सामाजिक सञ्जाल कोरोना भाइरसका खबरले भरिएको छ। कोरोनाबारे चेतनामूलक जानकारी दिनेदेखि भ्रामक भिडिओको बिगबिगी उत्तिकै छ। तर सामाजिक सञ्जालको एक कुनामा अरू कुराले पनि चर्चा पाइरहेकै छन्।
तिनैमध्ये एउटा भिडिओ छ- एक युवक वसन्तपुर क्षेत्रमा गायक सुशान्त केसीको 'आमा' बोलको गीत गाउँदै छन्। उनको छेउमा खत्र्याकखुत्रुक पैसा भएको सानो बाकस छ, जहाँ लेखिएको छ– फर स्टडी, अर्थात् अध्ययनका निम्ति।
करिब सात महिनाअगाडि खिचिएको उक्त भिडिओमा देखिएका युवक स्यामुअल तामाङ हुन्। वसन्तपुरमा गीत गाउँदै गरेको उनको भिडिओ कसैले खिचेर फेसबुकमा हालिदिएका रहेछन्।
'कसले खिचेर इन्टरनेटमा हालेको रहेछ थाहा भएन। साथीहरूले सुनाएपछि अहिले भाइरल भइरहेको थाहा पाएको हुँ,' सेतोपाटीसँगको टेलिफोन वार्तामा स्यामुअलले बताए।
२० वर्षीय स्यामुअल व्यावसायिक गायक होइनन्। उनको घर रसुवा हो। आमाबुवा उतै छन्। ६ जनाको परिवारका कान्छा छोरा उनकी ठूली दिदी कुवेतमा, सानी दिदी साइप्रस र दाजुभाउजू काठमाडौं बस्छन्। तर उनको आड–आधार उनी आफैं हुन्।
पढ्न भनेर काठमाडौं आएका उनी एक्लै पुतलीसडकमा कोठा भाडा लिएर बसेका छन्। 'बिजेश्वरी फाइन आर्टस्' कलेजमा कक्षा बाह्र पढिरहेका उनी आफ्नो सबैजसो खर्च जुटाउन सडकमा उभिएर गाउँछन्। प्रायः वसन्तपुर क्षेत्र वरिपरि गाउने उनको कलेज खर्च पनि यसैबाट जुट्छ।
कोरोनाका कारण कलेज जाने बाटो मात्र होइन, स्यामुअलको कमाइको बाटो पनि बन्द भएको छ।
'गाउन नपाउँदा कमाइ ठप्प हुन्छ। घरको आर्थिकस्थिति कमजोर छ। सबै खर्च आफैं जुटाउनु पर्छ। अहिले कोठा भाडा तिर्ने पैसासमेत छैन,' उनी मलीन सुनिन्छन्। बाहिर गएर आफ्नो आवाज निखार्दै गाउने रहर छ, खाँचो पनि।
'मन भएर भएन, अवस्था यस्तो छ,' उनी दिक्दारी सुनाउँछन्।
स्यामुअलले पहिले दाजुभाउजूसँगै बालाजुमा बसेर स्कुल तह पढे, 'एसइई सकेपछि उहाँहरूसँगै बस्न नमिल्ने भयो। आर्थिक अवस्था कमजोर भएकाले आमाबुबाले सहयोग गर्ने अवस्थै थिएन।'
अभाव भए पनि उनमा आफ्नो पढाइ अघि बढाउने सपना थियो। सपना पूरा गर्न जागिर खोज्नुपर्ने भयो। दुःख पोख्छन्, 'जहाँ पनि पहिल्यै काम गरेको अनुभव माग्थे। काम खोज्दाखोज्दा दिक्क भएँ।'
जागिर खोज्ने चक्करमा काठमाडौंका सडक र गल्ली भौंतारिनु जीवनकै संकट चरण थियो रे उनलाई। न परिवारको साथ, न पढ्न पाउने आशा। उनले देखेको उज्यालो भविष्यको सपनामा एकाएक बादल माडारिन थालिसकेको थियो।
'हिम्मत भने हारेको थिइनँ। जसरी पनि काठमाडौंमा टिक्नु थियो। जसोतसो पुतलीसडकमा कोठा लिएँ। कोठासँगै खाने खर्च, भाडा, कलेजको चिन्ता थपियो।'
स्यामुअलले कक्षा आठ पढ्दा कुवेतमा भएकी दिदीलाई आग्रह गरेर गितार किनेका थिए। सुखदुःखका क्षणमा उनी त्यही गितार समाएर मन बहलाउँथे। काठमाडौंको कोलाहलमा एक्लै बाँचिरहेका उनलाई गितारको संगीतमा हराउन मनपर्थ्यो।
'सम्पत्तिको नाममा त्यही एउटा गितार थियो। एकदिन स्कुलमा गाउँदै गर्दा साथीहरूले मेरो स्वरको तारिफ गरेको सम्झिएँ,' उनले भने। त्यसैबाट आम्दानी गर्न सकिन्छ भन्ने उपाय उनले देखे।
अनि सुरू भयो उनको सडक-गायन यात्रा।
उनी आफूलाई धेरै राम्रो गायक मान्दैनन्। तर गीत उनका लागि पैसा कमाउने बाटोमात्रै होइन, मनको पिर भुलाउने बहाना पनि हो, भन्छन्, 'गितार बजाउँदै गीत गाउँदा बेग्लै आनन्द आउँछ, सबै पीडा भुल्छु।'
स्यामुअलका सदावहार प्रिय नारायण गोपाल हुन्, उनक गीतमा हराउन रुचाउँछन्। वसन्तपुरमा गाउँदागाउँदै भविष्यमा राम्रो गायक बन्ने सपना पनि देख्न थालेका छन्।
भन्छन्, 'यो सपना पूरा गर्न सजिलो नहोला, तर आत्मविश्वास छ।'
शुक्रबार र शनिबार गरी साताको दुई दिन वसन्तपुर जाने उनी चारदेखि छ बजेसम्म दुई घन्टा नियमित गाउँछन्। यसरी गाउँदा चार-पाँच हजारसम्म कमाइ हुने उनको भनाइ छ। यो आम्दानी उनका लागि पर्याप्त छैन।
'अहिले भर्ना शुल्क मात्र तिर्न सकेको छु। मासिक शुल्क तिर्न सकेको छैन,' उनी भन्छन्, 'कलेजमा पैसाका लागि किचकिच सुन्नुपर्ने डरले लामो समय अनुपस्थित हुनु परेको छ।'
आर्थिक कारणले पढाइमा अवरोध झेलिरहेका स्यामुअल अहिले कोरोना समस्याका कारण झनै समस्यामा परेको बताउँछन्। उनीसँग आम्दानीको विकल्प छैन। खानपिनदेखिका दैनिक खर्च पनि कहाँबाट जुटाउने समस्या परेको दुःख सुनाउँछन् उनी, 'चिनजानका दिदीसँग दुई हजार सापटी मागेर काम चलाउनु पर्ला।'
वसन्तपुरमा गीत गाएर गुजारा चलाउने कुरा उनले घरका मान्छेलाई भनेका छैनन् रे। बाटोमा गीत गाउने कामलाई हेयको नजरले हेरिने भएकोले परिवारलाई अनावश्यक झन्झट दिन नचाहेको उनी बताउँछन्।
कोरोना त्रास बेला सबै घरघर बसेका छन्। सामाजिक सञ्जाल चहार्छन्। केहीलाई स्यामुअलको भिडिओले पनि सकरात्मक ऊर्जा दिएको छ।
उनी भने दुःखमा भए पनि समझदार बनेका छन्, 'पहिल्यै दुःखमा थिएँ, कोरोनाले थप संकट बढाइदियो। तर यो दुःख मलाई मात्रै परेको हैन। फेरि वसन्तपुरमा उभिएर गाउने दिन छिट्टै आओस्। मजस्तै धेरैको संकट टरोस्।'