छे थोरै भाइरसको सम्पर्कमा आएको होस् या धेरै, शरीरभित्र प्रवेश गरिसकेपछि त्यो भाइरसको संख्या गुणात्मक रूपले वृद्धि हुन थाल्छ।
मानौं, बजारमा किनमेल गर्न जाँदा तपाईं एकाध सेकेन्ड मात्र कोरोना लागेका व्यक्तिको सम्पर्कमा आउनुभयो। त्यो एकाध सेकेन्डमा थोरै भाइरस तपाईंको शरीरमा छिर्यो। अब त्यो भाइरस शरीरभित्र पसेपछि आफूलाई दोब्बर, तेब्बर संख्यामा वृद्धि गर्दै शक्तिशाली हुन थाल्छ। तपाईंको रोग प्रतिरोधात्मक क्षमता र भाइरसबीच लडाइँ सुरू हुन्छ।
यहाँ तपाईंको प्रतिरोधात्मक क्षमताले भाइरसलाई पछार्न सक्यो भने तपाईंलाई केही हुन्न। त्यसको ठिक उल्टो, भाइरसले नै तपाईंको प्रतिरोधात्मक क्षमतालाई पछार्यो भने तपाईं बिरामी पर्नुहुन्छ। त्यही थोरै भाइरस केही समयमा धेरै भएर आफ्नो गम्भीर असर देखाउँछ।
त्यसैले, जसको प्रतिरोधात्मक क्षमता कमजोर छ वा जसलाई पहिल्यैदेखि अरू विभिन्न रोग लागेको छ, ऊ थोरै भाइरसको सम्पर्कमा आउनु पनि जोखिमपूर्ण हुनसक्छ।
भाइरस विशेषज्ञहरूले लामो समयको अनुसन्धानबाट भाइरसको मात्राअनुसार असर फरक पर्छ भन्ने पुष्टि गरेका छन्। यसका लागि उनीहरूले केही मुसालाई भाइरस संक्रमण गराएका थिए। थोरै भाइरस संक्रमण गराइएको मुसामा खासै लक्षण देखिएन। जबकि, धेरै भाइरस संक्रमण गरिएका मुसाको मृत्यु भयो।
जनावरहरूमाथि गरिएको प्रयोगशाला परीक्षणले कोरोना लगायत अन्य भाइरल संक्रमणमा यही नतिजा देखाएको छ।
मान्छेमा पनि भाइरस संख्याले के असर पार्छ भनेर थुप्रै अनुसन्धान भएका छन्। एक अनुसन्धान क्रममा रुघाखोकी र पखाला लाग्ने भाइरसबाट केही व्यक्तिलाई संक्रमण गराइएको थियो। जसलाई थोरै भाइरसको सम्पर्कमा ल्याइयो, उनीहरूमा खासै लक्षण देखिएन। तर, जो धेरै भाइरसको सम्पर्कमा आए, उनीहरूमा रुघाखोकी र पखालाको धेरै लक्षण देखियो।
कोरोना भाइरसका हकमा भने यही अनुसन्धान मान्छेमा गर्नु नैतिक रूपले गलत हुनेछ। परीक्षण क्रममा भाइरसको मात्रा धेरै पर्यो भने मान्छेको ज्यान जान सक्छ। तर, सार्स महामारीका क्रममा देखिएको नतिजाले हामी केही निष्कर्षमा पुग्न सक्छौं।
सन् २००३ मा हङकङमा सार्स फैलिँदा एक जना बिरामीले आफू बस्ने अपार्टमेन्टका धेरैलाई रोग सारेका थिए। उक्त अपार्टमेन्टमा १९ जनाको ज्यान गएको थियो। बिरामीले खोक्दा वा हाच्छिउँ गर्दा भाइरसका कण हावामा फैलिएर अपार्टमेन्टभरि रोग सल्किएको मानिन्छ।
यो घटनामा बिरामीको कोठानजिक बस्नेहरू बढी संक्रमित भएका थिए। पटक–पटक बिरामीको सम्पर्कमा आउँदा उनीहरूलाई धेरै भाइरस सरेको थियो। जबकि, उक्त अपार्टमेन्टबाट टाढा बस्नेलाई संक्रमण भए पनि खासै गम्भीर लक्षण देखिएको थिएन।
थोरै भाइरसको सम्पर्कमा आउँदा यदि हाम्रो प्रतिरोधात्मक क्षमताले जित्यो भने त्यो एक किसिमले फाइदाजनक नै हुन्छ। हाम्रो शरीरमा संक्रमणबिनै भाइरसविरुद्ध लड्ने क्षमता विकास हुन्छ। यसले भविष्यमा हामी कसैगरी धेरै भाइरसको सम्पर्क आयौं भने पनि जोखिम कम हुन्छ।
मानव सभ्यताको विकासक्रम हेर्दा भाइरस वा ब्याक्टेरियाविरुद्ध खोप विकास हुनुअघि चिकित्सकहरूले जानाजान स्वस्थ व्यक्तिहरूलाई संक्रमण गराएको इतिहास छ। बाह्रौं शताब्दीमा ठेउला रोग लागेका बिरामीको घाउबाट पिप वा पाप्रा निकालेर स्वस्थ व्यक्तिको छालामा घस्ने चलन थियो। यसो गर्दा थोरै भाइरसको सम्पर्कमा आएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता विकास हुन्थ्यो। उनीहरू भविष्यमा आउनसक्ने ठेउलाको महामारीबाट बच्थे।
यति मात्र होइन, ठेउला लागेर बाँचेका व्यक्तिहरूको सूचीसमेत राखिन्थ्यो। अर्कोचोटि महामारी फैलिँदै उपचारको जिम्मा सूचीमा नाउँ परेकाहरूको हुन्थ्यो।
लामो समयदेखिको अभ्यास र वैज्ञानिक अनुसन्धानबाट समेत भाइरसको मात्रा र संक्रमण जोखिमबीच प्रत्यक्ष सम्बन्ध छ भन्ने थाहा हुँदाहुँदै यसपालि बेवास्ता गरिनु ठूलो गल्ती हो। जसको नतिजा चीनका युवा स्वास्थ्यकर्मीहरूले भोग्नुपर्यो।
अमेरिकामा पनि यस्तै स्थिति छ। त्यहाँ कम्तिमा दुई जना इमर्जेन्सी डाक्टर गम्भीर बिरामी भए। दुवै ४० वर्ष उमेरका थिए।
उता, इटालीबाट प्राप्त तथ्यांकलाई आधार मान्ने हो भने, त्यहाँ स्वास्थ्यकर्मीहरूको मृत्युदर खासै धेरै छैन। तर, जो–जो मारिए, उनीहरूमा संक्रमणको असर निकै गम्भीर थियो।
यसबाट के बुझ्नुपर्छ भने, जो व्यक्ति धेरै भाइरस सम्पर्कमा आउने काममा संलग्न छन्, उनीहरूको निम्ति पर्याप्त सुरक्षा सामग्री उपलब्ध हुनुपर्छ। सँगसँगै, धेरै भाइरस सम्पर्कमा आउन सक्ने अवस्थाबाट हामीले आफूलाई टाढा राख्नुपर्छ।
भाइरसबाट बच्न एकअर्कासँग कम्तिमा छ फिटको दुरी राख्नुपर्छ र साबुनपानीले पटक–पटक हात धुनुपर्छ भनेको त्यही भएर हो। हाम्रो हातमा धेरै भाइरस टाँसिएको छ भने त्यही हातले नाकमुख छुँदा एकैचोटि धेरै भाइरसको सम्पर्कमा आउँछौं। बन्द कोठाभित्र वा कम दुरीमा उभिएर अर्को व्यक्तिसँग लामो समय कुराकानी गर्दा पनि धेरै भाइरस सम्पर्कमा आउने जोखिम बढ्छ।
तपाईं यो लकडाउन बेला बिहान–बेलुकी तरकारी किन्न पसल जानुहुन्छ भने फर्केर आएपछि साबनुपानीले हात धुन नबिर्सनुस्। तरकारी किनेपछि दोकानदारलाई पैसा तिर्दा कम्तिमा छ फिट टाढै उभिनुस्। र, जतिसक्दो छिटो पसलबाट निस्कनुस्।
याद राख्नुस्, पसलमा कोही संक्रमित व्यक्ति छ भने तपाईं उसको जति नजिक जानुभयो र जति धेरै बेर बस्नुभयो, त्यति नै धेरै भाइरस तपाईंलाई सर्नेछ। आफूलाई सुरक्षित राख्न अनुहार टम्म मास्कले ढाक्न नबिर्सनुहोला।
लकडाउन सकिएपछि पनि भाइरसबाट बच्न व्यक्तिगत दुरी र साबुनपानीले हात धुने अभ्यास कायम राख्नु जरुरी छ।
भाइरस फैलिन नदिनु हाम्रो सामाजिक दायित्व हो, सँगसँगै धेरै भाइरस सर्ने जोखिमबाट टाढा बस्नु आफ्नो व्यक्तिगत सुरक्षा।
(न्यूयोर्क टाइम्समा प्रकाशित जोशुआ डी रबिनोविच र क्यारोलिन आर बार्टम्यानको लेखको भावानुवाद। डा. रबिनोविच रसायनशास्त्र र जीवाणुशास्त्रका प्राध्यापक हुन् भने डा. बार्टम्यान जीवाणुका अनुसन्धाता हुन्।)