किताबमाथि सरकारले लगाएको कर विरूद्ध सिंहदरबारअगाडि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीलाई प्रहरीले छोडेको छ। शुक्रबार सिंहदरबार पश्चिम गेटअगाडि प्रदर्शन गरिरहेका विद्यार्थीको टोलीलाई प्रहरीले पक्राउ गरेको थियो।
दिउँसो साढे तीन बजेतिर पक्राउ परेका विद्यार्थी बेलुकी सात बजेतिर रिहा भएका हुन्। प्रदर्शनमा सहभागी विनोद देउवाका अनुसार उनीहरूलाई सिहंदरबार अगाडि ‘हुलदंगा' गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो र अब पनि यसो गरेमा प्रहरीले फौजदारीको मुद्दा चलाउने चेतावनी दिएको छ।
करिब १५ जना विद्यार्थी दिउँसो साढे तीन बजेतिर सिंहदरबार अगाडि उभिएका थिए। उनीहरूले ब्यानर देखाउँदै 'किताबमाथिको कर खारेज गर' र 'अर्थमन्त्री कहाँ छौ, हामी बहस गर्न तयार छौं' भन्दै नारा लगाएका थिए।
नारा लगाउन थालेको करिब पाँच मिनेटपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनामनगर प्रहरी वृत्त लगेको थियो।
सिंहदरबार पश्चिम गेटमा सरकारले प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ। करिब एक महिनाअघि पनि अधिकांश यिनै विद्यार्थीको समूह यहीँ आन्दोलन गरिरहेका थिए। शान्त रूपमा किताब पढेर प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
आन्दोलनमा सहभागी विनोद देउवाका अनुसार त्यो बेला उनीहरूलाई 'अबदेखि यहाँ आन्दोलन नगर्न' चेतावनी दिएर छाडिएको थियो।
विद्यार्थीहरूले सरकारले आफ्नो आवाज नसुनेको र आफूहरूसँग कुनै विकल्प नभएको भन्दै सिंहदरबार गेटअगाडि फेरि आन्दोलन गरेको बताएका छन्।
'हामीले सबैखाले आन्दोलन धेरै ठाउँमा गर्यौं। तर कसैले सुनेन। यहाँ निषेधित छ भन्ने थाहा छ, तर हामी तयार भएरै आएका छौं,' आन्दोलनमा सहभागी विद्यार्थी तनुजा पान्डेले सेतोपाटीसँग भनिन्, 'घरमा पनि भनेरै आएका छौं। पक्राउ पर्न सक्छौं भनेर। हाम्रो आवाज कतैबाट सुनिएन। त्यसैले आयौं।'
विदेशबाट आयात हुने किताबमा दस प्रतिशत कर लगाउने सरकारी नीतिविरूद्ध उनीहरूले प्रदर्शन गरेका हुन्। सरकारले किताबमा कर लगाएसँगै बजारमा पाठ्यक्रम सम्बन्धी र अंग्रेजी साहित्यका किताब बजारमा अभाव भएको भन्दै उनीहरू आन्दोलन गरिरहेका छन्।
प्रदर्शनक्रममा एक महिनाअघि विद्यार्थीहरूले माइतीघर मण्डल, सिंहदरबार निषेधित क्षेत्र र त्रिचन्द्र कलेज गेटबार्ट याली गरेका थिए। दुई साताअघिदेखि उनीहरूले शान्त रूपमा किताब पढेर प्रदर्शन गर्न थाले। पछिल्लो समय उनीहरूले पाटन दरबार क्षेत्र र माइतीघर मण्डलमा साँझ-साँझ प्रदर्शन गरिरहेका छन्। किताब, कविता पढ्दै उनीहरूले प्रदर्शनको स्वरूप पनि बदलेका छन्।
एक सयभन्दा बढी विद्यार्थीले सुरू गरेको 'किताब माथिको कर खारेज गर' प्रदर्शन सरकारले बेवास्ता गरेको उनीहरूको गुनासो छ।
विनोदका अनुसार अर्थमन्त्रालयमा आफ्नो आवदेन सुनाउन उनीहरू लगातार पाँच दिन त्यहाँ धाए। दिनभरी बस्दा 'मन्त्री भेटाइदिने' कुरा गरेर अन्तमा कसैले वास्ता गरेन। यसपछि उनीहरूले त्रिभुवन विश्वविद्यालयमा पनि ज्ञापनपत्र बुझाएका थिए। यहीबीच त्रिविले पनि किताबको कर हटाउन माग गर्दै कुलपतिलाई पत्र लेखेको थियो।
तर यसमा कसैले वास्ता नगरेको आन्दोलनरत विद्यार्थीको भनाइ छ।
सञ्चारमन्त्रीको समेत जिम्मेवारी पाएका अर्थमन्त्री युवराज खतिवडाले बिहीबार किताबमाथिको कर ठीक भएको भन्दै यसमा बहस गर्न तयार रहेको बताएका थिए।
'हामी पनि अर्थमन्त्रीसँग बहस गर्न तयार छौं। हाम्रो कुरा पनि सुन्नुपर्यो नि सरकारले,' विनोदले भने, 'हामीले केही गर्दा पनि सरकारले सुनेको छैन।'