देशभर लकडाउन भएको चार दिन भइसक्यो। अत्यावश्यक सेवाबाहेक सडकमा मान्छेको हिँडडुल नगन्य छ। यस्तो बेला धेरै मान्छेले आपतकालीन अवस्था पनि झेल्नु परेको छ। निजी साधन चलाउन रोक र एम्बुलेन्स पनि सहज उपलब्ध नहुने भएपछि धेरै बिरामीलाई अस्पताल पुग्न समस्या भएको छ।
झापा, बिर्तामोडका अर्जुन भट्टराईले यो अवस्थामा आफ्नो निजी गाडीबाट निःशुल्क सेवा दिने घोषणा गरेका छन्। लकडाउन सुरू भएको दिनै उनले सर्वसाधारणका आपतकालीन स्थितिमा आफ्नो गाडी एम्बुलेन्ससरह प्रयोग गर्ने बताएका हुन्।
'यो बेला सबैको स्थिति उस्तै हुन्छ भन्ने छैन। कसैलाई ठूलो चोटपटक लागे वा गम्भीर स्वास्थ्य समस्या भएको खण्डमा यो सेवा पुर्याउने निर्णय गरेको हुँ,' सेतोपाटीसँग अर्जुनले भने। उनले दुई दिनदेखि यो सेवा प्रदान गरिरहेका छन्।
उनको आफ्नै ढुवानी व्यवसाय छ। पेसागत रूपमा व्यवसायी भए पनि यसअघि समाज सेवाका काममा खटिने गरेको उनी बताउँछन्। झन् अहिले केही नगरी बस्न उनको मनले मानेन।
'घरमा आफ्नो साधन छ, उता मान्छेहरू साधन नपाएर बेलैमा अस्पताल पुग्न सकेका छैनन्,' उनी भन्छन्, 'फेरि एम्बुलेन्स पनि भनेको बेला उपलब्ध नहुन सक्छ। त्यसैले आफूले गर्न सक्ने ठाउँबाट सेवा गर्न खोजेको हुँ।'
उनले आफ्नो फेसबुक मार्फत यो सेवा घोषणा गरेलगत्तै धेरै ठाउँबाट उनलाई फोन आएको बताए। उनी दुई दिनदेखि रातदिन नभनी बिरामी परेकालाई अस्पताल लगिरहेको उनको भनाइ छ।
'बिरामी लिएर अस्पताल जाँदा कयौं पटक प्रहरीले बाटो छेक्नुभएको छ। उहाँहरूले हाम्रो स्वास्थ्यका लागि त्यसो गर्नुभएको हो। तर आपतमा सबैले बुझ्न जरुरी छ' उनले भने, 'पास नभई गाडी चलाउन दिएको छैन। पास उपलब्ध पनि गराइएको छैन। कहिले त प्रहरीबाट छलेर लामो बाटो घुमेर अस्पताल जानुपर्छ।'
अर्जुनका अनुसार इलामदेखि गाडीका लागि फोन आइरहेको छ। तर उनले धेरै टाढा सेवा पुर्याउन सकेका छैनन्। उनी घरदेखि एक-दुई किलोमिटरसम्म मात्र हिँडिरहेको बताउँछन्ऽ
यदि प्रशासन तहबाट सेवा उपलब्ध गराउन पाउने अनुमति पाए धेरैलाई सेवा दिन सक्ने उनको भनाइ छ। गाडी चलाउन नदिएको अवस्थामा बिरामीलाई बाइकमा राखेर भए पनि लगेको उनी बताउँछन्।
भन्छन्, 'घरभित्र बस्न जरुरी छ। तर विपतमा परेकालाई सेवा दिन पनि उत्तिकै आवश्यक। बाहिरको स्थिति देखेर मेरो परिवार पनि डराउनुभएको छ। तर आफ्नो धर्म छोड्नु हुँदैन भनेर सम्झाइरहेको छु।'