आशा डंगोल र एरिना ताम्राकारलाई अचेल घर नै स्टुडियो भएको छ। यी दुई कलाकार दम्पती हुन्, चित्र बनाउँछन्।
कोरोना आतंक फैलिँदै नेपालसम्म आउनेक्रममा उनीहरूमा एउटै डर थियो– चित्रै बनाउन नपाइने हो कि!
कुपन्डोलस्थित स्टुडियोमा एक महिनादेखि संयुक्त चित्र बनाइरहेका थिए। कोरोना त्रासले बजार सुनसान बन्दै जान थाल्यो। लकडाउनको दुई–चार दिनअघि मात्रै सल्लाह गरेर केही क्यानभास र रङ घर ल्याए। स्थिति बिग्रिएर बन्दै हुनसक्ने अनुमान गरेका थिए। भयो त्यही।
दस दिनदेखि घरैमा काम गरेर आफूलाई व्यस्त बनाइरहेका छन्।
'यो समयलाई सिर्जनशील बनाउने प्रयास गरिरहेका छौं,' आशाले भने, 'एक महिनादेखि हामी आ–आफ्नो शैली पछ्याउँदै सँगै काम गरिरहेका थियौं। हरेक दिन कोरोनाको खबर सुनिरहँदा अचेल हाम्रो काममा पनि प्रभाव देखिन थालेको छ।'
एरिना लामो समयदेखि महिला अनि 'थर्ड आई (तेस्रो नेत्र)' मा काम गरिरहेकी छन्। यता आशाका चित्रमा वातावरण, संस्कृति अनि विज्ञान जोडिएर आउँछन्। समाजमा भइरहेका घटनालाई आफ्ना चित्रशैलीसँग खेल्न दुवै रूचाउँछन्। त्यसैले त कोरोनाले राज गरिरहेको समयमा उनीहरूको संयुक्त चित्रमा मास्क र भाइरस थपिएको छ।
वातावरण प्रदूषणको प्रभाव झल्काउँदै आशाले आफूले बनाएका चित्रमा पहिलेदेखि नै मास्कको काम नगरेका होइनन्। अहिलेका चित्रमा भने एरिनाका महिला पात्र मास्कमा देखिन्छन्।
'वातावरण प्रदूषणले मान्छेलाई मात्रै होइन, भगवानलाई पनि असर पुर्याइरहेछ भन्ने हिसाबमा उनीहरूलाई मास्क लगाइदिन्थेँ,' आशाले भने, 'एरिनाको मास्क वर्तमान अभावको रुपमा आएको छ। मास्क एकदम साधारण तर अहिलेको अवस्थामा नभई नहुनेजस्तो भएको छ।'
संसारभर फैलिरहेको कोरोनाले एरिनाको दिमागलाई पनि सशंकित बनाएको थियो।
'घरमा परिवारसँग बस्दा पनि मास्क लगाउनुपर्ने हो कि?' भन्ने जस्ता कुरा उनको दिमागमा खेल्थ्यो। घरमा नलाए पनि घरैमा बसेर बनाएका चित्रका पात्रमा उनले मास्क लगाइदिइन्।
'हाम्रो घर खुल्ला ठाउँमा छ। दायाँबायाँ सबै खेत भएकाले घरहरू खासै छैनन्,' खुमल्टारस्थित आफ्नो बासस्थानको पृष्ठभूमि बताउँदै उनले भनिन्, 'बाहिरका मान्छे पनि कोही नआउने भएपछि मास्क लगाउन जरुरी ठानेनौं।'
एरिनालाई आफ्नो चित्रमा अर्को कुरा पनि परिमार्जन गरौं जस्तो लागेको रहेछ– तेस्रो नेत्रलाई नै कोरोना भाइसको संकेत बनाएर। फेरि अर्को मनले सोच्यो – मास्कले सुरक्षित बनाएको देखाएको छु, निधारमा भाइरस टाँस्दा कोरोना नै लागेको जस्तो नकारात्मक किन बनाउने?
अलमल भएपछि श्रीमान आशासँग सल्लाह लिइन्।
'हामी काम सकारात्मक देखाउन चाहन्थ्यौं। आशाले पनि नराख्दै राम्रो होला भन्ने सल्लाह दिए,' उनले भनिन्, 'मनमा आए पनि चित्रको पृष्ठभूमिमा मात्रै त्यो भाइरस देखायौं।'
एरिनाले तेस्रो नेत्रको काम गर्न थालेको करिब आठ वर्ष भयो। काम गर्दै जाँदा उनलाई भगवानमा हुने तेस्रो नेत्र त महिलालाई चाहिन्छ भन्ने महशुस हुन थाल्यो। किनभने कति महिला उत्पीडन, हिंसा र हेपाइ सहँदै बाँचिरहेका छन्। आफ्नै परिवेश बुझ्न पनि उनीहरूलाई तेस्रो नेत्र चाहिन्छ भन्ने ठानिन्।
उनका चित्रका महिला पात्र सिधा हेर्दैनन्। आँखा चिम्म वा कतै हेरिरहेका हुन्छन्। सोचिरहेको, ध्यान गरिरहेको वा आफ्नो दुःखलाई मनन गरिरहेजस्तो, दर्शकले आफ्नै हिसाबमा बुझून् भन्ने एरिना चाहन्छिन्।
ठूलो क्यानभासमा महिला पात्र र तेस्रो नेत्र एरिनाको शैली नै बनिसक्यो। धेरैले उनलाई भन्छन् पनि, 'तिमीले चित्रमा हस्ताक्षर नगर्दा पनि फरक पर्दैन।'
उनी पहिला सधैं रातो रङसँग खेल्थिन्। रातो रङलाई शक्तिका रूपमा लिइन्छ। सांस्कृतिक रङ अनि मान्छेको रगत पनि रातै हुन्छ। त्योबाहेक झट्ट हेर्दै मान्छेलाई तान्ने रङ पनि हो।
पछिल्लो समय भने उनी रातो छाडेर निलो, हरियो, सुन्तला लगायत अन्य रङसँग पनि खेलिरहेकी छन्।
'अहिले रङ किन परिवर्तन भयो भन्दा समय पनि त परिवर्तन भइरहेको छ नि,' उनले भनिन्, 'यो समय महिला, पुरुष अनि व्यक्तिगत शक्तिभन्दा फरक छ। समय नै फरक र जटिल भएको हुँदा अन्य रङ आएको ठिकै होला।'
लकडाउनले घरैमा थन्काए पनि एकै ठाउँ बस्न सक्ने एरिना र आशाको स्वभाव होइन। यसरी लामो समयसम्म बसेको सम्भवतः पहिलो पटक भएको उनीहरू बताउँछन्।
'दसैं बिदामा पनि बस्न नसकेर दुई दिनमै हामी काममा फर्किहाल्थ्यौं। अहिले त विकल्प पनि त छैन,' एरिनाले भनिन्।
उनलाई आमाले पनि फोन गरेर बारम्बार सोधिरहन्छिन् रे, 'तिमी कसरी बसिरहेकी छौ हँ? बस्न त सकिरहेकी छौ नि?'
यस्तो अवस्थामा परिवार सँगै छन् भनेर एरिना चित्त बुझाउँछिन्।
'हामी बसेको आफ्नो मात्रै नभई अरूका लागि पनि त हो नि,' उनले भनिन्, 'काम गर्न पाएन भने छटपटी हुन्थ्यो। तर पाइरहेकाले सामान्य तरिकाले बिताइरहेका छौं।'
एरिना र आशा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर पढ्दादेखिका साथी हुन्। पछि 'काष्ठमण्डप' भन्ने समूहमा सँगै काम थाले। त्यसैबीच उनीहरूको प्रेम बस्यो र १८ वर्षदेखि वैवाहिक जीवन बिताइरहेका छन्।
'मलाई चित्रै बनाएर जिन्दगी बिताऊँ भन्ने हुन्थ्यो। अरू क्षेत्रको मान्छेसँग बिहे गर्दा अन्तिम समयसम्म चित्र बनाउन पाउँदिन होला भन्ने कुराले पिरोल्थ्यो,' एरिनाले भनिन्, 'आशा र मेरो कुरा पनि मिल्ने भएपछि हाम्रो सम्बन्ध विवाहसम्म पुग्यो।'
उनीहरूले चित्रलाई पेसा बनाएको २५ वर्षभन्दा बढी भइसक्यो। पहिलो पटक संयुक्त चित्र भने सन् २०१० मा बनाएका थिए। त्यसयता धेरै काम गरिसके। लकडाउन अर्को अवसर बनेर आएको छ।
एकसाथ काम गर्दा कहिलेकाहीँ उनीहरूबीच रमाइलो तरिकाको मनमुटाव पनि हुन्छ। एरिनाले भरेको रङ आशालाई मन नपर्ने, आशाले भरेको एरिनालाई। दुवैको कुरा नमिलेपछि सहमति हुन्छ– यो पछि बनाउँला, अब अर्कोमा काम गरौं।
बिहानदेखि सुत्ने समयसम्म चित्र बनाएर, चित्रैको कुरा गरेर उनीहरू थाक्दैनन्। समस्या पर्दा एकअर्काका साथी बन्छन्। कलाकार दम्पती बन्नुको फाइदा!
'कहिलेकाहीँ त समस्या भन्नै पर्दैन, आफैं बुझ्छौं। कलाकारको जीवन सजिलो हुँदैन। दुःखबाटै सुख हुन्छ भन्ने हामीले बुझेका छौं,' गुरु प्रशान्त श्रेष्ठलाई सम्झँदै एरिनाले भनिन्।
१२ जनाको संयुक्त परिवार अनि एउटा कुकुर उनीहरूको दैनिकीका हिस्सा हुन्। लकडाउन उनीहरूसँग अझै नजिकिने अवसर बनेर आएको छ। चित्र अनि घरायसी कामले व्यस्त बनाएको बताउँछन्।
कोरोनाले सामाजिक दुरी बनाउनु परेको छ। यो दुरी कलाकारहरूलाई राम्रो हो। त्योबाहेक सामाजिक सञ्जालको दुरीले पनि काममा सघाउँछ। आफ्नो काम देखाउने राम्रो ठाउँ भने सामाजिक सञ्जाल नै भएको यी दुई मान्छन्।
'इ आर्ट्स नेपाल' भन्ने अनलाइन ग्यालरीमार्फत् लकडाउन समयमा विभिन्न कलाकारको काम पनि राखिरहेका छन्। संयोजकका रूपमा आशाले भूमिका निर्वाह गरेको ग्यालरीमा प्रत्येक दिन साँझ पाँच बजे दुई कलाकारको चित्र राखिन्छ, जुन दुई सातासम्म चल्नेछ।
केही दिनयता एरिनाले फेसबुकमा आफू र आशा मिलेर बनाएको संयुक्त चित्र राखिरहेकी छन्।
'सामाजिक र सामाजिक सञ्जालको दुरी कलाकारलाई आवश्यक भए पनि यहाँ आउने प्रतिक्रियाले हामीलाई अझै राम्रो गर्न हौसला दिन्छ,' एरिनाले भनिन्, 'यो समयमा हामीजस्तै सिर्जनशील कार्य गरेर बिताउँदा राम्रो होला।'