झापाको शिवसताक्षी नगरले आफ्ना नगरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा १ करोड ७० लाख रुपैयाँको पूर्वाधार निर्माण गर्ने भएको छ।
यो योजना चालू आर्थिक वर्षको असार मसान्तसम्ममा निर्माण भइसक्ने नगरपालिकाले जनाएको छ। नेपाल भ्रमण वर्षकै मौका पारेर यहाँ पर्यटकीय क्षेत्रको विकास गर्न लागिएको हो।
संघीय सरकारको संस्कृति पर्यटन तथा उड्डयन मन्त्रालयद्वारा विनियोजित पर्यटकीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ९० लाख र शिवसताक्षी नगर सभाबाट निर्णय भएको ८० लाख रुपैयाँमा नगरको धार्मिक तथा पर्यटकीय सताक्षीधाम र दोमुखामा पर्यटक लोभ्याउने पूर्वाधार निर्माण हुन लागेको हो।
शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले आन्तरिक तथा बाह्य पर्यटकका लागि दोमुखा र सताक्षीधाम १ नम्बर प्रदेशको पहिलो रोजाइको गन्तव्य निर्माण हुने बताए।
शुक्रबार नगर प्रमुख शेर्मासहित वडा नम्बर १० का अध्यक्ष कर्णबहादुर थापा, ११ नम्बर वडाका अध्यक्ष भैरबकुमार श्रेष्ठ, नगरका कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र दाहाल, लेखा अधिकृत भीम खवास , ईन्जिनियरद्वय महेश भण्डारी, कृष्ण राई र योजना साखाबाट दिनेश लुइँटेल लगायतको टोलीले दोमुखा र सताक्षीधामको सम्भाव्यता अध्ययन गरेको छ।
नगर प्रमुख शेर्माले दोमुखामा आन्तरिक तथा बाह्य पर्यटकका लागि स्विमिङ पुल र कनकाई नदीको पश्चिम तटीय क्षेत्रमा तटबन्ध गर्ने बताए। निर्माण भएका पर्यटकीय पूर्वाधारको सुरक्षाका लागि नदीको कटान नियन्त्रणका पहिलो प्राथमिकता रहेको नगर प्रमुख शेर्माले बताए।
यता सताक्षीधाम क्षेत्रमा संंघीय संस्कृति पर्यटन तथा उडडयन मन्त्रालय र शिवसताक्षी नगरको ९० लाख रुपैयाँले सताक्षीधाम मन्दिर परिसरमा ब्लक बिछ्याउने र २५ फिट उचाइको शिव मन्दिर निर्माण हुने नगरपालिकाका कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र दाहालले बताए।
दाहाललका अनुसार शिवको मूर्ति खुला आकाशमा सताक्षीधाम परिसरको पदमार्गबाटै देख्न सकिने गरी निर्माण हुने छ।
स्थानीय सरकार गठनपछि नगरका सताक्षीधाम र दोमुखा पर्यटकीय क्षेत्रमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन्। संघीय, प्रदेस र स्थानीय सरकारको संयुक्त लगानीमा दुई वर्षको अवधिमा करोडौंको योजना नगरका धार्मिक तथा पर्यटकीय क्षेत्रमा परेको नगरका प्रमुख लेखा अधिकृत भीबबहादुर खवासले बताए।
टोलीले शिवसताक्षी नगरको ११ नम्बर वडामा निर्माणाधीन गणेशमान शिंह प्राविधिक अध्ययन प्रतिष्ठानको पनि अध्ययन अनुगमन गरको छ। प्रतिष्ठानका अध्ययक्ष सन्तोषकुमार मेयाङ्वोले टोलीलाई निर्माणाधीन संरचनाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए।
यता नगरकै अर्को धार्मीक स्थल चिल्लागढ पोखरीको स्तरोन्नतिका लागि तीनवटै तहका सरकारले उपेक्षा गरेको स्थानीयले बताएका छन्। दोमुखा र सताक्षीधाम मात्र देख्ने सरकारले चिल्लागढ पोखरीको धार्मीक र ऐतिहासिक महत्व नबुझेको स्थानीयबासीले बताएका छन्। विभिन्न धार्मिक ग्रन्थमा समेत वर्णन गरिएको चिल्लागढ पोखरीलाई धामको रुपमा विकास गर्न स्थानीले स्थानीयलाई सुझाव दिएका छन्। स्थानीय मेदनीप्रसाद रिजाल भन्छन्, ‘चिल्लागढधामको महिमा सरकारले बुझ्न सकेन।’
यता नगरप्रमुख शेर्मा चिल्लागढ पोखरीमा पनि अन्य दोमुखा र सताक्षीधाम क्षेत्रकै जस्तो पर्यटकीय पूर्वाधार निर्माण हुने बताए।