कोसीको काँठ हनुमाननगर सप्तरीको पुरानो र सीमावर्ती सहर हो। जिल्लाको पुरानो सदरमुकाम पनि। भारतसँग साँध जोडिएकाले प्रभाव पर्ने नै भयो। सबभन्दा बढ्ता प्रभाव पर्यो –भाषामा।
पूर्वी तराई मिथिला सभ्यताको केन्द्र हो। विडम्बना मिथिला क्षेत्रमा मैथिली भाषा भने ओझेल पर्दैछ। यही चिन्ताले स्थानीय मैथिली युवाहरूलाई पिरोल्न थालेको छ। केही युवाको समूह अहिले मैथिली भाषा, संस्कृतिको विरासत जोगाउन लागि परेका छन्।
'समूहमा कुरा गर्दा होस् वा भेला-भाषणमा, मान्छे मैथिली बोल्दैनन्, हिन्दी सजिलो मान्छन्,' आफूलाई भाषा संरक्षण अभियन्ता भन्ने गजेन्द्रकुमार राय सेतापाटीसँग गुनासो गर्छन्, 'हिन्दीलाई प्रदेशकै भाषा बनाउन लागि परेका छन्, तर अग्रजले बोल्दै आएको भाषाप्रति कुनै आकर्षण छैन।'
मैथिली हिन्दीको अतिक्रमणमा पनि पर्यो। बिहेबारी र मालसामान किनमेलका लागि सीमापारि पुग्नुपर्दा छोरीबेटीसँगै हिन्दी भाषाको पनि आगमन बढ्न थाल्यो र थिचोमिचोमा पर्यो मैथिली।मातृभाषा उपेक्षामा परेको महशुस भएपछि गजेन्द्रसहितको समूह अहिले आफ्नो संस्कृति जोगाउने अभियानमा छ।
गजेन्द्रसहितका युवाहरूलाई भाषा जोगाउने हुटहुटी त्यसै पैदा भएको होइन।
घरमा मैथिलीमा कुराकानी हुन्थ्यो। छिमेकी पनि मैथिलीमै कुराकानी गर्थे। तर स्कुलमा यो अवस्था भएन। गजेन्द्रको पालमा तीन कक्षासम्म मैथिली भाषाको एउटा विषय पढाइ हुन्थ्यो। बाल्यकालमा मैथिली बोल्न, बुझ्न र समायोजित हुन त्यसले सघायो। चार कक्षादेखि अंग्रेजी र नेपाली अनिवार्य बन्दै आयो, मैथिली पढाइ हुन छाड्यो। पाठ्यक्रमबाटै ओझेल परेपछि मातृभाषा नौलो बन्न थाल्यो।
स्कुल र सरकारी कार्यालयले नै मैथिली पछि पार्न भूमिका खेलेको आभाष गजेन्द्रलाई भयो रे। अनि आफ्नो भाषाप्रतिको मोह बढ्यो।
'यहाँ मैथिली बोलिन्छ, मधेसको मातृभाषा हो। तर यहाँको प्रशासनले मैथिली भाषा चिन्दैन,' गजेन्द्रको गुनासो छ।
गजेन्द्रकै सहयात्री हुन् सत्यनारायण पण्डित। सत्यनारायणको अनुभूति पनि गजेन्द्रकोभन्दा भिन्न छैन।
उनले पनि तीन कक्षासम्म मैथिली पढ्ने र किताबसँग घुलमिल हुने मौका पाए। मैथिली नै आफ्नो र आत्मीय लाग्यो। पढाइ हुन छाडेपछि अरू भाषासँग परिचय बढ्यो। आफ्नो भाषामा पढ्न बुझ्न नपाउँदा शैक्षिक गुणस्तर पनि खस्कियो। हुर्कंदो उमेरसँगै हिन्दी भाषाले पछ्याउन थालेपछि उनी झल्याँस्स ब्युँझिएसरह भएको बताउँछन्।
'राष्ट्रभाषा नेपाली, अन्तर्राष्ट्रिय भाषा अंग्रेजी, छिमेकी भाषा हिन्दी। यी भाषा आफ्नो नभए पनि अपनाएका छौं, जाने–बुझेका छौं,' सत्यनारायण भन्छन्, 'तर आफ्नो भाषा बोल्दैनौं, बोल्न लाज लाग्छ। अरूको भाषा बोल्दा गर्व महशुस हुन्छ।'
हामी साँच्चै मैथिली हौं वा हाम्रो अर्कै पहिचान छ- यो प्रश्नले दिमागमा हानेकोहान्यै गरेपछि उनी भाषा जोगाउन होमिएको बताउँछन्। अहिले उनी तराईका विभिन्न जिल्ला पुगेर मैथिली सभ्यता, संस्कृति उत्खनन् गरिरहेका छन्। मिथिला क्षेत्रको गहना मैथिली भाषालाई तराईको जनजिब्रोमा झुन्ड्याउन प्रेरित गरिरहेका छन्।
सप्तरी हनुमाननगरकै चन्दाकुमारी साहको भाषा प्रेम पनि गजेन्द्र र सत्यनारायणसँग मिल्दोजुल्दो छ। चन्दालाई परिवारले सानैमा मैथिली सिकाए। आफूसँगै मैथिली पनि हुर्कियो। स्कुलभित्र पसेपछि मैथिली उनलाई आफ्नो लाग्न छाड्यो।
'स्कुलमा नेपाली, अंग्रेजी पढाइहुन्थ्यो। शिक्षक पनि नेपाली, अंग्रेजीमै बोल्न जोडबल गर्ने,' उनी सम्झन्छिन्, 'उता स्थानीयले हिन्दी सहज मान्दै जाँदा मैथिली मलाई आफ्नो भाषा लाग्नै छाड्यो।'
तर शिक्षकले नेपालीमा पढाएको पाठ मैथिलीमा उल्था गरेर नबुझाएसम्म उनी कसैगरी बुझ्दिनथिन्। कक्षा उक्लिँदै जाँदा मैथिली छुट्दै गयो। बोल्न जसोतसो जानिन्। मैथिली लिपि खट्किँदै गयो, केही लेख्न आउँदैन।
'घर गाउँमा मैथिलीकै पकड छ, स्कुलमा उल्था नगरी बुझिँदैन,' चन्दाले सुनाइन्, 'लाजको कुरा मैथिली बोल्न आउँछ, लेख्न आउँदैन।'
अनि बन्यो यस्तै अनुभूति भएका चन्दा, गजेन्द्र, सत्यनारायण लगायत युवाको एउटा समूह–संगोर मिथिला नेपाल। मैथिली भाषा जान्ने, बुझ्ने र जोगाउनुपर्छ भन्ने चेतना जगाउने थलो।
समूहमा १९ देखि २५ वर्षका युवाको साझा आकांक्षा छ –सके सबैलाई परिवर्तन गर्ने, नसके आफू मात्र भए पनि परिवर्तनको संवाहक बन्ने।
'हामीले सबैको जिम्मा त लिन सक्दैनौं। ठूलै कायापलट गर्न नसके पनि परिवर्तनका स-साना झिल्का बालेका छौं,' भाषा संरक्षणको बाटो देखाउँदै गजेन्द्र भन्छन्, 'मैले मैथिलीमा कविता, कथा, गीत गजल लेखिरहेको छु। अरूले पनि गर्नुपर्छ।'
स्कुल र कलेजमा भाषा संस्कृति जोगाउने अनेकथरी कुरा भए पनि उनीहरूले वास्तविकतामा त्यो पाउन सकेनन्। सोही छट्पटीले उनीहरूलाई अभियन्ता बनाएको छ।
'उच्च शिक्षा पढ्दा कम्प्युटरमा हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान भनेर धेरै प्रिजेन्टेसन बनायौं। तर व्यवहारमा के गर्यौं?,' आफैंलाई प्रश्न गर्दै गजेन्द्र थप्छन्, 'अब हामी साँच्चै मैदानमा उत्रेका छौं। अग्रजलाई पनि सिकाउन चाहन्छौं।'
समूहले स्कुलदेखि जिल्लास्तरीयसम्मका कार्यक्रम गरेको छ। वक्तृत्वकला, वादविवाद, हाजिरी जवाफ जस्ता कार्यक्रम मिलेसम्म मैथिली भाषामा हुन्छन्। सांस्कृतिक कार्यक्रममा मैथिली गीतमा पनि नाच्नुपर्ने, गाउनुपर्ने जस्ता स्कुल, नगर, जिल्लास्तरीय कार्यक्रम पनि भइरहेका छन्।
'यी कार्यक्रम हामीले विभिन्न जिल्लाका स्कुल पुगेर गरिरहेका छौं,' संगोल हनुमाननगर इकाइका अध्यक्षसमेत रहेका सत्यनारायणले भने, 'अनिवार्य होइन तर प्राथमिकतामा राखेर महिनामा दुइटा कार्यक्रम हुन्छ। कलिला विद्यार्थी जिज्ञासु हुन्छन्, परिवर्तन उनीहरूबाटै सम्भव छ भन्ने लागेको छ।'
मिथिला संस्कार, संस्कृति, भाषा हराउने गतिमा लम्केपछि उनीहरूले चेतना फैलाउन खोजेका हुन्। भाषा संरक्षण आफू र आफ्नो पुस्ताले मात्र गरेर नहुने उनीहरूले बुझेका छन्।
भन्छन् –हामीले गर्नुपर्छ है भन्ने भावना जगाउन र आफैं पनि संरक्षणमा लाग्ने हाम्रो मुख्य चासो हो।
स्थानीय सरकारले भाषा संस्कृति संरक्षणमा केही गर्ला भन्ने समूहको आश थियो। नगरप्रमुख शैलेश साहविपरीत देखिएपछि उनीहरूको उत्साह सेलाएको उनीहरू बताउँछन्।
तथ्यांकअनुसार नेपालमा नेपालीपछि धेरै बोलिने भाषा मैथिली हो। तर आयातित भाषाको चेपुवामा परेर मैथिली भाषा संरक्षण चुनौती बनेको छ। सरकारले आवश्यक चासो नदेखाउँदा समस्या झन् जटिल बनेको उनीहरूको गुनासो छ।
'मेयर हाम्रो कुरामा सहमत हुनुहुन्न। प्रोत्साहन पाउनुपर्ने, निरुत्साहन पाइरहेका छौं। तर हामी कमजोर भइहालेका छैनाैं,' सत्यनारायणले भने, 'यो हाम्रो मात्र चासो होइन, पूरै मिथिला समुदायको हो। यो चिन्ता बुझ्ने मान्छे नहुँदा दुःखी छौं। यस्तै हो भने आउने पुस्तालाई मैथिली भाषा पनि थियो है भनेर सम्झाउनु पर्ने हुनसक्छ।'
आफ्नो भाषा जोगाउने प्रयासमा लागेका यी युवा अभियन्ता भन्छन्– राज्यकै विभेदमा हामीले कसरी आवाज उठाउने? राज्यसँग लडाइँ गर्न त हामी सक्दैनौं। यस्तोमा हाम्रो बोली कहाँसम्म पुग्ला!