शिवसताक्षी नगरपालिकाले नगरमा रिङरोड निर्माण थालेको छ। पञ्चवर्षीय योजना अन्तर्गत नगरमा रिङरोड निर्माण थालिएको नगरपालिकाले जनाएको छ।
कतिपय स्थानीयले रिङरोड नगर प्रमुखको महत्वकांक्षी योजना भनेका छन्। नगर प्रमुख चन्द्रकुमार शेर्माले नगरका हरेक नागरिकलाई पूर्वपश्चिम राजमार्गसँग जोड्न रिङरोड बनाउन लागिएको बताए। नगरमा गौरबका धेरै योजनाहरू सञ्चालनमा भए पनि रिङरोड प्राथमिकतामा रहेको र पाँच वर्षमै पूरा गर्ने उनले बताए।
निर्वाचनताका शेर्माले जारी गरेको घोषणा पत्रमा पनि रिङरोडको अवधारणा थियो।
धरमपुरबाट सुरू भएको रिङरोड जनताबजार हुँदै माइधारसम्म ३९ किलोमिटर दुरीको छ। त्यसमध्ये ९ किलोमिटर एसियन हाइवे हो।
नगरको रिङरोडको धरमपुर-चर्चावारी १५ सय मिटर सडक कालोपत्रे भइसकेको छ। यस्तै अन्य क्षेत्रमा पनि १ किलोमिटर सडक कालोपत्रे नगर आफैंले निर्माण गरेको छ।
यस्तै, शिवगञ्ज नहर चौकसम्मको ६ किलो मिटर सडक पनि यसअघि नै साविकको जिल्ला विकास समितिले निर्माण गरिसकेको छ। अब नगरलाई २२।५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको ईन्जिनियर महेश भण्डारीले बताए।
अबको नगरसभा, संघीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि नगरलाई दिने बजेटले बाँकी रहेको सडक कालोपत्रे गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ। नगर कार्यपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ खर्च गरेर रिङरोडको कालोपत्रे गर्न ठेक्का आह्वान गरेको छ। हालसम्म नगरले रिङरोड बनाउन ६ करोड २४ लाख खर्चेको नगरको आर्थिक प्रशासन साखाले जनाएको छ।
रिङरोडबाट सिधा शिवसताक्षी नगरकार्यपािलकाको कार्यालयमा जोडिन ‘ट्रङ्क रोड’ समेत निर्माण भइसकेको छ। ‘ट्रङ्क रोड’का निर्माणका लागि नगरले ४ करोड २० लाख रुपैयाँ खर्च गरेको छ।
रिङरोडमा पर्ने २४ वटा कल्भर्ट र बक्स कल्भर्ट निर्माण सम्पन्न भएको नगरका सूचना अधिकारी प्रकाशचन्द्र चौधरीले जानकारी दिए।
नगरमा रिङरोड निर्माणपछि सबै क्षेत्रका बासिन्दालाई सहज रुपमा सडक सुविधा पुग्ने स्थानीयले बताएका छन्। रिङ्गरोड निर्माणपछि पर्यटकीय गन्तव्यका रुपमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत सहज हुने भएको छ। उक्त रिङरोडलाई दुधे-शिवगञ्ज, झिलझिले- महाभारा र धरमपुर-पाँचगाछीको वैकल्पिक मार्गको रुपमा प्रयोग समेत गर्न सकिने स्थानीयले बताएका छन्।