'हो, बिस्तारे बिस्तारे। साइकलमा जीवनको आनन्द लिनुस्। यस्तो रमाइलो सहर छ। सहरजस्तै रमाइलोगरी बाँच्नुस्। रमाउँदै, रोकिँदै यात्रा गर्नुस्। फोटो खिच्दै जानुस्। जीवनलाई उत्सव बनाउनुस्। आफू पनि स्वस्थ हुनुस् र अरुलाई पनि स्वस्थ रहन मद्दत गर्नुस्। बिस्तारे बिस्तारे। यो बिस्तारे बिस्तारे, मेरो जीवनकै दर्शन हो।'
६४ वर्षे मार्को बांकेलीले बाँकी कुरा टुटेफुटे अंग्रेजीमा भट्याएका थिए भने ठमेलतिर कसैले सिकाइदिएको 'बिस्तारे बिस्तारे' चाहिँ नेपालीमै।
इटालीको फ्लोरेन्स नजिकैका मार्को गत ३५ वर्षदेखि बर्सेनि नेपाल आइरहेका छन्।
'किन थाहा छ?' उनले नै भने, 'किनकि फ्लोरेन्स युरोपको काठमाडौं हो भने काठमाडौं एसियाको फ्लोरेन्स।'
उता मार्को एकछिनसम्मै मस्त हाँस्न थाले भने यता कफीको कपबाट मगमग बाफ फैलिन थाल्यो। मस्त मार्कोले वसन्तपुरको हिमालय जाभाका अन्य पारखीहरूको ध्यान पनि आफूतिर खिचिरहेका थिए।
उनी दुवै सहरको समानता व्याख्या गर्न थाले।
बाहिरबाट चारैतिर रिङरोडले घेरिएको। भित्र पुरानो सहर। साँघुरा सडक। यता मन्दिरहरू, उता चर्चहरू।
'यी दुवै सहर विश्वकै अद्भूत सुन्दर छन्,' उनले थपे, 'कलात्मक तवरले बनेका।'
पछिल्लो समय यी दुवै सहरका चुनौती पनि एउटै देखिन थालेकामा उनी चिन्तित रहेछन्।
'उता माइकल एन्जेलोदेखि लियोनार्दो दा भिन्ची जन्माउने, अनि यता त्यत्रा मल्लकालीन कलाकारले उभ्याएको सहरको हालत हेर्नुस् त,' उनी भनिरहेका थिए, 'जताततै मोटरै-मोटर, धुँवै-धुँवा।'
यस्तो अवस्था देखेरै दिक्क मानेका मार्कोले इटालीमा साइकल हाँक्नेको एउटा समूह नै बनाएका रहेछन्- 'साइक्लिस्ट फर चेन्ज'।
'मेरो दोश्रो घर काठमाडौं हो,' उनले भने, 'त्यसैले यहाँ पनि साइकलको सन्देश फैलाऊँ भन्ने लागिरहेको छ।'
मार्कोले आजै (बिहीबार) बेलुकी ठमेलको मार्कोपोलो रेष्टुरेन्टमा साइकलबारे प्रवचन दिनेछन्।
'साइकल हाँकेर आउनेलाई मेरा कुरा सुनाउनुका साथै पिज्जा पनि खुवाउँछु,' उनले लोभ्याए।
केही दिनअघि इटालीकी अनेररी काउन्सिलर प्रतिमा पाण्डेको छोरीको बिहेमा मार्को साइकल हाँकेरै पुगेका थिए। त्यति बेलै त्यहाँ उनले मार्कोपोलो रेष्टुरेन्टका मालिक सुमन पाण्डेलाई भेटेछन्।
'सुमन ठूलो मोटर हाँक्छन् र मेरो साइकलका कुरामा खासै रूचि राख्दैनन्,' मार्कोले भने, 'तर, खै किन हो, मलाई बोल्न भने उनकै रेष्टुरेन्टमा कार्यक्रम राखिदिएका छन्।'
त्यो कार्यक्रममा सक्दो बढी साइकल हाँक्नेहरू आइदिऊन् भन्ने उनको चाहना छ।
'मेरो न अंग्रेजी राम्रो छ, न कुशल वक्ता हुँ,' उनले थपे, 'तर, साइकल हाँक्नेका माझ जब कुरा सुरू हुन्छ, त्यति बेला भाषाको काम हुँदैन र म घन्टौं अनुभव सुनाएर उनीहरूलाई बाँधिदिन सक्छु।'
मार्कोको घर सेन्तो फियोरेन्तिनो फ्लोरेन्सभन्दा दस किलोमिटर टाढा छ। सारा जीवन साइकलमै ओहोर-दोहोर गरेको यो बीचको दूरीका प्रत्येक ढुंगा-इँटा आफूले राम्ररी चिनेको उनी सुनाउँछन्।
'सेन्ट्रल फ्लोरेन्समा कुनै समय जिमन्यास्टिक क्लब चलाउँदा मैले हरेक दिन आउजाउ गर्न साइकल रोजेँ,' उनले जानकारी दिए, 'न पार्किङ समस्या, न पेट्रोल चाहिने। मेरो र अरू सहरवासीको स्वास्थ्यका लागि पनि राम्रो।'
त्यसपछि उनी लामो समय एउटा स्कुलमा केटाकेटीका लागि खेलकुद शिक्षक रहे जसबाट अहिले अवकाश पाइसकेका छन्।
'आजभोलि मेरो कामै साइकलमा घुम्ने र यसको महिमा सुनाउँदै हिँड्ने,' उनले भने। मार्कोका अनुसार इटालीका पत्रिका र टेलिभिजनमा उनका अनुभव बारम्बार छापिइरहन्छन्।
मार्कोको रगतमै साइकल छ। उनका हजुरबुवाले साइकल हाँकेरै जीवन बिताए। ९० वर्षीय बुवा अहिले पनि साइकल हाँकेरै ओहोरदोहोर गर्छन्। हुँदा हुँदा इटालीकै बोलोनिया नजिकै सानो सहरमा भाषा शिक्षिकाको काम गर्ने उनकी एक मात्र छोरी क्लाउडियाको पनि सवारी साइकल नै हो।
'नौ वर्षको हुँदा हजुरबाले मलाई क्रिशमशमा नयाँ साइकल दिनुभएको अझै सम्झना छ,' मार्को भनिरहेका थिए, 'मैले त्यसलाई चारैतिर सुँघेको थिएँ। विशेषगरी नयाँ टायरको गन्ध अहिले पनि म महशुस गर्छु। त्यो मेरो निम्ति नयाँ 'सेन्सेसन' थियो।'
पहिलो साइकल नै हजुरबुवाबाट उपहार पाएका मार्कोले आजसम्म साइकल किन्नुपरेको छैन। उनले २२ वटाभन्दा बढी साइकल फेरिसके। सबै उपहारै पाएका।
'यो पनि उपहारमा पाएपछि २० वर्षअघि उतैबाट ल्याएको हुँ,' उनले उभ्याइएको साइकल देखाउँदै भने, 'हरेक वर्ष फर्कने बेला ठमेलकै काठमाडौं गेष्ट हाउसको स्टोरमा व्यवस्थित तवरले थन्क्याएर जान्छु।'
गाउँमै फर्निचर पसल चलाएर बसेको दम्पत्तिका एक्लो सन्तान मार्कोलाई अभिभावकले मोटर कहिल्यै दिएनन्।
'उता मेरा साथी तिनका आमाबुवाले किनिदिएका मोटरमा हुँइकिएको देख्दा मेरो मन चुलबुल हुन्थ्यो,' उनले हत्तपत्त कुरो मिलाउन खोजे, 'त्यो भनेको अरूले पोज दिएर चुरोट तानेको देख्दा लोभिनुजस्तै हो।'
अरूजस्तै उनका आमाबुवाले किन मोटर किनिदिएनन् त?
'तीव्र गतिमा हाँक्छु भनेर,' त्यसपछि उनले आमाबुवाकै आवाज उतार्न खोजेजस्तै गरी नेपालीमै बोले, 'मार्को मार्कोः छितो छितो होइना, बिस्तारे बिस्तारे।'
अचेल उनलाई लाग्छ- अरू साथीलेजस्तै आफूले पनि उपहारमा मोटर पाएको भए यति राम्रो संसारको साइकलमा चढेर आनन्द लिने अवसर छुट्ने थियो।
'आज तपाईंसँग यहाँ बसेर कुरा गरिरहेको हुँदिन थिएँ,' उनले भने, 'मेरा साथीजस्तै मोटरको साँघुरो घेरामा उतै हराइरहेको हुन्थेँ।'
साइकल हाँक्दा जीवनमै सबभन्दा आनन्दित भएको दुइटा क्षण रहेछ। पहिलो अनुभव थियो, करिब दस वर्षको उमेरमा। उनी साइकल हाँकेरै पहिलोपटक फ्लोरेन्स सहर पुगेका थिए।
'कस्तो मजाको सहर,' उनी भनिरहेका थिए, 'यो दुनियाँ कति भव्य रहेछ भनेर पहिलोपटक त्यति बेलै थाहा पाएको थिएँ।'
त्यसपछि साइकल हाँकेरै सगरमाथा र अन्नपूर्ण आधार शिविर पुग्दा पनि उनलाई भव्य अनुभूति भएको थियो।
'३५ वर्षअघि मैले नेपाल भन्ने एउटा असाध्यै सुन्दर देश फेला पारेको हुँ,' उनले पुरानो याद खोतल्दै भने, '१९८५ को अक्टोबर महिनामा म पहिलोपटक यहाँ आएको थिएँ।'
त्यति बेला भ्रमणको उद्देश्य अन्नपूर्ण आधार शिविर थियो। इटालीबाटै एउटा समूहको पछि लागेर उनी आएका थिए। त्यो बेला लगातार पानी परेको थियो।
'मलाइ यो अचम्मैको ठाउँ लाग्यो,' उनले थपे, 'हिन्दू, बुद्धिस्ट, रंगीविरंगी मानिस, अग्ला हिमाल।'
पहिलो यात्रापछि फर्केर इटाली पुग्नेबित्तिकै उनले साइकल लिएर नेपाल आउने अठोट गरे।
'ट्रेकिङ गर्नेले हिमाल देख्छ,' उनी भन्दै गए, 'मलाई साइकल हाँक्दै यहाँका मान्छे, कलाकार, यहाँको मन्दिरमा पूजा गर्नेहरू र स्कुल जाने केटाकेटी हेर्न मन लाग्यो।'
यसरी साइकल लिएर आएकै बेला सन् १९८९ मा उनी पाइडल थिचेरै तिब्बती सीमाको तातोपानी र दक्षिणतिर लुम्बिनीसम्मै पुगेका रहेछन्।
त्यति बेला तातोपानी पुगेर फर्कन ८ दिन लागेको थियो भने लुम्बिनी पुग्न ३-४ दिन।
'त्यो बेला मैले रेसिङ बाइक ल्याएको थिएँ,' उनले भने, 'त्यसमा तातोपानीतिरको यात्रा असाध्यै कठिन भएको थियो।'
तर, आनन्दको भने सीमा थिएन।
मार्कोले साइकल हाँकेरै लुक्लाबाट सगरमाथा आधार शिविर, त्रिशुलीबाट गोसाइकुण्ड, अन्नपूर्ण आधार शिविर, तिलिचो तालसम्म यात्रा गरेका छन्। लुम्बिनी त दुईपटक पुगेका छन्।
त्यसो त युरोप र एसियाबाहेक दक्षिण अमेरिका, अफ्रिका, अष्ट्रेलियाका अनेक ठूला दुरी उनले साइकल हाँकेरै तय गरेका छन्। तर, नेपालको तुलना कसैसँग नहुने उनको निष्कर्ष छ।
यी ३५ वर्षमा ३५ पटकै नेपाल आउने र साइकल हाँक्ने मार्कोलाई सन् १९९८ मा सरकारले भ्रमण वर्षको राजदूत नै बनाएको रहेछ। उनले मोबाइल स्क्रिनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेर दिएको 'भ्रमण वर्ष राजदूत'को प्रमाणपत्र देखाए।
त्यति बेला आफूले इटालीमा नेपाल प्रचारप्रसार गर्नुका साथै पानीमा चल्ने साइकल ल्याएर काठमाडौंको रानीपोखरी र मनाङ अनि मुस्ताङको सीमामा पर्ने तिलिचो तालमा चलाएका थिए। उनले पानीमाथि साइकल हाँक्दै गरेका दृश्य पनि देखाए।
यसरी साइकल हाँकेको तस्बिर उनले राजा वीरेन्द्रलाई पनि उपहार दिन भ्याएका रहेछन्। वीरेन्द्रलाई त उनले साइकलै पनि उपहार दिएका रहेछन्।
'मलाइ प्रसिद्ध पिनारेलो कम्पनीले केही साइकल उपहार दिएको थियो,' उनले भने, 'सन् १९९६ मा काठमाडौं आएका बेला त्यो साइकल मैले खेलकुद क्षेत्रमै संलग्न मेरा साथी निर्मल श्रेष्ठमार्फत् वीरेन्द्रलाई उपहार दिएको थिएँ।'
त्यो साइकल राजा वीरेन्द्रले पाए कि पाएनन्, मार्कोलाई थाहा छैन। निर्मलले भने उक्त साइकल नारायणहिटी दरबारमा बुझाएको र युवराज दीपेन्द्रले चढ्ने गरेको सुनाएका रहेछन्।
'खासमा त्यो उपहार दिनु एउटा संकेत मात्र थियो,' मार्को भन्छन्, 'यदि राजाले साइकल हाँकिदिएका भए आममानिसमा साइकलका निम्ति लहरै ल्याइदिन सक्थ्यो।'
त्यसो त पछि सन् २००० मा मार्को राजा वीरेन्द्रलाई जन्मदिनको शुभकामना दिन नारायणहिटी दरबारै पुगेका थिए। तर, त्यति बेला छोटो समय र हुलमुलले गर्दा राम्ररी कुरा गर्न पाएनन्।
काठमाडौंका तीन दिन अब सम्झना मात्र बाँकी रहेको उनी बताउँछन्।
'सुरूमा आउँदा देखेको काठमाडौंको सुन्दर रूप बिस्तारै बिस्तारै मोटर र मोटरसाइकलले ध्वस्त पारिदिएको छ,' उनी भन्छन्, 'यहाँका मान्छेलाई साइकलको बानी लगाउन सकिन्छ कि भनेर म उतिबेलैदेखि प्रयत्नरत छु।'
मार्कोका अनुसार काठमाडौंमा अहिले चलेको मोटरको होडबाजीजस्तै युरोपमा पनि उति बेला चर्को समस्यै थियो।
'यसले त बर्बाद पो पार्छ,' उनी भन्छन्, 'समयमै चेतेको राम्रो।'
अहिले पनि काठमाडौंलाई सुधार्ने ठाउँ रहेको मार्को बताउँछन्।
'कम्तिमा यहाँका मेयरहरू, प्रसिद्ध कलाकार, समाजमा ठूलाबडा भनिएकाहरूले साइकलमा हिँडिदिए भने सर्वसाधारणले पनि सिको गर्ने थिए,' उनी भन्छन्, 'नत्र उही अरूले शानले चुरोट तानेको देखेर बानी परेजस्तै ठूलाबडा हुन मोटरै चढ्नुपर्छ भन्ने सिक्छन्।'
त्यसरी आदर्श स्थापित गर्नकै निम्ति युरोपमा ठूल्ठूला ओहोदा सम्हालेकाहरू पनि साइकलमै ओहोरदोहोर गर्ने मार्को सुनाउँछन्।
'अहिले काठमाडौंका केटाकेटीलाई समेत साइकल होइन मोटरसाइकल हाँक्नुपर्छ भनेर कुलत बसालिरहेका छन्,' उनी भन्छन्, 'स्कुल-कलेजमा समेत मोटरसाइकलको लाइन देख्दा दिक्क लाग्छ।'
भारतले नेपालमा नाकाबन्दी लगाएका बेला पनि मार्को यहीँ थिए। पेट्रोलियम पदार्थ नपाउँदा विकल्प खोजी भएको थियो। त्यसले काठमाडौंवासीमा फैलिएको कूलत अब फेरिएला भन्ने उनलाई ठूलो आशा रहेछ।
'त्यो घटनाबाट पनि पाठ सिकेनन्,' उनी भन्छन्, 'धुँवा उडाउने प्रतिस्पर्धा झनै बढेर गएको देख्दैछु।'
सडकमा बढ्दो मोटर संख्याले काठमाडौंमा जस्तै फ्लोरेन्समा पनि साइकल हाँक्नेलाई खतरा निम्त्याइरहेको मार्को बताउँछन्। यसनिम्ति सडकमा साइकल लेन बनाएर मात्र समाधान ननिस्किने उनको ठहर छ।
'यहाँका मेयरले स्कुल, कलेज र बैंक जताततै पुगेर साइकल हाँक्न प्रोत्साहित गर्नुपर्छ,' उनी भन्छन्, 'साइकलका लागि सडक बनाउने मात्र नभई सँगसँगै सडकमा अनावश्यक मोटर संख्या कसरी घटाउने भन्ने प्रयास गर्न जरुरी छ।'
सहरका बाहिरी सडकमा उस्तै समस्या भए पनि भित्री भाग कसरी साइकलमैत्री बनाउने भनेर काठमाडौंले फ्लोरेन्ससँग पनि सिक्न सक्ने मार्को औंल्याउँछन्। उनका अनुसार त्यहाँ भित्री साँघुरा सडक र महत्वपूर्ण ठूला चोकमा केवल पैदलयात्री र साइकललाई मात्र प्रवेश दिइन्छ।
काठमाडौं, ललितपुर र भक्तपुरका भित्री बाटोमा पनि पैदलयात्री र साइकल मात्र गुड्न दिने हो भने पनि धेरै सुधार आउने उनी बताउँछन्।
मार्कोको साइकलबाहेक अर्को पनि लत छ, फुटबल। त्यो लतले उनलाई अर्जेन्टिनाका प्रसिद्ध फुटबल खेलाडी ग्याब्रिएल बाटिस्टुटाको साथी समेत बनाएको रहेछ।
बाटिस्टुटा बीचमा दस वर्ष फ्लोरेन्सको फुटबल टिम 'फ्योरेन्तिना'बाट खेलेका रहेछन्। त्यति बेलै आफू दुई साथी भएको मार्को सुनाउँछन्।
'फ्लोरेन्सका मेयरले एकदिन मलाई 'वाटर पोलो' खेल्न बोलाएका थिए,' मार्को भन्छन्, 'त्यति बेला विपक्षी टोलीमा बाटिस्टुटा पनि रहेछन्।'
बाटिस्टुटालाई देख्नेबित्तिकै मार्कोले विपक्षीको पोलमा गोल ठोक्नुको साटो घरिघरि आफ्ना प्रिय खेलाडी नजिकै पुगेर रमाउन थालेछन्। मार्कोको गतिविधि देखेर रमाएका बाटिस्टुटाले खेल सकिएपछि आफूले लगाइरहेको टोपी फुकालेर उपहार दिए।
त्यसपछि मार्कोले त्यही टोपी लगाएर नेपालका अग्ला हिमशिखरको आधार शिविर यात्रा गरेछन्।
'वर्षौंपछि फेरि फ्लोरेन्समै बाटिस्टुटा भेटिँदा मैले उनको टोपीलाई विश्वकै अग्ला शिखरसम्म लगिदिएका तस्बिर देखाएँ,' उनले भने, 'त्यसपछि हामी दुवै मित्र भयौं।'
बाटिस्टुटाले आफूलाई जता देख्दा पनि सबभन्दा पहिले साइकल बारे सोध्ने गरेको उनले बताए।
'पछिल्लो पटक म फ्लोरेन्समा हिँड्दै गर्दा उनी त्यतै आफ्नो जीवनीमा आधारित सिनेमाको सुटिङ गरिरहेका थिए,' मार्को भन्छन्, 'मलाई देख्नेबित्तिकै बाटैमा परैबाट 'साइकल अभियान के हुँदैछ?' भनेर चिच्याउँदै सोधेका थिए।'
गत डिसेम्बर १५ मा नेपाल आएका मार्को यही शुक्रबार फर्कने तयारीमा छन्।
'उता पुगे पनि म यहाँका साइकल अभियन्ता साथीसँग मिलेर काम गर्न चाहन्छु,' उनले भने, 'फ्लोरेन्स र काठमाडौंका अनुभव साटासाट गर्ने र उता प्रभावकारी भएका कदम यता पनि लागू गराउने प्रयास थाल्न सकिन्छ।'
हामी कुरा गर्दागर्दै अँध्यारो भइसकेको थियो। काठमाडौंको सडकमा एक त साइकललाई त्यसै गाह्रो, त्यसमाथि रातको अँध्यारो।
'अर्कोपटक यी घरहरू बनिसकेपछि फेरि यहीँ बसेर कफी पिउनुपर्छ,' भुइँचालोले भत्किएको वसन्तपुर दरवार क्षेत्र देखाउँदै उनले भने, 'यसपालालाई नमस्ते।'
हामी दुवै साइकलमा दुईतिर लाग्यौं। अलि पर पुगिसकेपछि पनि मार्कोको आवाज आइरहेको थियो– 'बिस्तारे बिस्तारे।'