झापाको सताक्षीधाममा सञ्चालन भइरहेको सताक्षीधाम धार्मिक महोत्सवको मंगलबार छैठौं दिनसम्ममा झन्डै ७५ लाख नगद संकलन भएको आयोजकले जनाएको छ।
महोत्सव मूल आयोजक समारोह समितिका सदस्यसचिव डिल्ली नेपालका अनुसार हालसम्म ७५ लाख २ हजार ७ सय ३१ रुपैयाँ संकलन भएको हो। धान्याञ्चल (धान) कम्तीमा ४० क्वीन्टल र ताण्डुलाचल (चामल) ३५ क्वीन्टल संकलन भएको उनले बताए।
कात्तिक २७ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुने सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय श्री गोपाल महायज्ञ कोटिहोममा अपेक्षाकृत भेटी संकलन भएको आयोजक समितिले जनाएो छ। महोत्सवमा श्रीमद् देवी भागवत कथा महोत्सव पनि सञ्चालन भइरहेको छ। १३ दिवसीय १०८ कुण्डीय कोटिहोम पूर्वमा हालसम्मकै ठूलो धार्मिक कार्यक्रम भएको तीर्थयात्रीले बताएका छन्।
१ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले उद्धघाटन गरेको महोत्सवमा हालसम्म नेपालका ५१ जिल्लाका तीर्थयात्री सताक्षीधामको कोटिहोममा सहभागी भएका छन्। आयोजक समितिको सूचना डेक्सका अनुसार नेपालका हालसम्म करिब पाँच लाख धर्मालम्बीले कोटिहोममा सहभागी भए। भारत, भुटान, स्कटल्याण्ड, सिंगापुर, अमेरिका, बंगलादेशलगायत मुलुकका हालसम्म १२ हजार हिन्दु धर्माका तीर्थयात्रीले सहाभागिता जनाएका छन्।
सताक्षीधाम परिसरमा देखिएका उर्लावारी ७ मोरङ्गको शिद्धीबिनायक गणेश मन्दिरका अध्यक्ष महेन्द्र थापाले भने, ‘सताक्षीधामलाई सन्त निवासको रुपमा परिणत गर्न स्थानीय तहले योजना बनाउनुपर्छ।’
२०७१ सालमा सताक्षीधाममा आचार्य नन्दकिशोर भारध्वजले दुई वटा गाई वृन्दावनबाट ल्याएर गौशालाको स्थापना गरेका थिए। सो गौशालमा यतिबेला ३०५ वटा गाई संरक्षणमा छन्। गाई संरक्षणका लागि यो महोत्सव सञ्चालन गरिएको हो।
सडकका असाहाय र अपाङ्ग गाई गौशालाले संरक्षण गर्ने गरेको छ। अघिल्ला चार वर्षमा पनि सताक्षीधाममा धार्मिक अनुष्ठान हुने गरेका थिए। यो वर्ष झापाका १५ वटै स्थानीय तह कोटिहोम मुल आयोजक समारोह समितिको सदस्य बनेपछि महोत्सव वृहत् बनेको हो।
महोत्सवमा एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, कानुन मन्त्री हिक्मत कार्की, प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बू, राजेन्द्र लिङ्देन, प्रदेश सांसद झलकबहादुर दर्लामी मगर लगायतको सहभागिता छ।
मन्त्री लगायतका सांसदले सताक्षीधाममा बाटो, खानेपानी, सञ्चार, सुरक्षा लगायतका विषयमा आ-आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन्।
सताक्षीधाम धार्मिक महोत्सवमा खेल तमासा पनि छ। तीन करोड खर्चको अनुमान गरेको आयोजक समितिले पाँच करोड भेटी संकलन गर्ने लक्ष्य राखेको छ। कोटिहोमबाट संकलन भएको भेटीले सताक्षीधाम क्षेत्रको पूर्वाधार निर्माण पनि हुने शिवताक्षी नगरकी उपमेयर भोजकुमारी नेपालले बताइन्।