साँझ परेपछि पाटन दरबार क्षेत्रमा चहलपहल बढ्छ। स्कुल-कलेज सकेर विद्यार्थी दिनभरको थकाइ मेट्न आउँछन्। युवायुवती मन्दिर छेउछाउ बसेर गफिन थाल्छन्। कोही कापी-कलम बोकेर मन्दिरका कलाको चित्र कोर्छन् वा आफैंमा हराइरहन्छन्। यी सबै दृश्य पेटीमा बसेर नियालिरहेका हुन्छन् बुढापाका।
पाटन दरबार क्षेत्र कुनै जात्रापर्वका बेला बाहेक हरेक साँझ यस्तै मनमोहक देखिन्छ। सोमबार हामी पुग्दा भने अलि भिन्न थियो।
विद्यार्थीहरू पठनपाठन सकाएर त्यहीँ वरपर बरालिरहेका थिए। साँझ छिप्पिँदै गर्दा अर्को हुल विद्यार्थी बिस्तारै भेला हुन थाले। उनीहरू सबैका हातमा सेल्फी खिच्न मोबाइल होइन, किताब देखिन्थ्यो। एकअर्का सँग बोल्दा पनि विषय किताब नै थियो।
'आज कुन किताब लिएर आएका छौ?'
'एडल्फ हिटलरको मेन काम्फ।'
अर्कोतिरबाट गुन्जियो– 'पाठ्यक्रमका किताबबाहेक अरू साहित्य कत्तिको पढ्छौ? हालसालै कुन किताब पढिरहेका छौ?'
केहीबेरमै एक युवक ठूलो कागजमा ठूला अक्षरले 'किताब माथिको कर खारेज गर', 'सरकार शिक्षित मान्छेसँग डराएको छ', 'प्रिय प्रधानमन्त्री, किताबमाथि कर किन?' लेख्न थाले।
विदेशबाट आयात हुने किताबमा दस प्रतिशत कर लगाउने सरकारी नीतिविरूद्ध विद्याथीहरू पाटनमा प्रदर्शन गर्न लागेका रहेछन्। उनीहरूको प्रदर्शनमा कुनै नाराबाजी छैन, होहल्ला छैन। शान्तसँग किताब पढेर बसेका छन्।
'सरकारको ध्यान यस विषयमा तान्ने कोशिश गरेका हौं,' प्रदर्शनमा उपस्थित विनोद देउवाले भने, 'कसैलाई असर पुर्याउने हाम्रो उद्देश्य छैन। हाम्रो शान्त आग्रह सरकारले सुनोस्।'
विनोद केही साताअगाडि सिंहदरबारको पश्चिम गेटमा भएको यस्तै 'किताब पढ्ने' प्रदर्शनक्रममा पक्राउ परेका विद्यार्थीमध्ये हुन्। करका कारण पाठ्यक्रम र अंग्रेजी साहित्यका किताब बजारमा अभाव भएको भन्दै उनीहरू झन्डै एक महिनादेखि आन्दोलन गरिरहेका छन्। माइतीघर मण्डल, सिंहदरबार निषेधित क्षेत्र र त्रिचन्द्र कलेज गेटबाट र्याली पनि निकालिसके।
तीन साताअघिबाट उनीहरूले शान्त रूपमा किताब पढेर प्रदर्शन गर्न थालेका हुन्। अब भने लगातार प्रदर्शन हुने विनोदले बताए।
'हामीले किताबमाथिको करविरूद्ध आवाज उठाएको उहिल्यै हो। कर हटाउने कुरा नजरअन्दाज गरिएको छ,' उनले भने, 'अब निकै ढिलो भइसक्यो र सरकारले हाम्रो आवाज नसुनेसम्म आन्दोलन जारी रहनेछ। विद्यार्थीहरू यसरी दैनिकी पाटनमा आएर किताब पढेर प्रदर्शन गर्नेछन्।'
प्रदर्शनमा विद्यार्थी भेला हुँदै गर्दा उनीहरू केबल किताब पढ्दै वा ब्यानर समातेर मात्र बसेका थिएनन्। कोहीले आफ्नो पुराना साथी भेटेका थिए, त कोही नयाँ पढ्ने साथी बनाउन व्यस्त। सडक छेउको होहल्ला र भिड बढ्दै जाँदा उपस्थित केही विद्यार्थीलाई पढ्न असहज भएको देखिन्थ्यो। त्यसैले उनीहरू किताब पल्टाएर एकोहोरो हेरिरहेका मात्र थिए।
'म यस्तो भिडमा बसेर पढ्न सक्दिनँ क्या,' त्रिचन्द्र कलेजका एक विद्यार्थीले भने, 'किताब पल्टाएर बसेँ भने पनि आउने-जाने मान्छे हेर्दा नौलो लाग्छ र प्रदर्शनको लक्ष्य पनि पूरा हुन्छ।'
यसैक्रममा एक व्यक्ति धेरैबेरदेखि ब्यानर समाएर बसेका विद्यार्थीलाई नियाल्दै थिए। उनी नजिक आएर तिनलाई फोटो खिच्न अनुमति मागे र 'दिस् इज ट्रू (यो सत्य हो)' भने।
उनले आफू भारतीय रहेको बताए। किताबमाथि कर लगाइने समस्या नेपालको मात्र नभई अहिले संसारभर उस्तै रहेको भन्दै उनी आफ्नो घुमाइतिर लम्किए।
करिब पाँच बजेबाट सुरू प्रदर्शन छ बजिसक्दा सुस्त हुन थालेको थियो। पाटन घुम्न आएका धेरै जना प्रदर्शनबारे अलमल परिरहँदा विद्यार्थीलाई पढ्ने जाँगर कम भइरहेको थियो।
विद्यार्थीको हुलबाट एक विद्यार्थीले फेरि अर्को ब्यानर बनाए जसमा 'स्पिकर'का लागि पैसा उठाउन माग गरियो। शान्त आन्दोलनमा स्पिकर ल्याउने कुरा केही अनौठो भयो।
'स्पिकर ल्याएर माइकमा नाराबाजी गर्ने हाम्रो मनसाय होइन,' ती विद्यार्थीले आफ्नो योजना स्पष्ट पार्दै भने, 'प्रत्येक व्यक्तिले माइकमा आफूले पढेका किताबबाट थोरै पाठ सुनाउन पाउनेछन्। यसरी वरिपरि आएका मान्छेले हरदिन नयाँ कथा वा ज्ञान सुन्न पाउनेछन्।'
साथै उनीहरूले प्रदर्शनक्रममा सस्तो मूल्यमा किताब बेच्न राख्ने बताएका छन्। एक सयभन्दा बढी विद्यार्थीले सुरू गरेको 'किताबमाथिको कर खारेज गर' प्रदर्शन सरकारले बेवास्ता गरिरहेको विद्यार्थीको गुनासो छ।
अर्थमन्त्रालयमा यस विषयबारे आवेदन बुझाउँदा पनि बेवास्ता गरेको भन्दै गत शुक्रबार उनीहरू त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा हस्ताक्षर संकलन अभियान गरेका थिए। विनोदका अनुसार विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले यो विषय उल्लेख गर्दै प्रधानमन्त्रीलाई चिठी लेखेका छन्।