'दले' भन्ने बित्तिक्कै हामी घर-जग्गा कारोबारीलाई बुझ्छौं। 'दलाल' लाई होच्याउनेगरी भनिने 'दले'हरू आफूलाई खुलेर चिनाउन हिचकिचाउँछन्।
२६ वर्षीय सुमन कोइरालाले भने 'दले' कै रूपमा आफ्नो पहिचान बनाएका छन्। दले बनेरै लोकप्रिय बनेका सुमनले धेरै प्रशंसक कमाइसके।
कमेडी च्याम्पियनमा सुमन ढाका टोपी र कोट लगाएर आएका थिए। मसिनो स्वरमा बोल्ने सुमन ग्राहकलाई राम्रो जग्गा खोजिदिन थाल्छन्।
यसैक्रममा उनी सुनाउँछन्- एकदिन केपी बाकहाँ जग्गाको प्रस्ताव लिएर गएको थिएँ। केपी बा, चार रोपनी खेत छ, बैना मारौं न भनेँ। उहाँले त हुँदैन, म बाहिरका दलालबाट काम गराउँदिन, मेरो काम त विष्णु भाइले हेर्छ भन्नुभयो। मलाई पनि झनक्क रिस उठ्यो। अनि केपी बा, यो गैंडालाई गैंडा होइन, राइनो भन्छन् भन्दै खुर्र भागेँ।
बालुवाटार जग्गा प्रकरणबारे 'दले' सुमनका व्यंग्यसँगै तालीको गड्गडाहट हुन्छ। हलका दर्शक मात्र होइन, उनलाई हेर्ने लाखौंको मन जिते।
कार्यक्रममा वाइल्ड कार्डमार्फत् पुनः भित्रिएका सुमन 'टप-३' मा परेका छन्। वाइल्ड कार्ड भन्नाले प्रतिस्पर्धाबाट बाहिरिएपछि फेरि आउन पाइने अन्तिम मौका हो। सुमनले यही मौका छोपे र 'दले'लाई चैत १ मा हुने फाइनलसम्म पुर्याए।
सुमनका अनुसार सहभागीले आफ्ना 'कन्टेन्ट' कार्यक्रमबाटै पाउँछन्। त्यसलाई उनीहरूले आफ्नै कथा र पात्रमा ढालेर प्रस्तुत गर्नुपर्छ।
'मेन्टर दाइहरूले जग्गा दलालीको विषय दिनुभएको थियो,' सुमनले सेतोपाटीसँग भने, 'सधैं वरिपरि देखिरहने दलाल, तिनका स्वभाव र काम नियालेर दले पात्र बनाएको थिएँ।'
उनका अनुसार यो पात्रलाई उनले आफू टप-१० मा परे प्रस्तुत गर्ने सोचेका थिए। तर उनी अगाडि नै वाइल्ड कार्डमा परे। त्यो बेला उनले अर्को पात्रको प्रस्तुति तयार पारेका थिए। त्यसले उनलाई दुविधामा पार्यो। मेन्टरहरूले दले सुहझाएपछि त्यही गरेको बताउँछन्।
वाइल्ड कार्ड बेला सुमनलाई आफ्नो कन्टेन्ट र पात्रको प्रस्तुति कमजोर हुने डर भने थियो। तर जब चारै जज उठेर ताली बजाए र दर्शकबाट 'वान्स मोर' सुने, विश्वासै भएन रे।
'त्यो बेलासम्म अगाडि जाउँला भन्ने निश्चित थिइनँ,' उनी भन्छन्, 'अन्य सहभागीको पनि दमदार प्रस्तुति भएकाले डर थियो। तर अहिले त्यही प्रस्तुतिका कारण मेरा साथी र दिदीहरूले समेत मलाई दले दाइकै शैलीमा बोलाउनुहुन्छ।'
सुमनको चर्चा रातारात फैलिए पनि उनको यहाँसम्मको यात्रा एक दिनको होइन।
भोजपुरमा जन्मेका सुमनलाई सानैदेखि कलाकार बन्ने इच्छा थियो। स्कुलमा नाटकको चहलपहल हुन्थ्यो। सुमन के भइरहेको हो भन्ने बुझ्थेनन्।
'एक जना दाइलाई सोधेको थिएँ,' सुमनले विगत सम्झिए, 'उहाँले आफूहरू हाँस्यकलाकार भएको बताउनुभयो। अनि मलाई पनि ती मान्छेभन्दा राम्रो कलाकार हुने सोच आयो। सबैको मन जित्छु भन्ने सोचेको थिएँ।'
कक्षा सातसम्म भोजपुरै पढेर उनी इटहरी बसाइँ सरे। उनको कलाकार बन्ने सपना पनि इटहरी आइपुग्यो। घरबाट पैसा चोरेर फिल्म हेर्न जान थाले। जति हेर्दै गयो, फिल्म मोह उक्लियो। विभिन्न कलाकारका 'क्यारिकेचर' पनि गर्न थाले।
सानोदेखिको कलाकार बन्ने रहर लिएर सुमन आफ्नो सपनाको सहर काठमाडौं आइपुगे। त्यो बेला उनी १८ वर्षका थिए।
सीताराम कट्टेल, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ जस्ता कलाकारको अन्तर्वाता सुन्दा उनीहरूले काठमाडौंमा गरेका दुःख आफूले पनि गर्न सक्नेमा विश्वस्त थिए। तर यहाँको वातावरणमा उनी भिज्न सकेनन्। इटहरी फर्किए।
इटहरीमा उनले स्नातक पढ्दै रेडियोमा काम थाले। 'फन टाइम' नामक कमेडी कार्यक्रम चलाएका थिए जसले 'प्रोग्राम अफ द इयर' अवार्ड जितेको उनी बताउँछन्।
उनी भन्छन्, 'काठमाडौँ आउँदा रेडियो-अडियोमा कमेडी कार्यक्रम सुनेको थिएँ। यस्ता कार्यक्रम अन्य ठाउँमा पनि चल्छ भनेर इटहरीमा सुरू गरेको थिएँ।'
मिडियाले तानेको सुमनको ध्यान पछि गजल वाचन र टेलिभिजनमा समाचार वाचनसम्म पुग्यो। त्यो बेला उनी कलाकार बन्न अभिनय कक्षा पनि लिइरहेका थिए। साँझ पाँच बजे काम सकेर कक्षा जान्थे। पन्ध्र दिन मात्र भएको थियो कक्षाको, एकजना दाइले यस्तो खबर सुनाए जुन उनको 'टर्निङ प्वाइन्ट' बन्यो।
ती दाइले उनलाई कमेडी च्याम्पियनबारे बताएका थिए।
'सुरूमा त कस्तो कार्यक्रम हो भनेर अलमल थिएँ। यता जागिर राम्रो भइरहेका बेला छोड्न सकिरहेको थिइनँ,' सुमनले भने, 'तै पनि डिजिटल अडिसनको अन्तिम दिनमा आफ्नो भिडिओ बुझाएँ।'
उनले त्यहाँ सामान्य 'केटाहरूको पीडा'मा आधारित विषयमा कुरा गरी भिडिओ बुझाए। छानिन्छ भन्नेमा खासै विश्वस्त थिएनन्। साथीहरूलाई आफ्नो भिडिओ छानिए दस हजारको पार्टी दिन्छु भनेर गफै दिए रे।
भिडिओ छानियो। यसपछि कमेडियन च्याम्पियन यात्रामा उनले फड्को मारे।
आफ्नो प्रस्तुतिमा बोलिरहने उनी क्यामरापछाडि विपरीत स्वाभावका छन्। धेरै बोल्दैनन् र आफूलाई अन्तर्मुखी स्वभावको भन्छन्।
'म चुट्किला समेत भन्दिनँ थिएँ। तर मेरो सपना पूरा गर्न आफ्नो स्वभाव परिवर्तन गर्नु थियो,' उनी भन्छन्, 'मिडियामा काम गरेर बाहिरी संसार र थुप्रै मान्छेसँग घुलमिल हुन थालेँ।'
कमेडी च्याम्पियनमा गएपछि त झन् उनले सोचेभन्दा धेरै फरक अनुभव गरे।
'सुरूमा त काठमाडौं अन्धाधून लागेको थियो। के गर्छु थाहा छैन, तर गर्छु भन्ने थियो,' उनी भन्छन्, 'कार्यक्रममा गएपछि त्यहाँका मेन्टरहरूले कमेडीबारे विस्तृत सिकाउनुभयो। मलाई त आफू भर्खर नर्सरी भर्ना भएजस्तो महशुस भयो।'
कार्यक्रममा कमेडीमा पहिल्यै नाम कमाइसकेका प्रतिस्पर्धीहरू भेट्दा सुमन आफूलाई दाँज्थे रे। तर कार्यक्रमको मेन्टर टिमले सुमनजस्ता नयाँ कलाकारलाई पनि निर्खान धेरै सहयोग पुर्याएको उनी बताउँछन्।
दले दाइ चर्चित भइसकेपछि सुमनले सामाजिक सञ्जालमा पाएको प्रशंसा देख्दा निकै खुसी भए रे। अचेल बाटोमा हिँड्दा कसैले 'दले दाइ' भनेर बोलाइदिन्छन्। तर त्यही 'दले'लाई उनले अरू भागमा ल्याएनन्। बरू नयाँ पात्र खोजेर त्यसबाट पनि दर्शकलाई हँसाउने उनको चाहना छ।
'मलाई दले दाइ भनेर बोलाएको सुन्दा खुसी लाग्छ। तर यही पात्रमा मात्र बाँधिएर बस्दिनँ,' उनी भन्छन्, 'अझै धेरै नयाँ कुरा सिक्न बाँकी छ। अब कमेडी च्याम्पियन जिते पनि, हारे पनि मेरो क्षेत्र चाहिँ कमेडी नै हुनेछ।'
सबै तस्बिरः निशा भण्डारी