केही दिनअघि काठमाडौं घुम्न आएका एक विदेशीले स्ट्याटस लेखे- यहाँ आइसोलेसनमा बस्न ठाउँ पाइनँ।
यो पोस्ट देखेपछि युवा व्यवसायी चिराग गोयलले मनकारी उपाय फुराए। चिरागले क्वारेन्टाइन बस्न चाहनेलाई आफ्नो घर उपलब्ध गराइदिने भए। त्यहाँ १४ दिनसम्म कुनै पैसा नलिई बस्न पाइने भन्दै सामाजिक सञ्जालमा खबर फैलाए।
मंगलबार चिरागले आफ्नो फेसबुक पोस्टमार्फत् काठमाडौं, सिफलस्थित तीन तले घर क्वारेन्टाइन तथा आइसोलेसनका लागि आश्रय लिन चाहनेलाई बस्न दिने उल्लेख गरेका हुन्। यो घर केही समययता खाली नै छ।
'कोरोना भाइरसको विपत समयमा नेपाली तथा विदेशीलाई काठमाडौंमा एक्लै बस्ने ठाउँ पाउन समस्या परिरहेको छ। धेरैलाई होटलमा बस्न नसक्ने अवस्था छ। पैसा नि हुँदैन,' चिरागले सेतोपाटीसँग भने, 'यो समयमा आफ्नो खाली घर उपलब्ध गराएर सहयोगी हात अघि बढाउन खोजेको हुँ।'
चिराग आफैं त्यहीँ नजिकैको घरमा बस्छन्। उनका अनुसार पुरानो घर खाली भएको र यसअघि कुनै कलेजलाई भाडामा दिने सोच थियो। तर परिस्थिति बुझेर उनले यसलाई कोरोनाको विपदसम्म क्वारेन्टाइनका लागि सित्तैमा बस्न दिने व्यवस्था गरेका हुन्।
घरमा नौ कोठा छन् जसमा तीन बाथरूम, दुई कौसी र टेन्ट राखेर पनि बस्न मिल्ने खुला ठाउँ भएको चिरागले बताए।
यसैगरी लालचन्द्र गौतमले पनि कुलेश्वरस्थित आफ्नो घर क्वारेन्टाइनका लागि दिने बताएका छन्। उनले पनि फेसबुकमै आफ्नो चार तले घरको फोटो पोस्ट गर्दै आइसोलेसनमा बस्न आवश्यक परेकालाई निःशुल्क दिने उल्लेख गरेका छन्।
आफूहरू भैंसेपाटीमा बस्ने र यो घर बेच्ने तरखरमा रहेका लालचन्द्रले यो निर्णय पारिवारिक छलफलपछि लिएको बताउँछन्।
'केही समययता घर खाली थियो। संसारभर संकटकाल लागेको समयमा आफ्नो तर्फबाट हुन सक्ने सानो सहयोग गरेका हौं,' लालचन्द्रले सेतोपाटीसँग भने, 'मिडियामा आउने सोच गरेर यो व्यवस्थापन गर्ने निर्णय लिएको होइन। आवश्यक परेकाहरूलाई विपदबेला सहयोग पुगोस् भन्ने उद्देश्य हो।'
उनलाई आफ्नो घर कोरोनाबाट संक्रमित होला भन्ने चिन्ता छैन। त्यस्तो सोच राख्नु पनि गलत मान्छन्।
'मान्छेहरूले अनावश्यक डर पैदा गरिरहेका छन्। केही होटलले कोठा समेत दिएका छैनन् रे,' उनले भने, 'यस्तो बेला सरकारको काममा भर परेर मात्र हुन्न। आफूसँग भएका स्रोत जरुरी व्यक्तिलाई सहयोग पुर्याएर उपयोग गर्नुपर्छ।'
कुलेश्वरस्थित तीन तले घरमा दुइटा सामानसहितको बेडरुम, दुई किचन, दुई लिभिङ रुम र तीन वटा खाली कोठा रहेको उनले जानकारी दिए।
संसारभर कोरोना संक्रमण फैलिएलगत्तै सरकारले सर्वसाधारणलाई भिडभाडमा नहिँड्न र घरभित्रै बस्न आग्रह गरेको थियो।
'परिस्थिति गम्भीर भयो भने सरकारले मात्र सबैलाई सहयोग गर्न सक्दैन,' चिराग भन्छन्, 'त्यसैले यदि कुनै सरकारी वा गैरनाफामूलक संस्थाले अस्थायी अस्पताल बनाउन चाहन्छ भने म यसलाई निःशुल्क दिनेछु।'
उनी भन्छन्, 'यो चर्चा कमाउन गरेको काम होइन। विश्वमा भइरहेको आपतकालीन समयमा आफूबाट हुनसक्ने सानो सहयोगको प्रयास हो।'
लालचन्द्रले पनि अस्थायी अस्पतालका लागि दिनसक्ने बताएका छन्।
चिराग र लालचन्द्रको घरमा आइसोलेसन बस्नेले खानपिनको व्यवस्था भने आफैं गर्नुपर्नेछ। तर सहयोगका लागि आह्वान गर्न भने सकिनेछ।