लागुऔषध ओसारपसार र सेवनविरुद्ध आक्रामक कारबाही थालेको झापा प्रहरीले एक भारतीयसहित तीन जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक र गौरादहबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित ती युवकलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय दमकमा बिहीबार जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी पक्राउ परेका युवक र प्रतिबन्धित लागुऔषध सार्वजनिक गर्यो।
प्रहरीले दमक-१ का दीपक भनिने पुण्य बहादुर श्रेष्ठ र गौरादह-३ बरगाछीका सुनील बराललाई पक्राउ गरेको बताएको छ। यस्तै, भारतको मुरसिदावाद थाना लालगोला पोष्ट घर भएका टुटुल भनिने रिन्टु सेखलाई पनि प्रहरीले पक्राउ गरेर पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो।
कात्तिकदेखि मंसिर ९ गतेसम्म जिल्लाका फरक-फरक स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। उनका अनुसार, पक्राउ परेकाको साथबाट कम्तीमा ५०० ग्राम ब्राउन सुगर बरामद भएको छ। प्रहरीले नगद १३ हजार रुपैयाँ, मोबाइल बरामद गरेको बताएको छ। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धानका लागि राखेर लागुऔषध ओसारपसार सम्बन्धी मुद्धा दर्ता गरेको बताइएको छ।
पक्राउ परेकामध्ये श्रेष्ठलाई पाउरोटी बोक्ने झोलाभित्र राखेको अवस्थामा १८ एम्पुल डाइजेपाम, १८ एम्पुल फेनारगन र ट्याग नभएको १८ एम्पुलसहित गत कात्तिक १३ गते पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिइएको छ। त्यसैगरी, भारतीय नागरिक सेखलाई कात्तिक २५ गते २ सय १७ ग्राम ६७ मिलिग्राम खैरो हिराइन, एउटा आइफोन र १३ हजार नगदसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए। सेखलाई दमक-४ स्थित भान्जा होटल एण्ड लजमा कोठा लिएर बसेको अवस्थामा फेला पारिएको उनले बताए।
त्यस्तै, गौरादह-३ बरगाछीका बराललाई गत कात्तिक २५ गते हर्लिक्सको बट्टामा राखेर बोकेको ३५२ ग्राम ३१ मिलिग्राम खैरो हिरोइन, एउटा गाडी र एउटा स्कुटरसहित पक्राउ गरिएको प्रहरीको बताइएको छ। प्रहरीले बरालले प्रयोग गरेको बा३च ९२५५ नम्बरको कार र बा८१प ६२४० नम्बरको स्कुटर बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार भारतीय प्रहरी पनि लागुऔषधविरुद्ध सिमा क्षेत्रमा कडा रुपमा प्रस्तुत भएको छ। ‘हामीसँग समन्वय भएकै कारणले यस्ता प्रकृतिका कारोबारी बेला-बेला भारतीय प्रहरीको सहयोगमा ठूलो परिमाणको लागुऔषधसहित पक्राउ पर्ने गरेका छन्। गाई, गोरु, काठ तस्करी र लागुऔषधविरुद्ध समान कार्ययोजनाका साथ नेपाल प्रहरी र भारतीय प्रहरीबीच अनौपचारीक कार्यगत एकता छ,’ झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने।