२०७२ को विनाशकारी भूकम्पपछि जन्मेको हो, मेची अभियान।
विपदको मारमा परेकालाई सहयोग गर्ने अभियानको मुख्य लक्ष्य थियो। त्यसयता मुर्झाएको अभियानलाई कोरोना कहरले फेरि ब्युँझाएको छ।
यो साझा नमूना अभियान मंगलबारदेखि फेरि सुरू भएको छ। जसलाई फुड बैंकका रूपमा पनि हेरिएको छ। भूकम्पका बेला स्थापना भएको अभियान झापाको मेची नगरपालिकाको साझा अभियान हो।
यो अभियानलाई नगरका सबै दल, सामाजिक संघ संस्थाका प्रमुखले नेतृत्व गरिरहका छन्।
भूकम्पका बेला औषधि, खाद्यान्न, लत्ताकपडा, अस्थायी छाप्रा, त्रिपाल, भाडावर्तन र ढुवानी साधन दिएर सरकारलाई सघाएको यो अभियान स्थानीय राजनीतिक दल र सामाजिक संघ संस्थाका प्रमुखको परिकल्पनामा स्थापना भएको थियो।
मुलुक यतिबेला कोरोना भाइरस(कोभिड १९) संक्रमणको उच्च जोखिममा छ। मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर सुरू भएको लकडाउनको ८ दिन बित्दा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवार खाद्यान्न अभावको संकटमा परेका छन्। अति विपन्न र मजदूरी गर्ने परिवारका लागि यो अभियान सारथी बन्ने अभियन्ताहरू बताउँछन्।
कोरोना संक्रमणको जोखिमका बेला मेचीनगरमा पुन: क्रियाशील भएको साझा अभियानले मुलुकमै नयाँ सन्देश दिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
‘यो अभियान मेचीनगरबाट सुरू भए पनि यसको अनुसरण मुलुकभरका राजनीतिक दलका कार्यकर्ता र सामाजिक संघसंस्थाले गर्न जरूरी छ’, उनले भने।
मेची अभियान स्थापना भएको ५ वर्षपछि दोस्रोपटक चैत १२ गते सक्रिय भएको हो।
यसपटक भने मेची साझा अभियानले ‘फुड बैंक’ स्थापना गरेको छ। मेचीनगरमा कोही पनि नागरिक लकडाउनका कारण खाद्य सामग्री नपाएर भोकै बस्न नपरोस् भन्दै यो अभियान पुन: सक्रिय पारिएको मेची नगरका युवा व्यवसायी तथा अभियानका अध्यक्ष विजय डालमियाले बताए।
‘हामी खान बोलाउँदैनौं। खान नपाएकाको घरैमा फुड बैंकमा जम्मा भएका नगदले खाद्य पदार्थ खरिद गरेर मेचीनगरपालिकाले निर्धारण गरेको मापदण्डअनुसार पुर्याइदिन्छौं,’ अध्यक्ष डालमियाले भने।
फुड बैंकमा जम्मा भएको नगदले नगरपालिकाले निर्धारण गरेको १५ किलोग्राम चामल, २ किलोग्राम मुसुरो दाल, १ किलो ग्राम नुन, आधा लिटर तेल, ३ किलोग्राम आलु अति विपन्न परिवारले पाउने छन्।
फुड बैंकमा नगद जम्मा हुन थालेको अभियानका अध्यक्ष डालमियाले बताए। ‘मेचीनगरका बासिन्दा कोही पनि भोकै बस्नु नपरोस् भन्ने मेची नमूना अभियानको मूल उद्देश्य हो,’ उनले भने।
दैनिक ज्यालादारी मजदुरी गर्ने र घरको चुलो बल्न बन्द भएका परिवारको तथ्यांक स्थानीय पालिकासँग माग गरेर अभियानका सदस्यले उनीहरूकै घरमा रासन पुर्याउन सुरू भएको छ। मुलुक संकटमा परेको बेला सरकारलाई सघाउने अभियान मेचीबाटै सुरू हुने गरेको स्थानीयले बताएका छन्।