वीरेन्द्रनगरकी सर्मिला अधिकारी (नाम परिवर्तन)को २५ वर्षअघि विवाह भएको हो।
विवाहपछि उनका चार छोरी जन्मिए। छोराको आश गरेकी उनको लगातार चार छोरी जन्मिँदा पनि आशा भने कायमै रह्यो। बढ्दो उमेरसँगै शर्मिलाको प्रजनन प्रक्रिया रोकियो।
छोराको आशमा सन्तानलाई जन्म दिने योजना बनाएका उनका श्रीमानको चित्त बुझेन। सर्मिलापछि उनले दुई वटा बिहे गरे। दुवै जनाबाट सन्तान भएनन्। आफू र पछिका श्रीमतीको जाँच गराए।
जाँचपछि थाहा भयो कि सन्तान नजन्मिनुमा दोष सर्मिलाका श्रीमानकै रहेछ। ‘यही जाँच गर्ने कुरा मसँग गरेको भए अरु बिहे गर्नै पर्दैनथ्यो,’ सर्मिलाले भनिन्, ‘उहाँले मलाई तेरो बुढेसकाल लाग्यो भनेर अरु बिहे गर्नुभयो।’
सर्मिलाका श्रीमानले उनीपछि विवाह गरी ल्याएका दुवै जनासँग सम्बन्ध छुटाइसकेका छन्। ‘सन्तान नहुने थाहा पाएपछि दुवैजनालाई छोड्नुभयो, बल्ल बल्ल दुखले कमाएको पैसा पनि खर्च गर्नुभयो’ उनले भनिन्।
नेपालसहित करिब १८० मुलुकले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान मनाइरहँदा सर्मिलाका श्रीमानलेजस्तै धेरैले छोराको आशमा गर्ने बहुविवाहले समस्या थपिने गरेको छ।
यो घटनाले छोराका लागि छोरीमाथि भएको हिंसालाई समेत प्रष्ट्याउँछ। छोराको आशमा गर्भमा छोरी हुँदा गर्भपतन गराउने, पुरुषले अर्को विवाह गर्ने प्रचलन अझ पनि समाजमा कायमै छ। यतिमात्र होइन, छोराको आशमा जन्मदर समेत बढ्ने गरेको छ।
गर्भमा छोरी भए भ्रूणहत्या गर्ने प्रचलन विशेषगरी शहरी क्षेत्रमा बढी छ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको आर्थिक वर्ष ०७५/७६ को तथ्याङ्क अनुसार सुर्खेतमा मात्र तीन हजार दुई सय जनाले गर्भपतन गराएका छन्। ती मध्ये २ हजार २२ जनाले औषधि सेवन गराएका छन् भने १ हजार १७८ जनाले शल्यक्रिया गरी गर्भपतन गराएका छन्।
शल्यक्रियामार्फत गर्भपतन गराएकामध्ये अधिकांसले गर्भमा छोरी भएकै कारण भ्रूणहत्या गराएको सहज अनुमान गर्न सकिने बताउँछिन् वीरेन्द्रनगरकी उपमेयर मोहनमाया ढकाल।
‘गर्भपतनको कारण तथ्याङ्कमा नहुने भएपनि जति शल्यक्रिया गरेर गर्भपतन गराइन्छ, ती अधिकांश छोरी भएकै कारण भ्रूणहत्या भएको आँकलन गर्न सकिन्छ’ उनले भनिन्।
कानुन अनुसार भ्रूण पहिचान गर्नुलाई नै अपराध मानिन्छ। गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई ३ देखि ६ महिनासम्म कैदको व्यवस्था ऐनमा छ। मुलुकी अपराध संहिता २०७४ अनुसार जानीजानी गर्भपतन गराउनुलाई फौजदारी कसुरका रुपमा लिइएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार विगत तीन वर्षयता १८२ बहुविवाहका उजुरीहरु प्रहरीमा दर्ता भएका छन्।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिमल्सिनाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा ४६, आव ०७५/७६ मा १११, आव ०७६/७७ को हालसम्म ३५ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन्।
यो तथ्याङ्कलाई हेर्दा बहुविवाह बढ्दो क्रममा रहेको पाइन्छ, भने प्रदेशका जिल्लाहरुको तुलनामा दैलेख सुर्खेत र सल्यानमा धेरै बहुविवाह हुने गरेको पुष्टी हुन्छ। आर्थिक वर्ष ०७४/७५ मा प्रदेशभर ४६ वटा मात्र बहुविवाहका उजुरी दर्ता हुँदा ०७५/७६ मा १११ मुद्दा दर्ता भएका तथ्याङ्कले देखाएको छ।
समाजमा छोरीलाई वंशजका रुपमा नभएर सन्तानका रुपमा मात्र बुझ्ने परिपाटी अझ पनि रहेकोले छोराकै लागि बहुविवाह हुने गरेको न्यायिक समितिका संयोजक तथा गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विक बताउँछिन्।
‘बालविवाह, महिलामाथिको तिरस्कार प्रवृत्तिले पनि हाम्रो समाजमा बहुविवाह हुने गरेको छ,’ उनले भनिन्, ‘अर्को कुरा हाम्रो पितृसतात्मक सोच भएको समाजमा छोरीलाई वंशजको रुपमा नभएर सन्तानका रुपमा मात्र बुझ्ने चलन छ, यस्तो अवस्थामा छोराकै लागि पनि अर्को विवाह हुने गरेको पाइन्छ।’