घोराहीकी रोशनी थापा साइक्लिङमा रूची राख्छिन्। उनको परिचय योभन्दा अझै फराकिलो छ। उनी बैंकको जागिरे, तेक्वान्दोको ब्याल्क बेल्ट र गायिकासमेत हुन्।
उनका चार वटा गीत बजारमा आइसकेका छन्।
‘जीवनमा संघर्षका पाइला बढाउँदैछु, बरू मलाई अब पूर्वखेलाडी भने पनि हुन्छ,’ एक दिन सेतोपाटीसँग उनले भनिन्।
घोराहीकै क्रिजना पुन मगर पनि साइकलमा घुम्न रूचाउँछिन्। थापासँग क्रिजनाको धेरै कुरा मिल्छ।
उनी पनि खेलाडी हुन्, कराँतेको टु-डन। गुरूकुल एकेडेमीकी कराँते प्रशिक उनी स्यालुट गोर्खा टेर्नर उनी भारतीय र बेलायती सेना बन्न चाहने युवा-युवतीलाई ट्रेनिङ दिन्छिन्।
उनी गत साता बागमती प्रदेशको राजधानी हेटौंडामा भएको अफरोड च्याम्पियनसिपमा तेस्रो भइन्। दाङबाट हेटौंडा पुगेर खेल जितेर पुरस्कार ल्याएपछि घरपरिवार र साथीसंगी खुसी छन्।
प्रदेश नम्बर ५ को दाङमा थापा र मगरसहित अरू चारजना पनि ‘लेडी साइक्लिष्ट’ छन्- विन्दु पुन, सिर्जना केसी, रामकुमारी चौधरी र विना डिसी।
शनिबार उनीहरू २४ किलोमिटर साइकलबाटै तुलसीपुर आइपुगे। उनीहरू तुलसीपुर-बबई हुँदै पुरन्धारा झरनासम्म पुगे। उनीहरूले ३० किमी साइक्लिङ गरे।
पुरूषहरूसँग प्रतिस्पर्धा गर्दै उनीहरू घरसम्म पुग्दा एक सय ८ किमी यात्रा गर्नेछन्, साइकलमै।
स्थानीय यज्ञबहादुर केसीले साइकल गर्ने महिलालाई देखेपछि हिम्मतवालीको संज्ञा दिए। ‘वाउ, हिम्मतवाली लेडीहरू’ उनको मुखबाट आवाज आयो।
दाङमा साइकल चलाउनु नौलो भने होइन। पढ्न विद्यालय जाने छात्रछात्रादेखि कृषिकर्म गर्नेहरू पनि साइकल मै गुड्छन्।
तर, जिल्लाका अरु कुनै पनि सहर बजारमा बस्ने युवतीहरू यसरी घोराहीका युवतीहरू जस्तै स्पोर्ट्सको रूपमा साइकल चलाउन भने सुरू गरिसकेका छैनन्।
रोशनी थापा महिलाका लागि साइक्लिङ उपयोगी भएको तर्क गर्छिन्। ‘ग्रुपमा साइक्लिङ गर्दा रमाइलो हुन्छ,’ उनले अनुभव साटिन्, ‘आफ्नो स्वास्थ्यका लागि साइकल गुडाउनु राम्रो।’
महिनावारीको समयमा पनि साइक्लिङ गर्ने उनले सुनाइन्। ‘दिनहुँ १० देखि १५ किमी साइक्लिङ गरिन्छ,’ उनले भनिन्।
क्रिजना पुन मगरले त साइक्लिङमा अरू महिलालाई जोडिन आव्हान नै गरिन्। ‘मलाई घरपरिवारको पनि साथ छ। प्रतियोगितामा भाग लिन हौसला दिने गर्नुहुन्छ,’ उनले भनिन्।
साइकल टुर पर्यटन प्रवर्द्धनका लागि भन्दै तुलसीपुर उद्योग बाणिज्य संघले गरेको हो। संघका अध्यक्ष वीरबहादुर रावतका अनुसार ‘घुम्न जाउँ तुलसीपुर’ अभियानलाई यस्ता कार्यक्रमले सहयोग पुर्याउँछ।