फेसबुकमा 'रोहन लामा' खोज्दा उनलाई भेटाउन सकिन्छ।
२४ वर्षका यी अष्ट्रेलियाली फिल्म निर्देशकको वास्तविक नाम कलानी गाकोन हो। नेपालप्रतिको माया यसरी नामै फेरेर दर्शाउने उनी आफ्नो देशमा नपाएको खुसी यहाँ पाएको बताउँछन्। यतै रमाएका छन्।
बर्सेनि विदेशिने नेपालीको संख्या बढ्दा, नेपालमा बस्न चाहने विदेशी पनि कम्ता छैनन्। त्यसैमध्येका हुन्, कलानी।
नेपाली–विदेश अनि विदेशी–नेपाल किन बस्न रूचाउँछन्? किन नेपाली धनी मुलुक जान चाहन्छन् र धनी मुलुककाहरू नेपाल आउँछन्?
कलानी यी दुई भिन्न संयोगको कारण बताउँछन्, खुसीको खोजी।
खुसी के हो त?
यही सेरोफेरोमा उनले फिल्म बनाएका छन्, 'जर्नी टु द सेन्टर अफ माई हार्ट'।
यसमा नेपाल बस्दै आएका ९ विदेशीको कथा समेटिएको छ। गत डिसेम्बर १५ मा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) मा प्रिमियर भएको यो फिल्मले अन्तर्राष्ट्रिय विधामा दोस्रो पुरस्कार पायो।
पुरस्कार पाएर मञ्चमा बोल्न पुग्दा नेपाली साथीहरू कलानीलाई हौस्याउँदै थिए, 'कलानी, नेपालीमा।'
कलानी राम्रोसँग नेपाली बोल्छन्, बुझ्छन्। ०७२ सालको भुइँचालोदेखि नेपाल ओहोरदोहोर गरिरहेका छन्।
'म खासमा यहाँ भुइँचालोको प्रभाव हेर्न आएको। सहयोगभन्दा पनि मलाई भुइँचालोको अनुभव बिल्कुलै नौलो लाग्यो,' उनले भने।
भुइँचालो महशुस गर्ने मनसायले आइपुगे पनि सहयोग नगरी बस्न सकेनन्। नुवाकोटमा स्कुल, घरहरू बनाए। त्यहीक्रममा उनलाई त्यहाँका मान्छे र समुदाय मनपर्न थाल्यो।
'मलाई यो ठाउँ घरजस्तै लाग्यो। किनकी नेपालमा जे छ त्यो हामीसँग छैन,' उनले भने, 'यहाँ एकता छ, समाज छ। मानिसहरू एकअर्कासँग राम्ररी कुराकानी गर्छन्। मान्छेलाई मान्छेजस्तै व्यवहार गर्छन्। विदेशमा त्यस्तो छैन। तर यहाँका मान्छेले आफूसँग भएको विशेषता महशुस नै गरेका छैनन्।'
बाहिर राम्रो आम्दानी हुने र जीवन बन्ने भए पनि आत्मसन्तुष्टि नपाइने, परिवार–समाज केही नहुने उनको अनुभव छ। त्यही कुरा नेपालमा भेटेकाले त उनले नुवाकोटमा आफ्नै लागि सानो घर बनाएका छन्। त्यहाँ उनको नेपालमै बनेका परिवार बस्छन्। भावनाको नाता गाँसिएका हजुरआमा, आमा र भाइ।
किम्फ सकिएलगतै उनी आफ्नो परिवार भेट्न नुवाकोट पुगे। भुइँचालोपछि उनले त्यहाँ 'भूकम्प प्रोजेक्ट' भनेर सानो संस्था खोलेका छन्। सात केटाकेटीको पढाइ र भविष्यमा लगानी छ।
'यहाँ अशिक्षाका कारण मानव बेचविखन र सानैमा बिहे गरिदिने समस्या रहेछ,' उनले नुवाकोटको गाउँको समस्या सुनाए, 'त्यसैले म उनीहरूको जीवन बनाउने अवसर लिन चाहन्छु। उनीहरूको सपना पूरा गरेपछि उनीहरूले आफ्नो जीवन आफ्नै हिसाबको बनाउन सक्छन्।'
नेपाल आउँदा उनले भुइँचालोबारे पनि फिल्म बनाए। 'भूकम्प' नाम दिइएको उक्त फिल्ममा भुइँचालोको चित्रण र केटाकेटीले त्यसलाई कसरी बुझे भन्ने दृष्टिकोणबाट देखाइएको छ। त्यही फिल्मका केही पात्रले उनको संस्थाको काममा सहयोग गरिरहेको बताउँछन्।
'तर मेरो संस्थामा म एउटा मात्रै स्टाफ हो नि,' उनी हाँस्दै भन्छन्।
उनी आफ्नो देश अस्ट्रेलिया पनि समय–समयमा पुग्छन्। तर फेरि नेपाल सम्झिएर फर्किहाल्छन्।
फिल्म 'जर्नी टु द सेन्टर अफ माई हार्ट' कलानीको नेपालसँग जोडिएको दोस्रो फिल्म हो। यो फिल्म बनाउनुका दुई कारण बताउँछन्, यहाँ भेटिएका आफूजस्तै विदेशी र उनकी नेपाली प्रेमिका जो विदेश जान लालायित थिइन्।
उनले खोजक्रममा करिब दुई सय मान्छे भेटेछन्। फिल्ममा देखाइएका कति पात्र उनका साथी हुन्। कोही सञ्चारमाध्यममार्फत् जोडिए त कोही फिल्म बनाउन थालेपछि उनीहरू आफैंले प्रस्ताव गरे।
'मैले फिल्म बनाउन लागेको थाहा पाएपछि आफैं जोडिन खोजेका हुन्,' उनले सुनाए।
यता उनी प्रेममा परेकी नेपाली केटी विदेश जान चाहन्थिन्। उनी नेपालमा जीवन बिताउनै नसक्ने पक्षमा थिइन्। घरमा पनि उनीहरूको सम्बन्धबारे कुरा नमिलेपछि छुटिए। पछि उनी कुवेत गएको कलानीले बताए।
'धनी देशका मान्छे यहाँ जीवन बिताइरहेका छन्। तर केही नेपाली आफ्नो भविष्य कुनै हालतमा यहाँ कल्पन सक्दैनन्,' उनले भने, 'यी दुई कुरा एकैपटक भइरहेको छ। मलाई थाहा थिएन सही हो वा गलत? उनीहरू आफूलाई जे सही लाग्छ, त्यही गर्छन्। यही देखेको मलाई लाग्यो, यो एकदमै बलियो कथा हो। यो कथा नेपालको मात्रै होइन, विश्वका अरू देशमा पनि भइरहेको छ।'
त्यही घटना र कथाका एक पात्र हुन् कलानी जसलाई नेपालै बस्ने चाहना भए पनि विश्व घुम्ने मन छ। अरू ठाउँमा पनि के भइरहेको छ, जान्न उत्सुकता छ। फिल्म बनाउने क्रममै केही समयपछि उनी जापान जाँदैछन्।
'जापानीहरू मानव सम्बन्धबाट कसरी टाढिँदैछन् भन्नेबारे फिल्म बनाउन चाहन्छु,' उनले फिल्मबारे बताए, 'त्यहाँका मानिस काममा यति अस्तव्यस्त र घोरिएका छन्, रमाउन पनि भर्चुअल प्रेमको साहारा लिइरहेका छन्।'
कलानीले जम्मा १२ कक्षा पढेका छन्। राम्रो विद्यार्थी भएकाले स्नातकका लागि छात्रवृति पनि पाएका रहेछन्। तर उनलाई किताबी ज्ञान पुगेको महशुस हुन थाल्यो र मानिस तथा समाजबाट सिक्न चाहे।
फिल्म क्षेत्रप्रतिको चाहना त उनी सात वर्ष हुँदादेखि नै रहेछ। हजुरबुवाको क्यामरामा झुम्मिन्थे। पछि आफैंले सिके।
'केही मान्छे छन् जसले मलाई सिकाइरहेका छन्। उनीहरू प्रति आभारी छु,' उनले आफ्ना गुरूहरू सम्झिए।
कलानीलाई लाग्छ– फिल्ममा त्यस्तो शक्ति हुन्छ, जसले मान्छेको सोच परिवर्तन गर्न सक्छ। यो मान्छेको मुटुसम्म पुग्ने सशक्त माध्यम हो।
'जब कुनै विषयले छुन्छ, त्यसमा फिल्म बनाउँछु। यदि कुनै मान्छेको कथा आकर्षक लाग्यो र त्यसले समग्र मान्छेको भावना जोड्छ भने म फिल्म बनाउन रूचाउँछु,' उनले भने।
'रोहन लामा' नाम कलानीलाई गाउँका मान्छेले राखिदिएका हुन्। तामाङ परिवारसँग बस्ने उनलाई यति थाहा छ यो बौद्ध समुदायसँग जोडिएको नाम हो। यहाँको समुदाय र मान्छेसँग जोडिन पाउँदा खुसी सुनिन्छन्।
भन्छन्, 'मलाई यहाँका मान्छेको मुस्कान मनपर्छ। उनीहरूले आफ्नो जीवनका कथा मुस्कानबाट प्रतिविम्बित गरेको जस्तो लाग्छ जुन शब्दभन्दा शक्तिशाली छ र तिनले धेरै कुरा भनिरहेका हुन्छन्। त्यसमा म जीवन र स्वच्छता देख्छु।'