भक्तपुर सिद्धपोखरीको पूर्वी ढोकाबाहिर एकतले घर छ। तपाईं सिद्धपोखरीको फन्को लगाएर बाहिर निस्किनुभयो भने उक्त घरको बनावटले पक्कै पनि ध्यान तान्ला।
अगाडिबाट हेर्दा बटुवाको आरामका लागि बनाइएको सफा र चिटिक्क पाटी मात्रै देख्नुहुन्छ। पाटीको पछाडि भागमा घरजस्तो बनाइएको छ। टायलको छानो, वरिपरि रातो तोरणले बेरिएको परम्परागत शैलीमा बनेको उक्त संरचना कुनै मन्दिरजस्तो पनि देखिन्छ।
तर न यो मन्दिर हो, न पाटी मात्र। यो हालै भक्तपुर नगरपालिकाले बनाएको सार्वजनिक शौचालय हो।
पाटीको पछाडिको भाग सदुपयोग गर्दै भक्तपुरले यहाँ महिला र पुरुषका लागि अलग-अलग शौचालय बनाएको छ।
सांस्कृतिक र ऐतिहासिक सम्पदास्थल भक्तपुर पुग्दा सार्वजनिक शौचालय नभएकै कारण धेरै जना समस्यामा परेकाले सामाधान खोजेको नगरपालिकाकी उपमेयर रजनी जोशी बताउँछिन्।
'व्यवस्थित सार्वजनिक शौचालय नभएकै कारण सर्वसाधारण चिनजानको इष्टमित्र, रेष्टुरेन्ट लगायत ठाउँ जान बाध्य छन्,' जोशीले भनिन्, 'विशेषगरी विदेशी पर्यटकलाई यो समस्याले झन् धेरै पिरोलेको छ। यसले व्यवस्थापनमाथि मात्र प्रश्न उठाएको छैन, हाम्रो सभ्यताको नराम्रो छवि बनाएको छ। त्यही छवि सुधार्ने प्रयास नगरपालिकाले गरेको हो।'
भक्तपुर नेपालको ऐतिहासिक क्षेत्र मात्रै नभई स्थानीय संस्कृति र चार्डपर्वले धनी छ। यहाँ आन्तरिक र बाहिरी दुवै पर्यटकको भिड देखिन्छ।
पर्यटकको सहजताका लागि नगरपालिकाले सरसुविधा व्यवस्था गरिरहेको भए पनि व्यवस्थित सार्वजनिक शौचालय सबैको मुख्य समस्या बनेको जोशीले जानकारी दिइन्।
समस्या कम गर्न नगरपालिकाले पहिले पनि सम्पदास्थल लगायत विभिन्न पर्यटकीय क्षेत्रमा शौचालय बनाउने प्रयास नगरेको होइन। तर, समस्या कम हुनुभन्दा झनै जटिल बन्यो।
'ऐतिहासिक मन्दिर र पाटीका बीचमा एकाएक सिमेन्टका शौचालयले सम्पदा क्षेत्रको स्वरूपमै असर पुर्यायो। त्यसमाथि शौचालय सरसफाइमा भएको बेवास्ताका कारण वरिपरि फैलिएको गन्धले पर्यटकलाई सास्ती भएको थियो,' जोशीले भनिन्।
यिनै कुरा मध्यनजर गर्दै यसै वर्षदेखि व्यवस्थापनमा नयाँ परिवर्तन ल्याएको उनले बताइन्।
प्राचीन मन्दिर तथा स्मारक वरिपरि बनाइएका ऐतिहासिक बनावटका शौचालयले सम्पदा क्षेत्रको सुन्दरतामा बाधा पुर्याउँदैन। त्यस्तै शौचालयजस्तो अनिवार्य कुरालाई पनि सम्पदाकै मर्मभित्र पारेर बनाउनुले सम्पदा स्थलको महत्व झनै बढाउँछ।
उपमेयर जोशीका अनुसार बाहिरबाट परम्परागत देखिए पनि भित्र भने आधुनिक शैलीकै सेवासुविधा शौचालयमा छ। यस्ता शौचालय अहिले सिद्धपोखरी, भक्तपुर क्यान्सर अस्पताल, दरबार क्षेत्र लगायत गरी सात ठाउँमा बनाइसकिएको छ। नगरपालिकाका अनुसार एउटा शौचालय बनाउन करिब ५३ लाख रूपैयाँसम्म खर्च भएको छ।
शौचालयहरू वातावरण र सम्पदास्थल अनुसार एकदेखि दुईतलेसम्म बनाइएको छ। दुईतलेको माथिल्लो तला रेखदेख र सरसफाई गर्ने कर्मचारीको बसोबासका लागि छुट्टाइएको हो।
शौचालयमा नेपाली नागरिकका लागि शुल्क राखिएको छ। विदेशी पर्यटकले भने निःशुल्क प्रयोग गर्न पाउँछन्। उनीहरूले भ्रमणस्थल प्रवेशमै शुल्क बुझाउनुपर्ने भएकाले शौचालयका लागि बेग्लै नराखिएको जोशी बताउँछिन्।
भक्तपुर नगरपालिकाले आगामी दिनमा 'स्मार्ट शौचालय' को पनि योजना बनाइरहेको छ। नगरपालिकाका अनुसार सानो बाकस आकारको उक्त शौचालयमा कार्ड वा सिक्का प्रयोग गर्न सकिन्छ। प्रयोग गर्नुअघि र पछि 'अटोमेटिक फ्लस' हुने स्मार्ट शौचालयको मुख्य विशेषता हो।
महिला, पुरुष र शारीरिक अपांगता भएकालाई सहज हुनेगरी उक्त शौचालय बनाइनेछ। यो पनि आवश्यकताअनुसार विभिन्न ठाउँमा राखिने र बाहिरी बनावट त्यही क्षेत्रमा सुहाउने गरी बनाइनेछ।
'जात्रा र पर्व बेला यहाँ शौचालय निकै जरुरी हुन्छ,' उपमेयर जोशीले भनिन्, 'यस्तै पार्किङ स्थल र सार्वजनिक पार्कतिर पनि शौचालय उत्तिकै चाहिन्छ। तर सोचेजस्तो सहज छैन। स्थानीयले अझै पनि आफ्नो घर वरपर सार्वजनिक शौचालय बनेकोमा गुनासो गर्ने भएकाले चुनौती छ।'
नगरपालिकाले शौचालय निर्माण र व्यवस्थापनका लागि करिब १५० कर्मचारी खटाउने योजना बनाएको छ।